छिमेकको बलिउड हेरेर हुर्केका हामी, अलिकति फाइट, इमोसनल मिक्स, इन्टरटेन्टमेन्टका लागि जे–जे तत्व चाहिन्छ, त्यो मिसाएर बनेका फिल्म मात्रै कमर्सियल हो भनेर सोच्छौं, मलाई भने फिल्म सरल भएर सबैले बुझ्ने भइदिए हुन्छ भन्ने लाग्छ
म नाटकमै रमाइरहेको थिएँ । तर, नाटकमा पैसा थिएन । यो सबैलाई थाहा भएकै कुरा हो । रेडियो नाटक गर्दा अलिअलि पैसा आउँथ्यो । विजय दाइहरूलाई ‘कबड्डी’ मा देखेपछि नाटक हेर्न आउँदा पनि उहाँहरूलाई हेर्न दर्शकको जमात झुम्मिन्थ्यो ।
दया दाइ, विजय दाइ र बुद्धि दाइलाई पर्दामा देखिरहँदा र रंगमञ्चमा आउँदा अलिक धेरै मान्छेले चिनेको देखेर फिल्म गर्नुपर्छ भन्ने मनमा भइरहेको थियो ।
आफूलाई धेरै मान्छेले चिनोस् भन्ने लालसा सबैमा हुन्छ । त्यो लालसा ममा पनि पलाउँदै गयो । त्यसपछि मलाई पनि पर्दामा देखिन पाए धेरैले चिन्ने थिए भन्ने लाग्न थाल्यो । त्योभन्दा अगाडि म नाटक नै गर्छॅ, बाहिरबाट थिएटर पढेर आउँछु र थिएटर आटिस्ट हुन्छु भन्ने योजना थियो ।
अभावले बाटो देखाउँछ भनेजस्तै सन् २०१४ तिर त्यस्तै भयो । ‘पुन्टे परेड’ को अफर आयो । दुई हप्ताको सुटिङ । हिरोको साथीको रोल । र, पैसा पनि आउने भयो । त्यो पैसा मेरो जीवनको पहिलो ठूलो कमाइ थियो । दया दाइसँग सल्लाह लिएँ । उहाँले नयाँ अनुभव हुन्छ काम गर भनेर सल्लाह दिनुभयो । त्यसपछि सो फिल्म गरें । त्यही टिमले काम देखेर सुटिङकै क्रममा ‘जंगे’ भन्ने अर्को फिल्मका लागि पनि सम्झौता गर्नुभयो । त्योभन्दा अगाडि ‘होस्टेल रिटर्नस्’ पनि गरें । त्यो फिल्म सुटिङ र रिलिजको हिसाबले ‘जंगे’ भन्दा अगाडि आयो । होस्टेल रिटर्नस्ले फिल्म करियरमा एउटा बाटो बनाइदियो ।
फुर्सदको समयमा अन्तर्वार्ता हेर्थें । एक/दुई जना वरिष्ठ हलिउड र बलिउड कलाकारहरूको कुरा सुन्थें । थिएटरबाट आउनु भएका, सैद्धान्तिक आयामबाट कुरा राख्ने कलाकारका कुरा सुन्दा पात्रको छनोट कसरी गर्नुपर्छ भन्ने छनक मिल्यो । पर्दामा सबैले चिने पनि बाटोमा हिँड्दा कसैले नचिन्ने पात्र हुने गरी अभिनय गर्नुपर्छ भन्ने लाग्यो ।
मेरो फिल्म यात्रा छुट्टै खाले छ । म तराईको ‘डार्क स्किन’ भएको केटो हो । त्यसैले कहिलेकाहीं फिल्ममा पाइसकेको रोलबाट हटाइएको छु । त्यस्तो बेला जे भए पनि थिएटर छँदै छ भनेर आत्मविश्वास पलाउँथ्यो । फिल्म भनेको अभियनको अभ्यास हो, ग्ल्यामरभन्दा यो नै ठीक छ भनेर चित्त बुझाउँथे । त्यही भएर थुप्र्रै फिल्महरू गरिनँ पनि ।
त्यसपछि मैले ‘गाँठो’ गरें । ‘वीर विक्रम’ मा मनबहादुर विश्वकर्माको भूमिका निभाएँ । त्यसपछि मलाई यसरी पनि प्रस्तुत गर्न मिल्ने रहेछ भन्ने भयो । समयसँगै मेरो सोच र पात्रको छनोट परिस्कृत हुँदै गए । शारीरिक र मानसिक परिवर्तन पनि आयो । अभिनेतामा दरिँदै गर्दा शारीरिक सुगठनलाई पनि ध्यान दिन थालें । ज्यान बनाएँ । त्यसपछि फिल्म निर्माताहरूले व्यावसायिक रूपबाट पनि हेर्न थाल्नुभयो । केही निर्देशकहरूले एकदमै राम्रो प्रतिक्रिया दिनुभयो ।
त्यसपछि ‘राजारानी’ र ‘कागज पत्र’ गरें । त्यसपछि‘वीर विक्रम २’ आयो । हुँदाहुँदा ‘अगस्त्य’ आयो । अहिले ‘केटी हराएको सूचना’ आएको छ ।
