निम्न वर्गलाई बैंकको पहुँचसम्म पुग्नै गाह्रो छ, उनीहरूलाई किन पत्याइँदैन, वित्तीय सहयोग झन्झटिलो बन्दा उनीहरूको सीप र जाागर कसरी खेर जान्छ, मैले बुबाको दुःखबाट थाहा पाएँ
कोभिडका कारण लकडाउन भएपछि यसै घरमा बसेर इमेल हेर्दै थिएँ । त्यसमा एउटा इमेल थियो, नेसनल जियोग्राफिकको । त्यहाँ मलाई भिडियो कलमा जोडिन भनिएको थियो । किन हो, केका लागि हो ? थाहा थिएन ।
जब म भिडियो कलमा जोडिएँ, एउटा अप्रत्याशित खुसीले मलाई पर्खिरहेको रहेछ । खासमा म नेसनल जियोग्राफिकको ‘इमर्जिङ एक्सप्लोरर’ अवार्डका लागि मनोनीत भएछु । र, सन् २०२० को ‘क्लास अफ इमर्जिङ एक्सप्लोरर’ अवार्ड प्राप्त गरें । यो सम्मान मूलतः वातावरणीय परिवर्तनसम्बन्धी उत्कृष्ट काम गरेका विश्वभरका युवामध्ये छनोट गरी प्रदान गरिन्छ ।
यस्ता अवार्डले मनोबल बढाउने रहेछन् । र, आफ्नो कर्ममा थप बलियो भएर लाग्न प्रेरित गर्ने रहेछन् । त्यसबेला म महिलालाई प्रविधि र पर्यावरणसँग जोड्दै उद्यमी बनाउन एउटा सहयोगी भूमिकामा थिएँ । खासगरी लेखपढ नगरेका, कुनै उद्यमका लागि आधार नभएका, बैंक वा वित्तीय सहयोगको मेलोमेसो नपाएका महिलालाई उद्यमशील बनाउने जुक्ति थियो यो ।
यसअन्तर्गत कुनै पनि महिलालाई उद्यम–व्यवसाय गर्न बैंक वा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गर्ने व्यवस्था मिलाइन्छ । विशेषतः वातावरणमैत्री लघु उद्यमका लागि यस्ता वित्तीय परियोजना सञ्चालन गरिन्छ । बैंकबाट ऋण कसरी लिने ? कसरी लगानी गर्ने ? कसरी त्यसको प्रतिफल लिने भन्ने आधारभूत वित्तीय ज्ञान नभएकाका लागि हामीले साँघुको काम गर्छौं ।
साथी टिफनी टोङले यस कामका लागि मलाई साथ दिएकी थिइन् । उनीसँग मेरो भेट अमेरिकाको सिलिकन भ्यालीमा भएको थियो । प्रविधि जगत्को केन्द्र मानिने सिलिकन भ्यालीमा म नेपालबाट छात्रवृत्ति पाएर तालिमका लागि पुगेकी थिएँ । मैले कम्प्युटर इन्जिनियरिङमा स्नातक गरें । त्यसपछि नासा एमिसभित्र रहेको सिंगुलरिटी युनिभर्सिटीमा ग्लोबल सोलुसन्स कार्यक्रममा भाग लिने अवसर पाएर सिलिकन भ्याली गएँ । सानैदेखि मलाई अन्तरिक्षसम्बन्धी जान्न र त्यस क्षेत्रमा करियर बनाउन मन लाग्थ्यो । तर, सिलिकन भ्यालीमा टिफनीसँग भेट भएपछि मेरो बाटो मोडियो । त्यहाँ चार महिना तालिम लिएपछि हामी नेपाल फर्किएर ‘एलोई’ संस्था स्थापना गर्र्यौं । यो सन् २०१९ को कुरा हो ।
