बजार खोज्ने होइन, बनाउने हो

संगीतका विधा धेरै छन्, कुनै पनि विधामध्ये निरन्तर काम गरियो भने राम्रै हुन्छ, त्यहाँसम्म पुग्न धैर्य गर्नुपर्छ, अध्ययन र निरन्तरता चाहिन्छ

फाल्गुन ७, २०८१

चक्र बम

Not looking for a market, but creating it

म विशेष गरेर सुदूरपश्चिम र कर्णालीका धुनहरूलाई लिएर गीत गाइरहेको हुन्छु । यसमा कर्णालीका भाकाहरूलाई फ्युजन (मिसाएर) गरेर गाउँछु । मैले सुदूरको देउडामा काम गरिरहेको हो । मेरो संगीतमा मौलिक सिर्जना हुन्छ । त्यसैमा कतिपय ठाउँमा मौलिक शैलीलाई परिमार्जन गरेर काम गर्छु । 

मान्छेले सुदूरपश्चिमको भाका भनेपछि देउडा भनेर चिन्छन् । त्यहाँको भाषालाई समेटेर, मिसाएर संगीत भर्ने काम गरेको हो । मेरो गीत कतिपय लोक पप शैलीमा छन् । यसमा केही डान्सिङ सङ पनि बनाएको छु । 

यसरी काम गर्दा सुरुवातमा स्विकार्न गाह्रो भएको पाएँ । कुनै पनि चिज मान्छेहरूलाई चाँडै स्वीकार गर्न गाह्रो हुने रहेछ । यसमा मैले मौलिकता बिगारेको होइन । हिजोको दिनमा जसरी मादलहरू मात्रै बजेर अथवा बाँसुरीसँग मात्रै देउडा गीत बज्थ्यो । मैले मर्म नमर्ने तरिकाले गितारको लयमा राखेर फरक शैलीको संगीतको धुन सुनाएको हुँ । मेरो गीतमा मौलिकता हराएको जस्तो लाग्दैन ।

मेरो सुरुवाती ‘मोटा चामलको’ भन्ने मौलिक देउडा गीत थियो । २०७३ सालमा यो गीत निकालेको थिएँ, जसमा रेगुलर म्युजिक थियो । चल्दै आइरहेको संगीतमा मैले काम गरेको थिएँ । यसमा मैले नै संगीत भरेको थिएँ र सुशील बोहराको शब्द थियो । 

त्यो समयमा मैले एक दर्जन मौलिक गीतमा काम गरें । अग्रजहरूको गीतलाई नै पछ्याउने काम गरें । तर त्यसले मलाई अहिलेको जसरी चिनाउने काम गरेन । यो गीतले त्यति चर्चा पाएन पछि मैले एउटा ‘नाच मेरी झुमा’ भन्ने ‘डान्सिङ सङ’ गाएँ । त्यसमा मैले सुदूरपश्चिमको भाषा राखेर काम गरें । त्यहाँबाट नयाँ ट्रेन्ड सेट भयो । 

त्यसपछि मलाई कुरा के थाहा भयो भने मान्छेहरूले अति मन पराएका गीतहरू नयाँ ढंगबाट बुझ्दा रहेछन् । यस्तो खाले संगीतमा पनि एक वर्ष काम गरें । त्यसको २/३ वर्षपछि भने भिन्न आवाज र संगीतमा काम गरें । जस्तै ः भारतको उत्तराखण्ड कुमाउ, गढवालको संगीत हामीसँग अलिक मिल्दोजुल्दो हुन्छ । मैले २०७७ सालमा ‘ओए काजल’ भन्ने गीत ल्याएँ । यो युट्युबमा ३ करोड पटकभन्दा बढी हेरिएको छ । यो अलिक भिन्न र भाषामा नौलो थियो । यो नेपालमा मात्र नभएर भारतको उत्तराखण्डतिर पनि चर्चित भयो । यसले गरेर त्यहाँ धेरै भारतीय आयोजकहरूको महोत्सवमा गएर गाएँ । यो गीतले छुट्टै किसिमको माहोल बनायो । ‘नाच मेरी झुमा’ ले सुदूरपश्चिममा चिनाउन सफल भयो भने ‘ओए काजल’ बाट मान्छेहरूले सबैतिरबाट मलाई चिन्न थाले । 

त्यसपछि अलिक भिन्न गर्नॅपर्छ भन्ने भयो । त्यहाँको मौलिक देउडा भाकामा ‘भन साली’ भन्ने गीत २०७७ सालमा नै ल्याएँ । देउडाको ताल भएको गीतलाई मैले लाइभ सेसनमा प्रस्तुत गरें । यो लाइभ म्युजिक जस्तो प्याट्रनमा बनाएँ । त्यो पनि सबैले एकदमै मन पराउनुभयो । 

