अध्ययन गर्नुअघि आफूले हेरेका कलाकारले जस्तो गरेका छन् त्यही कुरालाई रि–क्रियट गर्नु अभिनय हो जस्तो लाग्थ्यो । सामान्यतया रुनु, रिसाउनु, हाँस्नु, क्रोध व्यक्त गर्नु नै अभिनय हो भन्ने भान हुन्थ्यो । अभिनयलाई जीवनसँग जोडेर हेर्न सकेको थिइनँ । अध्ययनले अभिनयको परिधिलाई फराकिलो बनाएजस्तो लाग्छ ।
हरेक विधामा जे कुरा पनि समयअनुसार परिमार्जित हँदै जान्छ । अभिनयमा पनि त्यही हो । पहिलाका कुरामा केही परिष्कृत हुँदै नयाँ चिज आउने क्रम भइरहन्छ । अहिले जे चलिरहेको छ, केही वर्षपछि यसमा पनि परिष्कृत हुन्छ । समयले नै परिवर्तनको माग गर्छ ।
पहिला अभिनय कम्युनिकेट मात्र हुन्थ्यो । अहिले साँच्चै नै चरित्र उतार्नुपर्ने परिस्थिति छ । अहिलेको समाज, दर्शकहरूको जुन चेतनास्तर छ, त्यो हिसाबले पनि चरित्रहरूलाई जबसम्म विश्वसनीय मान्दैनन् । तबसम्म त्यसलाई दर्शकले विश्वास गर्दैनन् । त्यही भएर पनि परिष्कृत हुँदै आएको हो । हरेक प्रोफेसनको अध्ययन गर्नु नै पर्छ । अभिनयलाई पनि अध्ययनको आवश्यकता पर्छ । त्यो अध्ययन एकेडेमिक मात्र नभई, हरेक तबरबाट गर्न सकिन्छ । कहिलेकाहीँ अनुभवबाट पनि अध्ययन हुन्छ ।
अभिनय सिकाइकै प्रक्रिया हो । यो त एउटा शिल्प हो । त्यसकारण यसको पनि आफ्नो शैली छ । अभिनयका तरिकाबारे जान्ने, बुझ्ने र एक्सप्लोर गर्ने कुरा एउटा सिकाइले किन दिन्छ भने अभिनयको तत्त्वहरूलाई बुझ्न अध्ययनले महत्त्वपूर्ण भूमिका खेल्छ ।
मैले अध्ययन गर्नुअघि आफूले हेरेका कलाकारले जस्तो गरेका छन् त्यही कुरालाई रि–क्रियट गर्नु अभिनय हो जस्तो लाग्थ्यो । सामान्यतयाः रुनु, रिसाउनु, हाँस्नु, क्रोध व्यक्त गर्नु नै अभिनय हो भन्ने भान हुन्थ्यो । अभिनयलाई जीवनसँग जोडेर हेर्न सकेको थिइनँ । अध्ययनले अभिनयको परिधिलाई फराकिलो बनाएजस्तो लाग्छ । त्यसपछि अभिनयलाई जीवनसँग जोड्न सकें । जीवनमा भएकै चिजबाट खोज, हेर, अध्ययन गर र आफूमा स्वीकार गर भन्ने कुरा अध्ययनले सिकाएका कारण यसको दायरा फराकिलो अनुभव गरें ।
मेकरको सोचसँग अध्ययनको मेल
आफूले अध्ययन गरेर आएको कुरा, आफूले फलो गर्ने मेथोड कतिपय केसमा मेल खाँदैन पनि । थाहा भएको कुरा लागू गर्न पाउन निर्मातासँग सोच मिल्नुपर्छ र कथा पनि सोही अनुसारको हुनुपर्छ । संघर्षरत त्यो प्राप्त गर्न गाह्रो हँदो रहेछ ।
निर्देशकले हामीबाट के खोजेको छ भन्ने कुरा प्रष्ट हुनुपर्छ । पटकथाले के खाजेको छ ? यी कुरामा प्रस्ट भएपछि कसरी गर्ने भन्ने दिमागमा आउँछ । पटकथा पढिसकेपछि, निर्देशकसँग बसिसकेपछि, निर्देशकसँगको अन्तर्क्रिया, कुराकानी भइसकेपछि बिस्तारै त्यसपछि आइडिया बन्दै जान्छ । विस्तारै पटकथालाई अधययन गर्ने क्रममा आफैं एउटा बाटो बन्दै जान्छ । सुरुमै यही गर्ने भन्नेचाहिँ हुँदैन ।
