हालै एक अग्रज दाजुले सामाजिक सञ्जालमा लेख्नुभयो, ‘सामुदायिक नाटक बनाएर हलमा दर्शक भरे ।’ उनीहरूले गरेको नाटकलाई हामी कलाकै रूपमा हेर्छौं । तर, हाम्रो नाटकलाई उनीहरू सामुदायिक देख्छन् ।
घरका दाजुदिदीहरू चुलाचुली रंगमञ्चतिर, फिल्मतिर राजेश हमालहरू ! हाम्रो घरभित्र सबै कलाकार नै । जेठा दाजु फर्निचरतिर, माइला गाउन सक्ने, स्केच पनि गर्ने । अभिनय राम्रो गर्ने । तर, दाजुले अभिनयलाई निरन्तरता दिनुभएन । देउसी नाच्ने दिदीहरूले पनि केही सिरियल खेलेर यो क्षेत्र छाड्नुभयो ।
के गरिहिँडेको ? नाटकमा लाग्दा धेरैले भन्थे । तर, एक दिन माइला दाजुलाई पत्र लेखें, ‘म स्केच गर्न सक्छु, अभिनय पनि गर्न सक्छु ।’ विस्तारै चेतन आङ्थुप्पोहरू भेटिए । यसरी साथीसंगतले रंगमञ्चको यात्रा सुरु भयो ।
शिल्पीको दोस्रो ब्याचलाई एक जना कलाकार चाहियो भन्ने खबर सुन्यौं । चुलाचुलीमा रंगमञ्च गरिरहे पनि केन्द्रमा हाम्रो पहुँच थिएन । हाम्रो सबैभन्दा टाढाको पहुँच नै दमक थियो । त्यहाँ प्रकाश आङदेम्बे हुनुहुन्थ्यो । शिल्पीलाई इलामबाट एक जना विद्यार्थी चाहियो भन्ने जनाउ आयो । त्यतिबेला मैले जान्छु भनेर आँटें । भाडा थिएन, चेतना नाट्य समूह इलामले ५ हजार भाडा दिएर पठायो । २०७१ सालतिर काठमाडौं आएँ । शिल्पीको तीनमहिने कक्षा सकियो । हाम्रो ब्याचले नाटक प्रस्तुत गर्यो ।
सोलो प्रस्तुतिमा मैले बाल्यकालमा दिदीको पैसा चोरेको कथामा अभिनय गरें । त्यसपछि सुशील पोखरेलको ‘ज्ञ’को तेस्रो ब्याचमा आबद्ध भएँ । त्यसपछि अभिनय र नाटक निर्देशन गरिरहेको छु । ‘जिउँदो आकाश’ दर्शकले धेरै रुचाइदिनुभएको नाटक भइहाल्यो । जोखना, लाटो पहाड, हरियो ढुंगा, मिडसमर नाइट्स ड्रिमलगायतका नाटक गरियो । निर्देशन पनि थालियो । ‘चोरको सोर’, ‘स्याडो पपेट्री’, ‘मेषीदण्ड’, ‘मुक्कुम्लुङ’ सम्म आइपुगियो । नाम भइदियोस्, मलाई अरूले चिनिदियोस् भन्ने लोभले यहाँसम्म आइपुग्दा कलाले झनै छोप्दै आयो । यो क्षेत्रमा १५–१६ वर्ष बितेको पत्तै भएन ।
यति समय बितेपछि मलाई थाहा भयो, रंगमञ्चभित्रको राजनीति । राजनीति त ठिकै हो । तर, अहिले कला वा नाटक, कति व्यवसाय हो वा कति कला हो ? भन्ने छुट्याउन नसकेको देख्छु । कला र व्यवसाय अझै पनि यो क्षेत्रमा छुट्टिन सकेको छैन । पुस्ताबीच अन्तर ठूलो छ । पछिल्लो समय मलाई लागिरहेको छ, हामी त त्यहीं अट्किएका छौं, जहाँनिर सुनील सर अड्किनुभयो । त्योभन्दा माथितिर जानै सकेका छैनौं । दक्षताकै मामिलामा पनि उहाँलाई उछिन्न सकेका छैनौं ।
निर्देशक त होइन, हरेक नाटक गरिसकेपछि मलाई आफूभित्रको सिर्जना हराएको अनुभूति हुन्छ । अभिनयकै सवालमा पनि कसैले ‘म तपाईंको फ्यान’ भनिदिएपछि हामी त्यहीं रोकियौं भन्ने लाग्छ । हामी त्यहाँनिर रोकियौं, त्यत्तिमै अल्झिएछौं । अभिनय दक्षताका मामलामा हामी हराएछौं । हाम्रो पुस्ता र नयाँ पुस्ता माथि उठ्नै सकेका छैनौं । रंगमञ्चको अहिलेको सबैभन्दा ठूलो समस्या यही हो ।
