होटल व्यवसायमा अब महिला नेतृत्व

घरमा आमा–हजुरआमा वा श्रीमतीले पकाएको खाना मीठो हुने तर आतिथ्य सत्कारसँग जोडिएको होटल, रेस्टुराँ, बार, क्याफे, ब्यांक्वेट, पार्टी प्यालेस र रिसोर्टमा तिनैलाई निषेध किन ?

फाल्गुन ७, २०८१

तृषाग्नि शाक्य

Women now lead the hotel business

नेपाली भान्सा वर्षौंदेखि महिलाको जिम्मामा छ । संसारको जुनसुकै कुनामा छरिएका नेपालीले चाडपर्वमा ‘आमाले पकाएको खानाको स्वाद’ को सम्झना र प्रशंसा गरेकै सुनिन्छ । कृषिमा आधारित समाजमा आफ्नै खेतबारीमा उब्जनी भएको अन्न, सागपात, दूध, घिउ खाने पुरानो चलन हो ।

औषधिजन्य गुणले भरिपूर्ण बेसार, अदुवा, लसुन, ज्वानो, मेथी, दालचिनी, तेजपत्ता, धनियाँ, कालो मरीचलगायत मरमसला, तोरीको तेल राखेर स्वादिष्ट परिकार बनाउने नेपाली महिलाको पाककला स्वास्थ्यका लागि हितकर नै छ । पश्चिमा मुलुकमा रसायनको मिश्रणले बनाइने खान्कीभन्दा नेपालको सुगन्धमिश्रित फ्रेस खाना तारिफयोग्य छ । 

थकाली समुदायले विकास गरेको सन्तुलित नेपाली थकाली थाली होस् वा नेवारी समुदायको मौलिक पाककला— त्यसमा महिलाले परम्परागत सीपमा भावनाको पनि मिश्रण गरेका हुन्छन् । यी परिकार अहिले जता–जता नेपाली डायस्पोरा फैलिँदै छ, त्यतै पुगिसकेका छन् । तर, नेपालमा आम्दानी हुने सामान्य होटलदेखि पाँचतारे होटलसम्मको भान्सामा मिठो खाना बनाउने महिलालाई निषेध जस्तै छ ।

तिनमा कि त विदेशी सेफ छन्, नभए नेपाली पुरुष सेफ वा कुक भरिएका छन् । घरमा महिलाले बनाएको खाना मीठो हुने तर पैसा आउने होटलको भान्सामा महिलालाई किन अवसरबाट वञ्चित गरिएको हो ? घरमा आमा/हजुरआमा वा श्रीमतीले पकाएको खाना मीठो हुने तर आतिथ्य सत्कारसँग जोडिएको होटल, रेस्टुरेन्ट, बार, क्याफे, ब्यांक्वेट, पार्टी प्यालेस, रिसोर्टमा तिनैलाई निषेध किन ?   

सन् १७९२ बाट नेपालमा विदेशी पर्यटक प्रवेश भएको मानिन्छ । सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मोरिस हर्जोग र लुइस लाचेनलले अन्नपूर्ण हिमशृंखलाको सबैभन्दा अग्लो हिमाल अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहण गरे । तीन वर्षपछि सन् १९५३ मे २९ का दिन न्युजिल्यान्डका अन्वेषक एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले विश्वकै अग्लो शिखर सगरमाथा चुचुरोमा पाइला राखे । त्यसपछि नेपालमा पर्यटक आगमन बढ्दै गयो । सन् १९५० मा रसियन नागरिक बोरिस लिसानेभिचले कान्तिपथस्थित अहिलेको निर्वाचन आयोग रहेको बहादुर भवनमा ‘रोयल होटल’ स्थापना गरे ।

यसपछि पर्यटकलाई सेवा सत्कार गर्ने होटल खुल्दै गए । आज नेपालमा लक्जरी डिलक्सदेखि हेरिटेज, बुटिक अनि पाँचतारेसम्म २ सय १२ होटल छन् । पर्यटन विभागबाट अनुमति लिएका साधारण, डिलक्स र लक्जरी रिसोर्टमात्रै १ सय ३२ वटा पुगिसके । 

