फिटनेसमा पनि नयाँ-नयाँ ट्रेन्ड

फिटनेसमा आउने नयाँ मानिसहरूलाई कसरी सिकाउँछौं, कसरी सहयोग गर्छौं, त्यसले व्यवसायमा धेरै फरक पार्ने रहेछ

फाल्गुन ७, २०८१

सुशान्त प्रधान

A new trend in fitness too

सामाजिक सञ्जाल (सोसल मिडिया) धेरै शक्तिशाली रहेछ । चलाउने तरिका राम्रोसँग सिकेका जोकोद्दहीलाई फाइदा हुन्छ । ११ वर्षको जिम व्यवसायको अनुभवले मलाई सिकाएको मुख्य पाठ पनि यही हो । सुरुवातदेखिकै व्यवसायको यात्रामा मलाई सामाजिक सञ्जालले धेरै नै सहयोग गरेको छ । 

म सन् २००९ देखि आफू फिट हुन र स्वस्थ हुन ‘फिटनेस जर्नी’ मा लागें । आफू फिट हुनुपर्छ भनेर यही क्षेत्रमा लागेको भएर यसमै रमाउन पनि थालें । त्यसैले सन् २०१३ मा आफ्नै जिम सुरु गरें । त्यो बेलामा विज्ञानमा आधारित भएर फिटनेस गराइँदैनथ्यो । विज्ञानमा आधारित छैन, ग्याप छ भन्ने अनुभव भइरहेको थियो । ‘वर्कआउट’, ‘डाइट’ देखि सबै विज्ञानमा आधारित हुनुपर्छ भन्ने लाग्थ्यो । सन् २०१४ तिर नै मैले युट्युब पनि सुरु गरें । फिटनेससम्बन्धी ‘कन्टेन्ट’ हरू बनाउन थालें । फिटनेस, जिमबारे जानकारी दिन सुरु गरेको थिएँ । 

सुरुमा कुमारीपाटीमा सुरु गरेको जिम पनि बढाउँदै लगें । २ वर्षपछि कमलादीमा खोलें । कोभिडअघि मैतीदेवी, बानेश्वर र महाराजगन्जमा पनि सुरु गरें । अहिले म पोडकास्ट पनि चलाउँछु । धेरैले अहिले पोडकास्ट हेर्नुहुन्छ । फिटनेसका कन्टेन्ट पनि नियमित बनाउँछु । आफ्नो व्यवसाय सुरु गर्नुअघि पनि मैले जिममा नै इन्टर्नसिप गरेको थिएँ । त्यहींबाट नै इन्डस्ट्रीको ग्यापबारेमा थाहा पाएँ ।

अर्को, मैले यो फिल्डमा मानिसहरूको बुझाइमा पनि कमी भएको पाएँ । जिममा के हुन्छ ? फिटनेस भनेको के हो ? भन्ने मानिसमा राम्रो बुझाइ रहेको पाइनँ । यो व्यवसाय नै किन त भन्ने प्रश्नहरू पनि नआएका होइनन् । आफू फिटनेसमा ध्यान दिने व्यक्ति भएकाले मैले व्यवसाय सुरु गरेको हो । फेरि आफ्नो फिटनेस रुटिनले मेरो अनुशासन बढायो, जसले मलाई उद्यममा लाग्नुअघि धेरै सोच्नुपरेन । 

व्यवसाय सुरु गरेको केही समय थुप्रै कठिनाइमा जेलिएँ । जस्तै, मलाई फिटनेसबारे आइडिया थियो । फिटनेसमा कस्तो हुन्छ, के गर्नुपर्छ भन्नेबारे थाहा थियो । तर व्यवसाय कसरी चल्छ, त्यो आइडिया थिएन । फेरि मेरो परिवारमा कसैको पनि व्यवसाय थिएन । सुरुमा ‘सेटअप’ कसरी गर्ने भन्नेमा गाह्रो थियो । निकै कम बजेटमा सुरु गर्न लागेको थिएँ । १५–१६ लाखमा सुरु गरेको थिएँ । ३ देखि ४ लाख हलकै भाडाहरू तिरें । ८ देखि १० लाखमा सामानको व्यवस्था गरेको थिएँ । सामानहरू किन्न पुग्ने पैसा थिएन । मेसिनको नमुना फोटोहरू देखाउँदै मेटल वर्कसपमा बनाउन दिएको थिएँ । अहिले त यस्तो जिमको सामान बनाउने थुप्रै लोकल ठाउँहरू खुलिसकेका छन् । त्यो बेला मैले प्रायः सामान आफैंले बनाउन दिएको हो । फेरि सामान पनि महँगो थियो । बिजनेस राम्रो हुन थालेपछि अलिअलि गरेर रिप्लेस गर्दै लगें । 

सुरुमा ६–७ महिना घाटामै चलाउनुपर्‍यो । आफूसँग कुनै विषयमा ज्ञान हुनु, स्किल हुनु र त्यसमा व्यवसाय चलाउनु फरक कुरा रहेछ भन्ने लाग्यो । त्यसपछि मेरो तर्फबाट मार्केटिङ पुगेन भन्ने अनुभूति भयो अनि कन्टेन्ट क्रिएसन सुरु गर्न थालेको हो । वर्कआउट प्लान सबैलाई एउटै प्रकृतिको हुँदैन । 

आफ्नो अनुभव र क्षमताअनुसार पनि धेरै कुरा फरक हुन्छ । यही बुझेर मैले व्यवसाय अघि बढाएको थिएँ, जुन त्यो समयमा मेरो व्यवसायको फरक पक्ष थियो । न्युट्रिसन पनि मानिसअनुसार फरक हुन्छ । त्यही मैले व्यवसायमा प्रमोट गरेको हो । जुन हामी अझै पनि गर्छौं । यसका लागि बेग्लै पैसा पनि लिएनौं । 

सुरुमा व्यवसायमा आर्थिक पक्षले असर गर्ने रहेछ । पछि आफूले थप कति मिहिनेत लगायो त्यसले पनि धेरै अर्थ राख्ने रहेछ । फिटनेसमा आउने नयाँ मान्छेलाई कसरी सिकाउँछौं, कसरी सहयोग गर्छौं, त्यसले व्यवसायमा धेरै फरक पार्ने रहेछ । हामीले थप मिहिनेत त्यसमै गर्‍यौं । 

हाम्रो जिम आउनेले सुरुमा दुई दिन ट्रायल लिन सक्छ । त्यसमा चित्त बुझ्यो भने ‘मेम्बरसिप’ लिने र चित्त बुझेन भने नलिने सुविधा छ । जीवनशैली कस्तो छ, लक्ष्य के हो, त्यसमा पुग्ने समय कति ? त्यहीअनुसार जिम प्लान गराइन्छ । 

सन् २००९ मा मैले सुरु गर्दा जिम जाने भनेको ज्यान बनाउने भन्ने थियो । महिलाहरू त जिममा हुँदैन थिए । बिस्तारै २०१३/१४ देखि स्वास्थ्य स्थितिका कारण मानिसहरू जिम आउन थाले । दुब्लाउने मात्र होइन, जिम गएर मोटाउन पनि सकिन्छ भन्ने आमबुझाइ रहन थाल्यो । फेरि २०१७/१८ मा आइपुगेपछि मोटाउने, दुब्लाउने मात्र होइन, सबैले व्यायाम गर्न आवश्यक छ भन्ने बुझाइ थपियो । सन् २०२१ मा आएपछि मानसिक स्वास्थ्यका लागि पनि व्यायाम आवश्यक छ भन्ने ‘कन्सेप्ट’ बढ्यो । 

फिटनेस ट्रेन्डहरू के आइरहेको छ, त्यही जिममा राख्नुपर्छ भन्ने मलाई लाग्दैन । जस्तै २०१२/१३ तिर जुम्बा निकै ट्रेन्डमा थियो । पछि अरू यस्ता ट्रेन्डहरू आइरह्यो । अहिले ‘पिलाटिज’ पनि ट्रेन्डमा छ । सबै ट्रेन्ड सबै व्यवसायका लागि बिल्कुल होइन । मैले जे गरिरहेको छु, त्यसमा अझ राम्रो गरौं भन्ने लाग्छ । सबै खालको व्यवसायमा त्यही हुनुपर्छ जस्तो लाग्छ । एकैपटक सबैतिर लाग्नु हुँदैन, जुन हाल धेरै ‘र्स्टाट अप’ मा पनि देखिन्छ । मेरो योजना राम्रो सर्भिस दिने हो । राम्रो कुराचाहिँ अहिले आएका ट्रेन्डहरू भने धेरै स्वास्थ्यप्रति फोकस छन् ।

जिमको टार्गेट व्यक्ति भनेकै १५ देखि ३०–४० उमेर समूहका हुन्छन् । फेरि त्यही समूहका लागि कन्टेन्ट पनि बनाइरहेको छु । यसरी फिटनेसमा आउन चाहेकालाई के चाहिएको छ भनेर बुझ्न पाएका छौं । अहिले धेरैले कन्टेन्टको क्रिएसन गर्दै व्यवसाय गरिरहेका छन् । मैले सन् २०१४ मा कन्टेन्ट बनाउन सुरु गरेको व्यवसाय प्रमोट गर्नै हो । 

अहिलेको आर्थिक संकटले अनि कोभिडको असरले सबै व्यवसायमा हानि गर्‍यो । धेरै युवा विदेश पुगेका छन् । यहाँ भएकामध्ये धेरै नेपाल बस्न चाहँदैनन् । त्यसले गर्दा प्रायः व्यवसायमा असर गरेको छ । जिममा युवा धेरै हुने हुन् । तर अहिले धेरै युवा विदेश गएका छन् । त्यसले यो व्यवसायमा पनि समस्या आइरहेको छ । अहिले यो मार्केटमा जिमको प्रतिस्पर्धा बढेको छ । जिम नै धेरै खुलिसकेका छन् । यद्यपि युवाहरू पलायन भएकै कारण भने जिम व्यवसायमा समस्या आएको हो । 

जिम व्यवसायमा ट्रायलमै आएका सबैले मेम्बरसिप लिन्छन् भन्ने छैन । के कसरी उनीहरूलाई सन्देश दिइरहेका छौं, मार्केटिङ कसरी गरेका छौं भन्ने कुराले अर्थ राख्छ । यो व्यवसाय गर्न चाहेकाले याद गर्नुपर्ने कुरा यिनै हुन् । जस्तो कि हामीले चेतनाको काम पनि गरिरहेका छौं । म आफैंले अरूको फिडब्याक कस्तो छ सुन्छु, हेर्छु र प्रतिक्रिया जनाउँछु । 

अहिले जसरी धेरै युवा अवसर छैन भनिरहेका छन् । नैराश्यता देखिएको छ । अहिले सबै व्यवसायलाई आर्थिक संकटले असर गरिरहेको छ । त्यो राम्रो हुनेबित्तिकै सबैको व्यवसाय राम्रो हुन थाल्छ । अहिले व्यवसाय कसरी बचाउने भन्ने हो । बिस्तारै यो समस्या समाधान हुनेछ अनि व्यवसाय कसरी उठाउने, राम्रो गर्ने भनेर सोच्नुपर्छ जस्तो लाग्छ । हाल चार ठाउँमा मेरो जिम छ । अन्य ठाउँमा जिम थप्ने योजना छ । सही समय कुरिरहेको छु । 

व्यवसाय खोल्न व्यवसायसम्बन्धी स्किल पनि हुनुपर्छ । व्यवसाय चलाउने भनेको फेरि सीप मात्र भएर पुग्दैन । लगानीकर्ताका तर्फबाट पनि सोच्नुपर्छ । मलाई कुनै बिजनेस बढाउनु छ, देशका लागि काम गर्छु, रोजगारी सिर्जना गर्छु भन्ने भावनाले मात्र व्यवसाय चल्दैन । मान्छे चिन्न, नेटवर्किङ गर्न निकै आवश्यक छ । आफ्नो आइडियाले बजारमा काम गर्छ कि गर्दैन ? सोचेर मात्र केही योजनामा लाग्ने हो । आइडिया युनिक छ भनेर हामफाल्ने पनि होइन । आइडियाबाट पैसा बनाउन सकिन्छ कि सकिँदैन भनेर पूर्वयोजना आवश्यक पर्छ । देशका लागि काम गर्न पैसा त आवश्यक पर्छ नै । धेरैले यो साइडमा राखेर सोच्छन् जुन सही होइन । काम गर्न ‘प्यासन’ र ज्ञान दुवै आवश्यक हुन्छ । 

केही व्यवसायमा सुरुमा पर्याप्त लगानी आवश्यक पर्छ । कति व्यवसायमा धेरै लगानी चाहिँदैन । जिम जस्ता व्यवसायमा लगानी चाहिन्छ । जस्तै जिमकै व्यवसायमा लाग्ने इच्छा छ तर पैसा धेरै छैन भने सुरुमा पर्सनल ट्रेनर भएर काम गर्न सकिन्छ । ३/४ करोडको लगानी गरेर खोलिएका जिम पनि छन् । मैले सुरु गर्ने बेलामा १५–१६ लाखबाट सुरु गरेको हो । मेरो अभिभावकले पढाइका लागि जम्मा गरेर राख्नुभएको पैसा थियो । त्यही प्रयोग गरें । त्यो समयमा पनि जिम खोल्न ३०–४० लाख लाग्थ्यो । मसँग पर्याप्त पैसा थिएन । म जिम खोल्न सक्दिनँ भन्ने पनि लागेको थियो । 

व्यवसायमा आउने हरेक नवआगन्तुकलाई मेरो सल्लाह छ, व्यवसायको सबै प्रक्रिया बुझ्ने, अध्ययन गर्ने अनि काम अघि सार्ने । लगानी गरेअनुसार प्रतिफल छ कि छैन सबै कुरा बुझ्न आवश्यक छ । अर्को सल्लाह भनेको जुनसुकै व्यवसायमा लाग्ने भए पनि पढ्न र ज्ञान लिन नछोड्ने । यसले आत्मविश्वास ल्याउँछ । आत्मविश्वास हरेक व्यवसायमा चाहिन्छ । मेरो सल्लाह सामाजिक सञ्जालहरू चलाउन सिक्नुस् । ‘पर्सनल ब्रान्ड’ बनाउनुस् । मानिसहरूलाई चेतना फैलाउने हिसाबले कन्टेन्ट क्रिएट गर्नुस् ।

सुशान्त फिटनेस ट्रेनर तथा व्यवसायी

Link copied successfully