हामी प्रोडक्ट निकाल्छौं, भिडियो डकुमेन्ट्री बनाउँछौं, कथा सुनाउँछौं, सचेतनामूलक सामग्री बनाउँछौं, तर हाम्रो कामको महत्व कमैले बुझिदिनुहुन्छ
आजको डिजिटल युगमा ‘कन्टेन्ट क्रिएसन’ प्रभावशाली र आवश्यक क्षेत्र बनेको छ । साना–ठूला संघसंस्थादेखि बैंक, अस्पताल, कर्पोरेट क्षेत्र सबैले आफ्ना वस्तु तथा सेवाको प्रचारप्रसार, ब्रान्डिङ, विज्ञापनका लागि कन्टेन्ट क्रिएटर, स्क्रिप्ट राइटर र इन्फ्लुएन्सर खोज्न थालेका छन् ।
ट्राभल कन्टेन्ट क्रिएसनले नेपालमा पर्यटन प्रवर्द्धन, संस्कृति तथा स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । तथापि कन्टेन्ट क्रिएसनलाई औपचारिक पेसाका रूपमा स्विकारिएको छैन ।
‘कन्टेन्ट क्रिएटर’का रूपमा हामीले जुन लगानी, समय र श्रम खर्च गर्छौं, त्यसको उचित कदर हुँदैन । हामीले तयार गर्ने कन्टेन्ट लाखौंले हेर्छन्, त्यसबाट पर्यटन क्षेत्रलाई फाइदा पुग्छ, स्थानीय व्यवसायहरूलाई प्रवर्द्धन हुन्छ । तर हाम्रो योगदानलाई प्रायः नजरअन्दाज गरिन्छ । अझै पनि धेरैले ‘कन्टेन्ट क्रिएसन’ भनेको केबल रुचि वा सोखका रूपमा बुझ्नुहुन्छ । यसलाई एउटा व्यावसायिक सम्भावना भएको ‘करिअर’ वा ‘पेशा’का रूपमा बुझ्नेहरूको संख्या निकै कम छ । यसलाई व्यवस्थित व्यवसायका रूपमा पहिचान गरिएको छैन ।
कन्टेन्ट क्रिएटरलाई दक्ष जनशक्तिका रूपमा लिइएको छैन । हामीले गरेका काम वा बनाएका कन्टेन्टको समाजले अपनत्व लिने गरेको छैन । यसलाई हाम्रो निजी सम्पत्ति वा क्रिएटरहरूले
आफ्नो इच्छाले बनाएका सामग्री मान्ने प्रवृत्ति छ । समय काट्न, रमाइलोका लागि गरेको कामका रूपमा लिइन्छ । कतिपयले हाम्रा सामग्री अनधिकृत रूपमा प्रयोग गरिदिन्छन् । त्यसबाट हामीले श्रम गरेको कामको प्रतिफलसमेत पाउँदैनौं ।
नेपालमा डिजिटल कन्टेन्ट क्रिएसन प्रारम्भिक चरणमै भए पनि अब व्यावसायिक रूपमा स्थापित हुन थालेको छ । आम्दानीका हिसाबले हेर्दा, ट्राभल कन्टेन्ट क्रिएटरहरूले सबैभन्दा ठूलो भरथेग युट्युबबाटै पाएका छन् । म आफैं पनि एक्लै काम सुरु गर्दा युट्युबकै माध्यमबाट अगाडि बढ्न सकें । यही आम्दानीका आधारले अहिले ‘कल कर्णाली प्रोडक्सन’ कम्पनी स्थापना गरेर टिम नै बनाउने काम गर्न सक्ने भएकी छु ।
औसत रूपमा महिनाको ४०/५० हजार रुपैयाँ मात्र आए पनि यो आम्दानीले टिक्न सघाउँछ । ट्राभल कन्टेन्ट क्रिएटरहरूका लागि मात्र नभएर डिजिटल मिडियामा काम गर्ने सबैका लागि युट्युब सबैभन्दा प्रभावकारी र दिगो प्लाटफर्म बनेको छ । तर युट्युबमा मात्र सीमित भएर बस्न मिल्दैन । आफूले के गरिरहेको छु, कसरी गरिरहेको छु भनेर दर्शकलाई जानकारी दिन फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्लाटफर्म पनि उत्तिकै महत्त्वपूर्ण छन् ।
बाहिर बस्ने दर्शकको कमेन्टमा अक्सर भावुकता झल्किन्छ । ‘यस्तो राम्रो ठाउँ जान पाए हुन्थ्यो’, ‘घर फर्किएर केही गर्न पाए हुन्थ्यो’ वा ‘ढुक्कले काम गर्ने वातावरण सरकारले तयार गरिदिए विदेश आउँदैनथ्यौं’ भन्ने जस्ता प्रतिक्रिया बारम्बार आइरहन्छन् । यसले देखाउँछ कि विदेशमा रहेका नेपालीहरूमा नेपालको पर्यटन, प्रकृति र संस्कृतिप्रतिको आकर्षण अझै जीवित छ ।
