पुस्ता मात्र होइन, विचार परिवर्तनको खाँचो

लाइट, साउन्ड टेक्निसियन, प्रोडक्सन डिजाइनलगायत धेरै प्राविधिक कुरा आउँछ, यी सबैमा काम गर्ने र ज्ञान भएको मान्छे कम छन्, प्राविधिक रूपमा आफूलाई योग्य बनाउने र अनुभव बटुल्ने हो भने कामको कमी हुँदैन

फाल्गुन ७, २०८१

शान्ता नेपाली

Not only the generation, but the need for a change of opinion

हाम्रो फिल्म उद्योग दिगो छैन । यसमै पूरा समय काम गरेर बाँच्नलाई गाह्रो छ । किनभने हाम्रो बजार सानो छ । हामीले व्यावसायिक काम गर्‍यौं भने त्यसलाई बेच्ने ठाउँ हल मात्र हो । अरू ठाउँ छैन । हलमा चलाउन पनि निकै प्रतिस्पर्धा हुन्छ । त्यसका लागि फिचर फिल्ममा नै काम गर्नुपर्छ कि मुख्य भूमिकामा काम गर्नुपर्‍यो ।

त्यो हिसाबमा चल्न सके मात्र यस क्षेत्रमा टिक्न सकिन्छ । डकुमेन्ट्री वा फरक धारको काम गर्दा धेरैजसो आर्थिक स्रोत बाहिरबाटै प्राप्त हुन्छ ।

बाहिरको सहयोग लिएर काम गर्न सके बाँच्न सकिन्छ । त्यसका लागि आज मैले काम गरें भोलि बाँच्छु भन्ने हुँदैन । लामो समयसम्म आफूले आफूलाई स्थापित गर्नुपर्छ । समय दिनुपर्छ । तर अहिले नै डकुमेन्ट्री बनाएर म जीवन चलाउँछु भन्न गाह्रो छ । डकुमेन्ट्री बनाउन कसले दिने पैसा ? अब आफ्नै पैसा खर्च गरेर बनाइयो भने त्यसलाई बिक्री गर्न कहाँ लाने ? बजार नै छैन । बनायो, आफूले हेर्‍यो, २/४ वटा फेस्टिभलमा लग्यो, त्यतिमै सीमित हुन्छ । आम्दानी नै छैन । यसरी काम गरेर सकिँदैन । 

अब क्रु भएर मात्रै काम गर्ने हो भने थुप्रै फिल्महरू बनिरहेका छन् । यसरी काम गर्दा पनि हुन्छ । तर कति फिल्ममा काम गर्नेले पैसा नै पाउँदैनन् । पाउनेले पनि समयमा पारिश्रमिक पाउँदैनन् । त्यसले कामको वातावरण विकास गर्दैन । सिर्जनालाई पनि मार्छ । 

निराशाका बीच पनि आशा गर्न सक्ने स्थान छन् । राम्रो पाटो हेरेर निरन्तर लागियो भने स्थापित हुन सकिने धेरै अवसरहरू प्राप्त हुन सक्छन् । अहिले धेरै प्राविधिक काम हुन्छ । यसमा काम गर्ने मान्छे कम छन् । सीमित मान्छे भएकाले एकै मान्छे धेरै ठाउँमा व्यस्त हुन्छ । त्यसले गर्दा फिल्म बनाउनेले कुर्नुपर्ने अवस्था पनि छ । 

लाइट, साउन्ड टेक्निसियन, प्रोडक्सन डिजाइनलगायत धेरै प्राविधिक कुरा आउँछ । यी सबैमा काम गर्ने र ज्ञान भएको मान्छे कम छन् । प्राविधिक रूपमा आफूलाई योग्य बनाउने र अनुभव बटुल्ने हो भने कामको कमी हुँदैन । अहिले फिल्म धेरै बनिरहेका छन् । हप्ताको दुई वटा जस्तो प्रोडक्सनमा गइरहेका छन् । 

हेड अफ द डिपार्टमेन्ट र डिजिटल मेकिङ गर्न सक्ने क्षमता भएको मान्छे बाहिरबाटै ल्याउनुपर्ने अवस्था छ । सामान्य रूपमा ग्राउन्डमा काम गर्ने मान्छे मात्र यहाँबाट लिइन्छ । काम गरिरहेको भए पनि राम्रोसँग बजेटिङ गर्ने, कम्प्युटरका काम गर्ने, अन्तर्राष्ट्रियस्तरको काम गर्नलाई र सिक्नलाई पर्याप्त अवसर छैनन् । यसमा सुरुमा आफ्ना लागि आफैं पैसा खर्च गर्नुपर्छ । चलचित्र विकास बोर्डले क्षमता र सीप विकासका लागि वर्कसपहरू दिन सुरु गरे अझ सहज हुन्छ । 

संसारमा हरेक दिन प्रविधिको विकास भइरहेको छ । हामीलाई त्यही भएर पनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न गाह्रो छ । कम्तीमा सिकेर आफूलाई क्षमतावान बनाएर राखियो भने अवसर पाउन सकिन्छ । 

मेरो घर धरान हो । पढाइसकेपछि के गर्ने भन्ने चिन्ता थियो । धरानकै पत्रिका ‘ब्लास्ट खबर’ मा काम गरें । मैले एसएलसी सकेपछि ११ मा पढ्दापढ्दै सिक्दै काम गरेकी हुँ । त्यहाँबाट मैले पत्रकारिता सुरु गरें । म सामान्य परिवारबाट थिएँ । परिवारमा पढेर काम गर्नुपर्छ भन्ने कुरा पहिल्यैदेखि सिकाइएको थियो । त्यही विचारलाई आत्मसात् गरेर हिँड्दै गर्दा आफूले भोगेको अनुभव, हाम्रो समाजको कुरा, त्यो विरुद्धमा कसरी लड्ने, कसरी बोल्ने भन्ने थियो । जब समाचारमा नाम आउन थाल्यो, मान्छेले चिन्न थाले । त्यसपछि मलाई आफ्ना कथाहरू यताबाट भन्न सक्छु भन्ने महसुस हुन थाल्यो । 