कतिपय केसमा पात्र चयनमा मेकर खड्किएको अनुभूति हुन्छ । मिसकास्ट भन्छन् नि । कतिपय कुरामा बाध्यात्मक परिस्थिति होला । त्यसमा लुकेका पाटा होलान् । जतिसक्दो चरित्रलाई सुहाउने चरित्र छान्दा उत्तम हुन्छ । मलाई पनि कसैले राम्रो एक्टिङ भयो भनेर यतिकै कास्ट गर्नुभन्दा नि चरित्र उसलाई सुट हुन्छ कि हुँदैन भनेर गरिदियो भने राम्रो हुन्छ । मिस कास्ट भएको धेरै ठाउँमा फिल हुन्छ । जतिसक्दो चरित्रलाई फिट हुने एक्टर छान्दा नै राम्रो हो । धेरै फोर्सफुल्ली इफोर्ट लगाउनुपर्दैन होला । चरित्रलाई सुहाउने खालको कलाकार नै छान्दा दर्शकलाई पनि राम्रो, मेकर र कलाकारलाई पनि राम्रो हुन्छ ।
अभिनयमा खड्किएका कुरा
अभिनयको आ–आफ्नो बुझाइ होला । अहिले फिल्मक्षेत्रमा खड्किएको चाहिँ अभिनय हो । एउटामा मात्रै एक्टर भएर मात्र काम गरौँ भन्ने हुन्न । धेरै कुराले रोल प्ले गरिरहेको हुन्छ । कुनै कुनै प्रोजेक्टमा समय पर्याप्त पाइन्छ । यद्यपि, समग्रमा हेर्दा हतार हतार हुन्छ । फिल्म निर्माणका लागि समय नै पुग्दैन । एउटा चरित्रलाई लामो समय खर्चिन अभाव भइरहन्छ ।
एउटा अभिनेताका लागि फिल्म छानेरै खेल्छु भन्ने परिस्थिति नेपालमा छैन । त्यो व्यावहारिक नै हुन्न । कहिलेकाहीँ धेरै चित्त नबुझ्दा नबुझ्दै पनि गर्नुपर्ने हुन्छ । हाम्रो मार्केट नै त्यस्तो छ । आफ्नै बाध्यता छ । एउटा फिल्म गरेर वर्षभरि चल्दैन पनि । व्यावसायिक रूपमा यही काम गर्ने भइसकेपछि गर्नु पनि पर्ने हुन्छ । यसले गर्दा कालान्तरमा फिल्मको संख्या धेरै हुन्छन् तर, गुणात्मक रूपमा कम नै हुन्छ ।
मिस कास्ट
मिस कास्ट हुने प्रमुख कारणमध्ये एउटा हो– ‘फेस भ्यालु’ । आफ्नो पटकथामा कति विश्वास छ भन्दा पनि फलानोलाई लियो भने चल्छ कि भन्ने धारणा छ । हाम्रो कन्टेन्ट राम्रो छ, मेकरको रूपमा आफू कन्फिडेन्ट छु भन्ने भए त हुन्थेन होला । तर मेकरको रूपमा आफू कन्फिडेन्ट नहुँदै गर्दा मान्छेले केही न केहीको सहायता खोज्छ । आफूमै आत्मविश्वास नभए पनि मेकरले कसै न कसैको सहारा पो खोज्ने हो ।
