हामीले ‘डेस्टिनेसन वेडिङ’ मा ध्यान दिनुपर्छ, भारतीयलाई लक्ष्य गर्दै चितवन, भैरहवा, लुम्बिनी र जनकपुरमा यो सुरु भएको छ, अब हिमाललाई केन्द्रमा राखेर यसलाई व्यापक बनाउनुपर्छ
नेपालको विकासका लागि प्रमुख र महत्त्वपूर्ण आधार पर्यटन नै हो । यस क्षेत्रमा हामीले केही गरेका छौं । तर यति मात्र पर्याप्त छैन । मैले केही वर्ष विभिन्न होटलमा नेतृत्व तहमा काम गरें । त्यहाँ काम गर्दा खासगरी दक्षिण एसिया र दक्षिण पूर्वी एसियाली देशका पर्यटक र पर्यटकीय गतिविधिलाई बुझ्न र अनुभव गर्न पाएँ । पछिल्लो समय भने म खासगरी सहरी र रात्रिकालीन पर्यटनमा केन्द्रित छु ।
सहरी र रात्रिकालीन पर्यटनमा ठमेल नेपालको केन्द्र नै हो । पछिल्लो समय नेपालमा पनि घरका सबै जनाले काम गर्ने चलन बढेको छ । खासगरी टिनएजर पनि आफ्नो सामान्य खर्चका लागि बाबुआमा वा अभिभावकको भर पर्न छाडेका छन् । कामलाई सम्मान गर्न थालिएको छ ।
पछिल्लो समय युवा वर्ग पनि सानोतिनो नभनी काममा खटिने गरेका छन् । सबैले काम गर्न थालेकै कारण घुम्न जाने, आउटिङ जाने वा मनोरञ्जनका लागि खर्च गर्ने चलन बढेको छ । करिब एक दशकयता त ‘फुड कल्चर’ निकै बढेको छ । विदेशतिर जस्तो पब वा बार कल्चर पनि बढेको छ ।
थाइल्यान्ड, इन्डोनेसिया, कम्बोडिया, लाओसलगायत देशबाट हामीले सिक्नुपर्छ । ती देशले सबै प्रकारका पर्यटकलाई लक्ष्य गर्दै आफ्ना पूर्वाधार विकास गरे । र, त्यहीअनुसार कम खर्च हुनेदेखि महँगा तथा विलासी होटलको व्यवस्था गरे ।
ती देशका सरकारले पनि भिसा प्रक्रिया निकै सहज बनाइदिए । पर्यटकलाई पनि व्यक्तिगत रुचिअनुसारका विकल्पको व्यवस्था छ । तर ती देशभन्दा हामी निकै हिसाबले धनी छौं । खालि हामीसँग समुद्र छैन । इन्डोनेसियाको बालीमा दुईवटा मात्र सिजन छन् भन्दा हुन्छ । कि पानी परेको परेकै हुन्छ, नत्र घाम लागेको लाग्यै । थाइल्यान्ड पनि लगभग उस्तै हो । तर हामीसँग ६ ऋतु छन् । तर त्यसअनुसार उपयोग गर्न सकिएको छैन ।
हामीले ‘डेस्टिनेसन वेडिङ’ मा ध्यान दिनु जरुरी छ । पछिल्लो समय भारतीयलाई लक्ष्य गर्दै चितवन, भैरहवा/लुम्बिनी तथा जनकपुरमा यो सुरु भएको छ । हिमाललाई नै केन्द्रमा राखेर यो योजना अघि सार्नॅपर्छ । सोलुखुम्बु, पोखरा, मुस्ताङलगायत क्षेत्रलाई यसका लागि भरपुर सदुपयोग गर्न सकिन्छ ।
लुम्बिनी पोखरालगायतका स्थानमा विमानस्थल बनेका छन् । तर हामीले त्यसलाई सदुपयोग गर्न सकेको जस्तो लाग्दैन । भारतमा हाल भइरहेको कुम्भ मेलालाई नै हेरौं न । करोडौं पर्यटक त्यहाँ पुगे । नेपालबाटै लाखौं पुगेका छन् । त्यसरी नै हामीले लुम्बिनीलाई पनि बौद्ध धर्मसँग जोडेर त्यस्तै फेस्टिभल आयोजना गर्न सकिन्छ ।
यसमार्फत बौद्ध धर्म मान्ने वा त्यसप्रति आस्था भएका मानिसलाई विश्वभरबाट ल्याउन सकिन्छ । त्यस्तै, पोखरालाई भारतीय हाई एन्ड टुरिस्टलाई केन्द्रित गरेर पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । पोखरा र आसपासमा हुने साहसिक पर्यटनसम्बन्धी गतिविधि पनि पर्यटक आकर्षित गर्नका लागि प्रयोग गर्न सकिन्छ ।
