सिजन टुको पर्खाइ !

आर्थिक र सामाजिक दुवै हिसाबले मेरो थिएटर यात्रा रहरलाग्दो गरी नै चलिरहेको थियो । तर, विजया कार्की मात्रै बनेर पुग्छ त ? विजया कार्की जहाा उभिएको हो त्यो ठाउा बनिरहेको छ कि खिइरहेको छ त ?

फाल्गुन ७, २०८१

विजया कार्की

Waiting for season two!

पहिलोपटक नाटक हेर्दा म स्कुल पढ्थें । स्कुलले नै हामीलाई नाटक हेर्न लैजान्थ्यो । यो २०६० सालतिरको कुरा हुनुपर्छ । म त्यतिबेला कक्षा ८ मा पढ्थें । गुरुकुलमा ‘अग्निको कथा’ मैले हेरेको पहिलो नाटक थियो । त्यो नाटकले ममा ‘म्याजिकल इम्प्रेसन’ पा¥यो । वरपर जादु भइरहे जस्तै लाग्यो ।

क्षणभरमै रंग, पात्रको कस्ट्युम, स्टेजको साजसज्जा, लाइट परिवर्तन भइरहेको थियो । त्योपनि केही कुरा नबिथोलिकनै । स्कुले विद्यार्थीको मनमस्तिष्कमा त ती दृश्य एउटा जादुयी क्षण जसरी छापिएरै बस्यो । अनि त्यसले मभित्र एउटा जिज्ञासा जन्मायो– थिएटरको त्यो कालो पर्दा पछाडि आखिर के हुन्छ त, जसले गर्दा स्टेजमा त्यस्तो जादु देखिन्छ ? 

बचपनको यही जिज्ञासा पछ्याउँदै पछ्याउँदै नै म थिएटरमा प्रवेश गरें । तर, छिर्दै गर्दा यसलाई मैले पेसाकै रूपमा अपनाउँला भन्ने सोचको थिइन । मलाई केवल थिएटरको कालो पर्दा पछाडि के हुन्छ बुझ्नु थियो ।

स्कुलले बानी बसाइदिएकै थियो नाटक हेर्ने । अब त म आफैं पनि थिएटर जान थालें । ब्याचलर्स पढ्दातिरको कुरा हो, गुरुकुलमा फेस्टिभलहरू भइराख्थे । त्यही फेस्टिभलमा मैले हेरेको पहिलो नाटक ‘अग्निको कथा’ दोस्रोपटक पनि हेर्ने मौका पाएँ । सुइना कर्णाली, बुख्याचा अनि विदेशी नाटकहरू पनि फेस्टिभलमा देखाइएका थिए । भ्याएसम्म नछुटाई हेर्ने गर्थें । त्यसरी, गुरुकुल जाँदै गर्दा मण्डला थिएटर बन्न लागेको थाहा पाएँ । मण्डलाको फेसबुक पेजमा पनि म जोडिएँ । 

यो २०१४ तिरको कुरा हुनुपर्छ, त्यही फेसबुक पेजबाट मण्डला थिएटरले ‘थिएटरको कोर्स’ गर्न लागेको जानकारी दियो । सुनिल पोखरेल सरको सहजीकरणमा ‘मण्डला थिएटर ल्याब’ नामको कोर्स थियो त्यो । सुनिल सरको नामले मलाई पनि त्यो कोर्समा सहभागी हुन हौस्यायो । सरका नाटकहरू हेर्दै आएकी मान्छे म । थिएटरमै पुगेर एप्लिकेसन फर्म भरें । हामी २५ जना त्यो कोर्समा छानियौं । छानिनुअघिको अन्तर्वार्तामा मलाई कोर्स लिन चाहनुको कारण सोध्नुभयो । जवाफमा मैले हातले देखाउँदै भनेकी थिएँ– ‘त्यो कालो पर्दापछाडि के हुन्छ त्यो जान्न मन छ ।’

