नेपाली युवाका सपना र सम्भावना

डिजिटल अर्थतन्त्र, खेलकुद, सिनेमा र संगीतमा नेपाली युवाले करिअर बनाउन थालेका छन्, राजनीतिमा पनि युवा पुस्ताको चासो र सहभागिता बढ्दो छ, स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि ४० वर्षमुनिका छन् 

फाल्गुन ७, २०८१

सजना बराल

Dreams and prospects of Nepalese youth

काठमाडौँ — राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीसमेत एकपछि अर्को गर्दै विदेश गइरहेकै बेला खेलकुद क्षेत्रलाई नै आशावादी बनाउने गरी यो वर्ष नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना भयो । यसले विश्वस्तरका विदेशी खेलाडीलाई क्रिकेट खेल्न काठमाडौंमा ओराल्यो भने केही समय अघिसम्म नामै नसुनिएका क्षेत्रीय खेलाडीलाई टिमले लाखौंमा किन्ने वातावरण बनाइदियो ।

कुनै बेला राष्ट्रिय टिमका खेलाडीले ब्याटसमेत मागेर खेल्नुपर्ने स्थितिमा रहेका नेपाली क्रिकेट खेलाडीले लाखौं पारिश्रमिकसहित लिग खेल्ने अवस्था आउनुलाई खेलकुद क्षेत्रकै ठूलो छलाङ मानिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको एनपीएलको पहिलो संस्करणमा नेपाली व्यवसायीले साढे ३ करोड रुपैयाँसम्म तिरेर टिम खरिद गरेका थिए । खेलाडी किन्नमै झन्डै १७ करोड लगानी भएको क्यानले जनाएको छ । प्रतियोगितामा १ अर्ब रुपैयाँ हाराहारी कारोबार भएको थियो । चर्चित भारतीय टेलिभिजन च्यानल ‘स्टार स्पोर्ट्स’ ले प्रत्यक्ष प्रसारण गरेर प्रतियोगितालाई विश्वव्यापी बनाइदिएको थियो ।

एनपीएलको सफलतापूर्वक समापनलगत्तै दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल मल्ललगायत क्रिकेट खेलाडीहरू विभिन्न मुलुकका लिगमा आबद्ध भएका छन् । नेपाली खेलाडीहरूको ‘ब्रान्ड इन्डोर्समेन्ट’ कमाइसमेत बढेको छ । नेपाली क्रिकेटको विकासलाई संस्थागत रूपमा अघि बढाउने र यसलाई पूर्ण उद्योगका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको क्यानका सचिव पारस खड्का बताउँछन् । खेलाडीका लागि सुरक्षित भविष्य बनाउनुका साथै नेपाललाई खेलकुदको ‘ग्लोबल हब’ बनाउने चाहना रहेको उनले उल्लेख गरे । ‘मैले खेल्न सुरु गर्दा नेपाली क्रिकेट विश्वकप वा अहिलेको जस्तो व्यावसायिक क्रिकेट खेल्ने स्तरमा पुग्ने आशासमेत राख्ने गरिएको थिएन,’ उनले भने, ‘खेलाडीलाई खेलेरै बाँच्न सकिने अवस्थामा आइपुग्न ३० वर्ष मिहिनेत गर्नुपर्‍यो ।’

अहिले नेपाली क्रिकेट विश्वस्तरमा ब्रान्डका रूपमा स्थापित भएको उल्लेख गर्दै यसलाई अझ संस्थागत बनाउँदै नयाँ अवसर सिर्जना गर्न आवश्यक रहेको खड्का बताउँछन् । ‘एउटा क्रिकेट म्याच हुँदा होटल, क्याटरिङ, सुरक्षालगायतका धेरै क्षेत्र जोडिन्छन्, यसलाई व्यवस्थित गर्दै लगेर भविष्यमा खेल क्षेत्रलाई नै उद्योगका रूपमा विकास गर्ने योजना छ,’ उनले थपे, ‘एनपीएलले नयाँ आशा देखाएको छ ।’ खड्काका अनुसार अहिले नेपालमा क्रिकेटर बन्न चाहनेका लागि उत्कृष्ट समय हो । उनले भने, ‘यो लयलाई जोगाउनु भने आवश्यक छ ।’

