डिजिटल बैंकिङको प्रस्थानबिन्दु

सही नीति, प्रविधि र मानव संसाधन विकासका उपाय अपनाइयो भने नेपालको बैंकिङ क्षेत्र निकट भविष्यमा अझ प्रतिस्पर्धात्मक, आधुनिक र दिगो बन्नेछ 

फाल्गुन ७, २०८१

रश्मि पन्त

The starting point of digital banking

तीव्र रूपान्तरणको चरणमा रहेको नेपालको बैंकिङ क्षेत्रले डिजिटल प्रविधिको विकास, नियमनको कडाइ र अर्थतन्त्रमा आएको उतारचढावबीच आफ्नो स्थायित्व जोगाइरहेको छ । यसबीच वित्तीय सेवा डिजिटल रूपान्तरणको दिशामा अघि बढिरहेका छन् र यसले बैंकिङ प्रक्रियालाई छिटो, सरल र प्रभावकारी बनाएको छ ।

 डिजिटल बैंकिङ प्रणालीको विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई), ब्लकचेन, बिग डाटा एनालिटिक्स, डिजिटल भुक्तानी प्रणाली (क्यूआर, एनएफसी, क्रिप्टो) तथा साइबर सुरक्षाजस्ता विषय अब बैंकिङ उद्योगका आधारभूत अंश बनिसकेका छन् ।

नेपाल जस्तो मुलुकका लागि डिजिटल बैंकिङको विकास एक प्रवृत्ति मात्र होइन, यो अब अनिवार्य आवश्यकता बनिसकेको छ । तसर्थ आज बैंकिङ क्षेत्रमा युवापुस्ताले प्रविधि र नवप्रवर्तनको विधामा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् र त्यो आवश्यक पनि छ । नेपालमा बैंकिङ प्रणाली पछिल्लो दशक उल्लेखनीय रूपमा विस्तार भएको छ । बैंक मात्र होइन फिनटेक कम्पनी, भुक्तानी सेवा प्रदायक (पीएसपी), भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र डिजिटल वित्तीय सेवा प्रदायक पनि बैंकिङ सेवाका प्रमुख भाग बनेका छन् । यी प्रविधिले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्दै बैंकिङ प्रणालीलाई सरल, सुरक्षित र द्रुतगतिमा अगाडि बढाइरहेका छन् । 

क्यूआर भुक्तानी र मोबाइल बैंकिङको वृद्धिले नगदरहित अर्थतन्त्रको सुरुवात, क्रेडिट स्कोरिङ र डिजिटल ग्राहक पहिचान (केवाईसी) विस्तार गरेको छ । झन्झटरहित कर्जा प्रणाली, कृत्रिम बुद्धिमत्ता (एआई) र बिग डाटा एनालिटिक्स, सुरक्षित र पारदर्शी वित्तीय कारोबार, नयाँ डिजिटल बैंक मोडलको विकास आशालाग्दो देखिन्छ । फिनटेक कम्पनीसँगको सहकार्यले पनि बैंक तथा वित्तीय संस्थालाई उचाइमा पुर्‍याएको छ ।

डिजिटल बैंकिङको वृद्धिसँगै साइबर सुरक्षाका चुनौती पनि सँगै छन् । डेटा सुरक्षामा लगानीको अभाव, साइबर हमलाको जोखिम, डिजिटल साक्षरताको कमी र नियामकीय कडाइ जस्ता कारण डिजिटल बैंकिङको प्रभावकारिता सीमित भएको छ ।

नेपालको बैंकिङ क्षेत्र युवाका लागि अवसरले भरिएको छ । प्रविधिमैत्री सोच, नवीन विचार र व्यावसायिक दृढतासहित अगाडि बढ्नेका लागि यो क्षेत्र सुनौलो भविष्य निर्माण गर्ने थलो बन्न सक्छ । डिजिटल बैंकिङले युवालाई झनै धेरै अवसर प्रदान गरेको छ । 

नेपालमा फिनटेक स्टार्टअप अहिले उदाउँदा चरणमा छन् । डिजिटल भुक्तानी प्रणाली, कृत्रिम बुद्धिमत्ता तथा ब्लकचेन प्रविधिको प्रयोग गरेर नयाँ स्टार्टअप सफल भइरहेका छन् । एकातिर उनीहरूले राम्रो व्यावसायिक विस्तार गरिरहेका छन् भने सुपथ मूल्यका कर्जा सुविधा र उचित नाफा प्राप्त गरिरहेका छन् । डिजिटल बैंकिङको वृद्धिसँगै बैंक तथा वित्तीय संस्थाले साइबर सुरक्षामा लगानी बढाइरहेका छन्, जसले युवालाई नयाँ अवसर प्रदान गर्छ । साइबर सुरक्षासम्बन्धी विषय अध्ययन गरेका युवाले यो क्षेत्रमा आफ्नो करियर सुरक्षित गर्न सक्छन् । 

