दोहोरो अर्थ दिने शब्दले लोकगीतको सम्मान घटायो 

नयाँ पुस्ताले फ्युजन टाइपका गीतहरू मन पराइरहेका हुन्छन् । लोकगीत भनेर पुरानै लयमा काम गर्दा कतिपय अवस्थामा व्यावसायिक रूपमा सबैको मन जित्न सकिँदैन ।

फाल्गुन ७, २०८१

भूपु पाण्डे

The word giving double meaning lowered the respectability of folk songs

मेरो घर दाङको देउखुरी हो । एसएलसी सकिएपछि २०६२/६३ को आन्दोलनको समयतिर म काठमाडौं आएँ । मेरो भेगतिर चल्ने भनेको आधुनिक र लोकदोहोरी गीत हो । तर, मलाई आधुनिक गीत एकदमै मनपर्छ । स्कुल पढ्ने बेला यश कुमार, सुगम पोख्रेल र नवीन के भट्टराईका पप गीत मन पर्थ्यो । 

काठमाडौं आएर रत्नराज्य लक्ष्मी क्याम्पसमा भर्ना भएँ । पढ्दै जाँदा मलाई शास्त्रीय संगीततिर (क्लासिकल म्युजिक) झुकाव भयो । मैले पढाइ नै पूरा गर्नुपर्छ भन्ने हिसाबले त्रिविबाटै शास्त्रीय संगीतमा स्नातकोत्तर गरें । तर अहिलेको चहलपहल र व्यावसायिक रूपमा आफूलाई टिकाउन अनि श्रोताले पनि मन पराउने हिसाबले आधुनिक र लोकगीतमै काम गरिरहेको छु । 

मैले गाइरहेका गीत लोकगीत हुन् । लोक, पप र आधुनिकहरू संगीतका विधा हुन् । मैले सुगम संगीतको विधामा दुईवटा सोलो एल्बम सार्वजनिक गरेको छु । १० वर्ष म अध्ययनमा लागें । अध्ययनको समयमा एल्बममा काम गरिनँ । तर २०७१ देखियता दुईवटा सुगम संगीतको एल्बम निकालें । त्यसपछि दुई वर्षयता भने मेरो झुकाव लोकगीतमा भइरहेको छ । किनभने मेरो पहिचान, माटोको सुगन्ध, आम भुइँमान्छेहरूले बुझ्ने, आममान्छेहरूको मनोभावना ल्याउन सकिने संगीत लोकगीत भएकाले यसमा मेरो झुकाव बढेको हो ।

नयाँ पुस्ताले फ्युजन टाइपका गीतहरू मन पराइरहेका हुन्छन् । लोकगीत भनेर पुरानै लयमा काम गर्दा कतिपय अवस्थामा व्यावसायिक रूपमा सबैको मन जित्न सकिँदैन । अहिलेको पुस्ताले थोरै ट्युन लो भए पनि इन्स्ट्रुमेन्टको हिसाबले अथवा प्रस्तुतिको हिसाबले पश्चिम संगीत मिसिएका गीतहरू मन पराउँछन् ।

मैले सुगम संगीतमा काम गरे पनि व्यावसायिक रूपमा सफल भएको लोकगीत नै हो । लोक र दोहोरी दुई पाटा छन् । म दोहोरीतिर गइनँ । हाम्रा पुर्खाहरूले गाउँदै आएका लोकगीतहरूलाई निरन्तरता दिएँ । झलकमान गन्धर्व, बमबहादुर कार्की, लोकबहादुर क्षेत्री, शम्भु राईलगायतले लोक संगीतलाई धनी बनाउनुभएको छ ।

म प्रायजसो आफ्ना लागि मात्र काम गरिरहेको हुन्छु । व्यावसायिक रूपमा अरूका लागि त्यति धेरै गीत बनाएको छैन । अहिले समय लगाएर, अध्ययन गरेर लोकभाकामा आधारित रहेर गीत गर्नुपर्छ भन्ने लागेको छ । धेरै अपेक्षा नराखेर, जिन्दगीमा व्यावसायिक रूपमा सफल हुन्छु भनेर नसोचेर, अध्ययन तथा अनुसन्धान र संकलन गरेर सिर्जना गर्न लागेको छु । मेरो जीवन पनि चलोस् र लोक संगीत पनि अगाडि बढोस् भन्ने मेरो सोच हो । नेपालको सन्दर्भमा लोकगीत कहिल्यै नमर्ने धुन हो ।

पहिले नारायण गोपाल र भक्तराज आचार्यले जुन गाउनुहुन्थ्यो । यसैगरी रामकृष्ण ढकाल, पछिल्लो पुस्तामा शिव परियार र प्रमोद खरेलले गीत गाउनुहुन्छ । उहाँहरूले राम्रो सफलता देख्नुभयो । अहिलेको आधुनिक पुस्तामा त्यसरी सफल भएको देख्दिनँ । त्यसो भए सामाजिक सञ्जालमा जे कुरा भाइरल भइदियो त्यसलाई गीत–संगीत बनाउने त ? यसैले हो कि सुगम संगीत ओझेलमा छ ।