पर्यटकको संख्या त केही बढेको छ तर कोभिडअघिको जस्तो भने भइसकेको छैन । मार्चदेखि खासगरी चिनियाँ र अन्य एसियाली देशका पर्यटकको आवागमन बढ्ने अपेक्षा छ । तर त्यसरी आउने पर्यटकमा पनि कति खर्च गर्ने पर्यटक आउँछन् र काठमाडौंबाहिर वा हिमाली क्षेत्रसम्म पुग्छन् भन्ने हाम्रा लागि निकै महत्त्वपूर्ण छ ।
त्यसमाथि उनीहरूले कति खर्च गर्छन् भन्ने पनि महत्त्वपूर्ण छ । यसमा हामीले भुटानबाट सिक्न सक्छौं । भुटानले ‘सस्टेनेबल डेभलपमेन्ट फि’ अन्तर्गत दैनिक कम्तीमा एक सय अमेरिकी डलर खर्च गर्नुपर्ने नियम बनाएको छ । त्यति नै नभए पनि हामीले पनि मापदण्ड बनाउन जरुरी छ । तिनै पर्यटकले भुटान, थाइल्यान्ड, भारतमा राम्रो खर्च गर्न सक्छन् भने हाम्रोमा पनि सक्छन् । मापदण्ड नभएकै कारण पनि हामीले काठमाडौं, पोखरालगायत सहरमा ‘बजेट टुरिस्ट’ हरूको संख्या बढी देखेका छौं ।
हाम्रोमा संरचना बनाउँदा प्राकृतिक सुन्दरता बिगार्ने काम भएका छन् । कतिपय पर्यटक ट्रेकिङ तथा हिमाल आरोहणका लागि नेपाल आउने भएकाले त्यसमा ध्यान दिनुपर्छ । हवाई उडानका विषयमा पनि हाम्रो सेवा त्यति प्रभावकारी देखिँदैन । त्यसमाथि पछिल्लो समय भएका विभिन्न हवाई दुर्घटनाले पनि पर्यटनमा प्रभाव परेको छ । ठमेल विश्वकै उत्कृष्ट नाइटलाइफ भएको स्थान हो । यहाँ लाइभ म्युजिक गर्ने पर्पल हेज, सिसादेखि क्लबमा एलओडीलगायतले फरक गरिरहेका छन् । पर्पल हेजमा हरेक दिन दुईवटा ब्यान्डले ३/३ घण्टा प्रस्तुति दिन्छन् । एलओडी ठमेलकै अर्को उदाहरण हो । विश्वकै उत्कृष्ट मध्येको क्लब हो । यसको जस्तो सेटअप र एम्बियन्स एसियामै छैन ।
पब, बार, क्लब, दोहोरी साँझ, डान्सबार सबै फरक–फरक प्रकृतिका व्यवसाय हुन् । तर हाम्रो प्रशासनले सबैलाई एउटै टोकरीमा हालेर हेर्छ । यसकारण पनि व्यवसायीलाई असर पुग्छ । हामीले यी सबैलाई फरक–फरक स्थानमा सञ्चालन गर्ने व्यवस्था मिलाउन सक्दा राम्रो हुन्थ्यो । तर ठमेलमा यत्रतत्र छन् । त्यसकारण अब विकास हुने सहरमा भने सुरुबाटै योजना बनाउनुपर्छ । सुरुसुरुमा प्रहरी प्रशासनले अनावश्यक दुःख दिन गरेको थियो । यसमा अहिले भने सुधार भएको छ ।
हामीसँग भेग अनुसारका निकै धेरै खाना छन् । तर तिनलाई विश्वव्यापी बनाउन सकेका छैनौं । भारतको बटर चिकेन र नान विश्वव्यापी बनेको छ । हाम्रो देशमा पनि विभिन्न संस्कृतिसँग जोडिएका दर्जनौं खाना छन्, जसलाई हामीले विश्वव्यापी बनाउन सक्छौं । पछिल्लो समय मास्टर सेफ सन्तोष शाहले नेपाली खानालाई विश्वव्यापी बनाउन निकै राम्रो योगदान पुर्याइरहनुभएको छ । सम्भावना हुँदाहुँदै पनि हामीले हाम्रो परम्परा र संस्कृतिसँगै हाम्रो खानालाई विदेशमा प्रवर्द्धन गर्न सकेका छैनौं । स्थानीय खानालाई रैथाने स्वादसँगै प्रवर्द्धन गर्न सके खानासँगै हाम्रो कला संस्कृतिको पनि प्रचारप्रसार हुन्छ । र, आन्तरिकसँगै बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ ।
काठमाडौं उपत्यकामा नै युवाले सञ्चालन गरेका ‘टुसा’ र ‘रैथाने’ ले निकै राम्रो गरिरहेको छ । जुजु धौलगायत स्थानीय उत्पादनलाई डिजर्टका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढेको छ । किम्बु, लालीगुराँस, भुइँचुक, डालेचुकलगायत स्थानीय उत्पादनबाट विभिन्न कक्टेल, मकटेल बनाउन सकिन्छ ।