आतिथ्य सत्कारमा नेपालले ७५ वर्षको लामो अनुभव बटुलिसकेको छ । तर, महिलालाई हामीले होटलमा अझै सजिलो बनाउन सकेनौं । यसमा केन्द्रीय सरकार, प्रदेश र स्थानीय सरकारको कमजोरी देखिन्छ । भर्खरै नेपाल सरकारले होटल तथा रेस्टुरेन्टको राष्ट्रिय सर्वेक्षण गर्‍यो । जसअनुसार देशभर ५ खर्ब ४३ अर्ब निजी क्षेत्रले होटल, रेस्टुरेन्टलगायत पर्यटकका लागि आवास तथा भोजनसँग सम्बन्धित प्रतिष्ठानमा लगानी गरेको छ । यसमा ४४ प्रतिशत महिला लगानीकर्ता देखिन्छ भने पुरुषको हिस्सा ५६ प्रतिशत छ । के साँच्चै आतिथ्य सत्कारमा ४४ प्रतिशत महिला छन् ? यो होइन ।

सम्पत्तिको स्वामित्व महिलाको हुँदैमा महिला उद्यमी झन्डै पुरुष बराबर भन्न सकिन्न । हामीले खोजेको नेपालको पर्यटन क्षेत्रभित्र पर्यटक स्तरदेखि पाँचतारे होटलसम्म महिला सीईओ हुनुपर्‍यो । प्रबन्धक, सेफ, हेडमा महिलाको उपस्थिति कति छ ? पर्यटन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड, होटल संघ नेपाललगायतले विभिन्न पदमा महिलाको उपस्थिति बढाउन के नीति ल्याए ? होटल सञ्चालकलाई करमा के छुट दिए ? न त प्रतिनिधिसभा, न त राष्ट्रिय सभा, न त यी दुवै सभाका कुनै समितिले यो विषयलाई सम्बोधन गर्न सके ? 

मेरो पुर्ख्यौली पेसा होटल व्यवसाय हो । मेरा बुवा कर्ण शाक्यको दशकौंको अनुभव नेपालको पर्यटन तथा होटल क्षेत्रमा छ । नेपालको पहिलो भ्रमण वर्ष १९९८ मा उहाँ संयोजक हुनुहुन्थ्यो । माया म्यानोर बुटिक होटलको प्रबन्ध निर्देशकका रूपमा म ८ वर्षदेखि छु । राणाकालीन हबेली र बंगलोलाई मेरा बुवाले ९ वर्षअघि बुटिक होटलका रूपमा स्थापना गर्नुभएको हो । म जस्तो लामो पारिवारिक विरासत तथा इतिहास भएको महिलाले नेतृत्व गर्दैमा नेपालको आतिथ्य क्षेत्रमा महिलाको सहभागिता वृद्धि भएको मान्न सकिँदैन । 

आज राजधानीभित्र र बाहिर दर्जनौं होटल म्यानेजमेन्ट कलेज छन् । तिनबाट सयौं विद्यार्थी हरेक वर्ष स्नातक सकेर बजारमा आइरहेका छन् । हामीले तिनलाई नेपालमै रोजगारीको अवसर सिर्जना गर्न सकिरहेका छैनौं । चार वर्षदेखि माया म्यानोरले महिलाकेन्द्रित हाटबजार सञ्चालन गरिरहेको छ । यो सानो पहलको उद्देश्य महिला उद्यमीको आत्मविश्वास वृद्धि गराउने, प्रोत्साहन गर्ने र प्रेरणा दिने हो ।

तर राज्यले सफ्टवेयर–इन्फ्रास्टक्चरमा ध्यान दिएको छैन । महिलालाई जति आईटी (सूचना प्रविधि) क्षेत्रमा सजिलो छ । होटल क्षेत्रमा तुलनात्मक रूपमा गाह्रै छ । आईटीमा घरबाटै काम गर्न सकिन्छ, तर होटल क्षेत्र सातै दिन, चौबीसै घण्टा सञ्चालन भइरहने उद्योग हो । शारीरिक काम गर्नुपर्छ । आज पनि काठमाडौंलगायत मुख्य सहरमा महिलालाई राति काम गर्न चुनौती धेरै छन् । यो अवरोध घरबाटै सुरु भएको छ । 

