विद्यार्थीलाई खोइ संस्कार र सीप ?

विज्ञान, व्यवस्थापन, शिक्षा, इन्जिनियरिङमा मास्टर्स हुन्छ भने सिलाइकटाइ, प्लम्बिङ, कपाल काट्नेलगायत घरेलु काम र सीपमा किन हुँदैन ?

फाल्गुन ७, २०८१

रबिना महर्जन

Students lose culture and skills?

मनमैजू माध्यमिक विद्यालय काठमाडौंको प्रधानाध्यापकमा ४ वर्षदेखि कार्यरत छु । विद्यालयमा पढ्ने ९ सय बालबालिकामध्ये ९० प्रतिशत काठमाडौंबाहिर विकट गाउँमा ज्याला मजदुरी गर्ने अभिभावकका सन्तान हुन् । उनीहरूलाई गरिखाने शिक्षा दिनु हाम्रो ध्येय हो ।

नेपालको शिक्षा प्रणालीले सीपयुक्त, व्यावहारिक, संस्कारमूलक माटो चिनाउने ज्ञान दिन सकेको छैन । हामीले केही प्रयास भने गर्दै आएका छौं । 

हाम्रो शिक्षा ज्ञानमा मात्रै केन्द्रित छ । पढाउने तरिका, परीक्षा र मूल्यांकन गर्ने तरिका पनि ज्ञानमा केन्द्रित छ । विद्यार्थीको रुचि, क्षमताअनुसार संस्कार, व्यवहार र सीपसहितको शिक्षा दिन सकेका छैनौं । विज्ञान, व्यवस्थापन, शिक्षा, इन्जिनियरिङ विषयमा मास्टर्स हुन्छ भने सिलाइकटाइ, प्लम्बिङ वा कपाल काट्नेलगायत घरेलु काम र सीपमा किन मास्टर्स प्रोग्राम चलाउन सकिँदैन ?

पाठ्क्रममा सैद्धान्तिक रूपमा भएका कुरालाई पनि सीपसँग जोडेर सिकाउन सकिन्छ । विद्यालयले पनि अतिरिक्त कक्षाको नीति बनाएर यस्ता सीप, व्यवहार र संस्कार सिकाउन सक्छन् । हाम्रो विद्यालय दैनिक १२ घण्टा खुल्छ । बिहान ६ देखि बेलुकी ६ बजेसम्म नियमित कक्षासाथै अतिरिक्त कक्षा हुन्छन् । बाल क्लब र बालिका सञ्जालबाट समस्या मात्रै प्रस्फुटन हुँदैन । नेतृत्व विकासको अभ्यास पनि गराइन्छ । विद्यालयमा हुने हरेक औपचारिक कार्यक्रमको नेतृत्व विद्यार्थीले गर्छन् । विद्यार्थीलाई सजाय होइन, काउन्सिलिङ गरिन्छ । त्यसका लागि काउन्सिलिङ कमिटी नै गठन गरिएको छ । दिवा खाजा कार्यक्रमको आमा समूहले अनुगमन गर्छन् । विद्यालयको मर्मतसम्भार, रंगरोगनमा पहिलो प्राथमिकता अभिभावकले पाउँछन् । अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न विभिन्न क्षेत्रमा छरिएका पूर्वविद्यार्थीलाई विद्यार्थीसँग जोडिएको छ । बजेटबिनै पनि यी ससाना काम गर्दै आएका छौं । स्थानीय सरकारले पनि सघाउँछ ।

सरकारले भवन निर्माण, भौतिक पूर्वाधार र शिक्षक तलबका लागि मात्रभन्दा पनि विद्यालयको आवश्यकताअनुसार बजेट विनियोजन गर्नुपर्छ । विद्यार्थी फेल भए भनेर बर्सेनि ठूलै हल्लाखल्ला हुन्छ तर राज्यले फेल भएका विद्यार्थीलाई पास गराउन उपचारात्मक कक्षा सञ्चालन गर्न सहयोग गरेको छैन । विद्यार्थीलाई सीप, व्यवहार, संस्कार सिकाउने अतिरिक्त क्रियाकलाप गर्न, खेलकुद, संगीत, कम्प्युटरलगायत विद्यार्थीको इच्छा चाहनाअनुसार पढ्न व्यवस्था मिलाउन चासो देखाएको देखिँदैन । यो देशभरका २८ हजार सामुदायिक विद्यालयको साझा समस्या पनि हो ।

विद्यार्थीको पढाइ सुधार गर्न पालिकापिच्छे शिक्षक बैंकको आवश्यकता देख्छु । महिला शिक्षक प्रसूति हुँदा बिदामा बस्छन् । किरिया बिदा हुन्छ । शिक्षक बिरामी परेर बिदामा बस्लान् । त्यो बेला कसले पढाउने ? पूर्वशिक्षक र पढ्दै गरेका विद्यार्थीको बैंक बनायो भने बालबालिका पढाइबाट वञ्चित हुनु पर्दैन । दलीय राजनीतिलाई विद्यालय परिसरबाट पर नै राख्यो भने पनि सामुदायिक विद्यालयमा सुधार सम्भव हुन्छ । विद्यार्थी, अभिभावक, शिक्षक, व्यवस्थापन समिति र सरकारबीच टिम वर्क हुन सके अब्बल सामुदायिक विद्यालय बनाउन सकिन्छ । विद्यालयहरूमा टिमभन्दा पनि आआफ्नो समूह छन् । राजनीतिक विचार ज्ञान र चेतना हुनुपर्छ ।

हाम्रा विद्यालयका ९५ प्रतिशत छात्रछात्राले पनि भविष्यमा विदेश जाने सुनाउँछन् । विदेश जाने लर्कोमा विद्यालय पनि जिम्मेवार छन् । पाठ्यक्रममा देश र स्थानीय सम्पदा, संस्कृति इतिहासका विषयवस्तुभन्दा पनि ज्यादा विदेशका कुरा समेटिएका छन् । विद्यालयमा अंग्रेजी माध्यमप्रतिको मोह पनि आवश्यकभन्दा बढी छ । नेपाल मात्रै यस्तो देश हो जहाँ राष्ट्रभाषा बोल्दा विद्यार्थीलाई विद्यालयमा जरिवाना गरिन्छ । विद्यार्थीलाई स्वदेशमै सम्भावना देखाउँदै त्यहीअनुसारको ज्ञान, सीप दिनेतर्फ ध्यान दिनुपर्छ ।

हाम्रो विद्यालयमा भूकम्पका बेला ५ सयको हाराहारीमा झरेको विद्यार्थी संख्या अहिले बढेर ९ सय पुगेको छ । गत सालको एसईईमा ९१ प्रतिशत विद्यार्थीले सफलता प्राप्त गरे । जबकि देशभरको औसत ४८ प्रतिशत मात्र थियो । तारकेश्वर नगरपालिकाभित्र कक्षा ८ र १० को नतिजाका आधारमा हाम्रो विद्यालय दोस्रो स्थानमा पुगेको छ ।

२०७६ मा शिक्षक सेवा आयोगबाट मावि शिक्षकमा स्थायी नियुक्ति पाएकी थिएँ । त्यसको ६ महिनामा सहायक प्रधानाध्यापक र २०७७ साउनदेखि प्रअको भूमिकामा छु । व्यवस्थापन पढेर शिक्षण पेसामा आइपुग्दासम्मको यात्रा संर्घषपूर्ण छ । एसएलसी पास नगर्दै ज्ञानोदय मावि सीतापाइलामा अध्यापन गराउन थालेकी थिएँ । त्यो रहरभन्दा पनि बाध्यता थियो । त्यसअघि टोलकै बालबालिकालाई जम्मा गरेर ट्युसन पढाउँथें ।

७१ प्रतिशत अंकसहित २०६४ मा एसएलसी पास गरेपछि सोही विद्यालयमा मासिक २७ सयमा निजी स्रोत शिक्षकको जागिर पाएँ । काठमाडौं महानगरको कोर नेवारबस्तीमा जन्मेहुर्के पनि गरिबी थियो । करातेको खेलाडी बन्ने, साइन्स पढ्ने रहरलाई आर्थिक विपन्नताले रोकिदियो । साइन्स पढ्न नसक्ने भएपछि धेरै अंक ल्याउनेले व्यवस्थापन पढ्ने भन्ने सुनेकी थिएँ । परिवारमा सल्लाह दिने साक्षर सदस्य थिएनन् । सहुलियतमा व्यवस्थापन पढ्न अवसर भेटेपछि त्यतै भर्ना भएँ ।

महेन्द्ररत्न ताहचल क्याम्पसमा भर्ना भएर एकवर्षे बीएड गरें । पहिलो पटक २०७४ मा निमावि गणित शिक्षकमा नाम निस्कियो । खुला,महिला र जनजाति ३ वटै समूहबाट आवेदन दिएकी थिएँ । खुलातर्फ छनोट हुने एक्ली महिला थिएँ । महिला र जनजातिमा पनि स्वतः नाम आयो । स्थायी शिक्षकको जागिरका लागि काठमाडौंको ज्ञानोदय छाडेर नुवाकोट जानुपर्ने भयो । तर परिवारले अनुमति दिएन । त्यतिबेलासम्म काठमाडौं बाहिरको नेपाल कस्तो छ मलाई थाहा थिएन । घरपरिवारमा सबैले छोरी भएर गाउँ डुलेर हिँड्न हुँदैन भन्थे । नेवारकी छोरी काठमाडौं छाडेर जान हुँदैन भन्नुहुन्थ्यो ।

ज्ञानोदय स्कुलका त्यति बेलाका प्रधानाध्यापक नातिकाजी महर्जनले नुवाकोटमा हाजिर भएर काम गरेको केही समयपछि सरुवा गरेर काठमाडौं फर्काउने आश्वासन दिए । त्यही आसमा पहिलो पटक उपत्यका छाडेर नुवाकोटको च्वाडी पब्लिक मावि माझीटार पुगें । स्कुलमा हाजिर भएको दिन कुन पार्टीको शिक्षक संगठनमा आबद्ध हुनुहुन्छ भनेर सहकर्मी शिक्षकहरूले सोधे । मैले गर्मीमा रूख पनि चाहिन्छ, जाडोमा सूर्य पनि चाहिन्छ, हँसिया र हतौडा पनि काम लाग्छ, गाई पनि दूध खान काम लाग्छ भनें । उहाँहरूले बढी बोल्नुहुँदो रहेछ भनेर जवाफ फर्काउनुभयो । राजनीतिक रूपमा शिक्षकहरू विभाजित भएको मलाई कत्ति पनि मन पर्दैन ।

– महर्जन काठमाडौंको मनमैंजू माविकी प्रधानाध्यापक हुन् ।

रबिना प्रधानाध्यापक, मनमैंजू मावि, काठमाडौं

Link copied successfully