यही बीचमा भएका फुटबल लिग, भलिबल प्रतियोगिता, महिला फुटबल र क्रिकेट टिमको आशालाग्दो प्रदर्शनले पनि नेपाली खेलकुदमा अवसर र सम्भावना थपेको क्यानका सचिव पारस खड्काको विश्लेषण छ । ‘एउटा खेलले राम्रो गर्‍यो भने अन्य खेल क्षेत्रमा पनि सुधार हुन्छ,’ उनले भने, ‘खेलकुद क्षेत्रमा खेलहरूबीच प्रतिस्पर्धा हुँदैन ।’ 

केही वर्षमा नेपालमा उल्लेख्य रूपमा विस्तार भएको अर्को क्षेत्र, सूचना प्रविधि (आईटी) हो । नेपालको सबैभन्दा ठूलो निर्यात नै आईटी सेवा भएको तथ्यांक छ । नेपाल राष्ट्र बैंकले गएको कात्तिकमा सार्वजनिक गरेको प्रतिवेदनले चालु आर्थिक वर्षका पहिलो दुई महिनामै यस्तो निर्यातबाट नेपालले ३ अर्ब ७ करोड रुपैयाँ प्राप्त गरेको देखाएको छ । आईटी सेवा निर्यातबाट भित्रिएको यो रकम गत वर्षको त्यही अवधिको भन्दा ५६ करोड ८४ लाख रुपैयाँ बढी हो ।

पछिल्ला वर्षमा आईटी क्षेत्रले मुलुकलाई राम्रो लाभ दिइरहेको विभिन्न अध्ययनले देखाएका छन् । झन्डै ६६ हजार नेपाली युवा आईटी क्षेत्रमा संलग्न छन् । नेपाल सरकारले हालै नेपाली आईटी कम्पनीले विदेशमा शाखा खोल्न पाउनेलगायतका सुविधा थप गरी यस क्षेत्रको विस्तारमा सघाउने संकेत गरेको छ । विद्युतीय व्यापारलाई नियमन गर्ने गरी कानुन निर्माण अघि बढेको छ । नेपाली आईटी उद्यमीहरू नयाँ पुस्ताले नेपाली आईटी उत्पादनलाई विश्वव्यापी बनाउँदै लगेको बताउँछन् ।

ठमेल डटकममार्फत नेपालमा अनलाइन सपिङ भित्र्याउनेमध्येका एक बालकृष्ण जोशी कुल गार्हस्थ्य उत्पादनको झन्डै २५ प्रतिशत रेमिट्यान्सबाट आउने मुलुक आईटीको नयाँ हब बन्दै जानु सकारात्मक पक्ष भएको बताउँछन् । ‘नयाँ पुस्ताले नेपालको आईटी सेवालाई ग्लोबल बनाउन थालेका छन्,’ उनले भने, ‘अमेरिकामा पढेका युवा नेपाल आएर आईटी बिजनेस थालेका छन् ।’

जोशीले जलवायु वित्त (क्लाइमेट फाइनान्स) र क्रिप्टो माइनिङ नेपालका लागि नयाँ सम्भावना रहेको उल्लेख गरे । ‘विदेशी मुद्रा सञ्चिति र अर्थतन्त्र हेर्दा नेपालले क्रिप्टोलाई खुला गर्न गाह्रो छ, गर्नॅ पनि हँॅदैन तर माइनिङ खुला गर्न सकिन्छ,’ उनको धारणा छ, ‘क्रिप्टोवालालाई नेपालमा सर्भर राख्न दियो भने खर्बौं डलरको बिजनेस हासिल गर्न सकिन्छ ।’ ग्लोबलाइजेसन ४.० मा नेपाललाई ‘इन्नोभेसन हब’ का रूपमा प्रचार गर्न सकिने र यसको आधार वैदेशिक रोजगारी र बसाइँसराइका कारण अन्तरआबद्ध ग्लोबल इकोनमी, एआई, क्लाइमेट फाइनान्स र भर्चॅअल करेन्सी भएको उनको धारणा छ ।

