युवा सांसदमा केही गरौं भन्ने हुटहुटी छ, जुनसुकै दलका भए पनि पुरानो तरिकाले काम हुँदैन भन्ने समान मत देखिन्छ, तर यहाँ दलको निर्णयअनुसार चल्नुपर्ने बाध्यता छ, पाका नेताको कुरा मान्नैपर्ने अवस्था छ, युवा सांसदका कुरा कमै सुनिन्छ, मुख्य नेताकै निर्णय लागू हुन्छ
राजनीतिमा आउनुअघि स्वास्थ्य क्षेत्रमा काम गर्ने चाहना थियो । संयोगवश राजनीतिक दलको प्रतिनिधित्व गर्ने अवस्था आयो । मैले अहेब पढाइ सकेर अस्पतालमा काम गरिरहेका बेलामा राष्ट्रिय प्रजातन्त्र पार्टीमा विधिवत् रूपमा २०७३ माघमा जोडिन पुगें ।
२०७४ को निर्वाचन आइरहेको थियो । समानुपातिक वा प्रत्यक्ष निर्वाचनको उम्मेदवार हुने सोचेको पनि थिइनँ । त्यसबेला मैले सल्यान राप्रपा अध्यक्षलाई भनेको थिएँ, म पार्टीको उम्मेदवार हुन्नँ । अरू साथीलाई बनाउँदा राम्रो हुन्छ । त्यसबेला म लोक सेवाको तयारी गरिरहेको थिएँ ।
स्वास्थ्य सहायक (अहेब) को पढाइ सकेर अस्पतालमा काम गरिरहेका बेला मलाई राप्रपाले समानुपातिक उम्मेदवार बनायो । पार्टीभित्र उम्मेदवार बन्ने अरू धेरैको चाहना थियो । समानुपातिक सूचीमा खसआर्यको तर्फबाट उम्मेदवार हुने चाहना धेरैको थियो । तर पार्टीले दलित क्लस्टरबाट मलाई उम्मेदवार बनायो । त्यसपछि म समानुपातिक सूचीबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएँ ।
सांसद हुनुभन्दा पहिले संसदीय प्रक्रियाबारे खासै थाहा थिएन । शपथ खाएर संसद्मा प्रवेश भइसकेपछि मात्र थाहा भयो, यो त अर्कै ठाउँ रहेछ । हामीले बाहिरबाट सोचेजस्तो त्यहाँ गएर जनताको पक्षमा काम गर्न सक्ने अवस्था गाह्रो रहेछ । सांसदमा निर्वाचित भएसकेपछि यो गर्थ्यौं, त्यो गर्थ्यौं होला भनेर जे सोचिन्थ्यो, ममाथि जुन जोस थियो, सांसद भएपछि बिस्तारै खुम्चिँदै गयो ।
संसद्भित्र व्याप्त दलीयकरण छ । सत्तापक्ष र प्रतिपक्षबीच चर्को द्वन्द्व छ । सरकारमा भएको दलका सांसदलाई काम गर्न अलि सजिलो छ । तर प्रतिपक्षमा रहेका, अझ साना दलका सांसदको कुरा सुनिँदैन । जनताको काम गर्न गाह्रो रहेछ । केही काम लिएर मन्त्रालय गयो भने पार्टी हेरिन्छ ।
कर्मचारीतन्त्रले सत्तापक्षको हो कि होइन वा प्रतिपक्ष भए पनि ठूलो दलको हो कि होइन भनेर हेरेको देखिन्छ । संसद्मा सांसद दलको निर्णयअनुसार चल्नुपर्ने हुन्छ । दलले जे निर्णय लिन्छ, त्यही अनुसार चल्नुपर्ने हुन्छ । आफूलाई गलत लागेको कुरा पनि बोल्न पाइँदैन । किनभने दलको निर्णयअनुसार संसद्मा प्रस्तुत हुनुपर्छ ।
हाम्रो दलमा युवालाई प्रोत्साहन गर्ने नीति छ । त्यसैले मैले ३० वर्षको उमेरमा सांसद हुने अवसर पाएँ । अध्यक्ष राजेन्द्र लिङदेनले ४० वर्षमुनिका व्यक्तिलाई अवसर दिनुपर्छ भनेर महाधिवेशनमा खुला आह्वान गर्नुभएको थियो । त्यही अनुसार केन्द्रीय समिति चयन गर्न लिखित र मौखिक अन्तर्वार्ता लिइएको थियो । हामी त्यसरी केन्द्रीय सदस्य भएका थियौं । हाम्रो विगतको काम, शैक्षिक अवस्था, चेतना स्तरका आधारमा हामीलाई केन्द्रीय सदस्य चयन गरिएको थियो । त्यसरी केन्द्रीय सदस्य हुनेमा कोही इन्जिनियर, वकिल, स्वास्थ्य क्षेत्रको अध्ययन गरेका व्यक्ति थिए ।