अहिले लोकगीतमा छाडा प्रवृत्ति अथवा दोहोरो अर्थ लाग्ने शब्द प्रयोग गर्ने चलन बढेको छ । कहींकतै रोकटोक र सीमा छैन । त्यो कारणले सिधैं व्यावसायिक रूपमा मात्र सोचेर मान्छेले यस्ता खाले गीत बनाइरहेका छन् । पहिलेदेखि चलिआएको र गाइरहेको लोक संगीतमा छाडा शब्द मिसिएको देख्दा मलाई चिन्ता लागेको छ । त्यो नभइदिए हुन्थ्यो । किनभने लोक संगीत सम्माननीय संगीत हो । 

अर्को समस्या भिडियो मेकिङमा पनि छ । प्रत्यक्ष भोगिरहेको र देखिरहेको कुरा भनेको अडियो र भिडियो हो । जसले दोहोरो अर्थ दिने शब्द राखेर अडियो बनाइयो र त्यसलाई पूरा रूप भिडियोबाट देखाइयो । यी दुई कुरामा सोचिदिए राम्रो हुन्छ । 

राम्रो लोकगीत संकलन गरेर गाउने सर्जक पनि हुनुहुन्छ । सुदूरमा देउडा र अलिकति वर आएर टप्पा छ, जुन दाङ र सल्यानतिर चल्छ । अलिक माथि गण्डक क्षेत्रतिर जाँदा सालैज्यू छ । गुरुङ बसोबास क्षेत्रतिर जाँदा रोइला गीतहरू छन् । हाम्रो चुट्के भजन छन् । पूर्वतिर जाँदा सकेला छन् । अब तराईतिर जाँदा मैथिली र थारू गीत छन् । 

सानो देशमा धेरै लोकगीतहरू छन् । यी सबै गीतलाई व्यवस्थित गरेर विश्वव्यापी रूपमा आफ्नो देशको पहिचान हो भनेर चिनाउनका लागि विशेष कदम सरकारले चालिदेओस् भन्ने लाग्छ । सरकारले त्यो गरेको छैन । 

देशमा अहिले बेरोजगारीको समस्या छ । यसैलाई लिएर मैले २०८० मा ‘पीरै पीर’ ल्याएँ । यो युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ । यो प्रत्यक्ष बेरोजगार युवाहरूको कथा हो । बेरोजगार चोकचोकमा भेटिन्छन् । पढेको छ, काम छैन । उनीहरूको मनमा के बितिरहेको होला ?

विशेषगरी युवाहरूमा धेरै समस्या छन् । वर्षौं लगाएर पढ्छन् । बुवाआमाको ठूलो लगानी हुन्छ । १५ हजार रुपैयाँको जागिर खान पनि भनसुन लगाउनुपर्छ । त्यही पनि पाइँदैन । वर्षौंको जवानी पढाइमा खर्चेको युवालाई जीवन धान्न नसक्ने तलब दिएपछि बिदेसिने सोच पलाउनु अन्यथा होइन । 

अब आफूले भोगेका, देखेका चिन्तालाई लिएर लोकगीतमै काम गर्न मन छ । एक  ६८ वर्षकी आमाले गाउनुभएको ‘जाँदा जाँदै बन्दीपुर पुग्यो...’ बोलको मेरो लोकगीत पनि धेरैले मन पराइदिनुभयो । अहिले ‘जाँदा जाँदै बन्दीपुर’ को टिमलाई लिएर कोरसमा ६० वर्षमाथिका आमाहरू राखेको छु । त्यसै गरेर ४ जना ६० वर्षमाथिकै बुवाहरूलाई राखेको छु । एउटा लोकगीत आमाका लागि गर्दै छु । त्यसैको सुटिङ दाङमा चलिरहेको छ । यो पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएर आउने वर्तमान अवस्था नै जोडिन्छ । 

कसैको छोराछोरी खाडीतिर छन्, उनीहरू फर्किएर आउलान् । जो अलिक राम्रो देशतिर छन् उनीहरू नेपालको स्थिति देखेर फर्किन चाहँदैनन् । उनीहरू उतै सेटल छन् । पहिला मेरो सन्तान यहाँ छन् भनेर गर्व गर्नेहरू अहिले एक्लै परेका छन् । बुढाबुढी एकले अर्कालाई कुरेर बसेका छन् । यही पीडालाई मैले रोचक तरिकाले पस्कने प्रयास गरेको छु । त्यसमा मौलिक बाजाहरूको प्रयोग गरेर रैथानेपन देखियोस् भन्ने कोसिसमा छु ।

भूपु लोक गायक

Link copied successfully