जीवनमा चुनौतीहरू आउँछन् । तर, आफ्नो क्षमतालाई सही दिशामा निरन्तर लैजान सकियो भने सफलता मिल्ने रहेछ । अरूसँग तुलना गर्नेभन्दा पनि आफैंलाई चिन्नुपर्ने रहेछ ।
म झापा, दमकमा जन्मिएर त्यहीं हुर्किएकी हुँ । मेरो परिवारमा कोही पनि गीतसंगीत क्षेत्रमा व्यावसायिक रूपमा संलग्न थिएनन् । तर, सानैदेखि मलाई संगीतप्रति ठूलो रुचि थियो । कोही गीत गाउँदा वा वाद्यवादनको आवाज सुन्दा पनि आनन्द लाग्थ्यो । म अत्यन्तै प्रभावित हुन्थें ।
म झापा, दमकमा जन्मिएर त्यहीं हुर्किएकी हुँ । मेरो परिवारमा कोही पनि गीतसंगीत क्षेत्रमा व्यावसायिक रूपमा संलग्न थिएनन् । तर, सानैदेखि मलाई संगीतप्रति ठूलो रुचि थियो । कोही गीत गाउँदा वा वाद्यवादनको आवाज सुन्दा पनि आनन्द लाग्थ्यो । म अत्यन्तै प्रभावित हुन्थें । स्कुल र गाउँका विभिन्न कार्यक्रमहरूमा भाग लिने गर्थें, जहाँ अरूले मेरो स्वर राम्रो भएको प्रतिक्रिया दिन्थे । भजनकीर्तन भने चलिरहन्थ्यो ।
हामी राजधानी बाहिरका मानिसहरूका लागि पारिवारिक सहयोग र आर्थिक अवस्थाले पनि ठूलो भूमिका खेल्थ्यो । जे–जस्तो भए पनि, म आफ्नो वर्तमान अवस्थामा खुसी छु । हाम्रो समाज पनि परिवर्तन भइरहेको छ । कलाकारलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्दै गएको छ । अहिले त आमाबाबुले आफ्ना बालबालिकालाई विभिन्न कलाकारहरूको उदाहरण दिएर प्रेरित गरिरहेको देखिन्छ ।
कलाकारले आफ्नो कर्ममा इमानदारीका साथ लाग्यो भने समाजले सम्मान गर्छ भन्ने मैले महसुस गरेकी छु । महिला भएका कारण केही कुरा महिलाबाहेक अरूलाई खुलेर भन्न सकिँदैन । तर आफ्नो कामको हिसाबले भने मैले फरक पाएको छैन । अहिले महिला कलाकारहरूको संख्या पनि बढेको देख्दा आनन्द लाग्छ । मिहिनेतको निरन्तरतासँगै आफ्नो क्षमताको पहिचान हो । धैर्यता पनि हुनुपर्छ जस्तो लाग्छ ।
जीवनमा धैर्यता महत्त्वपूर्ण हुन्छ । मैले नेपाल आइडलको अडिसनका लागि धेरै महिनाअघि नै तयारी गरेकी थिएँ । काठमाडौंमा दोस्रो संस्करणका लागि अडिसन दिँदा पहिलो प्रि–जजिङ राउन्डबाट अगाडि बढ्न सकिनँ । त्यसपछि फेरि अर्को दिन अडिसन दिन गएँ । त्यो पटक म दुवै प्रि–जजिङ राउन्डमा छनोट भएँ र फिजिकल राउन्डमा अडिसन दिने अवसर पाएँ । अन्ततः नेपाल आइडलको फिनालेसम्म पुग्न सफल भएँ ।
जीवनमा चुनौतीहरू आउँछन् । तर, आफ्नो क्षमतालाई सही दिशामा निरन्तर लैजान सकियो भने सफलता मिल्ने रहेछ । अरूसँग तुलना गर्नेभन्दा पनि आफैंलाई चिन्नुपर्ने रहेछ । आफ्नो क्षमता पहिचान गर्दै, त्यसलाई निरन्तर तिखार्दै लैजाने हो भने हरेक व्यक्तिले आफ्नो इच्छा प्राप्त गर्न सक्छ भन्ने अनुभव मैले नेपाल आइडलको यात्राबाट सिकेकी छु । अहिलेको पुस्तामा अरूलाई हेरेर त्यस्तै बन्ने सोच रहेको देख्छु । तर मुख्य कुरा आफ्नै क्षमता पहिचान गर्न सक्नुपर्छ ।