यसपछि २०७९ सालमा ‘कर्णालीतिर झुमाइँदे’ गीत ल्याएँ । यो युट्युबमा ५० लाखभन्दा बढी हेरिएको छ । यी सबै गीत केही भिन्न छन् । सुदूरपश्चिमको भाषा सुन्दा हरेक गीतमा नयाँपन थपिँदै गयो । नेपालमा संगीतका धेरै विधा छन् । त्यसमाथि सुदूरपश्चिमको भनेपछि एउटा ठाढे र देउडा गीत मात्र सुन्ने श्रोता छन् । यसरी सबै भेग, भूगोल, सम्प्रदाय र सबै उमेर समूहमा पुग्नुपर्छ भनेर भिन्न प्याट्रनमा काम गर्नॅपर्ने भयो । यो काम गर्ने क्रममा ‘कर्णालीतिर झुमाइँदे’ युवाहरूले एकदमै मन पराए । 

अनि बुढापाका लागि भनेर हुड्केली गीत ल्याएँ । मौलिक सिर्जनामा ‘हरि भजन देउडा’ भनेर भजन पनि ल्याएँ । सुदूरपश्चिमको होली शैलीको गीत ल्याएँ । भजन शैलीको होली गीतहरू ल्याएँ । यसमा हरेक मान्छेसँग पुग्नुपर्छ भनेर भिन्न शैलीको संगीतमा काम गरें । 

भाषा मात्र नभएर अहिले मैले सानादेखि पाकासम्मले केही नयाँ लिएर आउँछ भन्ने आशा गर्नॅहुन्छ । त्यतिमात्र नभएर नयाँ आउनेहरूले पनि मेरो ट्र××्याकलाई पछ्याउने र सल्लाह लिने गर्नॅहुन्छ । हिजोको दिनमा यो गीत भएन भन्नेहरूले पनि यही प्याट्रनमा लेखेको पाइन्छ । त्यसले गर्दा आफूलाई पनि खुसी लाग्छ । मेरो आफ्नै सिर्जना हुन्छ । म आफैं गीत लेख्ने र त्यसमा संगीत भर्ने सबै काम गर्छॅ । भिडियोमा आफैं जोडिएर काम गरिरहेको हुन्छु । डान्स फर्मबाट पनि आएकाले मलाई नाच्न पनि मन पर्छ । मेरो भिडियोमा म आफैं आउनुको कारण सुरुमा मलाई कसैले पत्याएनन् । आफ्नो सिर्जनाप्रति म आफूलाई पनि विश्वास थिएन । त्यसैले सुरुको गीत पनि अरूको शब्दमा गाएँ । 

अहिले बजारमा गाएका गीतहरू त्यतिबेला नै मेरो झोलामा थिए । तर आफूप्रति धेरै विश्वास नभएकाले त्यत्तिकै राखें । आफ्नो स्वर खत्रै पनि भएन । फेरि मैले लेखेको गीत अरूले नगाइदिने । ठीकै हो भनिदिने । पछि टुक्रा–टुक्रा सिर्जना बजारमा आउन थालेपछि सबैले मन पराइदिनुभयो । 

अहिले उमेरले ३२ वर्ष लागें र संगीतको क्षेत्रमा लागेको पनि १२ वर्ष भइसक्यो । म संगीतमा एकदमै चुनौती मोलेर आएँ । नेपाली संगीत क्षेत्रमा स्थिर हुन गाह्रो छ । त्यसमाथि जसको धेरै बजार नभएको ठाउँमा आएँ । देउडाको बजार भनेको एउटा प्यासन र संस्कृतिका लागि मात्र गाइदिने भन्ने हुन्छ । त्यसलाई मान्छेले टिकट लिएर र पैसा तिरेर गायकलाई सुन्ने चलन छैन । मैले त्यस्तो ठाउँमा हात हालें । त्यसको बजार थिएन । अनि मैले निरन्तर काठमाडौंको स्टुडियोबाट एक मिनेट गर्दै टुक्रा–टुक्रामा काम गर्थें । यसैलाई जोडेर काम गरें । सुदूरपश्चिमको भए पनि मैले यसमा एउटा नतिजा दिने काम गरें । सुरुमा एकदमै गाह्रो भयो । नयाँ सुरुवात गर्दा धेरै गाह्रो हुन्छ । सुरुमा सुदूरको भाका बिगार्‍यो भन्ने आरोप पनि आयो । धेरै कार्यक्रममा म सहभागी हुन पाइनँ । 

मलाई के लाग्छ भने म बजार बनिसकेको ठाउँमा आएको होइन कि म आइसकेपछि बजार बनेको हो । किनभने मेरो आशा देउडा गाएर देश–विदेश जान्छु, कन्सर्ट गर्छॅ र महँगो पारिश्रमिक लिन्छु भन्ने थिएन । अनि काठमाडौंका मान्छेलाई पनि देउडा सुनाएर स्टेजमा पर्फम गर्छॅ भन्ने आशा थिएन । तर काम गर्दै जाँदा प्रविधिमा भएको रूपान्तरणले गीतहरू जहाँ र जसले पनि सुन्न सक्ने भयो । त्यो मेरा लागि प्लस प्वाइन्ट भयो । 