धरानबाट काठमाडौं आएर एउटा रेडियोमा प्रशिक्षार्थीका रूपमा काम गरें । त्यहाँ दुई वर्ष काम गरें । त्यसपछि मलाई आफूले सोचेको क्षेत्र यो होइन रहेछ भन्ने भान भयो । मैले गरेको कामले प्रभाव देखिएन । त्यसपछि के गर्ने भन्ने अन्योल थियो । त्यसपछि टेलिभिजनमा काम सुरु गरें । फिल्म प्रोडक्सनको काम सिकें । त्यहाँबाट मैले बिस्तारै ट्राभल सो बनाउने, आफैं जाने, हरेक ठाउँमा पुग्ने गरें । त्यतिखेर कसरी कार्यक्रम बनाइन्छ, योजना बन्छ, स्क्रिप्ट लेखिन्छ, खिचेर आइसकेपछि पोस्ट प्रोडक्सनमा कसरी काम हुन्छ भन्ने शून्यबाट सिक्न सुरु गरें ।

मैले ‘लर्निङ बाई डुइङ’ बाट काम सिकेको हो । पोस्ट प्रोडक्सनमा काम गर्न थालेपछि बिस्तारै टेलिभिजन कार्यक्रम, रियालिटी शो प्रोडक्सन र निर्देशनमा काम गर्न थालें । धेरै समय फ्रिलान्सिङ काम गर्न थालिसकेपछि इन्टरनेसनल प्रोडक्सन हाउसमा काम गर्न थालें । त्यसपछि स्वदेशमा मात्रै नभएर विदेशमा पनि कसरी काम हुँदो रहेछ भनेर अनुभव भयो । यसरी १० वर्ष बिताइसकेपछि बल्ल मैले आफ्नो शान्ता नेपाली प्रोडक्सन हाउस सुरु गरेको हो । जहाँ म मात्र होइन, अरू मान्छे पनि छन् । अहिले ४ जना कर्मचारी छन् । मैले जहिले पनि महिलालाई प्राथमिकतामा राखेर काम दिने गर्छु । मेरो प्रोडक्सन हाउसबाट धेरै काम भएका छन् । तर आफैं निर्देशक भएर सुरुमा काम गरेको ‘जातको प्रश्न’ हो । यसको पहिलो र दोस्रो सिजन युट्युबमा छ । त्यसपछि हिमालमा जलवायु परिवर्तनले कसरी परिवर्तन ल्याइरहेको छ भनेर डकुमेन्ट्री बनाएको थिएँ । यसबाहेक अरू पनि लाइनअपमा छन् । 

यो क्षेत्रमा स्थापित हुन र टिक्न केटाहरूका लागि पनि गाह्रो छ । केटीलाई त्यसको २/३ गुणा गाह्रो छ । काम गर्दा धेरै क्रु मेम्बर केटा नै हुन्छन् । त्यही भएर महिला त्यसै पनि हेपाइ (डोमिनेसन) मा पर्छन् । अझ सिर्जनशील कुरा राख्नुपर्‍यो भने केटीहरूलाई कम प्राथमिकतामा राख्छन् । तर त्यसलाई ब्रेक गर्न केही निर्देशकहरू पनि आउनुभएको छ । तर केटीहरूलाई काम गर्न वातावरण सहज छैन । 

बोल्दाखेरि कतिपय अवस्थामा होच्याएर बोल्ने र भाषाहरू त्यही किसिमको प्रयोग गर्ने गर्छन् । कोही एक जनासँग राम्रो बोल्यो भने सेटभरि हल्ला फैलाउने हुन्छ । सेटमा चरित्रलाई लिएर कुरा गर्नेसम्म हुन्छन् । 

धेरै कम हुन्छन् त्यस्तो प्रवृत्तिविरुद्धमा लडेर काम गर्ने । सबैमा यो क्षमता हुँदैन । आफ्नो काम गर्ने, धेरैसँग कुरा नगर्ने, घुलमिल नहुने गर्दा पनि समस्या आउँछ । केटीहरूको सिर्जनशील पक्षमा कुरा गर्नेभन्दा चरित्रमा टिप्पणी गर्न सजिलो छ । 

अहिले युवा भाइबहिनीहरूले प्रयास गरिरहेका छन् । तर, कहिलेकाहीँ यस्तो वातावरण हुन्छ कि छोड्नु नै उत्तम हो जस्तो पनि लाग्न सक्छ । नयाँ पुस्ता आए पनि विचार परिवर्तन भएको छैन । केटी मान्छेले फिल्म बनाउन आइडिया पिच गर्दा ‘यो फिल्म चल्दैन’ भनिदिन्छन् । यसमा केटाहरूको ग्रुपिज्म हुन्छ । उनीहरूको ग्रुपिज्ममा छिर्न गाह्रो छ । 

यो सबै समस्यालाई किनारामा राखेर हामीले निरन्तर काम गरिरहेका छौं । आफू मात्र अघि बढेर केही हुँदैन । म जस्तै अरू पनि आउनुपर्छ, जसले भिन्न कथा भन्न र देखाउन सक्छन् ।

शान्ता निर्देशक

Link copied successfully