यसैगरी, डाटा एनालिटिक्स र कृत्रिम बुद्धिमत्तालाई अहिले बैंक तथा वित्तीय संस्थाले ग्राहकको वित्तीय गतिविधि विश्लेषणमा उपयोग गर्दै आएका छन् । बिग डाटा एनालिटिक्स र एआईको प्रयोगलाई झनै सशक्त बनाउनुका साथै दायरा पनि फराकिलो बनाउन सकिन्छ । 

अबको बाटो डिजिटल बैंकिङको हो । एक/दुई वर्षयता नेपालमा डिजिटल बैंकिङको विकास र विस्तार हेर्दा यो पुष्टि हुन्छ । तर, यो क्षेत्रका लागि योग्य, अनुभवी र दक्ष जनशक्ति अभाव छ । यो क्षेत्रको विकास र विस्तारसँगै दक्ष जनशक्ति (विशेषज्ञ) को माग उच्च छ । यसकारण डिजिटल वित्तीय सेवा, क्रेडिट स्कोरिङ प्रणाली तथा डिजिटल कर्जा प्रवाहजस्ता क्षेत्रमा दक्ष युवाले सहजै अवसर पाउन सक्छन् । जसबाट उनीहरूको सीप र दक्षता अभिवृद्धि हुनुका साथै आयआर्जनको पनि राम्रो र दिगो स्रोत हुन सक्छ । तर, यी अवसर उपयोग गर्न युवाले डिजिटल वित्तीय प्रणाली, साइबर सुरक्षा, ब्लकचेन, तथा कृत्रिम बुद्धिमत्तासँग परिचित हुन आवश्यक छ । यसका लागि सम्बन्धित विषयको अध्ययन, अध्यापन, अनुभव संकलन, नवीनतम सोच, नीति नियममा अनुकूलन, राज्य वा नियामक निकायको प्रोत्साहन तथा संरक्षण प्रभावकारी नियमनलगायत व्यवस्था हुन जरुरी छ । 

नेपालमा डिजिटल बैंकिङले धेरै उपलब्धिहरू हासिल गरे पनि विभिन्न चुनौती अझै समाधान गर्न बाँकी छन् । प्रविधि सधैं एउटै रहन्छ भन्ने हुँदैन । समय र सन्दर्भअनुसार यो परिवर्तन हुन्छ । यसकारण डिजिटल परिवर्तनसँगै चुनौतीहरू पनि थपिँदै जान्छन् । 

नेपालको बैंकिङ प्रणालीमा डिजिटल पूर्वाधारको अभाव सबैभन्दा महत्त्वपूर्ण चुनौती हो । ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच सीमित भएकाले डिजिटल वित्तीय सेवाहरूको पहुँच कमजोर छ । गुणस्तरीय पूर्वाधार नभएको अवस्थामा यो क्षेत्रको विकास र विस्तारले गति लिन सक्दैन । यसकारण बैंकिङ प्रणालीमा डिजिटल पूर्वाधारको सम्बन्धमा बैंक तथा वित्तीय संस्था, नियामक निकायलगायत सबै सरोकारवालाहरूको ध्यान जान जरुरी छ । 

डिजिटल बैंकिङको क्षेत्रमा नियमन सन्तुलित रूपमा अगाडि बढ्नु महत्त्वपूर्ण छ, जसले नवप्रवर्तनलाई सुरक्षित र दिगो बनाउन मद्दत गर्छ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङलाई प्रवर्द्धन गरिरहेको छ, जसका कारण नयाँ प्रविधि अपनाउने अवसरहरू पनि बढ्दै गएका छन् । यस क्षेत्रका फिनटेक कम्पनीहरूका लागि अहिले व्यवसाय विस्तार गर्ने, संस्थागत क्षमता अभिवृद्धि गर्ने र नयाँ कम्पनी स्थापना गर्ने उपयुक्त समय हो । नियमनसँगै यस्ता कम्पनीलाई आवश्यक संरक्षण र प्रोत्साहन प्रदान गर्नुपर्नेछ, जसले डिजिटल वित्तीय प्रणालीलाई अझ सुदृढ बनाउनेछ । यस दिशामा सम्बन्धित निकायको सहकार्य र समर्थन आवश्यक छ । अहिले यो क्षेत्रमा नयाँ कम्पनी स्थापना हुने, व्यवसाय विस्तार गर्ने र संस्थागत क्षमता अभिवृद्धि बेला हो । त्यस्ता कम्पनीलाई नियमनसँगै संरक्षण र प्रोत्साहन पनि आवश्यक पर्छ । 

डिजिटल बैंकिङको विकाससँगै साइबर सुरक्षाको जोखिम पनि बलियो चुनौतीका रूपमा अघि आएको छ । नेपालको बैंकिङ प्रणालीमा पनि ह्याकर, फ्रड, डेटा चोरी, पिनकोड तथा पासवर्ड पत्ता लगाएर पैसा चोरी, साइबर ठगी सम्बन्धमा विभिन्न घटना बढेका छन् । यी समस्याबाट बच्न बैंक तथा वित्तीय संस्था, ग्राहक, नियामक निकाय सबै सचेत हुन जरुरी छ । यसका लागि नागरिकहरू पनि वित्तीय साक्षर हुनुपर्छ । वित्तीय साक्षरताका लागि सबै बैंक तथा वित्तीय संस्था, सरोकारवाला, नियामक निकाय र राज्यको संयुक्त पहल आवश्यक छ । नेपालमा डिजिटल बैंकिङमा दक्ष जनशक्ति उत्पादन भए पनि युवा जनशक्ति पलायन मुख्य चुनौतीका रूपमा देखिएको छ । तीमध्ये धेरैजसो विदेशी कम्पनीहरूसँग आकर्षित भएर विदेश पलायन भइरहेका छन् ।