सुरुवाती दिनमा राम्रो अभिभावकत्व नभएका कारण भाइरल पात्र मात्र बनेका उदाहरण पनि छन् । अहिले सामाजिक सञ्जाल र प्रविधिहरूले कलाकारहरूका लागि नयाँ अवसरहरू सिर्जना गरिरहेका छन्, जसले सानै उमेरदेखि प्रतिभालाई अगाडि ल्याउने मौका दिन्छ । सुरुमा यी कुराहरू रुचिकर लाग्छन्, तर दीर्घकालीन सफलता प्राप्त गर्न उचित मार्गदर्शन नहुँदा कला क्षेत्रबाटै विस्थापित भएका नमिठा घटना पनि छन् ।
मैले रियालिटी सोबाट राम्रो अभिभावक पाएँ । धेरै कुरा सिक्ने र प्राप्त गर्ने अवसर मिल्यो । रियालिटी सो भनेको धेरै मानिसहरूसम्म एकै पटक पुग्ने प्लेटफर्म रहेछ । नेपालजस्तो सानो देशमा पनि धेरै अघिदेखि गायन क्षेत्रको खोजीमा यस्तो प्रतियोगिता हुँदै आएको छ । जुन हामी जस्ता मानिसका लागि निकै सहज अवसर भएको छ । स्थानीय रेडियो, टेलिभिजनदेखि राष्ट्रियस्तरसम्मका रियालिटी सोलाई हामीले धेरै धन्यवाद दिनुपर्छ ।
त्यस्ता कार्यक्रमहरूले सार्वजनिक मञ्चहरूमा देखिने मौका नपाएका दूरदराजका प्रतिभाहरूलाई सतहमा ल्याइदिएका छन् । देशमा मात्र हैन एकैसाथ अन्तर्राष्ट्रिय क्षेत्रमा पनि परिचय बनाउन सजिलो भएको छ । मुख्य कुरा यो पेसाकै महत्त्व र आकर्षणलाई यस्ता सोले आम मानिसमा सकारात्मक धारणसमेत स्थापित गरिदिएका छन् । ‘नेपाली तारा’, ‘नेपाल आइडल’, ‘दि भ्वाइस अफ नेपाल’ ‘सिंगिङ स्टार’, ‘नेपाल लोक स्टार’जस्ता अरू रियालिटी सोहरूले धेरै प्रतिभालाई आफ्नो भविष्यको बाटो पहिचान गराइदिएर सहज बनाइदिएका छन् । उनीहरूलाई आर्थिक रूपमा पनि सक्षम बनाउन भूमिका खेलेका छन् ।
अहिले मलाई चिनाउने मेरो आफ्नै गीतहरू छन्, तर अझै पनि धेरैले मलाई नेपाल आइडलकै कारण चिन्छन् । कतिपय दर्शकहरूले आइडलमा गाएका गीतहरू गाइदिन आग्रह गर्छन् । जुन मलाई निकै प्रेरणादायी लाग्छ । मलाई दर्शकले चिन्दा मात्र हैन, आयोजकले बोलाउँदा पनि नेपाल आइडलको परिचयले निमन्त्रणा गर्नुहुन्छ ।
रियालिटी सोले अवसरसँगै अनुभव र ज्ञान पनि दिएको हुन्छ । सोहरूमा जाँदा सिकाइन्छ, सिक्ने माहोल हुन्छ, प्रतिस्पर्धाको भावना पनि विकास हुन्छ । महत्त्वपूर्ण कुरा आत्मविश्वास बढ्छ । परिपक्व बनाउँछ । रियालिटी सोबाट आएकाहरूलाई यो क्षेत्रमा पहिचान बनाउन धेरै सजिलो भएको छ ।