यो क्षेत्रको अर्को समस्या हामीलाई दिइने ‘ट्याग’ हो । त्यो ट्यागसँग हामीले हाम्रै गुरुवर्ग, शिक्षकसँग लड्नुपर्छ । पछिल्लो समय एउटा नयाँ थिएटर खोल्ने तयारीमा थियौं । १५–१६ वटा बैठकमा लगभग तय भइसकेको थियो । त्यतिबेला हामीलाई कारण दिइयो, फलानो थिएटर पनि समुदाय केन्द्रित छ । फिल्महरूमा त्यही आदिवासी अनि हाम्रो चाहिँ के ? भनेर प्रश्न गर्दै नयाँ थिएटर सञ्चालनमा ल्याउन दिइएन । तर, हामी जात हेरेर आएका त होइनौं ! अरूले आफ्नो कथा भन्दै आउँदा त हामीले केही भनेनौं । हाम्रा २/४ कथा आउन थाल्दा आपत्ति किन ? अहिले फिल्ममा पनि फरक कथाहरू आउन थालेका छन् । उनीहरूको फिल्म चलाउन त दयाहाङ (राई)कै अनुहार चाहिन्छ । तर, आदिवासीको कथा धेरै आयो भनिदिन्छन् । नदेखिने तरिकाले यो विषय रंगमञ्चमै पनि देख्छु ।
हालै एक अग्रज दाजुले सामाजिक सञ्जालमा लेख्नुभयो, ‘सामुदायिक नाटक बनाएर हलमा दर्शक भरे ।’ उनीहरूले गरेको नाटकलाई हामी कलाकै रूपमा हेर्छौं । तर, हाम्रो नाटकलाई उनीहरू सामुदायिक देख्छन् । हाम्रो नाटकलाई नाटक नै मान्दैनन् । साम्प्रदायिकता जोडेर हेरिदिन्छन्, हाम्रो नाटक किन नेपाली हुँदैन ? हाम्रो समस्या जातसँग होइन वादसँग हो ।
हाम्रो कथामात्र सुनिनुपर्छ भनेका होइनौं । हामीसँग कथा छ, हाम्रो कथा पनि सुनियोस् । हाम्रो कथा हेरौं है, भनेका मात्र हौं । तर, यत्तिमै हाम्रा अग्रज रंगकर्मीहरू आत्तिनुपर्ने के कारण छ । मेषीदण्डको एउटा कविता विवादमा आयो । भूपाल राईले लेख्नुभएको उक्त कविताको नियत निकै खराब छ भन्ने आयो । त्यो भन्नेहरू हाम्रै अग्रज रंगकर्मी । त्यही अग्रज रंगकर्मीले विभिन्न प्रोजेक्टमार्फत आदिवासीका कथामाथि नाटक बनाउने ! हाम्रो कथालाई बेच्न उनीहरूलाई आनन्द हुने तर, हाम्रो आन्दोलनमा बोल्न समस्या हुने ?
जब–जब हामीले नाटक गर्छौं, हाम्रा अग्रज रंगकर्मीले लेख्नुहुन्छ– फलानो आदिवासी नाटक । उहाँहरूले हाम्रो नाटकलाई नेपाली मान्नु नै भएन । केही समय अगाडि नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटोमा’ प्रदर्शनताका उहाँहरूले भने राईहरूको फिल्म हामीले किन हेर्नु ? हामीले कहिल्यै अनमोल केसीको फिल्मलाई बाहुनको फिल्म भन्यौं त ? यस्तो किसिमको बहस आउन आवश्यक होला । हामी पनि माझिन बाँकी छौं, छानिन बाँकी हुँला । तर, अग्रजले हाम्रो आयु पनि तोकिदिएको देख्दा अचम्म लाग्छ । ५–१० वर्ष उफ्रन्छ जान्छ । तर, अबको ५–१० वर्षमा किरण चाम्लिङ र मैले प्रण गरेका छौं, हामी दुईले हामीजस्ता १० जना प्रतिभा जन्माउँछौं । यस्ता नदेखिने कुराहरूसँग हामी लडिरहेका छौं ।
आदिवासीका कथा पनि नेपाली कथा हुन्, नेपाली नाटक हुन् भन्ने कुरा स्वीकारिन चाहिँ ‘एप्रिसिएसन’ नै होला । हाम्रो नाटकलाई नाटक नमान्दा हामीले पनि उस्तै व्यवहार उनीहरूसँग गर्नु पनि हुँदैन । एक न एक दिन हाम्रा गुरुवर्गले हाम्रो नाटकलाई नेपाली नाटक मान्नु होला । मलाई त विवादभन्दा पनि निरन्तर काम गर्नुपर्छ भन्ने पक्षको हुँ । तपाईंले जति दिनुहुन्छ त्यति पाउनुहुन्छ भनिन्छ नि ।
