मुलुकमा खाद्यान्नको माग र उत्पादनबीच ठूलो खाडल छ । धेरै उपभोग हुने खाद्यान्नमा हामी आयातमै निर्भर छौं । भियतनाम, टर्की, अमेरिकालगायत मुलुकबाट खाद्यान्न आयात गरिरहेका छौं । नेपालमै उत्पादन हुने दाल, तेललगायत खाद्यान्न पनि आयात गर्नुपर्ने अवस्था छ । स्वदेशमा उत्पादन नहुने मसला, चेरी, ओलिभ आयललगायत वस्तु भने आयात गर्नैपर्छ ।
कच्चा पदार्थ उपलब्ध भए स्वदेशमै उत्पादन गर्न सकिन्छ । स्वदेशमै उत्पादन हुने सम्भावना भएका वस्तुमा पनि हामी आयातमै निर्भर छौं । यसको प्रमुख कारण भनेको गुणस्तरीय उत्पादन पर्याप्त नहुनु हो । यसको अर्थ स्वदेशमा उत्पादित सबै वस्तु गुणस्तरीय छैनन् भन्ने होइन । गुणस्तरीय वस्तु थोरै मात्रामा उत्पादन भइरहेका छन् ।
मूल्यको तुलना गर्ने हो भने स्वदेशी उत्पादनभन्दा आयातित वस्तु सस्तो पर्छन् । अन्य मुलुकमा ठूलो परिमाणमा वस्तु उत्पादन हुने भएकाले लागत कम पर्छ । तर नेपालमा थोरै परिमाणमा उत्पादन हुने भएकाले लागत बढी पर्छ । त्यसले स्वदेशी उत्पादनलाई महँगो बनाउँछ ।
आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न गुणस्तरीय उत्पादनतर्फ जोड दिनुपर्छ । साथै धेरै परिमाणमा उत्पादन गर्ने हो भने आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सकिन्छ । जस्तै, तराईदेखि पहाडसम्म मह उत्पादन गर्न सकिन्छ । महमा औषधीय गुण हुने भएकाले स्वदेशसँगै विदेशमा पनि यसको माग उत्तिकै छ । किसानसँग मह भए पनि बेच्न सकेका छैनन् । किसानका उत्पादनलाई सुरक्षित गर्न आयातमा रोक लगाउने र बजार सुनिश्चित गर्ने नीति लिनुपर्छ ।
चालु आर्थिक वर्षको साउनमा ६० हजार युवा बाहिरिए, तर हामीकहाँ पर्याप्त दक्ष जनशक्ति छैनन् । काम गर्ने उमेर नै १६ देखि ४० वर्ष हो । तर यही वर्षका युवा देश छोड्ने क्रम बढ्दो छ । भएका युवा पनि कृषि पेसा अपनाउन चाहँदैनन् । उनीहरूको सोच विदेश जानेमै बढी केन्द्रित छ । जसका कारण दक्ष जनशक्तिको अभाव चुलिएको हो । तसर्थ दक्ष जनशक्ति उत्पादन गर्न सरकारले विभिन्न नीति ल्याउन जरुरी छ ।
नेपालमा अवसर नभएको होइन, सूचना तथा प्रविधि (आईटी) क्षेत्रमा नेपाली युवाले अमेरिकी कम्पनीका लागि काम गरिरहेका छन् । आईटीमा नेपालमै रोजगारी सिर्जना भइरहेका छन् । जलविद्युत् र आधुनिक कृषिलगायत धेरै क्षेत्रमा सम्भावना छ । अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढ्दो छ । निर्यात हुने वस्तुमा अलैंची पहिलो स्थानमा पर्छ । तर हामीले अप्रशोधित अलैंची बिक्री गरिरहेका छौं ।
यस्ता वस्तुको पहिचान गरी सरकारले प्राथमिकताका साथ अघि बढाउनुपर्छ । युवालाई रोक्न सरकारले लाभका वस्तु पहिचान गरी ब्रान्डिङ गर्नेलगायत सीप सिकाउनुपर्छ । शिक्षा र रोजगारीको अवसर देखेर युवा विदेश पलायन भइरहेका छन् । उस्तै अवसर र सेवासुविधा नेपालमै पाए उनीहरू विदेश जाँदैनन् । सरकारले त्यस किसिमका नीति ल्याउन सकेको छैन ।
मैले अमेरिकामा पढें । अमेरिकामा राम्रै अवसर थियो । नेपालमा केही सम्भावना देखेर नै फर्किएँ । अमेरिकाबाट फर्केर खाद्यान्न क्षेत्रमा लागें । चुनौती लिएर अगाडि बढ्दा नै सफलता मिल्छ । नेपालमा खाद्यवस्तु आयात गर्न खुला सीमा, न्यून गुणस्तर र चोरी निकासीलगायत समस्या छन् ।
हामीले वैध रूपमा आयात गरिरहेका छौं । तर खुला सीमाले अवैध आयातलाई प्रोत्साहन गरिरहेको छ । त्यसकारण चोरी निकासीबाट न्यून गुणस्तरीय वस्तु आयात हुने गरेको छ । वैध रूपमा आएको वस्तु अवैध रूपमा भित्रिएका वस्तुसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।
भन्सार छलेर आएका वस्तुसँग प्रतिस्पर्धा गर्नै सकिन्न । अवैध आयातलाई नियमन गर्न नसक्दा सरकारले राजस्व गुमाइरहेको छ । भन्सार दर समयसापेक्ष र अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिमार्जन गर्न जरुरी छ । डेढ वर्षअघि सरकारले कडाइ गर्दा अवैध आयात नियन्त्रण भएको छ । अहिले फेरि अवैध आयात बढ्दो छ ।
लगानीतर्फ हेर्दा बैंक ब्याजदर कम छ । तरलताको समस्या छैन । अहिले उत्पादन बढी छ तर बजार छैन । त्यसकारण पछिल्लो समय खाद्यान्नको बजार खुम्चिँदै गएको छ । निर्यातमा त्यस्तै समस्या छ । अहिले जापानमा मह निर्यात बन्द छ । निर्यात खोल्न सरकारले पहल गर्नुपर्छ ।
जापानबाहेक अन्य मुलुकमा पनि निर्यात गर्न सरकारले सहज वातावरण बनाइदिनुपर्छ । यसमा सरकार–सरकारबीच पहल हुनु जरुरी छ । बजार घट्दै जाँदा आयात पनि घट्छ । सरकारले कर बढाउँदा स–साना उद्योगीलाई समस्या हुन्छ । कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर एउटै छ । कच्चा पदार्थ आयात गरी उत्पादन गरेर बजार पठाउँदा तयारी वस्तुसँग प्रतिस्पर्धा गर्न सक्दैनौं ।