एलोईको शाब्दिक अर्थचाहिँ कुनै वस्तुलाई बलियो बनाउन दुईवटा धातुको प्रयोग गरेर अथवा मिश्रणबाट बनेको एउटा मेटल हो । यही कुरालाई व्यावसायिक रूपमा दुई पक्ष वित्त र प्रविधि मिलेर बलियो बन्ने अर्थसहित कम्पनीको नाम एलोई राखियो । यस संस्थामार्फत ‘ग्रास रुट’ मा रहेका महिलालाई वित्तीय पहुँचमा पुर्याउने र कुनै न कुनै उद्यमका लागि आवश्यक प्रक्रिया मिलाइदिने काममा जुट्यौं । खेतीपाती, दुग्ध उत्पादन, कफी उद्यममा केही गर्न चाहनेहरू हाम्रो प्राथमिकतामा थिए ।
कृषि क्षेत्रमा काम गरियो भने सामान्य स्तरका मान्छेसम्म पुग्न सकिन्छ भनेर सन् २०१७ मा सिलिकन भ्यालीमा हामीले माटो परीक्षण गर्ने प्रविधिको विषयमा काम सुरु गरेका थियौं । तर यो प्रविधि किसानका लागि खर्चिलो पर्ने देखियो । त्यसैले कुनै सामान्य किसानका लागि आवश्यक लगानीका लागि पैसा नै सबैभन्दा ठूलो समस्या रहेछ भन्ने थाहा पायौं ।
मानिस उद्यम व्यवसाय गर्न चाहन्छन् । तर, उनीहरूसँग लगानी गर्ने पैसा हुँदैन । पैसा परिचालन गर्ने उपाय हुँदैन । त्यस्ता व्यक्तिलाई बैंक एवं वित्तीय सहयोग लिन हामीले सफ्टवेयर तयार गर्यौं । त्यसमार्फत उनीहरूको आवश्यक कागजात तयार गरेर वित्तीय संस्थामा पेस गर्ने संयन्त्र बनाइयो । यसले गर्दा उनीहरूलाई बैंकसम्म पुग्न र वित्तीय सहयोग प्राप्त गर्न सहज भयो । त्यससँगै हामीले उनीहरूलाई वित्तीय साक्षरता तालिम दियौं । यसबाट उनीहरूले प्राप्त ऋणलाई सही समयमा, सही ठाउँमा, सही ढंगले लगानी गर्न सक्ने अवस्था भयो ।
खासमा यी सबै काममा हामीले प्रविधिलाई जोडेका थियौं । उनीहरूले पाउने पैसा पनि टोकनका रूपमा प्राप्त हुन्थ्यो । त्यसलाई खर्च गर्न पनि डिजिटल प्रणालीमा प्रवेश गर्नुपर्ने हुन्थ्यो । यसो गर्दा उनीहरूले जथाभाबी खर्च गरेर ऋणमा डुब्ने जोखिम मात्र कम हुँदैनथ्यो, कारोबार प्रस्ट र पारदर्शी पनि हुन्थ्यो ।
मैले यो काम नै किन गरें ? के कुराले मलाई यसतर्फ डोर्यायो ? त्यसको छुट्टै कथा छ ।
खासमा म सामान्य परिवारमा जन्मिएँ । मेरो बुवाआमाले पढ्न–लेख्न पाउनुभएन । बुवाले परिवारको गर्जो टार्न गार्मेन्ट व्यवसाय सुरु गर्नुभयो । त्यसअघि बुवाले जे–जति कमाउनुभयो, त्यो सबै गार्मेन्टमा लगाउनुभएको थियो । तर, गार्मेन्ट व्यवसाय डुब्यो ।
त्यसपछि बुवाले गुजाराका लागि विक्रम टेम्पो चलाउने योजना बनाउनुभयो । तर टेम्पो किन्ने कसरी ? उहाँसँग पैसा थिएन । बैंकबाट ऋण लिनुभयो तर त्यस क्रममा अनेक झन्झट खेप्नुपर्यो । जसोतसो ऋण लिएर टेम्पो चलाउन सुरु गर्नुभयो । त्यसको कमाइबाट अर्को टेम्पो पनि जोड्नुभयो । यद्यपि सरकारले उक्त विक्रम टेम्पो प्रदूषणको कारण चलाउन बन्देज लगायो । हुँदाछँदाको मेलो पनि खोसिएपछि उहाँले माइक्रोबस किनेर चलाउने तयारी गर्नुभयो । यसका लागि पनि बैंकबाट ऋण लिनुपर्ने हुन्थ्यो । यतिबेला उहाँले बैंकबाट सस्तो ब्याजमा ऋण पाउनुभएको थियो ।
