युवा प्रवासनको अर्थसामाजिक प्रभाव

विश्वव्यापीकरणको युगमा आप्रवासन स्वाभाविक प्रक्रिया हो, यसलाई ‘बौद्धिक पलायन’ का रूपमा नभई ‘विश्वभर बलियो नेपाली सञ्जाल’ का रूपमा निर्माण गरेर अवसरको भरपूर उपयोग गर्नुपर्छ 

फाल्गुन ७, २०८१

विभव प्रधान

Socioeconomic impact of youth migration

नेपाली युवाको विदेश पलायन प्रवृत्ति सामाजिक–आर्थिक परिदृश्यको परिभाषित विशेषता बनिसकेको छ । यसको मुख्य कारण आर्थिक अवसरको अभाव, राजनीतिक अस्थिरता, शिक्षा तथा रोजगारीका सीमित सम्भावनालगायत हुन् । त्यसो त नेपालबाट बिदेसिने प्रवृत्ति नयाँ भने होइन । यसको निकै पुरानो इतिहास छ । तर, पछिल्ला दुई दशकमा बिदेसिने क्रम उच्च दरले बढेको छ । 

सन् १८१४ देखि १८१६ को ‘अंग्रेज–नेपाल युद्ध’ पछि ब्रिटिस र भारतीय सेनामा नेपाली गोर्खा सैनिकका रूपमा काम गर्न जाने लहर सुरु भयो । तर, आधुनिक प्रवासन भने सन् १९८० र १९९० को दशकदेखि तीव्र हुन थालेको हो । खाडी मुलुक र मलेसियालगायत देशमा निर्माण, होटल तथा पर्यटनलगायत क्षेत्रमा कम ज्यालाका (सीप नभएका, आंशिक सीप) नेपाली कामदारको ठूलो माग भएदेखि कामका लागि बाहिरिने क्रमले तीव्रता पायो ।

त्यही बेला नेपाल सरकारले पनि रेमिट्यान्समार्फत अर्थतन्त्रलाई उकास्न सकिन्छ भन्ने सोच अघि बढायो । परिणामस्वरूप सरकारले सन् १९८५ मा वैदेशिक रोजगार ऐन जारी गर्‍यो । त्यसपछि विदेशमा काम गर्नकै लागि श्रम आप्रवासनको औपचारिक बाटो खुलेको हो । सन् २००० मा दक्षिण कोरियाले ईपीएस प्रणालीमा कामदार लैजान थालेपछि कोरिया पनि नेपालीको महत्त्वपूर्ण श्रम गन्तव्य बन्न पुग्यो ।

नेपालले श्रम प्रवासनसम्बन्धी नीतिगत संरचना चरणबद्ध परिष्कृत बनाउँदै आएको छ भने नियमनलाई प्रभावकारी बनाएको छ । नेपाली कामदारको अधिकार र सुरक्षाको सुनिश्चितता गर्न नेपालले हालसम्म ११ देशसँग द्विपक्षीय श्रम सम्झौता गरिसकेको छ । 

नेपालबाट हुने प्रवासनको स्तर अचम्मलाग्दो छ । सन् २०२१ को जनगणनाले नेपालमा २२ लाख मानिस अनुपस्थित रहेको देखाएको छ, जसमा मुख्यतः श्रमिक र विद्यार्थी छन् । वैदेशिक रोजगार विभागका अनुसार हाल ४० लाखभन्दा बढी नेपाली विदेशमा कार्यरत छन् । उनीहरू धेरैजसो खाडी मुलुक, भारत, मलेसिया र दक्षिण कोरियालगायत देशमा केन्द्रित छन् ।

यद्यपि, विदेशमा रहेका नेपाली कामदारको बहुसंख्यक हिस्सा आंशिक सीप वा अकुशल सीप भएको जनशक्तिले ओगटेको छ । विदेशमा रहेका ९ लाखभन्दा धेरै नेपाली सफाइकर्मी, निर्माण मजदुर, घरेलु सहायक जस्ता ‘प्राथमिक पेसा’ मा संलग्न छन् ।

