रंगमञ्च थपिए, रंगकर्मी टाढिए

टेक्ने ठाउँ बलियो हुनुपर्छ । जरा बलियो भएपछि मात्र उभिन सकिएला । हाम्रो पहिचानको कथा, आदिवासीको मुद्दा अहिले जसरी आइरहेको छ, यो निकै सुनौलो पल हो । किनकि आदिवासीको मुद्दाले नाटकमा यसरी कुनै स्पेस पाएकै थिएन ।

फाल्गुन ७, २०८१

सुरज तमु

The stage was added, the color crew was removed

मैले नाटक स्कुल पढ्दाताका नै गरको हुँ । तर रंगमञ्च छुट्टै विधा हुन्छ भन्ने कुरा धेरैपछि थाहा पाएँ । म गोरखामा जन्में । गोरखा जस्तो ठाउँमा रंगमञ्चको चेत अहिलेसम्म पनि पुगेको छैन । 

गुरुङ समुदायबाट त झन् औंलामा गन्न पुग्ने प्रतिनिधित्व छैन । हाम्रो समुदायमा कलाको चेत अझै खुलेर पुगिरहेको छैन । मैले गुरुङ कथामाथि नाटक ‘स्कुल’ बनाएँ ।

‘चालिसे भीर’ नाटकमा पनि गोरखाको कथा थियो । १० वर्षको बालकले आफ्नो संस्कृतिलाई कुन मनोविज्ञानबाट हेर्छ भन्ने कथा हो त्यो । उसकी आमाको चालिसे भीरबाट खसेर मृत्यु हुन्छ । नाटकमा आमा धामीको आङमा आएर बोल्छिन् । बच्चालाई लाग्छ, ‘के साँच्चै मेरी आमा नै बोलेकी हुन् ?’ बच्चाले आफ्नो संस्कृतिलाई कसरी लिन्छ, बालबालिकालाई हाम्रो संस्कृति कत्तिको स्वीकार्य छ ? नाटकले भन्छ । 

त्यसबाहेक मैले गुरुङ संस्कृतिमाथि काम गर्न पाएको छैन ।

अभिनयको हिसाबले दुई दर्जनभन्दा बढी नाटक गरें मैले । सुरुमा ते जतिसक्दो धेरै नाटक गर्दा खुसी हुन्थें । म एउटा थिएटरमा रिहर्सल गर्थें, अर्कोमा शो गर्थें । एउटा समय थियो, जुन समय मैले २ वर्षको अवधिमा १० नाटक खेलिसकेको थिएँ । यो सूत्रले नाटकको संख्या धेरै पुग्यो तर गुणात्मक कम ।

यो अप्रोचपछि परिवर्तन भयो । म नाटकमा खुसी हुन सक्छु । नाटकबाट बाँच्न पनि सक्छु । तर काम गरिरहँदा आनन्द आउनुपर्छ । म एउटा विचार र मुद्दा बन्नुपर्छ । मेरो विकास हुनुपर्छ । हिजोको नाटकमा पनि त्यही, आजको नाटकमा त्यही र भोलिको नाटकमा पनि त्यही मात्र हुन्छ, ग्रोथ हुँदैन भने किन काम गर्नुपर्‍यो ? अहिले म सीमित काम गर्न खोज्छु । मैले नेपाली रंगमञ्चलाई केही न केही योगदान दिनुपर्छ भन्ने लाग्छ । अब आउने पुस्ताले मेरो काम हेरेर निर्क्यौल गर्न पाओस् भन्ने लाग्छ ।

आफ्नै कथा

हामीले जहिल्यै पनि आफ्नो कथा भन्नुपर्छ । किनकि जरा बिर्सेर टुप्पो कहाँ पुग्ला र ? आफ्नो जरा त यही हो नि । आफू उभिने धरातल बिर्सेर कता गएर टेक्नु ? पहिला आफ्नो टेक्ने ठाउँ बलियो हुनुपर्छ । जरा बलियो भएपछि मात्र उभिन सकिएला । हाम्रो पहिचानको कथा, आदिवासीको मुद्दा अहिले जसरी आइरहेको छ, यो निकै सुनौलो पल हो । किनकि आदिवासीको मुद्दाले नाटकमा यसरी कुनै स्पेस पाएकै थिएन । अहिले जे भइरहेको छ, यो सुनौलो मौका हो । बल्ल हामीले जराको काम गर्न पायौं । आफ्नो माटोको काम गर्न पायौं । 