पछिल्ला वर्ष नेपालका युवा जनशक्ति तीव्र रूपमा विदेश पलायन भइरहेका छन् । बैंकिङ क्षेत्रमा मात्रै होइन, सूचना प्रविधि, इन्जिनियरिङ र वित्तीय प्रविधिमा दक्ष जनशक्ति उच्च तलब तथा स्थायित्वको खोजीमा बिदेसिने क्रम बढ्दो छ । बैंकहरूले प्रविधिमा अब्बल युवा उत्पादन गर्न लगानी गरे पनि उनीहरूलाई दीर्घकालीन रूपमा बैंकिङ क्षेत्रमा टिकाउन सकिएको छैन । बढ्दो पलायनले यो क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुने गरेको छ । 

पलायनले नवप्रवर्तनशील सोचको ह्रास हुने गरेको छ । अन्तर्राष्ट्रिय बैंकिङ अभ्यास सिकेका दक्ष युवा विदेश जानुले नेपालमा नवप्रवर्तनशील सोच कमजोर हुँदै गएको छ भने पुरानै सोचले निरन्तरता पाइरहेको छ । उत्साह र नवीनतम सोच नहुँदा यो क्षेत्रको विकास र विस्तारको गति प्रभावित हुने हो कि भन्ने जोखिम पनि छ । यसको असर अहिले देखिन थालेको छ । किनकि पछिल्ला एक/दुई वर्षमा डिजिटल बैंकिङको विकासको गति कम भएको जस्तो देखिन्छ । प्रविधि विकासको गतिलाई तीव्र पार्नका लागि नेपालमै दक्ष जनशक्ति आवश्यक छ ।

आगामी पाँचदेखि १० वर्षमा नेपालमा डिजिटल बैंकिङ व्यापक रूपमा विस्तार हुने सम्भावना छ । डिजिटल बैंकिङको विस्तार र नगदरहित कारोबार प्रोत्साहनका लागि सरकार र निजी क्षेत्र मिलेर विभिन्न कार्यक्रम अघि बढाइरहेका छन् । परिणामस्वरूप डिजिटल बैंकको स्थापनाको सम्भावना बढ्दै गएको छ, क्रिप्टोकरेन्सीलाई नियमित गर्न सकिने नीतिगत बहस चलिरहेका छन्, ब्लकचेन प्रविधिको प्रयोग गरेर वित्तीय लेनदेनलाई अझ पारदर्शी बनाउने विषयमा काम भइरहेको छ । कृत्रिम बुद्धिमत्ताको प्रयोग गरेर ग्राहक सेवालाई स्वचालित बनाउने विषयमा प्रभावकारी रूपमा काम अघि बढाउन सकिन्छ ।

तर, यी सम्भावनालाई साकार पार्न सरकार, निजी क्षेत्र तथा नियामक निकायहरूको सहकार्य अपरिहार्य हुनेछ । बैंकिङ नियमनलाई समयानुकूल सुधार गर्दै व्यवसायमैत्री वातावरण बनाउँदै तथा प्रविधिअनुकूल कार्यनीति निर्माण गर्दै लगे मात्र नेपालको बैंकिङ क्षेत्र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बन्न सक्छ ।

नेपालको बैंकिङ क्षेत्र अहिले एक संक्रमणकालीन मोडमा छ । डिजिटल बैंकिङ, फिनटेक प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको आगमनसँगै बैंकिङ उद्योग नयाँ उचाइमा पुग्दै छ । सरकारले युवाहरूलाई नेपालमै रोक्न दीर्घकालीन रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । बैंकहरूले नवप्रवर्तनशील सोचलाई प्रोत्साहन गर्दै, युवाहरूलाई नेतृत्वदायी भूमिकामा ल्याउन विशेष नीति अपनाउनु जरुरी छ ।

यदि सही नीति, प्रविधि र मानव संसाधन विकासका उपाय अपनाइयो भने नेपालको बैंकिङ क्षेत्र निकट भविष्यमा अझ प्रतिस्पर्धात्मक, आधुनिक र दिगो बन्नेछ । युवाले नवप्रवर्तनशील सोच, दृढता र प्रविधिसँगको घनिष्ठ सम्बन्ध कायम राख्न सके नेपालमै बसेर पनि वित्तीय क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सकिन्छ । देशमै अवसर खोज्ने, सिर्जना गर्ने र नेपाललाई आत्मनिर्भर बनाउने जिम्मेवारी अब हाम्रो पुस्ताको हो । 

रश्मि बैंकर

Link copied successfully