सरले भन्नुभयो– ‘ए, ब्याकस्टेज !’ छानिएका २५ जनामध्ये म पनि परें । 

त्यो थिएटरसम्बन्धी बेसिक कोर्स थियो । तर, मलाई भने ब्याकस्टेजमा बढी नै उत्सुकता थियो । म सिकिरहन खोज्थें । मैले ब्याच प्रोडक्सनमा काम गर्ने बेलामा पनि सुनिल सरसँग ‘मलाई लाइट अपरेसनमा मौका दिनुस् न सर’ भनेकी थिएँ । सरले हुन्छ भन्नुभएको थियो । तर, नाटकमा एउटा महिला पात्रमा मैले खेल्नैपर्ने भयो । महिला कलाकार यसै त कम हुन्थे । त्यसमाथि एक दुईजनाले बीचमै छोडेका थिए । उनीहरूले प्रोजेक्ट छोडेका कारण मैले लाइट छोड्नुपर्‍यो । अनि अभिनय रोज्नुपर्‍यो । जता मलाई जानु नै थिएन समय–परिस्थितिले मलाई त्यतै त्यतै डोहोर्‍याइरहेको थियो । 

समयको पाइला पछ्याउँदा पनि नोक्सानी थिएन । म केही न केही सिकिरहेकै थिएँ । रमाइरहेकै थिएँ । सुनिल सरले मलाई सहायक निर्देशनमा बस पनि भन्नुभएको थियो । तर, म अभिनयमा लागेपछि साथी शंकर रिजालले सरलाई निर्देशनमा सहायता दिनुभयो । 

स्टुडेन्ट प्रोडक्सनमा हामीले देखाएको नाटक दर्शकले एकदमै मन पराउनुभयो । हामीले १० दिन तन्काएर पनि थप सोहरू देखायौँ । इन्द्रबहादुर राईले लेख्नुभएको कथा ‘जार : भएकै एउटा कथा’ लाई खगेन्द्र लामिछानेले नाट्य रूपान्तरण गर्नुभएको थियो । र हामी सबै मिलेर त्यसलाई तयार गर्‍यौं । तर, यो सबै हुँदै गर्दा म जागिर पनि गर्थें । कलेज पढ्दै गर्दा नै म एउटा सफ्टवेयर कम्पनीमा बिजनेश एक्जेक्युटिभ भएर काम पनि गरिरहेकी थिएँ । पढ्न त म मास कम्युनिकेशन र मेजर इंग्लिस पढ्दै थिएँ । तर, केही न केही गरौँ भन्ने लाग्यो र केही गर्नैपर्ने बाध्यतामा पनि थिएँ । व्यस्तता र चुनौती त थियो तर, मलाई यी दुवै कुराले विकर्षण कहिल्यै गरेन बरु आकर्षण नै गर्‍यो । 

‘थिएटर ल्याब थ्री’ प्रोडक्सनको मञ्चन सकियो र म फेरि जागिरे जिन्दगीमै फर्किएँ । बीचमा नयाँ नाटकका कुरा आइरहेको पनि त थिएन । यद्यपि, म थिएटर नियमित गइरहेकै थिएँ । तर, मैले थिएटर जानु र एउटा रेगुलर अडियन्स थिएटर जानुबीच केही फरक थिएन । नाटक हेर्ने दृष्टिकोण भने साधारण दर्शकको भन्दा फरक भइसकेको थियो । म नाटक नै हेर्न मात्र पुगिरहेकी थिएँ । फेरि कुनै नाटकमा काम गर्छु होला भन्ने मैले सोचेकै थिइनँ । 

केही महिना यसरी नै नाटकघर आउनेजाने चलिरहेको थियो । एकजना अस्ट्रियन डिरेक्टरले पफर्मेन्स आर्टको माध्यम प्रयोग गरेर एउटा स्टेज प्रिजेन्टेसन गर्नका लागि कलाकारहरूको टोली तयार पारिरहेको मैले थाहा पाएँ । तर, अडिसन दिन म गइनँ । त्यही टिमबाट कृपा बहिनीको पटकपटकको जिद्दीले यो पफर्मेन्समा जोडिने अवसर मिल्यो । म योजना नबनाउने, अवसर आयो भने पछि नहट्ने स्वभावकी छु । भर्खरसम्म ‘अडियन्स जोन’मा रहेकी मान्छे म तुरुन्तै अडिसनका र रिहर्सलका लागि मन बनाएँ । 

म त्यसमा जोडिएँ । जागिर नछोडेरै मैले त्यसमा काम गरें । त्यो पफर्मेन्स आर्ट पिसको नाम थियो– ‘मि एन्ड दि अदर्स’ । यसमा पात्रहरूबीच संवाद थिएन । संवेदना अभिव्यक्त गर्न, कथा भन्न बढी ल्याङ्वेज र फेसियल ल्याङ्वेजको प्रयोग हुन्थ्यो । तर, केही भाग भने पात्रले न्यारेटर गरेर कथा भने जसरी सिधै दर्शकलाई प्रस्तुत गर्ने । यो प्रस्तुतिपश्चात् बिस्तारै एकपछि अर्को कामहरू आउन थाले । 

