हामी युवाहरूमा धैर्यको कमी पनि देखिन्छ । हामी रिजल्टमा बढी चिन्तित हुन्छौँ कि जस्तो लाग्छ कहिलेकाहीँ । सिद्धान्तमा बढी लागेर प्रयोगात्मकमा अलि पछाडि परिरहेका हौँ कि जस्तो पनि लाग्छ ।
कति साथीहरू भेट्छु जसले धेरै ठूलो भएर मात्र थिएटरबारे थाहा पाउनुभएको कुरा सुनाउँछन् । त्यस्तो सुन्दा मैले त समयमै थाहा पाएकी रहेछु कि जस्तो लाग्छ । र यसको श्रेय मेरो स्कुललाई जान्छ ।
आठ या नौ, ठ्याक्कै बिर्सिउँ कति कक्षामा पढ्दै थिउँ । तर, मैले पढेको स्कुल, काँकडभिट्टा माध्यमिक विद्यालयबाट हामीलाई नाटक हेर्न भनेर लिएर जानुहुन्थ्यो । परिवर्तन थिएटरले विभिन्न विषयवस्तु र सामाजिक मुद्दाहरूमाथि नाटक बनाएर मञ्चन गर्ने गर्थ्यो । कचहरी नाटक हुन्थ्यो, जसमा दर्शकको पनि पूर्ण सहभागिता चाहिन्थ्यो । दर्शक पनि पात्र बनेर नाटकमा मिसिन पुग्थे । म दर्शकको भिडना बसेर कचहरी हेर्दा छेउका दर्शक नाटकको हिस्सा बन्न गएको देख्दा सुरुसुरुमा अनौठो लाग्थ्यो । रमाइलो पनि लाग्थ्यो । र पछिपछि त आफूलाई पनि गएर नाटकमा मिसिऊँ मिसिऊ समेत हुन थाल्यो ।
त्यसरी नाटक हेर्न पुगिरहन्थें । रहर लाग्थ्यो तर, आँट आइसकेको थिएन । तर,रहर गर्दै धक मान्दै जाने क्रममा पनि नाटकसँग एउटा साइनो गाँसिइसकेछ । त्यसपछि, धक फुक्यो मेरो जस्तो महसुस भयो । मलाई त्यो समय अझै याद छ, २०७० सालको पुष महिनामा हो, परिवर्तन थिएटर, झापाले विद्यार्थीहरूलाई कचहरी नाटकसम्बन्धी कार्यशाला खुलायो । यो अवसर गुमाउनु हुन्न जस्तो ठानेँ र सहभागी हुन पुगेँ । कार्यशाला सकियो । नाटकमा मिसिने मेरो रहर त अझै पूरा भएको थिएन । त्यसैले,लिसो टाँसिएझैं म परिवर्तन परिवर्तन थिएटरसँग टाँसिइरहेँ । थिएटरमै आबद्ध भएर मैले काम गर्न थालेँ ।
त्यही कार्यशाला सकिएपछि काँकाडभिट्टा भन्सार गेटअगाडि हनुमान मन्दिरको प्राङ्गणमा हाम्रो नाटकको मञ्चन राख्ने भइयो । नाचगान गरेर दर्शक बोलाउने शैली अपनायौँ । थोरै दर्शक जम्मा पनि हुनुभयो । तर, त्यतिले ऊर्जा दिएन । दर्शकको संख्या पुगेजस्तै लागेन । बसपार्क एरिया, बोर्डर वारिपारि किनमेलका लागि हिँडिरहेका मानिसहरूको खासै फुर्सद नहुने । त्यसो हुँदा दर्शकको कमी थियो । त्यसपछि, निर्देशकसँग सुटुक्क सल्लाह गरेर म भन्सार गेटनिर गउँ । त्यहाँबाट नाटक देखाउने ठाउँ २००–३०० मिटरको दूरीमा थियो । गेटनेर पुगेर हार–गुहार माग्दै म त चिच्याउँदै नाटक गर्ने ठाउँसम्म दौडिँदै आएँ । बजारमा हिँडिरहेका मानिसहरूको ध्यान हामीतिर तानियो । अनि नाटक मञ्चन थालियो ।
