कम्प्युटरमा दक्ष अनि सिर्जनशील व्यक्तिले सहजै ‘कन्टेन्ट क्रिएसन’ गर्न सक्छन्, यसमा न लगानीको झन्झट न भाडा तिर्नुपर्ने तनाव !
दशकयता संसारलाई नै इन्टरनेटमार्फत प्रयोगमा आएका न्युमिडिया तथा सोसल मिडियाले चलाएको छ । विश्वका आधाभन्दा बढी मानिस प्रायः यसैमा निर्भर देखिन्छन् । भर्खरै सम्पन्न अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पले एक्स प्लेटफर्मको माध्यमद्वारा चुनावी प्रचारप्रसार सामग्री तीव्र रूपमा सम्प्रेषण गरेका थिए ।
उनको जितमा एक्सको समेत भूमिका रहेको विश्लेषण गरिएको छ । यसलाई हामी ‘पावर अफ इन्टरनेट’ का रूपमा लिन सक्छौं । पछिल्लो समय संसारभर ‘कन्टेन्ट क्रिएसन’ एक उदाउँदो पेसाका रूपमा मौलाएको छ । यसै पेसामा आबद्ध दशकभन्दा बढीको अनुभवले मलाई अब यो पेसाको भविष्य निकै सुन्दर र बलियो छ भन्ने लाग्छ । यसका पछाडि केही कारण छन् ।
विश्वको जुनसुकै स्थानमा बसेर पनि सहज ढंगले यो काम गर्न सकिन्छ । यसको दायरा निकै फराकिलो छ । आफू जहाँ बसेको छ, त्यहींको काममा मात्रै सीमित हुन पर्दैन । विदेशी पैसा स्वदेशमै भित्र्याउन सकिन्छ ।
‘कन्टेन्ट क्रिएसन’ भनेको विभिन्न डिजिटल प्लेटफर्म जस्तैः वेबसाइट, सामाजिक सञ्जाल वा ब्लगमार्फत पाठक, श्रोता र दर्शकलाई ज्ञान–जानकारी गराउन, मनोरञ्जन दिन उत्पादित सामग्री हुन् । यो अनलाइनमार्फत बहुमूल्य सामग्री सिर्जना गर्ने कार्य हो । फेसबुक, एक्स, टिकटकलगायतमा देखिने मेरा भिडियो मूलतः निकै क्रिएटिभ हुन्छन्, तिनमा कुनै न कुनै सन्देश प्रवाह गर्न खोजिएको हुन्छ । तर आजकल सोसल मिडियामा देखिने कन्टेन्ट ‘आउट अफ ट्र्याक’ का पनि हुने गरेका छन् ।
कतिपय ‘कन्टेन्ट क्रिएटर’ ले हिट हुन जे–जस्ता सामग्री पनि पोस्ट गरिरहेको देखिन्छ, जुन गलत हो । मूल कुरा त यो पेसामा व्यावसायिक फाइदा हुनुपर्छ भने समाज र राष्ट्र हितमा समेत केन्द्रित हुनुपर्छ । प्रायः सामग्रीमा देखिने गलत कमेन्टले दर्शकको दिमागमा ‘नेगेटिभ हिट’ गर्छ कि भन्ने लाग्छ । म ‘कन्टेन्ट क्रिएटर’का साथसाथै एक क्वेयर एक्टिभिस्ट पनि भएकाले मेरा सामग्रीमा त्यस्ता कमेन्ट नआउने त कुरै भएन । तर तिनलाई ह्यान्डल गर्ने तौरतरिका र क्षमता आफूसँग हुनुपर्छ ।
मैले युट्युब, टिकटक, इन्स्टाग्रामलगायतका डिजिटल प्लेटफर्ममा पोस्ट गर्ने प्रायः सामग्रीहरू कुनै न कुनै रूपमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको वकालत गर्ने खालका हुन्छन्, यस्तोमा थुप्रै नकारात्मक कमेन्ट पनि आउँछन् । तसर्थ यसमा नेपाल सरकारले नै नियमनकारी नीति ल्याउनु आवश्यक देखिन्छ । किनकि यौनिक तथा लैंगिक अल्पसंख्यकका पीडा थुप्रै छन् । पारिवारिक र सामाजिक हेला मात्र होइन, राज्यको विभेद, प्रहरी–प्रशासनको दुर्व्यवहार र रोजगारीको अभावसमेत उनीहरूले झेलिरहेका छन् ।