यो क्षेत्रमा आबद्ध भएको १० वर्ष भयो । हामी चियापसलमा बसेर कन्टेन्टलाई बेस मानेर लाग्नुपर्ने र व्यापारमा धेरै सोच्न नहुने कुरा गर्छौं । तर अभ्यास गर्न भने डराउँछौं । अरूले फिल्म हेरिदिँदैन कि भनेर डराउँछौं । पैसा आओस् र कमाओस् भन्ने हामी सबैलाई हुन्छ । जुन हिसाबमा साथीहरूबीच छलफल हुन्छ त्यही रूपमा ठूलो ब्यानरमा, अब्बल कलाकारहरू राखेर उत्कृष्ट निर्देशकले फिल्म बनाउने अभ्यास गर्न भने सकेका छैनौं । त्यो गर्न सके राम्रो हुन्छ । हामी सबै हुर्किंदै छौं । फिल्म पनि एकै प्रकारको नहुने अभ्यासलाई अंगाल्न सके कलाकारको चरित्र निर्माणमा थप सहयोग पुग्छ । हामी अभिनयको आयामबाट अगाडि बढ्न जोखिम मोल्न तयार हुनुपर्छ । अझै व्यावसायिक भएर तोकिएको समयमा काम हुने हो भने राम्रो हुन्थ्यो ।
‘गुलाबी’ अहिले रिलिज भएको छैन । तर अहिले जुन हिसाबमा ‘गुन्यो चुलो’मा मैले अभ्यास गरें । त्यस्तै रोल धेरै आइदिए राम्रो गर्न सकिन्छ भन्ने लाग्छ । निर्देशकले एकै खालको पात्रलाई हटाउने र स्क्रिप्ट राइटरले तपाईंलाई सुहाउँदो रोलभन्दा पनि तपाईंलाई चुनौती दिने रोल दिए अझै मजा हुन्थ्यो ।
फिल्म क्षेत्रमा राम्रो लेखक र लेखनको ठूलो खडेरी छ । जति धेरै लेखक भए त्यति धेरै सोच हुन्छ । त्यसमा विविधता थपिन्छ । अनि अभिनय गर्ने कलाकारलाई फिल्म छान्न पनि ऊर्जा प्राप्त हुन्छ । फरक समाज र भोगाइबाट आएका लेखकले अवसर पाए ‘स्टेरियो टाइप’को समस्या हट्न सक्छ । लेखन जति उत्कृष्ट हुन्छ कलाकारले त्यति नै खुलेर काम गर्न पाउँछ । तर यो परिवर्तनलाई आत्मसात् गर्न जोखिम मोल्न सक्ने क्षमता भने हुनुपर्छ ।
फिल्म भनेको कला हो । तपाईं डाँडामा गएर प्रेमकथालाई रंगीन तरिकाले खिच्नुहुन्छ । त्यो रिलमा उतारेर ल्याएर सेतो पर्दामा देखाउँदा अझ सुन्दर देखिन्छ, जुन कमर्सियल पेन्टिङ जस्तै लाग्छ । कहिलेकाहीं गीत र फिल्मकै सिनहरू एकदमै सुन्दर लाग्छ । फिल्ममा सामान्य कुरा भन्नका लागि पनि ‘मेटाफोर’ प्रयोग गर्दा त्यो कलात्मक देखिन्छ । छिमेकको बलिउड हेरेर हुर्केका हामी, अलिकति फाइट, इमोसनल मिक्स, इन्टरटेन्टमेन्टका लागि जे जे तत्त्व चाहिन्छ त्यो मिसाएर बनेका फिल्म मात्रै कमर्सियल हो भनेर सोच्छौं । मलाई भने फिल्म सरल भएर सबैले बुझ्ने भाइदिए हुन्छ भन्ने लाग्छ ।
कमर्सियल फिल्म दर्शककै लागि बनाउने हो । त्यसैले त्यो जुनसुकै तप्काका दर्शकले पनि सजिलै बुझ्ने खालको हुनुपर्छ । केही फिल्म निर्देशकहरूले आफ्नो कलात्मक सोचलाई देखाउन बनाएका हुन्छन् । त्यो छुट्टै विषय र विधा हो ।
कुन फिल्म कलात्मक हो र कुन व्यावसायिक हो भन्ने लडाइँ नै ठीक होइन । किनभने फिल्म भनेको सबै कला नै हो । बिम्बमा मात्रै खेलेर फिल्म बनाउँदा मात्रै कलात्मक हुने होइन । हाम्रो समाजलाई बुझाउन धेरै सहज छ । त्यो समूहलाई ध्यानमा राखेर फिल्म बनायो भने त्यसै सफल हुन्छ ।
नाटकको कुरा गर्दा अहिले त्यता अपनत्व कम हुँदै गएको पाएको छु । म आफैं पनि निकै वर्ष हराएँ । म आफैं पनि रंगमञ्चबाट टाढा भएकाले पनि त्यो महसुस गरेको हुन सक्छु । तर हामी रंगमञ्चमा हुँदा जुन ऊर्जा मिल्थ्यो त्यो हराएको छ ।