मलाई भाइरल हुनुपर्छ भन्ने कहिल्यै लागेन । भाइरल हुनैपर्छ, ट्रेन्डिङमै आउनुपर्छ भन्ने नलागे पनि राम्रो गीतले न्याय पाउनुपर्छ भन्ने लाग्छ । बरु, मैले अझै के गर्न सक्छु र आफूलाई कसरी सुधार गर्न सक्छु भन्ने सधैं चिन्ता लाग्छ । आफ्नै युट्युब च्यानल वा फेसबुकबाट पनि व्यक्ति हिट हुन सक्छ । आफूसँग फरक र विशेष क्षमता भने हुनुपर्यो । एक्लैले पनि अवसरहरू धेरै सिर्जना हुन सक्छ ।
रियालिटी सो बिना पनि मानिस ट्यालेन्ट छ भने परिचय बनाउन नसक्ने भने होइन । म अहिले युट्युबमा नयाँ कन्टेन्ट र भिडियो ल्याउने प्रयासमै छु । अन्य सामाजिक सञ्जाल फेसबुक, टिकटक, इस्टाग्राम लगायतमा चासो नै राखेर आफ्ना सामग्रीहरू राख्छु । समयअनुसार च्यालेन्जहरू पनि फरक हुँदै गएको छ । यसलाई हाम्रो पेसासँग जोड्नु अहिलेका लागि अनिवाय भएको छ ।
आफू स्थापित हुन आफैंले संघर्ष गर्नुपर्ने हुन्छ । सानैदेखि मेरो सपना गायन र नर्सिङ अध्ययन थियो । काठमाडौं आउनुको उद्देश्य थप अध्ययन गर्नु र सांगीतिक यात्रालाई फराकिलो पार्नु थियो । म स्कुलमै भोकल क्लासहरू लिने गर्थें र स्कुलका अतिरिक्त सांगीतिक कार्यक्रमहरूमा प्रतिस्पर्धा गर्थें । आज यस यात्रामा आइपुग्दा, म आफूलाई भाग्यमानी ठान्छु । तर, सफलताको मुख्य आधार भनेको निरन्तर मिहिनेत, अध्ययन, धैर्यता र आफ्नो क्षमताको सही पहिचान गर्नु हो भन्ने मैले बुझ्न सकेकी छु । प्रविधिको विकास र बजारको विस्तारले सिक्न चाहनेहरूका लागि अहिले माध्यम पनि सजिलो र सहज बनेका छन् ।
कला क्षेत्रमा लागेपछि भने अर्को पेसा वा व्यवसायलाई सँगै अघि बढाउनु असम्भवजस्तै हुँदो रहेछ । म नर्स हुँ, तर यो क्षेत्रमा सक्रिय भएपछि नर्सको भूमिकामा काम गर्न सकेकी छैन । मलाई पढाइअनुसारको सेवामा पनि लाग्न मन छ । तर अहिले सम्भावना देख्दिनँ । गीत मात्र रेकर्ड गराएर आर्थिक रूपमा सक्षम बन्न गाह्रो छ । चाडपर्व, मेला महोत्सवहरूसहित विदेशमा समेत स्टेज प्रोग्राममा जानु पर्छ । यसले गर्दा हाम्रो निजी समय हुँदैन ।
हामी हाम्रो श्रोता, दर्शक र समाजको अनुकूलमा उपस्थित हुनुपर्छ । जुन हाम्रो दायित्व पनि हो । यो क्षेत्रमा लागे पछि पूर्ण रूपमा दिनरात नभनी लाग्नुपर्ने हुन्छ । हामी पूर्ण रूपमा यस क्षेत्रमा समर्पित हुन्छौं । हामी पूर्ण रूपमा यस क्षेत्रमा समर्पित हुँदा सरकारले पनि हामी कलाकारहरूका लागि पहिचान खुल्ने कार्डसहितको सुविधा प्रदान गरोस् भन्ने मेरो चाहना छ । जसले हाम्रो दैनिकीलाई सहज बनाओस्, देशका विभिन्न ठाउँहरूमा जाँदा सहज होस् । राष्ट्रहितका सामग्रीहरू उत्पादन हुँदा वा गरिँदा, राज्यको सहयोग होस् भन्ने मेरो राज्यसँग माग पनि हो ।