करिब ७ लाख २५ हजार नेपाली सेवा क्षेत्रमा कार्यरत रहेको तथ्यांकले देखाएको छ । रोजगारीका लागि देशबाहिर रहेका कुल नेपालीमध्ये मात्र ३५.१ प्रतिशत पुरुष र २८.३ प्रतिशत महिला दक्ष कामदार (सीप भएका) छन् । यस्तै, मात्र ०.१४ प्रतिशत पुरुष र ०.२४ प्रतिशत महिला अत्यधिक कुशल वा व्यावसायिक रहेको देखिएको छ । तसर्थ, नेपाली श्रम बजारलाई बढी व्यवस्थित र प्रभावकारी बनाउन दक्ष, उच्च दक्ष र व्यावसायिक कामदारको संख्या बढाउन जरुरी छ ।

रेमिट्यान्सकै भरथेग 

विदेशी मुद्राका स्रोत निर्यात, पर्यटन, प्रत्यक्ष वैदेशिक लगानी, वैदेशिक सहायता तथा अनुदानमा सन्तोषजनक अवस्था छैन । यसकारण पनि नेपालको अर्थतन्त्र जोगाउन रेमिट्यान्सको अहम् भूमिका रहेको छ । सन् २०२२/२३ मा नेपालले १२ खर्ब २० खर्ब रुपैयाँ (९ अर्ब ३३ करोड अमेरिकी डलर) रेमिट्यान्स प्राप्त गरेको थियो । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा करिब २५ प्रतिशत हो । सन् २०२३/२४ 

रेमिट्यान्स बढेर १० अर्ब ४६ करोड डलर पुग्ने अनुमान छ । सन् २०२१ को जनगणनाअनुसार ६४ प्रतिशत नेपाली घरपरिवारले आन्तरिक वा बाह्य कुनै न कुनै रूपमा रेमिट्यान्स प्राप्त गर्ने गरेका छन् । यसको अर्थ रेमिट्यान्सले नेपाली अर्थतन्त्रलाई धेरै पटक निकै जटिल आर्थिक संकटको अवस्थाबाट जोगाएको छ । सन् १९९६ देखि २००६ सम्मको दशक लामो माओवादी द्वन्द्व, सन् २०१५ को विनाशकारी भूकम्प, सन् २०१५–१६ को आर्थिक नाकाबन्दी र २०२० को कोभिड महामारी जस्ता संकटमा पनि नेपाली अर्थतन्त्र ध्वस्त हुनबाट जोगिनुको प्रमुख श्रेय 

रेमिट्यान्सलाई नै जान्छ । नेपालको गरिबी घटाउन रेमिट्यान्सको योगदान धेरै रहेको विभिन्न अध्ययनले देखाएका छन् । विश्व बैंकको एक अध्ययनले सन् २००१ देखि २०११ सम्म खाडी र मलेसियाबाट आएको रेमिट्यान्सले मात्र नेपालको गरिबी करिब ४० प्रतिशतले घटाएको देखाएको छ । 

लामो समयको श्रम प्रवासनसँगै पछिल्ला दुई दशकमा उच्च शिक्षाका लागि नेपाली विद्यार्थी विदेश जाने प्रवृत्ति पनि उच्च दरले बढेको छ । संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलिया र जापान नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्य बनेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सन् २०२२ मा मात्र १ लाख १२ हजार विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) का लागि आवेदन दिएका थिए । यसको अर्थ यो समय अवधिभर दैनिक ३०० भन्दा बढी युवा अध्ययनका लागि नेपालबाट पलायन भए । 

अध्ययन र रोजगारीका लागि उच्च दरले युवा बाहिरिनुमा बाध्यता र रहर दुवै (पुस र पुल फ्याक्टर) तत्त्वले काम गरेको देखिन्छ । उच्च बेरोजगारी दर, लामो समयदेखिको राजनीतिक अस्थिरता, सीमित शैक्षिक अवसर जस्ता कारणहरूले नेपाली युवालाई बिदेसिन बाध्य बनाइरहेका छ । राम्रो तलब, सामाजिक सुरक्षा, उच्च जीवनस्तर र भविष्यको सुरक्षाका आशाले उनीहरूलाई विदेशतर्फ तान्ने गरेको छ ।