युवा सांसदमा केही गरौं भन्ने हुटहुटी छ । जुनसुकै दलका भए पनि युवा सांसदमा पुरानो तरिकाले काम हुँदैन भन्ने समान मत देखिन्छ । तर यहाँ दलको सीमारेखाले सबै युवा सांसदले संयुक्त रूपमा काम गर्न मिल्दैन । दलको निर्णयअनुसार चल्नुपर्ने बाध्यता छ । संसद्मा पाका नेताको कुरा मार्न्नैपर्ने अवस्था छ । युवा सांसदका कुरा कमै सुनिन्छ । मुख्य नेताकै निर्णय लागू हुन्छ । सबै दलको अवस्था यही हो ।
पुराना नेताले वर्षौंदेखि गर्दै आएको राजनीति र युवा पुस्ताले सोच्ने गरेको राजनीति फरक छ । युवा सांसदकै कुरा गर्ने हो भने उनीहरूले युवा पुस्ताका लागि सोचेर धारणा बनाउँछन् भने पाका सांसदमा परम्परागत सोच देखिन्छ । पाका सांसदले कतिपय विषयमा बुझ पचाएर कामकुरा गरेको देखिन्छ । सायद युवा सांसदमा त्यो छैन । जिम्मेवारी पाउने हो भने युवा सांसदले नयाँ ढंगले काम गर्न सक्छन् ।
ठूला राजनीतिक दल धेरै आकर्षक घोषणापत्र लिएर निर्वाचनमा गएका थिए । तर सरकारमा, संसद्मा आइसकेपछि बिर्सन्छन् । कतिपय दलमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रभाव पनि पर्छ होला । सांसदले दलको स्वार्थलाई हेर्नु परेकाले जनताको पक्षमा काम गर्न सकेका छैनन् । साँच्चै राम्रो काम गर्न चाहेका दलले सरकार चलाउने अवसर पाएका छैनन् ।
संसद्मा मुख्य सत्ता र दलगत स्वार्थर् हेरिन्छ । त्यसपछि नेताहरूले आफ्नो जिल्ला र निर्वाचन क्षेत्र हेर्छन् । देखावटी रूपमा मात्र जनताका लागि मरिमेटेको देखाउँछन् । प्रतिपक्षका सांसदले जनतासँग जोडिएका धेरै विषय उठाउनुहुन्छ तर सरकार सुन्दैन । सांसदले अन्याय, अत्याचार र भ्रष्टाचारविरुद्ध आवाज उठाइरहन्छन्, तर सरकारले कार्यान्वयन गर्दैन । मैले संसद्मा ४५ पटक जति विभिन्न विषय उठाएँ, त्यसमध्ये दुई वटा विषय मात्र सम्बोधन भए होलान् ।
युवापुस्ताको चासो र सरोकारबारे सबै दलका सांसदबाट आवाज उठिरहेको हुन्छ । तर युवापुस्ताले नेपालमा भविष्य छैन भन्नु गम्भीर विषय हो । मुलुक बनाउने युवापुस्ताले आफ्नो देशमा भविष्य छैन भन्छन् भने त्यो धेरै गम्भीर विषय हो । युवा सांसदमा मुलुक बनाउने चिन्ता देखिन्छ । तर सरकार र दलको नेतृत्व गरेका नेताले त्यसलाई सम्बोधन गर्दैनन् । युवालाई आफ्नै देशमा सुन्दर भविष्य छ भनेर विश्वास दिलाउने आधार शिक्षा, स्वास्थ्य, रोजगारी नै हो । स्वदेशमै बसेर पनि उज्यालो भविष्य बनाउन सकिन्छ भनेर संसद्मा आवाज उठिरहन्छ । त्यो संसद्को रेकर्डमा भइरहेकै बेला सयौं युवा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिइरहेका हुन्छन् ।
म सल्यान दार्माकोट आफ्नो गाउँ जाँदा युवासँग अन्तर्क्रिया हुन्छ । एउटा सांसदले चाह्यो भने धेरै काम गर्न सक्छ भन्ने आशा र भरोसा उनीहरूमा छ । संसद्का बैठकमा जनताका कुरा राखेको सुनेपछि खुसी लागेको सुनाउँछन् । साँच्चै उनीहरूको काम हुने हो भने झन् कति खुसी हुँदा हुन् । देशमा रहेर राम्रो शिक्षा लिएका युवाले सांसदहरूबाट धेरै आशा र भरोसा खोजेका हुन्छन् । तर हामीले उनीहरूलाई खास सहयोग गर्न सकेका छैनौं । उनीहरूको काँधमा काँध मिलाएर दलहरूले काम गर्ने हो भने देश नबन्ने कुरै छैन ।
युवाहरू संघ, प्रदेश र स्थानीय सरकारसँग हरेक दिन केही न केही प्रस्ताव लिएर पुगेका हुन्छन् । युवालाई प्रोत्साहन होइन, निरुत्साहन गरेर पठाएको मैले धेरैचोटि देखेको छु । युवाले नयाँ काम गर्न खोजे पनि नीति र बजेटको अभाव देखाइन्छ । सानो सानो सहयोगले भोलि ठूलो काम हुन्छ भन्ने कुरालाई कुनै पनि सरकारले ध्यान दिएको देखिँदैन ।
