नेटवर्किङमा सक्रियता : सफल उद्यमशीलता

युवाको प्रमुख चुनौती भनेकै छिटो नतिजा खोज्ने प्रवृत्ति हो, तर युवावस्था धेरै सीप र क्षमता विकास गर्ने समय पनि हो

फाल्गुन ७, २०८१

अनुपमा संग्रौला

Activism in Networking: Successful Entrepreneurship

नेपालमा उद्यमशीलताको संस्कृति विस्तारै फस्टाउँदै छ । तर नयाँ व्यवसाय थाल्दा सबै कुरा सहज हुँदैन– कहिले अप्ठ्यारा परिस्थिति आउँछन्, कहिले सही टिम खोज्न गाह्रो हुन्छ, कहिले लगानी जुटाउन चुनौती हुन्छ । तर, एउटा कुरामा शंका छैन– नेपालमा सम्भावना अनगिन्ती छन् । सही योजना, धैर्य र निरन्तर प्रयास गर्न सकियो भने यहाँ उद्यमशीलताका उत्कृष्ट अवसर सिर्जना गर्न सकिन्छ । 

मैले यही सोचका साथ आफ्नै व्यवसाय यात्रा सुरु गरें । सीए पास गरेर करिअर अघि बढाउँदा म सधैं वित्तीय व्यवस्थापन, व्यवसाय सञ्चालन र उद्यमशीलताको सम्भावनाबारे जिज्ञासु थिएँ । यही रुचिले मलाई अडिट फर्मको जागिरबाट आफ्नै स्टार्टअपतर्फ मोड्यो, जहाँ मैले अवसर खोज्न मात्र होइन, आफैं अवसर सिर्जना गर्न थालें ।

मैले सीए उत्तीर्ण गरेको ६ वर्ष भयो । सीए सकिएपछि मैले दिल्लीमै ३ वर्ष इन्टर्नसिप गरें । त्यसपछि नेपाल फर्केर डेढ वर्ष अडिट फर्ममा काम गरें । तर, कोभिडका कारण काम रोकियो । त्यसपछि श्रीमान्सँग मिलेर ‘हाम्रो एकेडेमी’ स्टार्टअपमा सीओओका रूपमा काम गरें । अहिले भने मैले ‘ब्राइट एकेडेमी’ सञ्चालन गरिरहेकी छु, जहाँ एसीसीए पढाइ हुन्छ । ‘एएस ट्रेनिङ्स’मार्फत अकाउन्टिङ, कर प्रणाली (ट्याक्सेसन) लगायत विषयमा व्यावहारिक ज्ञान दिने तरिकाले तालिम दिइरहेकी छु । 

वित्तीय साक्षरताको अभावलाई ध्यानमा राख्दै सामाजिक सञ्जालमार्फत सबैले बुझ्ने भाषामा आर्थिक विषयका जटिल कुरा बुझाउने प्रयास गरिरहेकी छु । भिडियो कन्टेन्टमार्फत मानिसलाई कर प्रणाली, अकाउन्टिङ, वित्तीय योजना जस्ता विषयमा सचेत गराइरहेकी छु । श्रीमान्को स्टार्टअप यात्राको कुराकानी सुनेर म पनि व्यवसायतर्फ आकर्षित भएकी हुँ । 

उद्यमशीलताको सुरुवातमा टिम निकै महत्त्वपूर्ण हुँदो रहेछ । हामीले व्यवसाय सुरु गर्दा टिम राम्रो भएकाले धेरै चुनौती सजिलै पार गर्‍यौं । व्यवसायमा टेक्निकल समस्या आउँदा हामी आफैं सिक्दै अगाडि बढ्यौं । जस्तै एकेडेमी सञ्चालन गर्दा, सीएहरूसँग काम गर्नुपर्थ्यो । तर उहाँहरूको समय मिल्नै गर्न गाह्रो हुन्थ्यो । अनलाइन कक्षा राति बसेर लिने अवस्था पनि आयो । तर, टिम एकजुट भएर काम गर्दा समस्या समाधान गर्न पनि सहज भयो ।

ब्राइट एकेडेमी सुरु भएको एक वर्ष पूरा भयो । यसमा मलाई सीएको पढाइले धेरै सघाएको छ । वित्तीय व्यवस्थापनदेखि व्यवस्थापकीय सीपसम्म सिकाएकाले उद्यमशीलता यात्रा कठिन भएको छैन । सामाजिक सञ्जालमा कन्टेन्ट बनाउने गरेकाले पनि यसले व्यवसायमा सहयोग गरेको छ । मैले सामाजिक सञ्जालमा सीए पढ्दाका अनुभव सेयर गर्दा अन्य धेरै जिज्ञासा आउन थाले । त्यसपछि मैले आर्थिक विषयमा कन्टेन्ट बनाउन सुरु गरें ।

मेरो पहिलो भिडियो रेस्टुराँले लिने अतिरिक्त भ्याटका विषयमा थियो । यो भिडियो नै मिलियन भ्युज पुग्यो । आज यस्तो कामले मेरो व्यवसायमा राम्रो प्रभाव पारेको छ । मेरा कन्टेन्ट हेरेर एसीसीए इनरोल गर्ने र तालिम लिन चाहने धेरै विद्यार्थी आएका छन् । 