यहाँसम्म आइपुग्दा म खुसी छु । त्यति धेरै अपेक्षा नराखेको मान्छेले यति धेरै काम पाउँदा खुसी छु । म त्यस्तो मूलधारमा आएर चर्चा पाएको मान्छे होइन । एउटा सामान्य जिल्लाको भेगको मेलोडीलाई लिएर आएको हो । अहिले फिल्ममा गीत गाउन पाएको छु । पश्चिम कन्टेन्टमा बनेका फिल्महरूमा अफर आउँछ । केही कार्यक्रम भए मलाई सम्झिनुहुन्छ । त्यो हिसाबले निरन्तर लाग्यो भने १०/१२ वर्षपछि केही न केही नतिजा हातमा पर्छ भन्ने सिकेको छु । 

हामी सानो हुँदा कोही देउडा गीत गाउँदैन थिए, लजाउँथे । सुदूरको सट्टा अरू म्युजिक कम्पोज गर्थे । अहिले त्यहाँका साथीहरू देउडा संगीतमा काम गर्न खोजिरहेका छन् । मलाई कुनै न कुनै पार्टमा जोड्नुहुन्छ । यसले सुदूर पहाडको संगीत माथि आएको छ जस्तो लाग्छ । 

नेपालमा श्रोता कम छन् । बजार सानो छ । भाषाको विविधता पनि छ । यसमा कलालाई माया गर्न सक्ने मान्छे मात्र टिक्न सक्छ । व्यावसायिक मान्छे, कमाउँछु भनेर धेरै अपेक्षा बोकेर आएका मान्छे टिक्न सक्दैनन् । भित्रबाटै केही गर्न सक्ने हुनुपर्‍यो त्यो भन्दा बढी भित्रबाटै खुसी हुनुपर्‍यो । यसमा म खुसी छु । मन पर्ने विधामा छु । संगीतको विधा धेरै छन् । कुनै पनि विधामध्ये निरन्तर काम गरियो भने राम्रै हुन्छ । त्यहाँसम्म पुग्न धैर्य गर्नॅपर्छ । अध्ययन र निरन्तरता चाहिन्छ । संगीतमा कमाइ छैन भनेर व्यावसायिक हिसाबले सोच्नु भएन । नेपाली संगीत धेरै अगाडि पुगेको छैन ।

रातारात घर र गाडी किन्छु भन्ने हुँदैन । समस्या जहाँ पनि हुन्छन् । हिजोको दिनमा पनि समस्या थियो । हामी कमर्सियल पनि हुनुपर्छ । संस्कृति र मौलिक भनेर मात्र हुँदैन । अलिकति कमर्सियल र बजार हेरेर काम गर्नॅपर्छ । नभए नेपाली श्रोताले नेपाली मात्र नभएर बाहिरको संगीत पनि सुन्न सक्छन् । उनीहरूलाई कस्तो साउन्ड चाहिरहेको छ ? अहिले युवाले के खोजिरहेको छ ? मध्यनजर गर्दै भाकालाई अगाडि बढाउनुपर्छ । 

म सानै उमेरमा संगीतमा होमिएँ । अहिलेसम्म जति पनि सिकियो, काँचो दिमागले हलुकासँग काम गरेको जस्तो लाग्छ । तर पनि मान्छेको कलाप्रति सम्मान देखेर साँच्चिकै राम्रो काम गर्नॅपर्नेछ भन्ने लागेको छ । यसलाई योभन्दा अन्तर्राष्ट्रिय हिसाबमा धेरै कुरालाई ल्याएर नेपालको प्रतिनिधित्व हुने गरी नै सुदूरपश्चिमको देउडा, नेपालको संगीतको क्षेत्रमा काम गर्ने मन छ । अहिलेसम्म एउटा अनुभव र सिकाइ भयो । अब राम्रोसँग काम गरेर यसलाई ४/५ वर्षमा एउटा छुट्टै ठाउँमा पुर्‍याउनुपर्छ भन्ने मेरो सोच छ । म सजिलै यस क्षेत्रबाट पछि हट्दिनँ । अझै १० वर्ष यस क्षेत्रमा यसरी नै सक्रिय रूपले काम गर्न सक्छु । 

मलाई नसुन्ने धेरै मान्छेहरू पनि हुनुहुन्छ । यसमा हाम्रो सानो देश छ त्यसमाथि धेरै भाषा र संस्कृतिलगायत विविधताले धेरैलाई बाँधेको छ । त्यही भएर मलाई सबैको संगीतलाई ल्याएर सबैसँग पुग्न मन छ । सबै ठाउँको संगीतलाई लिड गरिरहेको मान्छेसँग जोडिएर काम गर्न मन छ । देशको संस्कृति पनि साटासाट होस् र मान्छेले त्यसलाई नयाँ स्वादमा लिन सकोस् । नयाँ पुस्ताले त्यो कुरा राम्रो मान्छन् । भिन्न संगीतको विधामा जोडिएर काम गर्न मन छ । यसलाई मानिसले एकदमै हलुकासँग लिन्छन् । नयाँ र भिन्न गर्ने मान्छेलाई हामीले बुझिदिनुपर्छ । यसको प्रचारप्रसार राम्रो भयो भने हामी श्रोतामाझ राम्ररी पुग्न सक्छौं । 

चक्र गायक

Link copied successfully