सन् २००८ मा पाटनको रातो बंगला स्कुलबाट ए लेभल सकेर म उच्च शिक्षाका लागि अमेरिका पुगेँ । त्यहाँ १० वर्ष बसें । एमए सकें । विश्व बैंकलगायत, पूर्वाधार र ऊर्जा क्षेत्रमा काम गरें । त्यहाँ ‘क्रेडिट स्कोर’ का आधारमा ऋण पाइन्छ । धितो चाहिन्न । कानुनले सजिलो बनाइदिएको छ । तर, नेपालमा ऋण लिन धितो अनिवार्य छ । फ्रेस ग्य्राजुएटले पर्यटनसँग सम्बन्धित कुनै उद्यम गर्नुपर्ने भए यहाँ उसको आइडिया नै खेर जान्छ । 

नेपालमा अब विदेशी ब्रान्डमा स्थापना हुने पाँचतारे होटलको संख्या सीमित गर्नुपर्ने देखिन्छ । किनकि विदेशी ब्रान्डको व्यवस्थापनमा सञ्चालन भएका पाँचतारे होटलले पर्यटकस्तरीय साना तथा मझौला होटलको मूल्यमा कोठा बिक्री गरिरहेका छन् । यदि उनीहरू तारे स्तरका हुन् भने मूल्यमा किन ‘फेयर–वार’ गरेको ? कि त उनीहरू डाइनिङ, रेस्टुरेन्ट, सर्भिसलगायत सेवासँग जोडिएको ईको प्रणालीमा कुनै न कुनै सेवाको गुणस्तरमा सम्झौता गरिरहेका छन् या अरू कुनै गडबडी छ । यसलाई पर्यटन विभागले नियमन किन नगरेको ? सरकारले अनुमति दिँदा सेवा बिक्री मूल्यको बटमलाइन किन नराखेको ? 

क्षमतावान् जनशक्ति विदेश पलायन भइरहेको छ । हामी रोक्न सक्ने अवस्थामा छैनौं । किनकि उनीहरूले डिमान्ड गर्ने सेवा सुविधा ‘फेयर–वार’ का कारण दिलाउन सकिने अवस्था धेरै होटलको छैन । त्यसैले फाइभ स्टारले ‘रुम–रेट’ मा धेरै लचकता अपनाउनुभएन ।

यसले साना र मध्यमस्तरका लगानीकर्ता जोखिममा परिरहेका छन् । महिलाको नेतृत्वमा थालिएका बेकरी, रेस्टुरेन्ट, टुर, ट्राभल, होटल, होमस्टे, लज ट्रेकिङ कम्पनी, हिमाल आरोहण गराउने एक्सपिडिसन कम्पनी, टुरगाइड सबैमा असर पर्छ । यसमा ठूलो जनसंख्या आश्रित छ । नेपालमा याक एन्ड यती होटलको प्रमुख जनरल म्यानेजर (महाप्रबन्धक) मा एक जना विदेशी महिला थिइन् । उनी कार्यकाल सकिएर नेपालबाट स्वदेश फर्किइसकिन् ।

अहिले नेपालका ठूला स्टार तथा चेन होटलको नेतृत्वमा सबै पुरुष छन् । महिलालाई सहभागी गराउने हो भने सरकारले पूर्वाधार, विमानस्थल, ट्रेलमा लगानी गर्ने होइन । अब सफ्टवेयर, नीतिगत सुधारमा महिला उद्यमीका लागि बाटो फराकिलो बनाइदिनुपर्छ । भियतनाम, जापान र चीनमा हुने पर्यटकीय मेला हेर्दा त्यहाँ मिड करिअर महिलाको सहभागिता अत्यधिक छ ।

नेपालले पनि चाहेमा आजका दिन स्टार्टअपमा रहेका महिला उद्यमीलाई प्रोत्साहन गर्न सकिन्छ । मात्र खाँचो नीतिगत सहायताको देखिन्छ । यसो गर्न सके हामी पर्यटन क्षेत्रबाट धेरै राम्रो विदेशी मुद्रा आर्जन गर्न सक्नेछौं । अबको भविष्य भनेकै एसियाली बजार हो । पर्यटकको भीड यतै छ । 

तृषाग्नि प्रबन्ध निर्देशक, माया म्यानोर बुटिक होटल

Link copied successfully