म थिएटर र जागिरलाई एकसाथ लगिरहेकी थिएँ । झण्डै अरू दुई वर्ष थिएटरसँग निरन्तर जोडिएपछि चाहिँ एउटा बिन्दुमा आइपुगेर मलाई के महसुस भयो भने– मैले कला क्षेत्रमै भिज्नुपर्छ । केही समय अन्य विषय, अन्य क्षेत्रमा नबाँडिएरै मैले कलालाई आफ्नो अविभाजित समय दिएर हेर्नैपर्छ ! मैले जागिर छोड्ने निर्णय लिएँ र पूर्ण रूपमा मैले रंगमञ्चतिर पाइला बढाएँ ।

त्यसपछि मैले थिएटरका अन्य विधा– प्लेब्याक थिएटर, फोरम थिएटर, थिएटरभित्रै पनि लाइट अपरेसन, स्टेज म्यानेजमेन्ट, साउन्ड अपरेसन लगायतका काममा पनि बिस्तारै बिस्तारै भिज्ने मौका पाएँ । अझ भनौँ, म हरबखत मौकाको खोजीमा हुन्थें र प्रत्येक आएको कामलाई अवसरको रूपमा लिन्थें । किनभने, जागिर छोडेरै मज्जाले थिएटरका धेरैभन्दा धेरै पाटाहरू खोतलौं भन्ने मेरो त्यतिबेलाको लक्ष्य थियो । 

दर्शक त प्लेब्याक थिएटरबाट केही समयका लागि थेरापीमा पुगेको महसुस बोकेर निस्किनुहुन्छ होला तर, मैले भने प्लेब्याकबाट कथाको स्रोत पत्ता लगाएँ । जसले मलाई स्टोरी प्रोडक्सन र स्टोरीटेलिङका लागि एउटा जान्नैपर्ने आधारभूत ज्ञान सिकायो । फोरम थिएटरले पनि भुइँ–समाजका मुद्दा उठाउँदा यथार्थ पात्रहरू को हुन्, तिनको मनोविज्ञान के छ, कस्तो छ, किन त्यस्तो छ बुझ्ने अवसर दियो ।

यही दौरान ‘कुमारी एन्ड द बिस्ट’ मेरा लागि विशेष नाटक रह्यो । जसले मलाई अन्तर्राष्ट्रिय मञ्चसम्मै पुर्‍यायो । त्यसअघि पनि मैले अन्तर्राष्ट्रिय सहभागिता गर्ने मौका पाएकी थिएँ । यो नाटकमा समकालीन समयका अरू नाटकमाभन्दा भिन्न किसिमको प्रयोग थियो । कविता श्रिनिवासनले यसको निर्देशन गर्नुभएको हो । सहायक निर्देशनमा मैले कवितालाई साथ दिएकी थिएँ । स्टेज म्यानेजमेन्ट पनि म आफैंले गरें । मेरो थिएटर यात्रामा यो नाटक महत्वपूर्ण लाग्छ मलाई । 

म आफू पनि संसारका अरू ठाउँमा, यही क्षेत्रमा के के भइरहेका छन् खोज्ने र नयाँ कुरा अपनाउन कोसिस गरिरहन रुचाउने मान्छे हुँ । त्यसैले, यो नाटकमा पनि हामीले नयाँ प्रयोग गर्‍यौं । धेरै वर्षको सिकाइको अनुभवसँगै विशेषगरी यो नाटकले मलाई आफ्नै निर्देशनमा नाटक बनाउने ऊर्जा दियो । त्यो ऊर्जा पाएको केही वर्षमा मैले साथी प्रतीक्षा कट्टेलले लेखेको नाटक ‘क्लेशा’लाई आफैंले निर्देशन गरें । 

‘कुमारी एण्ड द बिस्ट’पछि आफूले निर्देशकको भूमिकामा तयार गरेको नाटक ‘भारत रंग महोत्सव’मा पुगेको थियो । यो नाटकको लिड रोलमा सुरक्षा पन्तले काम गर्नुभएको छ । अन्तर्राष्ट्रिय मञ्च, त्यसमा पनि एउटा राम्रो प्रतिष्ठा बोकेको महोत्सवमा म अभिनेत्री र निर्देशक दुवै भएर पुगें । नाटकले राम्रो प्रतिक्रिया बटुल्यो पनि ।