वरपर भएका नाटक हेर्दा सिनेमेटिक बनिरहेको हो कि जस्तो लाग्छ । नाटक फिल्मभन्दा फरक हुनुपर्छ । किनभने त्यसको अस्तित्व नै बेग्लै हो । नाटकमा एउटा लाइनले जिन्दगी बताउन सक्नुपर्छ । मेरा लागि फिल्म उपन्यास हो भने रंगमञ्च कविता ।
नाटकमा सेट नै नहुँदा पनि प्रत्यक्ष अभिनयद्वारा मानिसलाई हो नै जस्तो बनाइदिन सक्नुपर्छ । नाटकमा धेरै प्राविधिक पाटा हुन्छन् । नाटकमा कहिल्यै पनि ‘एस्थेटिक भ्यालु’ मर्नु हुँदैन । फिल्ममा ठूलो बिल्डिङ देखाउन सकिन्छ । तर नाटकमा बजेट अभाव हुन्छ । त्यो म्याजिकल लाग्छ । त्यही भएर नाटकमा कोरस सुनमा सुगन्ध हो । कोरस कहिले पहाडै बन्न सक्छ, कहिले खोलै बनिदिन सक्छ । फिजिकली जुन डायनामिक ल्याउन सकिन्छ नि नाटकमा त्यो जीवन्त हुनुपर्छ । त्यो अहिले विस्तारै कम हुँदै गएको छ ।
मलाई नाटक यथार्थभन्दा अझ बढी काल्पनिक भइदियोस्, हेर्ने दर्शक कल्पनाको सागरमा गोता लगाइरहुन् भन्ने लाग्छ । बोल्दा बोल्दै मान्छे एकैचोटि अर्कै भइदियोस् र त्यो क्षण सबैका लागि ‘वाउ मोमेन्ट’ होस् । नाटकबाट ‘वाउ’ फ्याक्टर गुम्नु हुँदैन । अहिले जसरी हामी पर्दामा देखिएका छौं वा सामाजिक सञ्जालमा प्रदर्शित भएका छौं, त्यो देख्दा निकै सरल देखिन्छ । मण्डला गएर तीन महिनाको क्लास लिएर यहाँ पुगिन्छ भन्ने सोच पनि होला । मेरै कुरा गर्दा मैले १७ वर्षको उमेरदेखि संघर्ष गर्न थालेको हुँ । त्यो बिर्सिनु हुन्न । कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न भोक चाहिन्छ । र, त्यो भोकलाई मेट्न चेत चाहिन्छ । रफ्तार र हुटहुटी पनि चाहिन्छ ।
जब सपनाको प्राप्ति हुन्छ तब वास्तविक खेल सुरु हुन्छ । जसका लागि धैर्य चाहिन्छ । प्राप्त गरेको अवसरलाई उत्कृष्ट बनाउन लगन चाहिन्छ । त्यो साइकलको पाङ्ग्रा जस्तैको दोहोरिरहन्छ । एउटा मुकाम हासिल गरेपछि रोकियो भने कलाकारले आफ्नो आयाम नै हराउँछ । उत्कृष्ट हुनु निरन्तर लागि रहनुपर्छ । एउटा ठाउँमा पुगिसकेपछि टिकिरहन गाह्रो हुन्छ । न पुग्न सजिलो छ, नपुगेपछि टिक्न नै ।
नाटक भनेको सिकाइ हो । विजय दाइ र मैले धेरै समय लिड कोरस भएर वर्षौं काम गर्यौं । त्यो समयमा कोरस भएर काम गर्दा त्यो सबै लिड एक्टरको डायलग याद हुन्थ्यो । सबैको टाइमिङ थाहा हुन्थ्यो । हामी कस्ट्युम हेर्थेम् । सेट बनाउन रेडी गर्थ्यौं । काठको काम गरेर सेट तयार पार्थ्यौं । त्यो सिकाइ अहिले गुमेको देख्छु । धैर्य एकदमै कम देख्छु ।
म यसरी कलामा लागें कि मेरो भोक पनि यही, भोजन पनि यही भयो । मेरो कर्म र धर्म यही भएको छ । म कलामा बाँचिरहन चाहन्छु । म यसमै निहित छु । यो उद्योग सानो छ तर अभ्यास गर्ने ठाउँ एकदमै धेरै छ । पहिला अवस्था गाह्रो थियो । अहिले सिनेमा र थिएटरमा मन लगाएर चाहेको काम गरिरहन पाइन्छ । त्यो गरिरहँदा मज्जाले घर चल्ने पारिश्रमिक आउँछ । त्यही हिसाबले हाम्रो जीवन चल्नुपर्यो । चरित्रलाई चलायमान राख्न आफू बाँच्नुपर्यो । त्यो बचाइदिने सम्भावनाले नै लोभाइरहेको हुन्छ ।