डिजिटल अर्थतन्त्र र खेलकुद क्षेत्रमा नेपाली युवाले नयाँ र रोचक क्षेत्रलाई करिअर बनाउन थालेका छन् । सामाजिक सञ्जालमा कन्टेन्ट क्रिएटर वा इन्फ्लुएन्सर बनेर राम्रो कमाइ गर्नेदेखि स्ट्रिमिङ प्लाटफर्म प्रयोग गरी उल्लेख्य आम्दानी गर्नेको संख्या बढेको छ । पब्जी, डोटा टुजस्ता अनलाइन गेमको आकर्षण सोखसँगै पेसा र प्रतिष्ठाको विषय बन्न थालेको छ । केही समयअघिसम्म युवाले इन्टरनेट चलाउँदा बिग्रेको वा समय खेर फालेको भन्नेहरू नै सूचना प्रविधिमा पछिल्लो पुस्ताको सफलता देखेर चकित पर्न थालेका छन् ।

गत मंसिरमा भएको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनका बेला कांग्रेस महामन्त्री गगन थापाको एउटा अभिव्यक्ति सामाजिक सञ्जालको भाषामा ‘भाइरल’ मात्रै होइन, ट्रोल, मिम र गम्भीर बहसको हिस्सा बन्न पुग्यो । कतार, इजरायललगायत मुलुक गएका युवा नेताले भाषण गर्दैमा वा मुठी कस्दैमा फिर्ता नआउने बरु नेपालमा आकर्षक अवसर सिर्जना गर्नुपर्ने थापाको अभिव्यक्तिको आशय थियो । तर भाषणको एक हिस्सा मात्रै चर्चित बन्दा थापा भाइरल बन्न पुगे । त्यो थियो, ‘युवालाई कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएरै महिनामा ३/४ लाख कमाउन सकिने बनाउनुपर्छ ।’

थापाको विचारलाई कतिपयले ‘प्रधानमन्त्री केपी शर्मा ओलीको संगतले हावा कुरा गर्न सिकेको’ वा ‘गगनले पनि अरू नेताजस्तै आधारहीन कुरा गर्न थालेको’ भन्दै आलोचना गरे । तर के गगनको अभिव्यक्ति पूर्णतया असम्भव वा असान्दर्भिक थियो त ? थापा भने सो अभिव्यक्तिलगत्तै आईटी क्षेत्रका प्रतिनिधिहरू उत्साहित भएर आफूलाई भेट्न आएको सम्झन्छन् ।

कीर्तिपुर डाँडाको प्रसंगमा भएको घोचपेच नबिर्सेका थापा हाँस्दै भन्छन्, ‘हाम्रो स्थानीय सरकारले विकास भनेको सडक निर्माण हो भन्ने बुझेर आफूसँग भएको सीमित स्रोत पनि त्यसमै खर्च गरेका छन् । दक्ष जनशक्ति निर्माणमा लगानी गर्ने हो भने युवाले नै विकासमा योगदान पुर्‍याउँछन् ।’ नेपाललाई ‘नलेज इकोनमी’ को केन्द्र बनाउन सकिने र त्यसका लागि युवा जनशक्तिलाई सक्षम बनाउने विषयमा पर्याप्त लगानी गरिनुपर्ने थापाको भनाइ छ ।

