नयाँ पुस्ताको नयाँ फिल्म शैली

नेपालमा फेस्टिभल फिल्म र नन–फेस्टिभल फिल्म भनेर छुट्याइन्छ ।  नेपाली फिल्म र डकुमेन्टी फिल्म भनिन्छ । केही समययता धेरै निर्देशकले भोगेको समस्या यही नै हो ।

फाल्गुन ७, २०८१

अनिल बुढामगर

A new generation of new film style

नेपाली फिल्म भनेपछि चारवटा गीत हुनुपर्ने, चारवटा एक्सन सिन हुनुपर्ने भन्ने धारणा अहिले पनि कायम छ । अहिले बनेका चलचित्रमा यो कुरा महसुस गर्न सकियो भने नयाँ र पुरानो पुस्ताले बनाएको चलचित्र छुट्टिन्छ । मानिसले जे बच्चैदेखि सिकेका छन्, त्यही अनुरूप उनीहरूको मनोविज्ञान बनिसकेको हुन्छ ।

फिल्म मेकिङ पढेर आएक नयाँ पुस्तालाई नयाँ शैलीको फिल्म बनाउन सहज भने छैन । 

फिल्मकर्मीहरू पनि समयअनुसार चल्न सक्नुपर्छ । अहिलेको समयअनुसारको फिल्म त अहिलेकै पुस्तालाई बनाउन सहज होला । नयाँ पुस्ताले अहिलेको समय देखेको छ, पुरानो पुस्तालेभन्दा नजिकबाट बुझेको छ । विश्वका फिल्ममेकरले नयाँ–नयाँ तरिकाबाट फिल्म बनाइरहेका छन् । 

हामीले पनि संसारका धेरैभन्दा धेरै फिल्म हेर्नुपर्छ । हाम्रो भाषा फरक होला, संस्कृति फरक होला, तर संसारको भावना एउटै छ । उनीहरूले कथा कसरी भनिरहेका छन् ? उनीहरूको कथा भन्ने शैली कस्तो छ ? यसबारे हामी पनि जानकार हुनुपर्छ । सिनेमामा कथा भन्ने शैली महत्वपूर्ण हुन्छ । यी सबै समिश्रण मिल्यो भने मात्रै राम्रो सिनेमा बन्न सक्छ । 

फिल्म मेकिङका लागि अनिवार्य रूपमा कलेज जानु पर्छ भन्ने छैन, तर पढ्न चाहिँ पर्छ । हाम्रो समाजमा फिल्म मेकिङलाई मनोरञ्जन मात्र ठानिन्छ । जबकि यो समाजलाई हेर्ने माध्यम पनि हो । नयाँ पुस्तालाई निर्माताले पत्ताउनै गाह्रो छ । उनीहरूले कुन प्रकारको फिल्म बनाउँछन् भन्ने प्रश्न उठ्छ । 

म रुकुममा जन्मिएँ, तर दाङमा हुर्किएँ । म हुर्कँदा जनयुद्धको समय थियो । रुकुम र रोल्पालाई जहिले पनि द्वन्द्वसँग जोडिन्छ । हरेक कुरा हेर्दा, भोग्दा यहाँका मान्छे माओवादी हुन्छन्, यो गाउँ माओवादीको हो भन्ने धारणा मेरो दिमागमा पर्दै आयो । तर अरू सुन्दरता पनि छन् । हरेक घरमा छुट्टै कहानी छ । त्यो अनुभुति भने दिईएन । ती कथाहरू कहिल्यै आएका छैनन् । मलाई सानैदेखि साहित्यमा रुचि थियो ।

जब मैले फिल्म मेकिङ पढ्न थालें, नेपाली फिल्म इन्डस्ट्रीमा भइरहेका परम्परागत प्रवृत्तिबाट केही फरक तरिकाको काम गर्नुपर्छ भन्ने दृष्टिकोण आयो । फरक धारको फिल्म नेपालमा त्यतिबेला आएको थिएन । म सिक्दै गर्दा ‘कालो कोठी’ र ‘सेतो सूर्य’ जस्ता फरक शैलीका फिल्महरू आए । यसै क्रममा मैले पनि कथा फरक ढंगले प्रस्तुत गर्न सकिन्छ कि भनेर यो क्षेत्र रोजें । 