ठूलो संख्यामा युवा विदेश पलायन हुँदा नेपालले ठूलो मूल्य चुकाउनुपरेको छ । जनगणना २०७८ अनुसार ६२ प्रतिशत जनसंख्या १५–५९ वर्ष उमेर समूहका छन् । मुलुकको आर्थिक विकासका लागि यो उमेर समूह एक महत्त्वपूर्ण अवसर हो । विज्ञहरूका अनुसार नेपालले यो ‘जनसांख्यिकीय लाभांश’ लाई सदुपयोग गर्न अर्को २५–३० वर्ष मात्र समय पाएको छ । यो समयमा उक्त अवसरको अधिकतम सदुपयोग गर्दै मुलुकको आर्थिक विकासका क्षेत्रमा उपयोग गर्नुपर्छ । 

खाडी र दक्षिणपूर्व/पूर्वी एसियाका परम्परागत गन्तव्यले ठूलो संख्यामा कामदारलाई आकर्षित गर्न जारी राखे पनि अर्को नयाँ प्रवृत्तिमा नेपाली कामदार जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र युरोपेली राष्ट्रजस्ता उच्च आय भएका देशमा उल्लेखनीय रूपमा जान थालेका छन् । आईआईडीएसले सन् २०२३ मा गरेको एक अध्ययनले विदेशमा रहेका सूचना प्रविधि (आईटी) क्षेत्रमा कार्यरत नेपालीले झन्डै आधा अर्ब डलर बराबरको सेवा निर्यात भएको देखाएको छ । यद्यपि, विदेशमा रहेका नेपालीहरू अब सामान्य मानिएका काममा मात्र सीमित छैनन् । उनीहरूले विस्तारै सूचना प्रविधिलगायत क्षेत्रमा धेरै राम्रा काम गरिरहेका छन् ।

अहिले दक्षिण कोरिया, जापानलगायत देशले सूचना प्रविधि (आईटी), स्वास्थ्य सेवा र इन्जिनियरिङ जस्ता क्षेत्रका दक्ष श्रमिक खोजिरहेका छन् । तर अधिकांश नेपाली प्रवासीहरू अझै पनि न्यून सीपयुक्त, श्रम प्रधान रोजगारीमा सीमित छन् । यसले हाम्रो शिक्षा प्रणाली र व्यावसायिक तालिम संरचनामा रहेका कमजोरी उजागर गरेको छ । लैंगिक असमानताले आप्रवास झनै जटिल बनाएको छ । पछिल्लो समय महिला आप्रवासीको संख्या बढ्दै गएको छ । उनीहरू विभेद, शिक्षामा सीमित पहुँच तथा घरेलु कामकाज र यौन शोषणलगायत समस्याबाट पिल्सिरहेका छन् । 

युवाको उद्यमशीलता र नवीनतालाई प्रवर्द्धन गर्ने सम्बन्धमा नीति पर्याप्त छैनन् । नेपालका राष्ट्रिय नीति अझै पनि श्रम आप्रवासनको नियमन र नियन्त्रणमै केन्द्रित छन् । जबकि उद्यमशीलता विकासलाई प्राथमिकता दिइएको देखिँदैन । नेपालले सस्तो श्रमिक आपूर्तिकर्ता देशको पहिचानबाट बाहिर निस्केर नवीनता, सूचना प्रविधि र उद्यमशीलताको केन्द्र बन्ने दिशामा अघि बढ्न आवश्यक छ । यसका लागि नीति निर्माणको सोचमा आमूल परिवर्तन आवश्यक छ । 