‘नेपालको भविष्य नलेज इकोनमी हो, यसले संसारभरि नयाँ अवसर सिर्जना गरेको छ । यस अवसरलाई उपयोग गर्न सकेनौं भने पछि पर्छौं,’ उनले भने, ‘अबको २०/२५ वर्ष हामीसँग युवाशक्ति छ, विद्यालय र पूर्वाधार बनेका छन् । हामीले शिक्षा, प्रारम्भिक बाल विकास, पोषण र सूचना प्रविधिका अत्यावश्क जनशक्तिमा लगानी गरे हामीले चाहेको विकास देख्न सकिन्छ ।’ थापाका अनुसार विज्ञान, गणित, इन्जिनियरिङ, प्रविधि शिक्षामा सुधार ल्याउन सके आईटीको विश्वव्यापी अवसरलाई नेपालमै बसेर सदुपयोग गर्न सकिन्छ ।

फिच रेटिङको राम्रो मूल्यांकन, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषका सकारात्मक तथ्यांकसँगै सूचना प्रविधि, सिनेमा, संगीत र खेलकुदमा व्यावसायिक अभिवृद्धि नेपालमा लागि आशाजनक संकेत हुन् । यिनमा युवाको सक्रियताले उत्साह थपेको छ । तर आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा युवाको बढ्दो चासोसँगै अबको बाटो के हो त भन्ने प्रश्न पनि टड्कारो बनेको छ । यो प्रश्न नौ वर्षअघि संविधान जारी गर्दा जति टड्कारो थियो, अहिले पनि उत्तिकै पेचिलो बनेको देखिन्छ ।

अमेरिकाको म्यासाचुसेट्सस्थित ‘एमआईटी’ मा अध्ययन गरेर नेपाल फर्किएकी सुमना श्रेष्ठ राजनीतिमा लाग्नुअघि र सांसद बनिसकेपछि पनि युवाका सरोकार प्रस्ट रूपमा उठाउने युवा नेताका रूपमा चिनिन्छिन् । संसद्मा समेत तयारीका साथ धारणा राख्ने पूर्वमन्त्री श्रेष्ठ नेपालका युवामा अपार सम्भावना रहेको तर उनीहरूको प्रतिभा उजागर गर्न पर्याप्त अवसर नदिइएको बताउँछिन् । उनका अनुसार इन्टरनेटको पहुँचले युवापुस्तालाई स्मार्ट र खोजमूलक बनाएको छ तर समाजले उनीहरूको वास्तविक क्षमतालाई अझै राम्ररी उपयोग गर्न सकेको छैन ।

‘हाम्रा युवा धेरै स्मार्ट छन्, के चाहिन्छ भन्नेबारे उनीहरू प्रस्ट छन्, उनीहरूसँग संलग्न भएर काम गरियो भने वास्तविक सम्भावना थाहा हुन्छ,’ श्रेष्ठले भनिन् । खेलकुद, गणित, विज्ञान जस्ता विभिन्न क्षेत्रमा युवालाई चम्किलो तारा बनाउन अवसर नदिइएको उनले उल्लेख गरिन् । ‘युवालाई आफ्नै पहलमा अघि बढ्न अलपत्र छोडिएको छ, यसमा हामीले सुधार गर्न आवश्यक छ,’ उनले जोड दिइन् ।

नेपालमा फिनटेक, हेल्थ–टेकलगायत क्षेत्रमा इन्नोभेसनको ठूलो सम्भावना रहेको सांसद श्रेष्ठ बताउँछिन् । ‘हामीकहाँ क्रिएटिभ उद्यमशीलतालाई समर्थन गर्ने प्रणाली छैन,’ उनले भनिन्, ‘मैले भन्दै आएको कुरा नै नेपालमा कम्प्यासनेट आन्टरप्रेनरसिपको अवधारणा अपनाएर, इन्नोभेसनलाई वित्तीय रूपमा व्यावहारिक बनाउँदै युवालाई उद्यमशीलतामा प्रेरित गर्न सकिन्छ,’ उनले भनिन् । विदेश जाने विषय नेपाली युवाको बाध्यता नभई छनोटको विकल्प हुने वातावरण बनाउने आफ्नो आकांक्षा रहेको उनले सुनाइन् ।