खासमा यो त धेरै पहिला आउनुपर्थ्यो । यदि अगाडि आएको भए आफूले आफूलाई चिन्ने मौका पाउँथे । अहिले एउटा फर्म नै तयार भइरहेको छ । हामीले हाम्रो तरिका थाहा पाइरहेका छौं । लिम्बूहरूको च्याब्रुङबाट यसरी नाटकमा लय ल्याउन सकिने रहेछ भन्ने थाहा हुँदै छ । यसलाई अहिले कन्टेम्पोररी डान्ससँग जोड्न सकिने रहेछ । धान नाच, ढुकुर नाच कन्टेम्पोररीजस्तो डान्स त च्याब्रुङमा पनि नाच्न सकिने रहेछ । झ्यान्टाले पनि कन्टेम्पोररीलाई क्यू दिन सकिँदोरहेछ । त्यो कुरा त बल्ल पत्ता लाग्यो । यो निकै राम्रो अभ्यास भइरहेको छ ।

हिजो र आज

म रंगमञ्चमा आउँदाताका मेलो ड्रामा चलिरहेको थियो । बीचमा रियालिस्टिक नाटक चले । अहिले धेरै किसिमका फर्म छन् । धेरै फर्मको फ्युजनबाट पनि नाटक बनिरहेको छ । पहिला र अहिलेका नाटकका मुद्दा फरक छन् । नाटक गर्ने तरिका पनि परिवर्तन भइरहेका छन् । प्रयोग पनि धेरै हुन थालेका छन् । अहिलेका केही निर्देशक त लयमा नै नबसी काम गर्छन् । संरचना नै भत्काउने निर्देशकहरू पनि छन् । मलाई यो प्रक्रिया रोचक लाग्छ । समग्रमा काम गर्ने तरिका पहिलाभन्दा अहिले विकास भएको छ । चेत खुल्दै आएको छ । 

अहिलेका नाटकमा मुद्दा फरक आउँछ । हाम्रो समुदायको कथा भन्नुपर्छ । जराको कथा भन्नुपर्छ । त्यो बेलामा पनि भनिएको हो । तर बाक्लो चाहिँ अहिले भएको छ । त्यो बेलामा नाटक भन्नेबित्तिकै हल्का तरिकाले लिइन्थ्यो । अहिले रंगकर्मीप्रतिको सम्मान बढेको छ । 

अहिले नाटकबाट कमाउने वातावरण पनि सहज भएको छ । मेरो १०–१२ वर्षको अनुभवले पनि यो कुरा भन्छ । यस अवधिमा धेरै कुरा देखें मैले । त्यो बेला र अहिले वातावरण परिवर्तन भएको छ । अहिलेको नयाँ व्यक्तिलाई नाटक खेल्न सजिलो छ । त्यसमाथि उनीहरूलाई काम यतिकै लगाइन्न । व्यावसायिक भइरहेका छन् । पहिला त्यस्तो थिएन । मैले सहयोगमा धेरै नाटक गरेको छु । ३ महिना काम गरेर पैंतीस सय रुपैयँ मात्र पनि लिएको छु । ३ महिना काम गरेर धन्यवादबाहेक अरू लिँदै नलिएको पनि छु । अहिले कलाकारले कम पाउला, तर पारिश्रमिकचाहिँ पाउँछन् ।

कर्ममा ऊर्जा

रंगकर्मीलाई ऊर्जा कहाँबाट आउँछ ? उसको मोटिभेसन के हो ? धेरैले सोध्नुहुन्छ । रंगमञ्चमा उत्रेर रंगकर्मीले एक पटक अनुभव लिइसकेपछि उसलाई गहिरो लत लाग्छ । यस्तो लत काम गर्न नपाउँदा छटपटीमा परिणत हुन्छ । दर्शक र मञ्चमा बसेको कलाकारसँग एउटा अदृश्य भाव सिर्जित हुन्छ, त्यो एउटा कुशल कलाकारलाई थाहा हुन्छ । 

उसलाई आफ्नो प्रस्तुतिले कति प्रभाव पारेको छ भन्ने कुरा थाहा पाएपछि ऊ नाट्यकर्म छाड्दैन । म पटक पटक भनिरहन्छु । युद्धमा आफूले हानेन भने आफूलाई अर्कोले हान्छ नै । रंगमञ्चमा ‘कि गर कि मर ।’ नगरे दुनियाँ हाँस्छ । गरिसकेपछि उसले जे अनुभूत गर्छ, त्यसले नाटकमा उसलाई डोर्‍याइरहन्छ ।