नेपालमा कुनै पनि समस्याको समाधान खोजेर स्टार्टअप सुरु गर्न सकिन्छ । समस्या समाधान गर्ने, दैनिक जीवनलाई सहज बनाउने जुनै पनि सर्भिस दिने र प्रडक्ट छ भने सफलताको सम्भावना उच्च छ । हाम्रो देशमा विकासको अभाव भएकाले समस्या धेरै छन्, जसको समाधान खोज्दै व्यवसाय सञ्चालन गर्न सकिन्छ । उद्यमशीलता गर्दा मुख्य कुरा ‘मेरो उत्पादन वा सेवा बिक्री हुन्छ कि हुँदैन ?’ भन्ने बुझ्न जरुरी छ । व्यापारका लागि के–कसरी बेच्नेभन्दा पहिले ग्राहकको माग बुझ्नुपर्छ । उनीहरूको आवश्यकतालाई सम्बोधन गर्ने व्यवसाय टिक्छ ।

नेपालमा उद्यमशीलताको अर्को चुनौती भनेको टिम टिकाउनु रहेछ । स्टार्टअपमा कर्मचारीहरूको टर्नओभर उच्च छ । धेरैजसो इन्टर्न विदेश जाने तयारीमा हुन्छन्, जसले दीर्घकालीन टिम बनाउन गाह्रो बनाउँछ । तर युवामा धैर्य र निरन्तर प्रयास गर्ने बानीको आवश्यकता छ । जागिर होस् वा उद्यम धैर्य आवश्यक छ । 

कुनै पनि यात्रा सुरु गर्नु छ भने सुरुवात गरिहाल्नुपर्छ, धेरैले तयारी गर्दागर्दै समय बिताइदिन्छन् । सुरुमा परिपूर्ण नभए पनि निरन्तर सुधार गर्दै अघि बढ्नुपर्छ । ‘कन्टेन्ट क्रिएसन’ नै गर्दा पनि विस्तृत अनुसन्धान गर्नुपर्छ, ताकि कन्टेन्ट विश्वसनीय र उपयोगी होस् । जति अनुसन्धान गर्‍यो, त्यति नै राम्रो कन्टेन्ट उत्पादन गर्न सकिन्छ । 

नेपालमा स्टार्टअप कल्चर पनि तीव्र रूपमा बढ्दै छ । डिजिटल युगमा व्यवसाय गर्न सजिलो पनि भएको छ । पहिला शारीरिक रूपमा गर्नुपर्ने काम अहिले अनलाइनबाटै गर्न सकिन्छ । अफिस खोल्नैपर्ने बाध्यता थियो, अहिले छैन । कम लागतमा सुरु गर्न सकिने अवसर प्रशस्त छन् । 

आजको प्रतिस्पर्धी बजारमा केवल राम्रो सेवा वा उत्पादन भएर पुग्दैन । तपाईंको पहिचान, विश्वसनीयता र प्रभाव पनि उत्तिकै महत्त्वपूर्ण छ । पर्सनल ब्रान्डिङ भनेको तपाईंको ज्ञान, सीप र अनुभवलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने कला हो, जसले तपाईंलाई अरूभन्दा अलग बनाउँछ । जब तपाईं आफ्नो क्षेत्रमा विशेषज्ञका रूपमा चिनिनुहुन्छ, ग्राहकहरू स्वतः तपाईंलाई विश्वास गर्न थाल्छन् । व्यवसाय मात्र होइन, अवसर पनि तपाईंलाई खोज्न आउँछ । त्यसैले व्यक्तिगत ब्रान्डिङ डिजिटल युगमा सफलताको एउटा प्रमुख रणनीति हो । 

अहिले धेरै युवा निराश छन्, जसको मुख्य कारण देशको अर्थतन्त्र हो । नेपालमा बाहिरका देशसँग तुलना गर्दा राम्रो पेआउट छैन, जसले गर्दा चाँडै नैराश्य जन्मिन सक्छ । धेरैलाई लाग्छ, बाहिर गएर मात्र राम्रो भविष्य सम्भव छ । आफ्नो कामको राम्रो मूल्यांकन विदेशमा छ भन्ने लाग्दा विदेश जानु नराम्रो होइन । तर बाहिर बसेर पनि नेपालका लागि योगदान दिन सकिन्छ भन्ने बुझ्नु आवश्यक छ ।

युवाको प्रमुख चुनौती भनेकै छिटो नतिजा खोज्ने प्रवृत्ति हो । तर युवावस्था भनेकै धेरै सीप र क्षमता विकास गर्ने समय पनि हो । धेरै सिक्ने, अनुभव लिने, विभिन्न स्रोतबाट ज्ञान आर्जन गर्ने बानी बसाल्नु आवश्यक छ । धैर्य राख्ने र तुरुन्तै सफलताको अपेक्षा गर्नुभन्दा कामबाट प्रमाणित गर्ने सोच राख्नु उपयुक्त हुन्छ । 

सशक्त नेटवर्क बनाउने अनि राम्रो सर्कल बनाएर अवसर पहिल्याउने बानी बसाल्नुपर्छ । नेटवर्किङ निकै आवश्यक छ । नियमित र निरन्तरता एकैचोटि ठूलो उपलब्धि होइन, तर निरन्तर सुधारमुखी प्रयास नै सफलताको चाबी हो । नेपालमा व्यवसायका धेरै अवसर छन् । मुख्य कुरा भनेको देश र समाजलाई के चाहिन्छ भनेर बुझेर, समाधानमुखी व्यवसाय सञ्चालन गर्नु हो । धैर्य, मिहिनेत र सही टिमको साथ अघि बढ्दा सफलता सम्भव छ । 

अनुपमा चार्टर्ड एकाउन्टेन्ट, सहसंस्थापक, संग्रौला ब्राइट एकेडेमी

Link copied successfully