कम उमेरमै रास्वपाबाट शिक्षामन्त्रीसमेत बनेर चर्चा पाएकी श्रेष्ठ राजनीतिमा युवाको बढ्दो सहभागिताको उदाहरण मात्रै हुन् । २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनबाट जितेकामध्ये झन्डै ४० प्रतिशत ४० वर्षमुनिका हुनुले साना पदमा भए पनि युवाको उल्लेख्य सहभागिता र चासो प्रतिबिम्बित गर्छ । नेपाली राजनीतिमा सधैं चर्चाको विषय बन्ने काठमाडौं महानगरपालिकाको निर्वाचनमा आफूभन्दा निकै वरिष्ठ र ठूला दलका उम्मेदवारलाई पछि पार्दै मेयर बनेका बालेन्द्र शाहले त्यसयता ठूला दल र नेतालाई विभिन्न विषयमा निरन्तर चुनौती दिँदै आएका छन् ।

२९ वर्षमै पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्ष बनेका जनता समाजवादी पार्टीका वशिष्ट कुमार हुन् वा २१ वर्षमै वडाध्यक्ष बनेका धनुषाको कमल नगरपालिकाका रणवीरसिंह मण्डल र बझाङको जयपृथ्वी नगरपालिकाका सर्जनबहादुर थापा, स्थानीय राजनीतिमा होमिने युवाका पछिल्ला उदाहरण हुन् । यो सबैलाई नजिकबाट नियालेका निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया भन्छन्, ‘नेपाली राजनीतिमा अहिले भइरहेको युवाको दुरुपयोग कम गर्न सक्ने हो भने युवा सहभागिता अझै बढ्ने सम्भावना छ ।’

राष्ट्रिय सभामा पुग्न ३५ वर्षको हुनैपर्ने, प्रतिनिधिसभाको उम्मेदवार छनोटमा युवालाई दिइने कम प्राथमिकता र सीमित संख्यामा मात्रै कार्यकारी पदमा पुग्ने अवसरजस्ता कारणले युवा साना पद र वडाध्यक्षमै सीमित हुनुपरेको थपलियाको विश्लेषण छ । उमेर पुगेका सबैले निर्वाचनमा मत दिनैपर्ने व्यवस्था गर्नॅपर्ने र लोकतन्त्रमा युवाको सहभागिता बढाउन हरेक विद्यालयसम्म पुग्नुपर्ने उनको सुझाव छ । ‘राजनीतिक दलहरूमा २०४८ सालको चुनावमा २५ वर्ष पुगेर उम्मेदवार भएका व्यक्ति २०८४ सालमा पनि उम्मेदवार बन्न तयार भएर बसेका छन्,’ उनले भने, ‘यस्तो प्रवृत्तिले नयाँ युवालाई राजनीतिमा लाग्न कसरी प्रेरित गर्ला र ?’

उच्च पदस्थ व्यक्तिहरूले आफ्ना सन्तान विदेश पठाएर अरूलाई देशमा रोक्ने कुरा गर्नु असुहाउँदो भएको थपलिया बताउँछन् । ‘जसले यस देशमा भविष्य छ भनेर प्रमाणित गर्नुपर्थ्यो, त्यस्ता (मलगायत) अधिकांशका छोराछोरी नै विदेशमा भएपछि कसरी हुन्छ ?’ उनको भनाइ छ, ‘सन्तान देशमा नराख्नेले देश कसरी बनाउँछ भन्ने प्रश्न छ ।’