‘ग्रास रुट’ का मान्छेलाई बैंकको पहुँचसम्म पुग्न कति गाह्रो छ, बैंकले उनीहरूलाई किन पत्याउँदैन, वित्तीय सहयोग झन्झटिलो बन्दा उनीहरूको सीप र जाँगर कसरी खेर जान्छ ? मैले बुवाको दुःखबाट सबै थाहा पाएँ । त्यसैले मेरो बुवा जस्तै मान्छेलाई म साँघु बनेर सहयोग गर्न चाहन्थें, ताकि उनीहरूले बुवाले जस्तो सास्ती खेप्न नपरोस् । उनीहरूलाई बैंक एवं वित्तीय संस्थाबाट सजिलै ऋण प्राप्त गर्न, सो ऋणलाई सही ढंगले परिचालन गर्न र आफ्नै बलबुतामा उद्यमशील बन्न सहयोगी बन्न चाहन्थें ।
मेरा बुवाले जस्तै समस्या भोगिरहेका कति टेम्पो चालक अझै पनि त्यहाँ होलान् भनेर म टेम्पोको कार्यालयमै पुगें । तर, अन्तर्मुखी स्वभावकी भएकाले मलाई आफ्नो कुरा राख्न अहसज भयो । त्यसैले त्यहाँबाट निस्किएर म रत्नपार्क नजिक पुगें र एउटी दिदीले चलाएको टेम्पुमा बसें ।
उनीसँगै केही समय यात्रा गरेर मैले उनको दुःखसुख बुझ्ने कोसिस गरें । उनी खाना खाने समयमा ग्यारेजमा गएर ब्याट्री चार्ज गर्दी रहिछन् । त्यहाँ अरू टेम्पो चालक दिदीहरूसँग भेट भयो । भलाकुसारी गर्दै जाँदा थाहा पाएँ, उनीहरूले टेम्पोको ब्याट्रीबाट हुनसम्मको दुःख पाएका रहेछन् । जति ब्याट्री परिवर्तन गरे पनि ६ महिनाभन्दा बढी टिक्दै नटिक्ने । राम्रो ब्याट्री लगाउन पैसाले नपुग्ने । एउटा ब्याट्रीको १०–१२ लाख रुपैयाँ पर्ने रहेछ ।
यत्तिका पैसा खर्चेर ब्याट्री कसरी किन्ने ? न आफूसँगै पैसा छ ? न कुनै सहकारी वा बैंकले ऋण दिन्छ ?
त्यहाँबाट फर्केपछि हामीले योजना बनायौं— सफा टेम्पोमै लक्ष्य गरेर केही गरौं । खासगरी ब्याट्रीका लागि आवश्यक पैसा जुटाउन हामीले वित्तीय संस्थासँग सहजीकरण गर्ने गरी एउटा संयन्त्र बनायौं । त्यसअन्तर्गत जसलाई पैसा चाहिएको हो, उनीहरूको कागजात हाम्रो संस्थामार्फत तयार गर्ने व्यवस्था मिलाइयो । सो कागजात सम्बन्धित बैंक वा वित्तीय संस्थामा पेस गरेर ऋणको सहज पहुँचमा पुग्न र ऋणको सदुपयोग सुनिश्चित गर्ने प्रविधिबाट सहयोग गरिदियौं ।
यी सबै कामलाई व्यवस्थित गर्न हाम्रो एलोई नामक फिनटेक नामक कम्पनीबाट कृषाला र बिजुली पावर नामक सफ्टवेयर छ । कुनै उद्यम गर्न चाहनेको विवरण यस सफ्टवेयरमा राखिन्छ । उनीहरूको विवरण हेरेर बैंकले ऋण दिन्छ । यसबाट लघु उद्यमीलाई पारदर्शी ढंगले ऋण उपलब्ध गराउन सकिन्छ । ऋण लिने क्रममा ठगी वा झन्झट हुन नदिन यो काइदा अपनाइएको हो । सो ऋण डिजिटल टोकनका रूपमा प्राप्त हुन्छ ।