यद्यपि, त्यहाँ सहभागिता जनाएर फर्कँदै गर्दा नै मभित्र केही प्रश्नहरू उब्जिए । २५ जना ब्याचमेटमध्ये हामी ६÷७ जना मात्रै थिएटरमा सक्रिय थियौं । थिएटरको रहर हुँदाहुँदै पनि यो क्षेत्रमा जोकोहीलाई अल्झिरहन गाह्रै छ । थिएटर मात्रै गरेर बाँच्न सकिँदैन भन्ने भाष्य नै छ नेपालमा । तर, म त्यस्तो मान्छे थिएँ जो फिल्म नगरी, ब्याक टु ब्याक म्युजिक भिडियो नगरी, खाली थिएटरसँगै सम्बन्धित कामहरू मात्रै गरेर पनि बाँचिरहेकी थिएँ । जीवनयापन राम्रैसँग भइरहेकै थियो । 

आर्थिक र सामाजिक दुवै हिसाबले मेरो थिएटर यात्रा रहरलाग्दो गरी नै चलिरहेको थियो । तर, विजया कार्की मात्रै बनेर पुग्छ त ? विजया कार्की जहाँ उभिएको हो त्यो ठाउँ बनिरहेको छ कि खिइरहेको छ त ?

पछिल्लो ‘भारत रंग महोत्सव’बाट फर्किएर आइसकेपछि जति पनि नाटक मैले नेपालमा गरें तिनलाई पछाडि फर्केर हर्दा नेपाली रंगमञ्चसँगै मेरो पनि रूपान्तरण जरुरी छ । चल्नलाई त हामी दुवै चलेका छौं । मलाई एउटा प्रश्नले हान्यो– के चलिरहेर मात्रै पुग्छ त ? मेरो यात्रा कता लम्कनुपर्ने हो ? यी प्रश्नले मलाई घोतलिन बाध्य बनायो । 

त्यसो त हामीकहाँ वर्कशपहरू नभएका होइनन् । थिएटर कल्चरलाई अघि बढाउनै सही कोर्स डिजाइन नभएको होइन । तर, खासै दीगो विकास भइरहेको जस्तो लागेन । थिएटरमा आउने कलाकारहरूले पनि थिएटरलाई एउटा ‘स्टेपिङ स्टोन’ मात्रै बनाइरहनु भएको छ जस्तो लाग्यो । आउने, टेक्ने र फिल्मतिर जाने । यो भन्दै गर्दा फिल्मतिर जानै नहुने भनेको होइन । तर, थिएटरको प्रयोग भर्‍याङकै रूपमा मात्रै भयो भने त जो थिएटरमै केही गर्छु भनेर बसेका हुन्छन् ती एकादुई मानिसले मात्रै कसरी चलाउने ?

हामीकहाँ नाटक लेख्ने मान्छे पनि कम हुनुहुन्छ । एउटा राम्रो नाटक लेख्ने हो भने झण्डै वर्ष दिन लग्नसक्छ । तर, वर्षमा एउटा वा दुईवटा नाटक लेखेर-गरेर त पुग्दैन । रंगकर्मी सबैलाई पनि एउटा नाटकमा काम गरेर पुग्दैन । त्यही भएर हामी अडाप्ट गर्छौँ । अडाप्ट गर्नु पनि नराम्रो कुरा होइन । तर, नयाँ लेखन कसरी बढाउने पनि अर्को सोच्नु र गर्नुपर्ने कुरा हो । त्यसलै, मैले निर्णय गरेँ– मैले मेरो थिएटर यात्राको पहिलो सिजन यहीँ बिसाउनुपर्छ !

म थिएटर प्रवेश गर्दा पनि मलाई एउटा जिज्ञासाले डोहोर्‍याएको थियो । र फेरि पनि एउटा नयाँ जिज्ञासाले डोहोर्‍यायो भने यसको सिजन टु पनि नआउला भन्न सकिन्न । तर, अब भने कलाको माध्यमबाट आफू मात्र कतै पुग्नु मलाई छैन बरु आफ्नो माध्यमबाट कला पनि कहीँ पुगोस् ! हाललाई यो कला यात्राको ‘सिजन टु’ र मेरा जिज्ञासाको मिलन पर्खन म आनन्दमय जोनमा छु । 

विजया कार्की रंगकर्मी

Link copied successfully