रोल्पा, डोल्पातिर हुने डालेचुकमा अमला वा सुन्तलामा भन्दा करिब पाँच गुणा बढी भिटामिन ‘सी’ हुन्छ । हामीले ‘गाँस बास को’ मा पनि डालेचुक (सी बक्थोर्न) प्रयोग गरेर ‘ग्रेट हिमालयन’ कक्टेल बनाएका छौं । एक हिसाबले सानै भए पनि यो हामीले गरेको प्रयास हो । हामीले सी बकथोर्न काठमाडौं अर्गानिक्सबाट ल्याउने गर्छौं । कहिलेकाहीँ किसानबाट पनि लिन्छौं ।
‘गाँस बास को’ तथा १९७० को डिस्को थिममा सञ्चालित सपर क्लबमा हामीले अधिकांश ड्रिंक्स रैथाने र अर्गानिक प्रयोग गर्छौं । हामीले ‘गाँस बास को टनिक’ सिग्नेचर ड्रिंक्स नै नेपाली ब्रान्ड चियाबाट बनाउँछौं । त्यसका लागि हामीले सुइरोको ‘बटरफ्लाई पी फ्लावर टी’ प्रयोग गर्छौं । तर हामीले यस्ता स्थानीय उत्पादनलाई खासै बढावा दिन सकेका छैनौं । निजी क्षेत्रबाट केही प्रयास र योगदान त भएको छ । तर सरकारी तहबाट केही भएको छैन ।
गाँजा भन्यो भने यसलाई प्रतिबन्ध लगाउनैपर्छ भन्ने सोच विकसित भयो । हेम्प भनेको निकै धेरै तरिकाबाट प्रयोग हुन सक्ने बोट हो । यसबाट जुत्ता, चप्पल, झोलाका साथै सर्ट–प्यान्टलगायत कपडा पहिरन बनाउन सकिन्छ । ‘क्यानाबिज आयल’ औषधीय गुणका रूपमा पनि प्रयोग भएको छ । यसको उचित नियमन हुनुपर्नेमा प्रतिबन्ध लगाइरहेका छौं ।
पछिल्लो समय युवाले निकै ‘क्रिएटिभ र इनोभेटिभ आइडिया’ अघि सारेका छन् । विभिन्न क्षेत्रमा नयाँ काम गरेका छन् । तर हाम्रो नेतृत्व परम्परागत सोचबाट माथि उठ्न सकेको छैन । यसको मुख्य कारण उनीहरूको हुर्काइ, अध्ययन र सोच हो । उनीहरूले गाजा भन्नेबित्तिकै खराब कुरा हो र बिग्रेका मानिसले मात्र प्रयोग गर्ने भन्ने सोच्छन् । त्यसैले यसलाई बन्द होइन, नियमन गर्नुपर्छ ।
नेपाललाई साहसिक पर्यटनको गन्तव्यका रूपमा पनि विकास गर्न सकिन्छ । स्काई जम्प, बन्जी जम्प, प्याराग्लाइडिङ, जिपलाइन, र्याफ्टिङ, हट एयर बलुनलगायत साहसिक पर्यटनलाई हिमाली क्षेत्र र पहाडी हरियालीसँग जोडेर प्रवर्द्धन गर्न सकिन्छ । निजी क्षेत्रबाट केही काम भएका पनि छन् । तर यसमा पनि सुरक्षा र नियमनका विषयमा समस्या देखिने गरेको छ ।
हामीले ‘मेडिकल टुरिजम’ का रूपमा पनि विकास गर्न सकिने सम्भावना उत्तिकै छ । खासगरी सीमाक्षेत्रमा भारतीय पर्यटकलाई लक्ष्य गरेर ‘मेडिकल टुरिजम’ को प्रवर्द्धन गर्न सके यसले देश विकासमा पनि उल्लेखनीय योगदान पुर्याउन सक्छ ।
विश्व बजारका हिसाबले नेपाल सानो ठाउँ हो । त्यसैले निजी क्षेत्रबाट मात्र सम्भव हुँदैन । यसमा सरकारी पहल नितान्त आवश्यक छ । हालै बेलायतका राजकुमार तथा एडिनबर्गका ड्युक एडवार्डले नेपाल भ्रमण गरे । केही समयअघि साउदी अरबका राजकुमार फैसल बिन फहरान अल साउद नेपाल आए ।
भारतीय कंग्रेसका नेता राहुल गान्धी व्यक्तिगत भ्रमणमा आए । अझ कतारका राजकुमार मोहम्मद विन अब्दुल्लाह अल थानीले कोभिडकै बेला आएर सोलुखुम्बुको अमादब्लम हिमाल आरोहण गरे । तर हामीले यस्ता महत्त्वपूर्ण घटनालाई विश्वभर पुर्याउनबाट चुक्यौं । सरकारी नेतृत्वमा निजी क्षेत्रलाई पनि समेट्दै यस्ता विषयको प्रचारप्रसार गर्न सके हाम्रो बोलीसँगै भोलि पनि फेरिनेछ ।