कति ठूलो बजेट खर्च गरेर, सबै जिल्लाका मानिस थुप्रिएको ठाउँ, काठमाडौँमा नाटक देखाउन खोज्दा त कहिलेकाहीँ हार–गुहार लगाउन परेको हुन्छ । खाली गुहार लगाउने तरिका मात्रै अलि फरक हो ।
काठमाडौं आएर सुन्धारास्थित थिएटर मलमा अभिनय सिक्दै गर्दा फिल्म, वेब ससिरिजका लागि अडिसन दिउँ । एउटा चलचित्रमा प्रमुख भूमिकाका लागि छानिउँ, शुटिङ पनि भयो । तर कारणवश, चलचित्र भने बनेन । यद्यपि, क्यामरापछाडि बसेर काम गर्दाको अनुभूति लिन पाउँ । त्यसले गर्दा मलाई चलचित्रको सबै पाटोलाई, सबै डिपार्टमेन्टको जरुरी आवश्यकता र महत्त्वलाई बुझ्ने मौका मिल्यो । आफ्नो कामप्रति अझै गम्भीर भउँ । यति मिहेनत लाग्ने काम रहेछ अझै यो कामलाई न्याय गरौँ भन्ने लाग्यो । आफूलाई दिइएको जिम्मेवारी राम्रोसँग पूरा गरौँ ता कि अरूलाई भार नथपियोस् भन्ने कुरा त्यो अधुरो प्रोजेक्टले सिकायो ।
थिएटर र फिल्म दुवैले मलाई उत्तिकै लोभ्याउँछ । म नाटक र फिल्ममा एकसाथ काम गरिरहेकी हुन्छु । तर, कामको प्रोसेसमा दुईबीच त्यति धेरै फरकपना छ जस्तो लाग्दैन । कथा भन्ने शैली त हरेक निर्देशकको फरक हुन्छ नै । त्यो विविधता त नाटकभित्रै पनि छ । त्यसैले नाटकभित्रै विभिन्नता देख्दै आएकोले फिल्ममा अर्को शैली भेट्दा नौलो नलागेको हुनसक्छ । अथवा पारिवारिक माहोल बनेकोले पनि नौलो अनुभव हुने अवस्था सृजना नभएको हुनसक्छ ।
कलाकारको रूपमा भने मैले गल्तीहरूबाट सिक्ने गरेकी छु । अघिल्लोपटक भएका गल्तीहरूलाई याद गर्छु र अर्कोपटक दोहोर्याउँदिन । यसले पनि मलाई व्यवसायिक हुन र मान्छे बन्न पनि सिकाइरहेको छ । अरूले गरेको कमजोरी देखेरै पनि मचाहिँ सजग हुन्छु र आफूले पनि त्यस्तै त गरेको छ कि छैन भनेर । आत्ममूल्यांकन गर्न थालिहाल्छु । गरेको छैन भने पनि भोलिको दिनमा त्यस्तै गल्ती हुन नदिन सजग भइरहन्छु । तर, घरी थिएटर त घरी फिल्मतिर हुँदा निरन्तर एकै ठाउँमा हुन पाउदिनँ । जसले मलाई थिएटरमा सिजनल आर्टिस्ट भनेर जिस्काउने गर्नुहुन्छ । म त्यसलाई सहज ढंगले लिइदिन्छु ।
थिएटरको नाटक, रेगुलर प्लेब्याक शो त हरेक महिना गरिरहेकै छु । फिल्ममा पनि कहिले कलाकार भएर त कहिले स्टाइलिस्ट भएर, कहिले सहायक निर्देशकका रूपमा पनि काम गरिरहेकी हुन्छु । सनई, दुई नम्बरी, नाङ्गो गाउँ, हात्तीछाप, दुःखी आत्माजस्ता फिल्ममा मैले सहायक निर्देशकको भूमिका निभाएकी छु । क्यामरापछडिका काममा पनि मलाई उत्तिकै रमाइलो लाग्छ । नाङ्गो गाउँका लागि पछाडि बसेर बाल कलाकार खोज्दा होस् या बोक्सीको घरमा बाल कलाकारकी आमा बनेर खेलिरहँदा होस् । कामप्रती म सधैँ नै इमानदार र लगनशील पाउँछु आफैलाई । बच्चासँग मात्र नभएर आफ्नै उमेरका साथीभाइ, अग्रज दाइदिदी र अझै अग्रजहरूसँग पनि मैले काम गर्ने अवसर पाएकी छु ।