फरक काम गरेर ग्लोबल मार्केटमा छिर्न सकिन्छ कि भनेर लागेको १५ वर्ष बितिसके छ । तर निर्माताहरूले मलाई ‘डकुमेन्ट्री फिल्म बनाउने’ भन्ने आरोप लगाउँछन् । फिल्म त फिल्म नै हो । अहिलेको नयाँ पुस्तासंगै अध्ययनशिल मानिसहरुले पनि यस्तै फिल्म रुचाएका छन् । 

नेपालमा फेस्टिभल फिल्म र नन–फेस्टिभल फिल्म भनेर छुट्याइन्छ ।  नेपाली फिल्म र डकुमेन्टी फिल्म भनिन्छ । केही समययता धेरै निर्देशकले भोगेको समस्या यही नै हो । काम नगरौँ, सिकेको जानेको, पढेको काम यहि हो । ३२ वर्षको भएँ फिल्म बाहेक जीवनमा अरु केही बुझ्कोे र सोचेको छैन । निर्माताहरूले विश्वास गर्दैनन् । यति बेला हामी कहाँ फिल्म बनाएर कसरी पैसा कमाउने ? कसरी हिट फिल्म बनाउने ? कस्तो फिल्म बनाउँदा हिट हुन्छ ? पैसा कमाइन्छ, भन्ने होड नै चलेको जस्तो देखिन्छ । 

चलचित्रको कथा के हुने, कलाकार को राख्नेसम्मको निर्णयमा निर्माताको हस्तक्षेप हुन्छ । कति त आफैं निर्माता, आफैं हिरो/हिरोइन । निर्देशक सुरुदेखि नै दबाबमा हुन्छन् । चलचित्र कसरी कमर्सियल बनाउने भन्ने निर्माताको दबाबमा कथादेखि कलाकार छनोटसम्म हुन्छ । पूर्वमा यो रुचाइन्छ भनेर पूर्वको टेस्ट, पश्चिममा रुचाइन्छ भनेर पश्चिमको टेस्ट चलचित्रमा हालिन्छ । यो कलाकार एडल्टमा र यो युवापुस्तामा लोकप्रिय छ भनेर कलाकार छनोट गरिन्छ । कथाले कस्तो कलाकार माग्छ त्यो परको कुरा भयो । बजारमा को चलेको छ भनेर कलाकार छनोट गरिन्छ । अन्ततः चलचित्र ‘उँट’जस्तो बन्छ । 

चलचित्र आफैँमा कमर्सियल र ननकमर्सियल हुँदैन । कमाउने चलचित्र नै कमर्सियल हो । तर, नेपालमा बलिउड फर्मुलामा बनाइएका चलचित्रलाई कमर्सियल, गीत र फाइट नराखी बनाइएका सिनेमालाई ननकमर्सियल भन्ने गरिएको पाइन्छ । यो सम्भवतः सामान्य बुझाइका लागि मात्र हो, कुनै सूत्र होइन । यसै कारण नयाँ फिल्म निर्देशक गर्नेलाई धेरै कठिनाइ परेको छ । 

पुरानै शैलिका कारणले कति मेकरहरुले यो क्षेत्र छाडे । मैले आफैंले खोजेको फिल्म अहिलेसम्म पाएको छैन् । बनाउन सकेको छैन । मैले सन् २०१२ तिर पहिलो लघुचलचित्र ‘लोम्बा’ को सुटिंग गरेर पाँच वर्ष पछि मात्र सम्पादन गरें । किनभने ग्लोबल मार्केटमा पुग्न अझ धेरै गर्नुपर्ने रहेछ भन्ने लाग्यो ।  यो विचमा म मानसिक रुपमा कमजोर पनि बनिसकेको थिएँ । यो सिकाइको क्रममा मैले मैले बुझेँ कि अध्ययन गर्न आवश्यक छ । 