विदेशमा नेपालीको संख्या बढ्दै जाँदा गएका केही वर्षमा नेपाली फिल्मले आफ्नो विश्वव्यापी उपस्थिति र कमाइको दायरा बढाउँदै लगेको छ । यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले झन्डै ८० करोड रुपैयाँ कमाइ गर्‍यो त्यसमध्ये ३५ करोड रुपैयाँ विदेशबाट आएको निर्माता विनोद पौडेलको दाबी छ । यो फिल्म १ करोड ३० लाख रुपैयाँमा निर्माण भएको थियो । यही वर्ष रिलिज भएका ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ जस्ता फिल्मले ३० करोडभन्दा बढी आम्दानी गरेका थिए ।

नेपाली फिल्मले विदेशमा पनि उच्च माग पाउन थालेका छन् । निर्देशक मीनबहादुर भामको ‘शाम्बाला’ ले बलिउडदेखि अन्तर्राष्ट्रिय सिनेमामा समेत चर्चा बटुल्यो । फिल्मको प्रिमियरमा भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यपजस्ता चर्चित फिल्मकर्मी आएका थिए । ‘मनसरा’, ‘गाउँ आएको बाटो’, ‘पुजार सार्की’, ‘घरज्वाइँ’ र ‘बेहुली फ्रम मेघौली’ जस्ता फिल्मले पनि राम्रो व्यवसाय र चर्चा बटुले । फिल्म निर्माण होस् वा दर्शकका रूपमा नेपाली युवाको बढ्दो उपस्थितिले पछिल्लो सफलता सम्भव भएको फिल्म निर्माताको भनाइ छ ।

नेपाल सरकारको १६ औं योजनाले युवालाई केन्द्रमा राखेर रोजगारी, उत्पादकत्व र प्रविधिमा जोड दिएको छ । योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीका अनुसार देशमा स्रोतसाधन पर्याप्त भए पनि मानव संसाधनको उचित परिचालन हुन नसक्दा आर्थिक वृद्धि अपेक्षाअनुसार हुन सकेको छैन । रोजगारीलाई मर्यादित र उत्पादक बनाउन नीति निर्माण गरिएको उनले बताए । ‘देशभित्रै रोजगारीको अवसर उपलब्ध गराउन जब सेन्टर स्थापना र श्रमशक्तिको रेकर्ड राख्ने व्यवस्था गरिँदै छ,’ उनले भने ।

अधिकारीका अनुसार स्टार्टअप, व्यावसायिक तालिम तथा आईटी शिक्षालाई प्रोत्साहन गर्दै इन्क्युबेसन सेन्टरहरूलाई बलियो बनाउने योजनामा सरकार केन्द्रित रहेको छ । ‘युवालाई सीप दिएर त्यसलाई प्रयोग गर्ने उचित वातावरण बनाउनु हाम्रो प्राथमिकता हो,’ उनले भने । 

आफ्नो पुस्तक ‘ह्वाइ नेसन्स फेल’ मा चर्चित अर्थशास्त्रीहरू ड्यारन आजेमोलु र जेम्स रबिन्सनले दिएका सुझावलाई सापटी लिने हो भने देशमा युवालाई रोक्न वा फर्काउनका लागि संस्थागत र पूर्वाधार विकास अपरिहार्य हुन्छ । दोहनकारी नभएर समावेशी संस्थाको निर्माणसँगै गुणस्तरीय शिक्षाको प्रवर्द्धनले युवालाई गतिशील र इन्नोभेटिभ बन्न सघाउने उनीहरूको निष्कर्ष नेपालमा उपयोगी हुन सक्छ । नेपाल खत्तम भइसक्यो र यहाँ केही सम्भव छैन भन्ने कथ्य निर्माणमा आफूसमेत धेरै जानी–नजानी सहभागी भएको स्वीकार गर्दै कांग्रेस नेता थापा भन्छन्, ‘यो कथ्य बदल्ने समय आएको छ । हामीले बिगारेको चीज हामीले नै सपार्ने हो ।’

खेलकुद र कलाअर्थतन्त्रराजनीतिनयाँ पुस्ता : सपना र सम्भावना

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully