अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्म

फेस्टिभलले फिल्मलाई राम्रो बुस्ट गर्ने रहेछ, फिल्म हेर्नेको संख्या बढ्दो रहेछ, ग्लोबल बजारमा कनेक्ट हुन पाइने रहेछ

फाल्गुन ७, २०८१

सौरभ घिमिरे

Nepali film in the international market

हरेक फिल्ममेकरको अन्तर्राष्ट्रिय फेस्टिभलमा आफ्नो फिल्म देखाउने सपना हुन्छ । मसँग केही विषय थिए, जुन भन्नैपर्छ जस्तो लाग्यो । फिल्म बनाएँ ‘सङ्स अफ लभ एन्ड हेट ।’ मैले मास्टर्स पढ्दा बनाएको फिल्म हो यो । मास्टर्स बेल्जियमको लुका स्कुल अफ आर्टसमा मैले फिल्म निर्देशन पढें ।

फिल्म कलेजको अन्तिम समयतिर, फाइनल प्रोजेक्ट बनाउनुपर्ने थियो । मसँग हाइकिङ र घुम्न जाँदाका केही पुराना फुटेज थिए । तिनै फुटेजहरू चलाएर सर्ट फिल्म बनाउनुपर्छ भन्ने सोच आयो । 

सुरुमा स्क्रिप्ट लेखेर, डाइलग लेख्दै थिएँ । पछि लेख्ने क्रममा छाडिदिएँ । मसँग पुरानो फुटेज छ, यही जोडेर बनाउँछु भन्दा साथीहरू चकित भए । शिक्षकहरू पनि । उहाँहरूले नगरचाहिँ भन्नुभएन । कसरी हुन्छ भनेर कन्भिन्स गर्न लगाउनुभयो । मैले बुझाएँ, तर उहाँहरू कन्भिन्स हुन सक्नुभएन । मेरो दिमागमा चाहिँ यो फिल्म बन्छ भन्ने थियो ।

सन् २०२३ को जनवरीतिर मैले फिल्मका लागि चाहिने मुख्य आइडिया भेटें । कथामा रेडियो शो छ । फिल्मलाई ५/६ महिना लगाएर एडिट गरियो । जुनमा सकियो । ग्य्राजुएसन भयो । फेस्टिभलहरूमा पनि अप्लाइ गरें । ६ महिनापछि बर्लिनबाट जवाफ आयो । बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा फिल्म ‘सङ्स अफ लभ एन्ड हेट’ ले स्पेसल मेन्सल अवार्ड जित्यो पनि ।

फेस्टिभलले फिल्मलाई राम्रो बुस्ट गर्ने रहेछ । फिल्म हेर्नेको संख्या बढ्दो रहेछ । बर्लिनमा हाम्रो ४ वटा स्क्रिनिङ थियो । सबै स्क्रिनिङको हल बुक भएको थियो । फिल्मलाई दिने माइलेज फेस्टिभलले एकदमै राम्रो गर्दोरहेछ । ग्लोबल बजारमा कनेक्ट हुन पाइने रहेछ । नेपालमा फिल्म स्कुल छन् । फिल्म स्कुलका साथीहरूले सर्ट फिल्म बनाइरहेका हुन्छन् । सर्ट फिल्म भनेको सामान्यतयाः फिचर फिल्मका लागि अभ्यास नै हो । भोलि सबैलाई फिचर फिल्म बनाउनु छ । फिचर फिल्म बनाउन आफूलाई केही हदसम्म प्रमाणित त गर्नैपर्छ । 

आफ्नो फिल्म मेकिङ बुझ्न सर्ट फिल्म उपयुक्त बाटो हो । सर्ट फिल्मको महत्त्व मैले देखेको त्यहीं हो । मल्टिपल सर्ट फिल्म बनाएर त्यो सिक्नुपर्छ भन्ने हो । नत्र त बजारको हिसाबमा भ्यालु कम छ । म आफ्नो कला बुझ्छु, त्यसलाई निखार्दै वा विकास गर्दै जान्छु भन्नलाई सर्ट फिल्म हो । 