प्रविधिको विकासले अहिले अध्ययन गर्न पनि सजिलो भएको छ । नेपालमा कति किताबहरू आउँदैनन्, तर इन्टरनेटको सहायताले अध्ययन गर्न सकिन्छ । पढेर, बुझेर आउँदा पनि एक त यहाँ नयाँनयाँ आउने निर्देशकलाई हेप्ने प्रवृत्ति छ । उनीहरूलाई आफ्नो कला अभिव्यक्त गर्ने अवसर दिइँदैन । निर्माताले विश्वास नै गर्दैनन् । 

मैले १३ वर्षपछि ‘घरज्वाईं’ फिल्म निर्देशन गर्ने अवसर पाएँ । निर्माताले मलाई कमर्सियल फिल्म बनाउन भन्नुभएको थियो । कमर्सियल भनेको के ? जुन फिल्मले पैसा कमाउँछ, त्यही कमर्सियल हो भन्ने मेरो तर्क थियो । तर उहाँहरूले पुरानै पाराले फिल्म बनाउन भन्नुहुन्थ्यो ।

अहिलेको अवस्थामा मैले दुई बाटो रोज्नुपर्ने छ— कि त जीवन चालाउन देश छोड्नुपर्ने छ । कि त त्यही पुरानै शैली अपनाउनुपर्यो । पछिल्ला फिल्महरुमा मैले बीचको बाटो रोजें प्रयास गरिरहेको छु । 

निर्मातालाई फेस्टिभल फिल्म र पुरानो शैलीको मिश्रण गरेर बनाउन सकिन्छ भनेर  बुझाउने प्रयास गर्न थालेको छु । ‘घरज्वाईं’ मा यही झल्को आउँछ— जहाँ स्थानीय कथावस्तु र बजारको शैली दुवैलाई समेट्ने प्रयास गरिएको छ । आफ्नो समुदायको कथा प्रस्ट देखिएको छ भने बजारको पुरानो शैलि पनि प्रस्तुत गरिएको छ । 

निर्मातालाई मनाएर मात्र फिल्म बनाउन नयाँ पुस्तालाई सहज छैन । नयाँ निर्देशकहरूलाई टिम खोज्नेदेखि सुटिङका क्रममा समेत कठिनाइ हुन्छ । चलेका कलाकारहरूले नयाँ निर्देशकलाई विश्वास गर्दैनन् । आफ्नो जिम्मेवारीमा काम गर्दा पनि पुरानो भएकै कारण अनावश्यक सम्मान आवश्यक पर्छ । काम कस्तो गर्छ भनेर नहेर्दिने, नयाँ भनेर हेप्ने र कसरी कमजोर बनाउन सकिन्छ भन्ने सोच राख्दा अप्ठेरो पर्छ । 

विदेशमा जस्तो नेपालमा निर्देशकको भिजनलाई महत्व दिएको पाईंदैन । पुरानो पुस्ताले निर्देशकको कामको सम्मान गर्थे, अहिले सबै जान्ने भएजस्तो गर्छन् । फिल्म राम्रो बन्यो भने ‘हामीले बनायौँ’ भन्छन्, बिग्रियो भने ’निर्देशकले बिगार्‍यो’ भन्छन् । भुमिकाको कुरा गर्ने हो भने खिच्दा मात्र हैन, खिचेपछि पनि कुन सिन राख्ने भन्नेमा निर्देशकको नै भुमिका हुन्छ । सिनेमा निर्देशकीय माध्यम हो । निर्देशकले जे चाहन्छ त्यो भन्न ऊ स्वतन्त्र हुनुपर्छ । त्यसैले उसमा निर्माता मात्र होइन, जो कसैले पनि प्रश्न उठाउँन सक्छ । 

एक/दुई फिल्म राम्रो भएपछि भने सजिलो हुँदो रहेछ । घरज्वाईंबाट त्यो अनुभव गरिरहेको छु । हुन त यहाँ अवसरनै नपाएर हजारौँका अनुभवहरु त्यसै हराएका छन् । म त भाग्यले टिकेको छु । नेपालमा फिल्मी कलेजहरू वर्षेनी सयौँ विद्यार्थी उत्पादन गर्छन् । तर तीमध्ये कति पढेपछि फिल्म क्षेत्रमा टिक्न सफल भए भन्ने तथ्यांक हेर्दा यसको यथार्थ चित्रण हुन्छ । 