नेपालमा आउने अर्बौं डलर 

रेमिट्यान्स उपभोगमा मात्र खर्च नगरेर नवीनतम सोच र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने काममा लगानी गर्न सक्नुपर्छ । मैले हालै अमेरिकास्थित नेपाली डायस्पोराबारे आईआईडीएसले गरेको एक अध्ययनमा सहलेखन गरेको थिएँ । जसले एउटा कठोर यथार्थ देखायो । सन् २०२३ मा नेपालीहरूले अमेरिकाबाट औपचारिक र अनौपचारिक दुबै माध्यमबाट लगभग १.२८ अर्ब डलर रेमिट्यान्स पठाएको देखिन्छ ।

यसै अध्ययनले के पनि देखायो भने अमेरिकामा बसिरहेका नेपालीमध्ये १३ प्रतिशतले मात्र स्वदेशमा वित्तीय लगानी गरेका छन् । लगानीको दर किन यति कम भनेर सोध्दा उत्तरदाताले जवाफमा उनीहरूलाई चासो नभएर होइन, बरु नेपालमा लगानी गर्ने उचित प्रणाली वा वातावरण असहज भएकाले हो भनेर भने । सरकारको अनावश्यक कागजी झमेला, राजनीतीकरण, सार्वजनिक संस्थाप्रतिको अविश्वास र स्पष्ट प्रोत्साहन नहुनुलगायत कारण अवरोधका रूपमा देखिएका छन् । यसकारण विदेशमा रहेका नेपालीलाई देशमा लगानी गर्ने रहर र क्षमता हुँदाहुँदै पनि हिच्किचाइरहेका छन् ।

आईआईडीएसको अध्ययनले विदेशमा रहेका पहिलो र दोस्रो पुस्ताका नेपालीको सम्भावना पनि औंल्याएको छ । ती नेपाली उच्च शिक्षित, अन्तर्राष्ट्रियस्तरमा अनुभव बटुलेका छन् । यसकारण उनीहरूले नेपाललाई विश्वव्यापी अर्थतन्त्रसँग जोड्न सक्ने पुलका रूपमा काम गर्न सक्छन् ।

उनीहरूमध्ये अधिकांश चिकित्सक, इन्जिनियर, कलाकार, व्यवसायी, सूचना प्रविधि जस्ता विभिन्न पेसामा छन्, जसले नेपालमा लगानी, सीप र नवीनतम सोच भित्र्याउन सक्छन् । तर यसका लागि नेपालले लगानी प्रक्रियालाई सरलीकरण, कर छुट र विदेशी लगानीलाई प्रवर्द्धन गर्ने नीति तथा वित्तीय उपकरणहरू (जस्तै, वैदेशिक ऋणपत्र आदि) प्रयोग र कार्यान्वयन गर्नुपर्छ । नेपालले पनि आफूसँग रहेका तुलनात्मक फाइदाका क्षेत्र पहिचान गरेर त्यसको विकास र विस्तारमा ध्यान दिनुपर्छ । 

आप्रवासनलाई ‘बौद्धिक पलायन’ का रूपमा नभई ‘विश्वभर बलियो नेपाली सञ्जाल’ का रूपमा निर्माण गरेर अवसरको भरपूर उपयोग गर्नुपर्छ । हामीले डायस्पोरालाई पुनः लगानी गर्न प्रेरित गर्ने नीति, युवालाई चाहिने सीप र अवसर उपलब्ध गराउन सकेमा आप्रवासन नेपालको विकासको एक प्रमुख शक्ति बन्न सक्छ । अहिले युवालाई स्वदेशमै रोक्ने कि विदेश जान दिने भन्ने विषयमा अल्झेर बस्ने बेला होइन ।

विश्वव्यापीकरणको युगमा आप्रवासन स्वाभाविक प्रक्रिया हो । यदि हामीले समय सान्दर्भिक नीतिगत परिवर्तन, आर्थिक विकासमा विदेशमा रहेका नेपालीसँग हातेमालो र तुलनात्मक फाइदा भएका क्षेत्रहरूमा लगानी गर्न सके आप्रवासनलाई आर्थिक विकासको भरपर्दो इन्जिन बनाउन सकिन्छ ।

अर्थतन्त्रनयाँ पुस्ता : सपना र सम्भावना

विभव कार्यक्रम अधिकृत, आईआईडीएस

Link copied successfully