कला सबैका लागि सहज हुनुपर्छ, सुन्दर हुनुपर्छ भन्ने लाग्छ । तर, यहाँ त हाम्रै गुरुवर्ग पनि बाटो भड्किएका छन् । गुरुचेला भन्ने भाव जबसम्म हुन्छ, तबसम्म गुरुप्रति आदर त भइरहन्छ । तर, गुरुहरू नै बाटो भड्किएर जानुहुन्छ भने हामीले पनि केही न केही सोच्नुपर्छ होला । अहिले भइदियो यस्तै । सबैले समान तरिकाले बाँच्न पाउनुपर्छ है भन्ने नाटक गर्नेहरूले नै नाटकको भवन बनाइसकेपछि त्यहींका टोली खेदे । नाटकको भवन निर्माण गरिसकेपछि अधिकांशसँग यही भयो ।
हामीले आफैंलाई फर्केर हेर्न बिर्सियौं कि ? दामी छ नाटक भनेर कसैले भनिदियो भने बुरुक्क उफ्रिन्छौं कि ? कसैले खत्तम छ नाटक भनिदियो भने डिप्रेसनमा जाने, विदेश जाने गरिरहेका छौं कि ? पछिल्लो समय रंगकर्मी बन्नेहरू ह्वाररर आए । तर, उनीहरू कहाँ गए त ? यत्रो उत्पादन कहाँ खपत भइरहेको छ । सायद उनीहरूका लागि उचित स्थान भइदिएन । कति त हिँड्न पनि सकेनन् । सबैले हेर्दा दयाहाङ देखे । सौगात मल्ल, विपिन कार्की, विजय बराल हेर्दै आए । लहैलहैमा स्टार हुन्छु भनेर आउँछन् । यहाँ आइपुगेपछि थाहा हुन्छ, मिहिनेत र संघर्ष । ती कलाकारले गरेको संघर्ष, यात्रा देख्दैनन् । सायद कतिले त्यही यात्रा गर्न सकेनन् । थाके होलान् ? हो थाकिन्छ । तर, थकाइ मारेर बस्नुमात्र भएन । निरन्तर लागिरहनुपर्यो ।
हो, रंगमञ्च व्यावसायिक छैन । अझै पनि हुँदैन । अझै १०/२० वर्ष नाटक गरेरै बाँच्न सकिन्छ भन्न सकिन्न । नाटक नै गरेर बाँच्ने माहोल छैन । एउटा नाटक गर्न कम्तीमा ३ महिना लाग्छ । तीन महिनामा त्यही एउटा नाटकले कलाकारलाई कति पारिश्रमिक देला । २५ हजार ? यो क्षेत्रमा टिक्न गाह्रो छ । कसरी टिकिरहेको छ रंगकर्मीहरू ? म आफैं पनि छक्क पर्छु । अनि अग्रज दाजुहरू भन्नुहुन्छ, हामीले चिउरा खाएर रंगमञ्च गर्यौं, तिमीहरूले पनि त्यसै गर ।
कोही मानिस स्टार हुँदैन भन्ने गुरुहरू नै एक्टिङ स्टारको निर्णायक हुनुहुन्छ । समस्या त्यहाँ छ, होला उहाँ आफू बाँच्नका लागि त्यो बाटो समाउनु भो होला । तर, जसले भूमिका सानो–ठूलो हुँदैन भन्नेहरूकै नाटक चलाउन राजेश हमाल चाहिन्छ । फिल्मको स्टार चाहिन्छ । हाम्रा गुरुहरूलाई नाटक गर्न स्टार चाहिने भयो । अघिल्लो साता मात्रै स्टारमाथि एउटा बहस भयो । तिमीभन्दा उसको फलोअर्स धेरै छ, त्यसैले उसलाई लिन्छौं । जतिबेला रंगमञ्चमा महिला थिएन, त्यतिबेला पशुपति राईहरू थिए ।
उनीहरूले जीवन नै रंगमञ्चमा बिताए । तर, कुनै फिल्ममा उनीहरूलाई लिँदा ती नै गुरुहरूले उनीहरूको दक्षता नहेरी फलोअर्स हुनेका पछाडि लाग्छन् । आफ्नै विद्यार्थीमाथि विश्वास छैन भने कि गुरुमै समस्या छ कि त विद्यार्थीमा । मोफसल र राजधानीबीच पनि एकदमै ठूलो खाडल छ । रंगमञ्च त मोफसलमा राम्रो छ । त्यहाँ सपनाले काम भइरहेको छ ।