फिल्म भनेको एउटा दृश्यको भाषा हो । भिडियो अर्थात चित्रबाट नै आफ्नो दृष्टिकोण वा अभिव्यक्ति कसरी पोख्ने भन्ने कुरा बुझियो भने यो क्षेत्रमा ठुलो परिवर्तन हुन्थ्यो । यही क्षेत्रमा रमाएर बाँच्ने आधारहरु पनि बढ्दै जान्थे । फिल्म निर्देशन गरेर मात्र बाँच्न गाह्रो छ । एउटा राम्रो फिल्म बनाउन कम्तीमा दुई वर्ष खर्च गरेको मेरो अनुभव छ । छांयाकनमा जाउ–आउ, सम्पादन हुँदा जाउ/आउ गर्दैमा लिएको पारिश्रमीक ‘पठाओ’ चढ्दैमा ठिक्क हुन्छ । नयाँ फिल्ममेकर वा निर्देशकलाई बाँच्न झनै गाह्रो छ । झन् काठमाडौंमा भविष्य खोज्न आएकाहरुको त यो मंहगीमा कुरै नगरौं । 

एक वर्षमा पाँच–छ फिल्म बनाउनेहरूले पैसा कमाएका छन्, तर यस्तो फिल्म बनाएर प्रोड्यूसर डुबाउनु ठीक होइन । कामलाई मात्र प्राथमिकता दिनेहरूले आर्थिक कारणले विदेशिनु परेका उदाहारणहरु पनि प्रसस्त छन् । आर्थिक रुपमा गरिरहेको काममा बाँच्ने आधार भयो भने त नतिजा पनि राम्रो आउँछ होला । यहाँ अभिनय गर्ने कलाकारहरूलाई लाखौँ पारिश्रमिक दिएर अफर गरिन्छ । तर निर्देशकलाई सम्मानजनक पारिश्रमिक दिइँदैन । नेपालमा फिल्म बजार सानो छ, सबै ठाउँमा हल छैनन्, दर्शकको संख्या सीमित छ ।

नेपालमा युवाहरूको विदेश पलायन बढ्दै जाँदा यसले गम्भीर समस्या निम्त्याइरहेको छ । म पनि यही कारणले मात्र बाँच्न सक्ने आधार नदेखेकाले फिल्म अघि पत्रकारीता गरें । फिल्म अवार्डहरूमा पनि सहभागी हुँदै आएको छु । फिल्म लेखन र निर्देशनको अतिरिक्त म हाल गोरखापत्र संस्थानमा कार्यरत छु । गोरखापत्रमा प्रकाशन हुने मगर भाषाका समाचार तथा लेखहरूमा नियमित रूपमा काम गर्छु । नेपालमा बाँच्नका लागि फिक्सन फिल्ममा काम गरिरहेको छु, भने अन्तर्राष्ट्रिय रूपमा डकुमेन्ट्री फिल्म निर्माणमा संलग्न छु । केवल कला क्षेत्रमा रमाउने सोच भएकाहरूका लागि यो पेशा कठिन हुन सक्छ । यदि जीवनयापनका लागि वैकल्पिक उपाय खोज्न सकिन्छ भने मात्र रुचिको आधारमा यस क्षेत्रमा रमाउन सकिन्छ ।

सिनेमा आममानिसले सजिलै बुझ्ने विधा पनि हो । सिनेमाबाहेक कलाको अरू माध्मयले सायदै गहिरो अनुभूत गराउँछ । बोलेर वा लेखेर भन्न नसक्ने कुरा सिनेमाबाट सजिलै भन्न सकिन्छ । कथालाई एकदमै प्रभावकारी रूपमा सिनेमामार्फत भन्न सकिन्छ । त्यसैले पनि समाजका लागि सिनेमा आवश्यक छ । भारतीय निर्देशक सत्यजित रेको पुरानो सिनेमाहरू हेर्दा हिजोको समाज देख्न सक्छौँ । हिजोको विश्व कस्तो थियो ? समाज कस्तो थियो ? राजनीति कस्तो हुन्थ्यो ? भनेर कल्पना गर्छौँ । ती सबै उनको सिनेमामा देखिन्छ । त्यसकारण पनि समाजका लागि सिनेमा महत्वपूर्ण छ ।नेपालमा पनि अहिलेका युवा पुस्ताले समाजको प्रतिनिधित्व गर्ने फिल्महरू र परम्परागत रूपमा चलिआएका विषयहरू मन पराउने गरेका छन् । 