उहाँहरू उचित अवसर र वातावरण नपाएर बाध्य भएर बाहिर बस्नुपरेको छ । नेपालमै रहेका दर्शकको दृष्टिकोण चाहिँ अलि फरक देखिन्छ । उनीहरू भौतिक रूपमा यात्रा गर्न नसके पनि, हाम्रा भिडियो हेरेरै नयाँ ठाउँको अनुभव लिइरहेको प्रतिक्रिया दिन्छन् । हामीले पत्ता लगाएका होमस्टे, होटल वा अन्य नयाँ गन्तव्यमा जाने निर्णय गर्न उनीहरू हाम्रो कन्टेन्टलाई आधार मान्छन् । धेरैजसो कन्टेन्ट क्रिएटरहरू आफैं ब्रान्ड खोजेर सहकार्य गर्दै यो क्षेत्रमा टिकिरहनुभएको छ ।
यतिखेर विदेशमा बसेर नेपालमा लगानी गर्नेहरूको संख्या पनि बढिरहेको छ । विदेशमा रहेका नेपालीले नेपालका जैविक उत्पादन, मह, कोदो, फापर, हस्तकला तथा अन्य स्थानीय उद्यममा लगानी गर्न थालेका छन् । कतिपयले होटल बुकिङ एप्स निर्माण गरेका छन्, ट्राभल गियर उत्पादन गरेर बिक्री गरिरहेका छन् । उनीहरू आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धनका लागि हामीसँग सहकार्य गर्न चाहन्छन् । हामी पनि यदि उत्पादित सामग्री वा सेवा विश्वसनीय छ भने प्रवर्द्धन गर्न तयार हुन्छौं ।
सामाजिक सञ्जाल मनिटाइजेसन नहुँदा हामीलाई अन्याय भएको छ । डिजिटलमा युट्युबको मात्रै भर परेर हुँदैन । हामीले खिचेका भिडियो, बनाएका कन्टेन्ट टिकटक, इन्स्टाग्राम, फेसबुकमा बग्रेल्ती गइरहेका छन् । भ्युज लोभलाग्दो भए पनि त्यहाँबाट आयआर्जन हुँदैन । हाम्रो मिहिनेत व्यर्थ गइरहेको छ । यी प्लाटफर्म नेपालमा पनि मनिटाइज हुने विकल्प खुला गर्न सरकारले समाजिक सञ्जाल प्लाटफर्मलाई दबाब दिनुपर्छ ।
हामी केही गर्छौं, प्रोडक्ट निकाल्छौं, भिडियो डकुमेन्ट्री बनाउँछौं, कथा सुनाउँछौं, जलवायु परिवर्तनसम्बन्धी सचेतनामूलक कन्टेन्ट बनाउँछौं । तर हामीलाई कहीं, कतैबाट कुनै सपोर्ट छैन । गायक, गायिका, कलाकारहरूलाई विभिन्न संघसंस्थादेखि गाडी कम्पनी, बैंक, हस्पिटल सबैले विश्वास गर्छन्, हामीलाई चाहिँ गर्दैनन् । हामीले चाहिँ हाम्रो सबै कुराहरू क्लिएर देखाउनुपर्छ, विश्वासै गर्दैनन् । सेवा सुविधा मागेको होइन, काम सजिलो बनाइदिनुपर्छ भन्नेसमेत छैन । योचाहिँ दुःखलाग्दो कुरा छ ।
नेपालमा जति पनि ठाउँमा यात्रा गरिन्छ, स्थानीयको साथ र सहयोग धेरै राम्रो छ । मलाई त लाग्छ, ९९ प्रतिशत मान्छेहरू राम्रा हुन्छन् । यसले गर्दा नेपालमा ट्राभल गर्न सजिलो छ । ट्राभल कन्टेन्ट मात्रै बनाउने, ‘हिडेन डेस्टिनेसन’ पत्ता लगाउनेहरू नेपालमा धेरै छैनन् । युट्युबमा चार–पाँच वटा मात्रै यस्ता च्यानल छन् । इन्स्टाग्रामका लागि मात्रै ट्राभल कन्टेन्ट बनाउने वा ब्रान्डहरूसँग सहकार्य गरेर बनाउने पनि त्यति धेरै छैनन् । तर डिजिटल कन्टेन्ट क्रिएसनको भविष्य नेपालमा राम्रो हुनेमा हामी ढुक्क छौं ।
ट्राभल कन्टेन्ट क्रिएटरका लागि पनि स्कोप बढेको बढ्यै छ । ठुल्ठूला होटलदेखि कैयौं ठाउँमा र्याफ्टिङ, प्याराग्लाइडिङ खुलिरहेका छन् । यहाँ मात्र होइन, विश्वभर नै ट्राभल र एड्भेन्चर मन पराउने मान्छे छन् । सबैलाई जोड्ने सेतु भनेकै डिजिटल प्रविधि हो, भिडियोमार्फत हो, प्रचारप्रसारको माध्यम नै यही हो । चिठी पठाएर घुम्न आउनुस् भन्ने जमाना अहिले छैन र त्यो फर्केर आउने पनि होइन । त्यसकारण यस्तो काम गर्नेलाई अवसर खुल्दै जाने निश्चित छ ।