देश खत्तम भइसकेको होइन तर भनेजस्तो शिक्षा, स्वास्थ्य, रोजगार, सरकारी सेवामा सुधार हुन सकेको छैन । यसको अर्थ देश बर्बाद भइसकेको भन्ने होइन । एउटा जोखिमचाहिँ छ, देशलाई सही बाटोमा लान सकिएन भने योभन्दा खराब स्थिति आउन सक्छ । सांसदहरू आफ्नो सरकार, दलको स्वार्थमा लिप्त छन् । जनप्रतिनिधिले हेर्ने जनताको स्वार्थ हो, त्यही अनुसार काम गर्नुपर्छ । यहाँ त जनताभन्दा दलगत स्वार्थलाई हेरिन्छ । जनतालाई सबभन्दा माथि राखेर काम गर्ने हो भने देश बनाउन गाह्रो छैन । देश र जनताका लागि काम गर्छु भन्ने युवा शक्तिलाई अघि सार्नुपर्छ ।
एउटा उदाहरणका लागि काठमाडौं महानगरलाई लिन सकिन्छ । पूरा परिणाम आउन बाँकी भए पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चर्चा देशभर छ ।
म गाउँ जाँदा देख्छु, खाली हुँदै गएका छन् । गाउँ खाली किन भइरहेका छन् ? संसद्मा बहसको विषय बन्नुपर्छ । गाउँ खाली हुनु भनेको उत्पादन घट्नु हो । उत्पादन घट्नु भनेको अरूमाथि भर पर्नु हो । गाउँको उत्पादनले धानेको हाम्रो मुलुक अहिले उत्पादनमा परनिर्भर हुँदै गएको छ । त्यहाँ शिक्षा, स्वास्थ्य, रोजगारी, अवसरको वातावरण हुने हो भने गाउँमा कृषिलगायतको उत्पादन बढाउन सकिन्छ । सरकारले नीति निर्माण गरी गाउँ खाली हुनबाट रोक्नुपर्छ ।
शिक्षाकै कुरा गर्ने हो भने प्रतिस्पर्धासँग जोडिएको छ । सरकारी (सामुदायिक) स्कुल र निजी स्कुलमा पढेको व्यक्तिबीच हुने प्रतिस्पर्धाले गाउँलाई असर गरेको छ । सरकारी स्कुलमा पढ्ने बालबालिकाले जुनसुकै क्षेत्रमा प्रतिस्पर्धा गर्ने वातावरण हुने हो भने छोराछोरी पढाउन सहर झर्नुपर्ने बाध्यता हुने थिएन । आफ्नै खेतबारीको उत्पादन उपभोग गरी छोराछोरीलाई राम्रो शिक्षा, स्वास्थ्य उपचार पाउने वातावरण हुने हो भने गाउँ कति सुन्दर हुन्थे होला । बाध्यताले सहर पसेको व्यक्तिहरू सायद फेरि गाउँ फर्कन्थे होलान् । शिक्षा र स्वास्थ्य गुणस्तरीय र निःशुल्क हुने हो भने गाउँ फेरि हराभरा हुन्छन् ।
दलहरूका नीति राम्रा छन्, नियत सफा देखिँदैन । देश चलाउनेले नीति कार्यान्वयनमा जोड दिने हो भने देश बन्छ । नीति बन्दै आए, ती नीति कार्यान्वयन भएनन् । विकासमा पूरै राजनीतीकरण छ । मैले सल्यानको दार्मा गाउँपालिकामा आफ्नो निर्वाचन क्षेत्रको बजेट खर्च गरेर बाटो बनाउन खोज्दा ठूला दलले अवरोध गरे । दलहरूको हस्तक्षेपका कारण स्थानीय सरकारका धेरै काम अवरुद्ध भएको देखिन्छ ।
प्रत्यक्ष निर्वाचित सांसद र मेरो हैसियत एउटै हो । तर हेर्ने नजर फरक छ । मेरो दल सरकारमा छैन । मेरो पहुँच पुग्दैन भन्ने ठानिन्छ । मैले जनताका माग लिएर मन्त्रालय वा अन्य निकायमा जाँदा बेवास्ता गरिन्छ । जनप्रतिनिधिले पनि सरकारी विभेद भोग्नुपर्छ । सही नेतृत्वको हातमा पर्यो भने नेपाल स्वर्ग बन्छ । किनकि हामीसँग स्रोत, साधन, जनशक्ति छ । मुख्य समस्या यसको सही सदुपयोग गर्न नसक्नु हो । नयाँ दृष्टिकोण लिएर काम गर्ने नेतृत्वको खाँचो छ । देश बनाउन राजनीति गर्नुपर्छ । आफ्नो र दलको स्वार्थका लागि राजनीति गर्नु हुँदैन ।