मेकर आफूलाई के चाहिन्छ भन्ने कुरामा प्रस्ट हुनुपर्छ । हाम्रा मेकरहरू कति त क्लियर हुनुहुन्छ । कतिमा कन्फ्युजन पनि छ । कतिले यो कारण यसलाई लिएको भन्ने पनि छ । कहिले राम्रो तरिकाले पात्र छनोट भएको पनि देखिरहेको हुन्छ । कहिलेकाहीँ नदेखिएका पनि हुन्छ । जसले राम्रोसँग पात्र छनोट गर्नुभएको छ, उहाँहरू मेकिङमा क्लियर भएको देखिन्छ । जसले गर्नुभएको छैन । उहाँहरू मेकिङमा कन्फिडेन्ट नभएको जस्तो देखिन्छ । पात्रलाई लिएर कलाकार छान्नेचाहिँ अहिले मात्र हैन, वासुदेव, बलिदानकै बेलादेखि हो जस्तो लाग्छ । त्यतिबेला पनि त कुनै अनुहार हेरेर लिएको हैन भन्ने कुरा थाहा हुन्छ । उहाँहरू आफूलाई चाहिएको कुरामा क्लियर हुनुहुन्थ्यो ।
अब सही कास्ट गर्ने कसरी त ? विज्ञका आ–आफ्ना राय होलान् । मेरो बुझाइमा, आफ्नो चरित्र के हो, चरित्रको परिवेश के हो र त्यो चरित्रको फिजिकालिटी, साइकोलोजी, ग्रोनअप, अनुभवका आधारले यो चरित्र फिट हुनसक्छ भन्ने खालको मेकरहरूले गहिरो अध्ययन गरेर गर्नुपर्छ जस्तो लाग्छ ।
एक्टरको मिहिनेत
फिल्मलाई कति गम्भीरताका साथ लिने भन्ने कुरा एक्टरमा निर्भर हुन्छ । मेहेनत नै गर्ने भनेर हरेक प्रोजेक्टमा त्यही लेभलको मिहिनेत चाहिन्न पनि होला । प्रोजेक्टमा निर्भर हुने कुरा हो । चरित्र चरित्रलाई चाहिने जति मेहेनत एक्टरले गर्नुपर्छ । अभिनयलाई गम्भीरताका साथ नलिने परिपाटी त छ । यसलाई रंग र रमाइलो भन्ने धारणा पनि छ र कतिपय विषयवस्तु हुन्छन्, तिनले अति नै मिहिनेत माग्छन् । कति फिल्म यस्ता हुन्छन् कि मेहेनतको माग गर्छ ।
हामी पूर्णरूपमा व्यावसायिक हुन सकिरहेका छेनौं । नेपाली फिल्म त्यो बाटोमा बल्ल देखिएको छ । तर चरित्र निर्वाह गर्ने कुरामा भावनात्मक बढी हुन्छौँ । त्यतिबेला आफ्नो शरीरलाई, मनस्थितिलाई अलिक बढी दुःख दिन्छौँ । त्यसमा आफ्नो इच्छाशक्तिले मात्र काम गरिरहेका हुन्छौँ । सुरक्षा छैन । कतिपय बिन्दुमा आफ्नो जीवनसँगै खेलबाड पनि गरियो जस्तो लाग्छ । अहिलेसम्म हामीले भावनात्मक नै बढी भएर गरिरहेका छौँ । हरेक सुरक्षाका मापदण्ड फलो गरेर गरिरहेका छैनौँ । त्यो गर्न पनि गाह्र्रो छ । त्यो सुरक्षाचाहिँ हुनुपर्छ ।
हामीले फिल्ममा अझै गुणस्तर चाहने हो भने अभिनेतका हातमा पनि धेरै कुरा हुन्छन् । अझ स्थापिता अभिनेताको हिसाबमा धेरै लागू हुन्छ । उहाँहरूले चाहनुभयो भने धेरै काम गर्न सक्नुहुन्छ । निर्देशकसँग बसेर, लेखकसँग बसेर पटकथादेखि चरित्र निर्माणका लागि काम गर्न र गराउन सकिन्छ । स्थापित एक्टरप्रति विश्वास बढी हुन्छ । यदि उहाँहरूले चाहनु भयो भने हुन्छ ।
अन्ततः फिल्म भनेको निर्देशकको माध्यम हो । फिल्ममा मुख्य जिम्मेवार निर्देशक नै हुनुपर्छ । अर्कोचाहिँ टिम वर्क पनि हो फिल्म मेकिङ । स्वच्छ वातावरणको हिसाबले आआफ्नो विचार राखेर मन्थन गर्ने स्पेस रहिरहन्छ । टिमको भावनालाई बुझेर काम गर्यो भने राम्रो हुन सक्छ ।