काठमाडौंमा चल्ने सफा टेम्पोका महिला चालकले डिजिटल टोकन प्रयोग गर्दै आएका छन् । टेम्पो चलाउन सिकेर आफैं उद्यम गर्न चाहनेलाई पनि यसले साथ दिएको छ । जसले गर्दा यस क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दो छ । फलस्वरूप काठमाडौंबाहिर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, नवलपरासी, तनहुँ, कास्की, रसुवा, काभ्रेपलाञ्चोकसम्म यसको विस्तार भएको छ ।
एलोईले साना उद्योग गर्न चाहने महिलालाई वित्तीय सहयोगका लागि सम्पूर्ण स्रोत र साधन जुटाइदिने काम गर्छ । वित्तीय सहयोग मात्रले नपुग्ने रहेछ । उनीहरूलाई प्रविधिमैत्री पनि बनाउनुपर्ने थियो । जबकि उनीहरूले एसएमएस गर्न पनि जानेका हुँदैनन् । इन्टरनेट प्रयोग गर्न, एप चलाउन डराउँछन् । त्यसैले हामीले कम्पनीमार्फत सबैभन्दा पहिले उनीहरूलाई एसएमएस प्रयोग गर्न सिकायौं ।
अहिले उनीहरूको सहजतालाई हेरेर हामीले प्रविधिलाई अरू सहज बनाउँदै लगेका छौं । अहिले अफलाइन एप पनि सञ्चालनमा आइसकेको छ । अब मुख्य प्रश्न हो, कसरी कुनै साधारण व्यक्ति हामीसँग जोडिने त ? कसरी हाम्रो सेवा प्राप्त गर्ने त ?
कुनै पनि व्यक्तिले हाम्रो सीमाभित्र रहेका पेसा उद्यम गर्न एलोईमार्फत ऋणको आवेदन दिन सक्छन् । हामीले आवश्यक प्रक्रिया पूरा गरी कम्पनी सम्बद्ध बैंक तथा वित्तीय संस्थासँग ऋणका लागि प्रक्रिया सुरु गर्छौं ।
ऋणी व्यक्तिको ऋणको इतिहास तथा अन्य कागजात मूल्यांकन गरेर बैंकले ऋणका लागि स्वीकृति दिन्छ । एलोईले बनाएको टोकन ऋणीको मोबाइल म्यासेजमार्फत पठाइन्छ । उक्त टोकन लिएर एलोई सम्बन्धित विक्रेताकहाँ गएर ऋणीले आफ्नो सामग्री लिन सक्छन् । यसपछि सो टोकन लिएर विक्रेता बैंकमा जान्छन् र टोकन बराबरको रकम झिकेर ल्याउन सक्छन् । यसले गर्दा ऋणको दुरुपयोग नहुने र ऋण प्राप्त गर्न पनि सहज हुन्छ ।
बैंकहरूले विद्युतीय गाडीको ब्याट्री किन्न बिनाधितो ऋण दिन्छन् । विद्युतीय टेम्पोको हकमा भने ऋण तिर्ने प्रक्रिया अलि फरक छ । त्यसमा ऋण लिने व्यक्तिले ऋण निकाल्नुभन्दा अगाडि कुनै एउटा सहकारीमा प्रतिदिन केही पैसा जम्मा गर्ने सम्झौता गरेको हुन्छ । उक्त ऋणीले जम्मा गरेको रकम सहकारीले बैंकमा लगेर ऋणको किस्ता तिरिदिन्छ । यस किसिमको प्रक्रियाबाट अहिले धेरै जना लाभान्वित छन् । सामान्य मान्छेमाथि गरिएको यो लगानी नै हाम्रो ऊर्जा र उत्साहका स्रोत हुन् ।