हामी युवाहरूमा धैर्यको कमी पनि देखिन्छ । हामी रिजल्टमा बढी चिन्तित हुन्छौँ कि जस्तो लाग्छ कहिलेकाहीँ । सिद्धान्तमा बढी लागेर प्रयोगात्मकमा अलि पछाडि परिरहेका हौँ कि जस्तो पनि लाग्छ । तर पनि, लगनशीलता, धैर्य र निरन्तरको अभ्यासले राम्रा कामहरू युथ्बाट पनि जन्म हुँदै जान्छन् जस्तो मलाई लाग्छ ।
राम्रो काम निकाल्न चाहिने अर्को कुरा फेरि ओरिजिनालिटी हो । आफू हुने अभ्यास । तर, यो आफू हुने अभ्यास पर्दा वा क्यामराअगाडि मात्र होइन आफ्नो दैनिक जीवनमा पनि चाहिन्छ । खासमा हामी सामान्य जीवनयापनमा पनि आफूलाई जस्तो महसुस भइरहेको हुन्छ त्यस्तै व्यक्त गर्नै जान्दैनौँ । अथवा सक्दैनौँ । अनि अर्कै अर्कै गर्न थाल्छौँ, बनावटी गर्न थाल्छौँ । थाहा नपाएरै । अनि मेरो विचारमा कलाकार हुन बनावटी छोडेर आफू जे हो त्यही हुन थाल्नुपर्छ जस्तो लाग्छ । फेरि कलाकार हुँदा त अर्कै पात्र भएर बाँच्नुपर्ने होइन ? भन्ने लाग्नसक्छ । त्यो हो । तर, अर्कै पात्रको अवस्थामा आफू भएको भए आफूले के गरिन्थ्यो? त्यहाँबाट गयौँ भने बल्ल त्यो पात्रलाई जीवन्तता दिन सकिन्छ जस्तो मलाई लाग्छ ।
कलाकारले जान्नैपर्ने अर्को कुरा हो ‘अनलर्न’ र ‘रिलर्न’ गर्न । कहिलेकाहीँ हामी हिजो सिकेर आएका कुरालाई नै आजको परिस्थितिमा पनि जबर्जस्ती मिलाउन खोज्छौँ । हरेक नयाँ काममा, हरेम नयाँ पात्रमा, नयाँ स्कृप्टमा नयाँ आयामहरू आइसकेका हुन्छन् । हिजो सिकेर आएका कतिपय कुराहरू समय परिवेश अनुसार बदलिँदै गएका कारण सिकेका कुरालाई बिर्सिएर फेरि नयाँ कुरा सिक्न एउटा कलाकारले सधैँ आफूलाई खुल्ला राख्नुपर्छ ।
दुःखमा आत्तिहाल्ने र सुखमा मात्तिहाल्ने बानी छ भने कलाकारितामा लामो यात्रा गर्न गाह्रो छ । मपनि कहाँसम्म पुग्छु भन्ने कुरा कहिलेसम्म नआत्तिई, नमात्तिई निरन्तरता दिनसक्छु भन्नेमै निर्भर गर्छ । पछिल्लो समयको अपडेट भने म ‘कैँची’सम्म पुगेकी छु । तर, दर्शकसम्म कैँची कहिले पुग्छ ठ्याक्कै अहिल्यै भनिहाल्न भने सक्दिनँ । तर, योजनाअनुसार नै सबैकुरा गयो भने यो मेरो पहिलो फिल्म हुनेछ जसमा दर्शकले मलाई लिड रोलमा देख्नुहुनेछ ।