नेपालमा राज्यको तर्फबाट फिल्म क्षेत्रमा कुनै उल्लेखनीय लगानी गरिएको छैन । चलचित्र विकास बोर्डमा केही लगानी भए पनि, यसको भूमिका मुख्यतः फिल्म दर्ता गर्दा कर उठाउने मात्र देखिन्छ । जब फिल्म उद्योग समस्यामा कुनै सहयोग प्राप्त हुँदैन । ६० वर्षे इतिहास बोकेको हाम्रो फिल्म उद्योग अझै समृद्ध बनाउँन धेरै काम बाँकी छ ।  यसका पछाडि अनगिन्ती कारण हुन सक्छन् । तीमध्ये एउटा कारण हो, सर्वसुलभ र सुविधासम्पन्न फिल्म सिटी र स्टुडियोको अभाव छ । यसले नेपाली फिल्म बनाउनेहरूले कतिपय ठाउँमा कम्प्रोमाइज गरिरहेका छन् र कतै अनावश्यक खर्चको भार बेहोरिरहेका छन् । सीमित उत्पादन, दुर्गम र अव्यवस्थित ठाउँमा सुटिङ गर्नुपर्ने बाध्यता, व्यावसायिक स्टुडियोको अभाव आदिले नेपाली फिल्म उद्योगमा चुनौती थपेको छ । नेपालमा सुविधासम्पन्न र आजको साइबर युगमा आएका परिवर्तनसँग हातेमालो गर्दै जान सक्ने न कुनै फिल्म सिटी छ न त ठूला स्टुडियो नै । फिल्मका लागि चाहिने प्राविधिक उपकरणदेखि जनशक्ति सबैभन्दा बढी उत्पादन गरिरहेको राजधानी काठमाडौंमा पनि सुविधासम्पन्न एउटा स्टुडियो र फिल्म सिटी छैन । फिल्म सिटीमा लगानी गर्नु राष्ट्रको संस्कृति, अर्थतन्त्र र पहिचानमा लगानी गर्नु हो । 

चीनको हेङडियन वर्ल्ड स्टुडियोज बनाइएका ठूला ऐतिहासिक सेटले घरेलु उद्योगलाई मात्र नभई ऐतिहासिक चलचित्रमा रुचि राख्ने अन्तर्रास्ट्रिय निर्मातालाई पनि आकर्षित गरेको छ । भारतको हैदरावादमा रहेको रामोजी फिल्म सिटीले हजारौं मानिसलाई रोजगारी दिन्छ । यसले स्थानीय अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्‍याउँदै आएको छ ।अमेरिकाको लस एन्जल्सको युनिभर्सल स्टुडियोज विशेषगरी निर्माणमा प्रयोग हुने गरेको छ तर पर्यटनको केन्द्र बन्न पनि सफल छ । भ्रमण र मनोरन्जन दुवैतर्फबाट यसले आम्दानी गर्छ । हामीले उनीहरूको प्रयत्न र अभ्यासबाट प्रेरणा लिनुपर्छ । 

फिल्म सेन्सरसिपका नाममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याउन लागेको चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८० ले चलचित्रमा अंकुश लगाउने गरी २० बुँदासहितको मस्यौदा तयार पारेको छ । मानिसहरूले आफैंले देखेका र भोगेका कथाहरू उत्कृष्ट रूपमा प्रस्तुत गर्न सक्छन् । त्यसैले, कुनै समुदायको कथा त्यही समुदायका मानिसहरूले राम्रोसँग उतार्न सक्छन् । उनीहरूको भोगाइ, संस्कार, र सामाजिक परिवेशलाई यथार्थपरक रूपमा प्रस्तुत गर्न सकिन्छ । 

अनिल निर्देशक

Link copied successfully