सर्ट फिल्ममा फर्महरूसँग खेल्न पाइयो । न्यारेसनसँग खेल्न पाइयो । फरक टेक्निक प्रयोग गर्न पाइयो ।बाहिरी देशमा अडियो भिज्युअल डिपार्टमेन्ट भनेरै छुट्याएका हुन्छन् । बेल्जियम फिल्म स्कुल पढ्ने विद्यार्थीका लागि छुट्टै कोर्स थियो । त्यो फिल्म स्कुल पढ्ने विद्यार्थीलाई मात्र पैसा दिन । मैले पनि पाएँ । ती देशहरू फिल्मको विकासमा सचेत छन् । उनीहरू आफ्नो फिल्म क्षेत्र, अडियो भिज्युअल इन्डस्ट्री विकास गर्न लागिपरेका हुन्छन् ।

बेल्जियममा रोचकचाहिँ पासआउट भए पनि मैले ग्य्राजुएसन प्रोजेक्टलाई अप्लाइ गर्न पाउँथें । उनीहरूले ५० हजार युरो दिन्थे । त्यो अप्लाइ गरेको चार विधा फिक्सन, डकुमेन्ट्री, एनिमेसन, एक्सपेरिमेन्टललाई ५०–५० हजार युरो छुट्याइएको थियो । यो बेल्जियमभरका फिल्म स्कुलबाट पासआउट भएकाले अप्लाइ गर्न पाउँथे । 

फिल्म संरक्षणमै उनीहरूको आफ्नै अर्काइभ हुन्थ्यो । यसले फिल्म क्षेत्रको विकासमा योगदान पुर्‍याएको थियो । नेपालमा अहिले फिल्म स्क्रिनिङ, प्रोजेक्सन, हलका विषयलाई अझ सक्रिय बनाउन, अवार्ड कार्यक्रमले फिल्ममेकरलाई चिनाउने खालका कार्यक्रममा सरकारी निकायले सहभागिता जनाइरहेको देखिन्छ । 

नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारसँग कनेक्ट गर्ने, अन्तर्राष्ट्रिय मार्केटमा पुगेर आइसकेका फिल्ममेकरसँग मिलेर कार्यक्रम गर्ने, बजार खोज्ने जस्तो काम भएकै छैन । बजार त धेरै फराकिलो छ । 

पछिल्लो दशकयता एउटा ट्रेन्ड विकास भयो । सर्ट फिल्म बनाउने, बाहिर अप्लाइ गर्ने, बाहिरबाट फन्ड ल्याउने, फन्ड ल्याएर नेपालमा फिल्म बनाउने, त्यो फिल्म बाहिरै लगेर बेच्ने । सीमित मात्रमा रिजल्ट पनि नआएको होइन । तर, यसले व्यक्तिगत रूपमा फिल्ममेकरलाई मात्र सहयोग गर्‍यो । चेतना त प्रोड्युसरहरूमा पनि बढाउनुपर्‍यो नि । 

हामीले बाहिरबाट फन्ड ल्याएर जहिलेसम्म नेपालमा आएर फिल्म बनाउने सोच राख्ने हो भने त्यो प्रभावकारी छैन । यहीं लगानी जुटाउन सक्नुपर्छ । बाहिरबाट त केही फिल्ममेकरले मात्र पाउँछन् । एक–दुई जना फिल्ममेकरले गर्न सक्नुहोला । तर, त्यो स्पेसचाहिँ यहाँ बनेन । जबसम्म हामीले यहीं कन्भिन्स गरेर गर्न सक्दैनौं । फिल्म क्षेत्रको विकासमा अड्चन आइरहन्छ । 

सौरभ घिमिरे फिल्ममेकर

Link copied successfully