अवसर नपाएकै कारण यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कतिपय व्यक्ति यौन पेसामा लाग्न बाध्य हुनुपरेको छ । यो सब हुनुमा अवसरको कमी हो । यो समुदायलाई अवसरको खाँचो छ । मूलधारका मिडिया, चलचित्र वा टेलिभिजन शोमा यो समुदायलाई हाँसोको पात्रका रूपमा मात्रै प्रस्तुत गरिदिनुभएन ।
आमिर खान, शाहरूख खान, सलमान खानले साडी लगाएर महिलाको भूमिका निभाउँदा वाहवाही पाउने तर यो समुदायकाले त्यही गरे भने अर्को अर्थ लगाउने वा कमेडी ठानिदिने त ? छक्का, हिँजडा भनिदिने किन ? यी र यस्तै हिंसा तथा विभेद सहन बाध्य जुनसुकै समुदायका समस्या न्यूनीकरण गरी परिवर्तन ल्याउन उनीहरूका पक्षमा ‘सकारात्मक सामग्री’ निर्माण हुनु जरुरी छ ।
हावापानी, सांस्कृतिक तथा प्राकृतिक रूपमै हाम्रो देश अत्यन्त सुन्दर र धनी छ । ‘कन्टेन्ट क्रिएसन’को कुनै सीमा नभएकाले यही काममार्फत नेपाललाई संसारभर चिनाउन सकिन्छ । नेपालका लागि ‘कन्टेन्ट क्रिएसन’ नयाँ बजार भएकाले गर्न सक्यो भने यहाँ धेरै कुराको अवसर छ ।
म संयुक्त परिवारमा बस्ने भएकाले यसको मूल्य र महत्त्व झल्किने कन्टेन्ट पस्किएँ, यहाँको संस्कार–संस्कृति, रहनसहन, चालचलन धेरैले असाध्यै मन पराए । अहिले त हरेक मान्छेको हातमा मोबाइल छ, र पनि यहाँ अझैसम्म यो नौलो कुरा नै भएको छ । यो मल्टी–मार्केटिङ व्यवसाय हो । यसलाई बिजिनेसकै रूपमा अगाडि लैजानुपर्छ । टिकटक, इन्स्टाग्राम, फेसबुक, अफिसियल साइटमार्फत उपयोगी कन्टेन्ट पस्किँदा अर्काको ब्रान्ड इन्डोर्समेन्ट मात्रै होइन, आफ्नै व्यवसायलाई पनि ब्रान्डका रूपमा स्थापित गर्न सकिन्छ ।
नेपालमा दराज मार्केटप्लेस, फोन पे, सामसुङ, संयुक्त राष्ट्रसंघ, केएफसी, ह्यात होटललगायतका ब्रान्ड र संस्थासँग काम गर्दा राम्रो आम्दानी भएको अनुभव छ । कन्टेन्ट क्रिएसनको मुख्य काम यी र यस्ता ब्रान्डप्रति कसरी विश्वास बढाउने, कसरी यसको नामलाई ठूलो समूहसम्म पुर्याउने, कसरी ब्रान्ड स्थापित गर्ने भन्नेमा सिर्जनशील कन्टेन्ट बनाउनु हो । यो काम कम्प्युटर स्किल भएका सिर्जनशील व्यक्तिले सहजै गर्न सक्छन् । यसमा न त लगानीको झन्झट न भाडा तिर्नुपर्ने टेन्सन !
खासगरी कोरोनाकालदेखि थप फस्टाएको यो व्यवसायमार्फत अहिले संसारभरका ६० प्रतिशत मानिस लाभान्वित छन् । यो संख्या अझै बढ्नेवाला देखिन्छ । किनभने एआई, च्याट–जीपीटी, डिपसिकलगायतको आगमन भइसकेको छ । कारण, अहिले व्यापार–व्यवसाय, शिक्षा, स्वास्थ्य, वातावरणलगायतका क्षेत्र यसैमा निर्भर देखिन थालेको छ । एआईलगायत पछिल्लो समय आएका जति पनि एप छन्, तिनले त झन् ‘कन्टेन्ट क्रिएसन’ मा निकै सघाएका छन् ।
