नेपाली गीतमा सुगन्धको खोजी

संगीत त सबैलाई बाँध्ने कुरा हो, आत्मालाई जोड्ने कुरा हो, यसमा जति लगानी गर्न सक्यो, उति गुणस्तरीय सिर्जना बनेर आउँछ 

फाल्गुन ७, २०८१

सुजन चापागाईं

Searching for fragrance in Nepali songs

अहिले गीतको बजारीकरण भएको छ । धेरैजसो गीतमा संगीतबाहेक सबैथोक छन् । गम्भीर भएर गरिएका कामहरू निकै कम छन् । सयौं गीत निस्किरहेका छन् तर कलात्मक र गुणात्मक सिर्जना कम छन् । विश्वमा राम्रा गीतहरू हामीजस्तै मान्छेले बनाएका हुन् । स–साना ठाउँको सन्देश नै उठेर ठूलो हुने हो । विभिन्न आयामबाट काम गर्न सकिन्छ ।

देशमा गीतमा लगानी गर्ने वातावरण बनिरहेको देखिन्न । संगीत त सबैलाई बाँध्ने कुरा हो । आत्मालाई जोड्ने कुरा हो । यसमा जति लगानी गर्न सक्यो, उति गुणस्तरीय सिर्जना बनेर आउँछ । 

चलिरहेको ट्रेन्डभन्दा फरक तरिकाले काम गर्नेहरूलाई चुनौती छ र आनन्द पनि । चलिरहेको धारबाट आफू छुट्टिएर फरक हुनुमा ठूलो चुनौती हुन्छ । सबै प्रक्रियामा गहिरो काम गरेर पस्किँदा दर्शकले कुन रूपमा लिन्छन् भन्नेमा चिन्ता हुन्छ । बजारमा चलिरहेको खालको आउँदा श्रोता–दर्शकले छिट्टै निर्णय गर्छन् । तर नयाँ धारमा मौलिक कुरालाई अहिलेका नवआधुनिक जमातका लागि आधुनिक प्रविधिमा फ्युजन गरेर तयार गर्दा श्रोताहरूलाई तान्छ कि तान्दैन भन्ने डर हुन्छ । दर्शकले मन पराइसकेपछिको आनन्द भने छुट्टै हुन्छ । किनकि आफू भीडबाट फरक रहेको अनुभूति हुन्छ । त्यही भीडमा हुनु र मान्छेले फरक र राम्रो भनिदिँदा आफू सही बाटोमा छु भन्ने ऊर्जा मिल्छ ।

संगीतमा पहिला विविधता देखिन्थ्यो । बीचमा ग्याप भयो । देशमा भएको राजनीतिक उतारचढावले पनि संगीत क्षेत्रमा प्रभाव पार्‍यो । द्वन्द्वका बेला पारिवारिक बेमेल भयो । अघिल्लो पुस्ताले पछिल्लो पिँढीलाई आफ्नो कला सिकाउन पाएनन् । त्यसले पछिसम्म असर पारिरह्यो । त्यतिबेलाका पुस्ताले यसमा करिअर देखेनन् । 

कसरी बाँच्ने भन्ने माहोलमा संगीतको विकास हुन सकेन । बरु, निरन्तर ओरालो यात्रामा लाग्यो । अहिले हामीले पुराना पुस्ताबारे खोज्दा पनि हामीलाई निकै समय लाग्छ । हिजोका दिनमा विभिन्न भूगोलका स्वाद आउँथे गीतमा । ज–जसले जति बाँड्नुभयो, हामीले त्यहीबाट खोजिरहेका छौं । म पनि विभिन्न भूगोलमा गएर खोजिरहेको हुन्छु । नयाँ–नयाँ सुगन्ध मैले पनि लिएर आइरहेको हुन्छु । सबै कलाकारले घुमीफिरी विश्व 

जगत्मा के लैजाने भनेर सोच्दा नेपाली संगीत नै त लैजानुपर्‍यो । नेपाली मौलिकता, भाका, नेपाली माटोको बास्ना लिएर गयो भने विश्व बजारले राम्रोसँग ग्रहण गर्छ । यो हाम्रो पहिचानसँग जोडिएको विषय पनि हो । संगीतमा पनि आ–आफ्नो विधा हुन्छ । हामीले जुनसुकै विधाका संगीतमा फ्युजन गर्न सक्छौं । 

उस्तै अभिप्रायले कम्तीमा १५/२० जना लाग्नुभयो भने अवश्य सम्भव हुन्छ । अबको १० वर्षपछि हेर्दा नेपाली लोकभाका कहाँ छ भनेर हेर्दा निकै सुन्दर देखिन्छ । 

छोटो समयका लागि सोच्नु हुँदैन । गीत चल्दैमा राम्रो हुन्छ भन्ने हैन । तत्काल भाइरल भएका गीतले क्षणिक खुसी देलान् । तर कालान्तरमा त्यो हानिकारक पनि हुन सक्छ । अहिले हामीलाई गाह्रो यहीँनिर छ । जसरी हुन्छ मान्छेले नोटिस गरुन् भन्ने सोच छ । त्यो लहलहैमा आएका गीतहरूले विकृति फैलाइरहेका छन् । 

पहिला–पहिला तीजका गीतमा चेलीबेटीसँग बसेर उत्सव मनाइन्थ्यो । तर अहिले तीजमा आउने गीतहरू विकृतजन्य छन् । संगीत त चलिरहला । रेकर्डिङ स्टुडियो खाली नहोलान् । तर गुणस्तर के हुन्छ ? यसबारे पनि कसैले सोच्नुपर्छ ।