घर बने, मन टाढिए

पहिलाभन्दा रंगमञ्चमा सहजता र सुविधा थपिएको छ । रंगमञ्चका घर बढेका छन् । रंगकर्मी बढेका छन् । लाइटहरू सुविधायुक्त छन् । तर रंगमञ्चको भाव पहिलाभन्दा कम छन् । अहिले व्यावसायिक बढी हुँदै पो गयौं कि ? हामी त भावनासँग खेल्ने मान्छे, रसहरूसँग खेल्ने मान्छे । हाम्रो नाटकमा रस पो छुट्यो कि ।

रंगमञ्चमा विकास भइरहेको भाव मारेर कसरी व्यावसायिक र अत्याधुनिक हुन सकिन्छ ? यो त रोबर्ट जस्तो भयो । हातखुट्टा चल्छ, भनेको मान्छ । तर मन छैन । मान्छेको भावना नमारीकन व्यावसायिक पो हुनुपर्छ होला । 

हिजो रंगमञ्चमा घर थिएन । घर बन्दै गए । तर घरभित्र हुनुपर्ने सदस्य छुट्टिँदै गए । सर्वनाम आफ्नै तरिकाले हिँडिरहेको छ । शिल्पी आफ्नै तरिकाले हिँडिरहेको छ । कौसी आफ्नै तरिकाले । अनि मण्डला आफ्नै तरिकाले । हामी पनि आफ्नै तरिकाले हिँडिरहेका पो छौं  कि ? खोइ एकता ? यसलाई बाँध्ने भनेर आएका निकाय नाम मात्रका छन् । यी संस्थाका काम के हो ? बनिरहेको नाटक पनि हेर्न आउँदैनन् । कसरी एक बनाउन सक्छन् ? खोइ छलफल, खोइ बहस ? आफ्नै सुरमा हिँड्ने हो भने यो क्षेत्र नगरेर अर्कै क्षेत्रमा गरे भइगयो नि । एउटा हातेमालो गर्ने ठाउँ त यो क्षेत्र हुनुपर्छ होला । एउटा रंगकर्मीको आवाज एकट्ठा हुने ठाउँ त हुनुपर्छ होला ।

तीतो यथार्थ

हामीले अघिल्ला पुस्ताबाटै नाटक सिक्यौँ । उनीहरूले डोर्‍याइरहेको बाटोमा हिँड्यौं । अघिल्ला पुस्तालाई म नाटक गर्छु भन्ने कुरा स्थापित गर्न समय लागेको थियो । त्यो स्थापित उहाँहरूले गर्नुभयो । अहिले सित्तैमा काम गर्नुहुँदैन, पारिश्रमिक लिएर काम गर्नुपर्छ भन्ने कुरा पनि स्थापित हुँदै छ ।

रंगमञ्चमा विकास नभएको हैन । तर पुरानो ढर्राबाट विकास भएर आएको कुरासँग भिड्न अहिलेको युवापुस्ता तयार भइसकेको छैन ? नेपाली रंगमञ्चलाई फरक ढर्राले लैजानुपर्ने समय आइसकेको छ । अहिले पनि पुरानै ढर्रामा हामी चलिरहेका छौं । अब नयाँ आयाम आउनुपर्छ । नयाँ विचारले चलाउनुपर्छ । 

म आदिवासी समुदायको मुद्दा बोलिरहेको छु । तर कति दिनसम्म ढोल झ्याम्टामात्र बजाउने ? यतिमात्रै हो त नाटक ? मैले नर्वेली नाटक नखेल्नु ? मैले जर्मनी नाटक नखेल्नु ? खेल्नुपर्छ । सबै आयाम विकास हुँदै जानुपर्छ । अहिले जुन किसिमको आदिवासी कथा आइरहेका छन् ।

नाटक त्यतिमात्र हैन, त्योभन्दा धेरै टाढासम्म छ । अब त दर्शकलाई मोनोटोनस पनि हुन लाग्यो । एउटा लिम्बूको नाटकमा सबै लिम्बू पात्र छन् । त्यो समाजमा अरू पात्र आउँदैनन् होला त ? आउँछन् होला नि ? त्यही समाजमा अर्को पात्रको कथा छैन होला त ? छ होला नि । गुरुङ भनेपछि सबै गुरुङमात्र हैन होला । अहिलेको पुस्ताले ल्याउनुपर्ने महत्त्वपूर्ण कुरा, नाटकलाई कुन आयाममा लैजाने, कुन ढर्राले बनाउने भन्ने हो । 

रंगमञ्चमा यस्तो बाटो हामीले बनाउनु छ, जहाँ सबै जना अटाउन सक्नुपर्छ । सँगसँगै हिँड्न सक्नुपर्छ ।

सुरज तमु रंगकर्मी

Link copied successfully