धेरै पहिला सांगीतिक रूपमा हामी भारतभन्दा माथि थियौं भनिन्छ । यदि त्यो हो भने हामीकहाँ निरन्तरता नभएर अहिले भारतसँग तुलना गर्न नसकिने अवस्था छ । क्षेत्र चलिरहेको छ । तर, नेतृत्व गरेर लैजाने सिर्जना नै आएका छैनन् । कलाका लागि समय छैन । कसरी हुन्छ कमर्सियल कुरा मात्र प्रोमोट हुन्छ । एउटा गीत चल्यो भने १०/१५ वटा गीत त्यस्तै आइरहेका हुन्छन् ।

अहिले महिनामै दर्जनौं गीत रेकर्ड गर्नेहरू पनि छन् । हामी जो निकै समय लगाएर तयार पार्नेहरू पनि छौं । बजारको अहिलेको लहरले कलालाई समय दिऊँ भन्नेलाई गाह्रो छ । बजारमा गीत आइरहेका छन् र महोत्सव चलिरहेका छन् । कमर्सियल एक्टिभिटी बढी भइरहेको छ । हामी संख्यात्मक हिसाबमा थोरै गर्नेहरूलाई कठिनाइ छ । पैसाको धेरै स्रोत पनि छैन । आफ्नै साथी सर्कलले पनि भन्छन्, ‘दुनियाँले यति गीत निकालिसक्यो । तँ कता हराइस् ?’ अरू धेरै सक्रिय हुँदा आफू हराएको अनुभूत पनि हुन्छ । आफूलाई यी कुराले डर पनि हुन्छ । म बाठो भएर पो बिग्रिएँ कि भनेर सोच्न बाध्य पनि बनाउँछ । फ्यानहरूलाई पनि त्यस्तो लाग्न सक्छ । एउटा गायकले लगातार दिइरहेको छ, एउटा गायक आउँदैन । भन्छन् पनि, ‘कता हराउनुभयो ? नयाँ गीत ल्याउनुपर्‍यो ।’ तर सदैव कलाले तानिरहने भएपछि एक वर्ष लगाएर बनाएको गीतमा ठूलो आनन्द हुन्छ । हामी त्यो प्रोसेसमा रमाइरहेका हुन्छौं । 

हामी सुरुबाट नै ‘म्युजिकल फिल्म’ को बाटो हिँड्यौं । संगीतले गीतमात्र हैन, कथा पनि बोक्छ । कथाले संगीत पनि बोक्छ भन्ने बाटोमा हिँड्यौं । सुरुमा त्यो ट्रेन्ड नै थिएन । पछि सबैले ‘म्युजिकल फिल्म’ को नाम दिन थाले । संगीत क्षेत्रमा सबै कुरामा मैले मात्र गरेर पनि हुँदैन । मिहिनेत गर्ने जति धेरै आए, उति फाइदा हुन्छ । धेरै कलाकारले नेपालको नाम ठाउँ–ठाउँमा चुलाएपछि पो नेपाल पनि चिनिँदै जान्छ । एउटाले मात्र सक्दैन । कलामा कसरी रस भर्ने भन्ने कुरामा साधनामार्फत सबैले गर्नुपर्छ । 

संगीतले आफूलाई बुझाउँछ । ‘म को हुँ ? मैले गाएका वा संगीत भरेका गीत म बोल्दा कसरी प्रस्तुत हुन्छ ?’ त्यसरी सोचियो भने कला जीवनमा त्यसरी नै प्रवेश गर्छ । बिहानदेखि बेलुकासम्म आफू कलासाधनामै भइन्छ । त्यसरी सोचिरहँदा आफ्नो बौद्धिकतालाई पनि कलात्मक बनाउन सकिन्छ ।

आफ्नो खुसीले बिनाबन्देज सोच्दा कहाँसम्म गइन्छ स्वतन्त्र छाडिदिने हो । जति फराकिलो हुँदै गयो त्यति नयाँ कुरा निस्कन्छन् । नयाँपन आउँछ । साँघुरिनुभन्दा सबैलाई फैलनलाई राम्रो लाग्छ । आफ्नो व्यक्तिगत विचारधारादेखि सबै कुरामा परिवर्तन ल्याउनुपर्छ कलाको बाटोमा हिँड्न । 

संगीत साधनामा जीवनशैलीकै साधना गर्न सकिन्छ । संगीत रच्दै गर्दा सोच्नुपर्छ, ‘आगामी पुस्तालाई मेरो दायित्व के हो ? उनीहरूलाई संगीतमा के–के सिकाउन सक्छु ?’ यो कुरा पनि अहिले नै मनन गरेर गम्भीर भएर लागियो भने राम्रो हुन्छ । म्युजिक स्कुलिङ बढ्दै गयो भने संगीत क्षेत्रमा राम्रो हुन्छ । संगीत साधकहरूलाई राज्यका तर्फबाट अत्यास बढाइरहेको छ ।

कलाले विश्वभरका मान्छेलाई जोडेको हुन्छ । संगीतले राज्यलाई धेरै तवरबाट फाइदा गर्छ । संगीतले विश्व यात्रामा जाँदा चिनारी लिएर जान्छ । संगीतमा राज्यले थुप्रै लगानी गर्नुपर्ने देखिन्छ । संगीत पाठशाला, कार्यशाला, रोयल्टीजस्ता कुराहरूमा राज्य सचेत हुनुपर्ने हो । विभिन्न संस्थान त छन् । सबैलाई समेटेर राज्यले लैजान सकेको छैन । धेरै सम्भावना भएको वस्तुमध्ये सबैभन्दा दिव्य संगीत हो । सबैसँग सल्लाह गरेर, कम्युनिटी बनाएर राज्यले आफ्नो उपस्थिति देखाउन सक्छ । 

सुजन चापागाईं गायक तथा संगीतकार

Link copied successfully