अल्टरनेटिभ फिल्मलाई प्रोड्युसरको खाँचो

मैले पहिलो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको यात्रा पनि ‘जुन्को’बाटै गरेँ । मैले निर्माता र निर्देशकको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरा ‘जुन्को’ बाटै सिकें ।

फाल्गुन ७, २०८१

मिन्सो लिम्बू

Alternative films need producers

२०१५ देखि म आफ्नो करिअर सोचेर भौंतारिरहेको थिएँ । आफ्ना रुचिहरू एक्सप्लोर गरिरहेको थिएँ । मलाई फिल्ममा पनि एक्सप्लोर गरौं भन्ने लाग्यो । एभरेस्ट एकेडेमीले १ वर्षको डिप्लोमा कोर्स गर्छ भन्ने थाहा पाएँ । फिल्मप्रतिको अभिरुचि केही गहिरो थियो ।

एभरेस्टमा लक्ष्मीनाथ शर्मा, सुजित बिँडारी र निरञ्जनराज भेटवालका कक्षाबाट मैले फिल्मलाई फरक तरिकाले बुझ्न थालें । फिल्म ग्ल्यामरसभन्दा फरक रहेछ भन्ने कुरा त्यहाँ थाहा पाएँ । मेरो जीवन र फिल्मप्रतिको बुझाइ ती शिक्षकहरूबाट पाएँ । 

पहिलो प्रभावले जहिले पनि गहिरो छाप पारेर जान्छ । मेरो हकमा त्यस्तै भयो । एभरेस्ट सकिएलगत्तै फाइनल प्रोजेक्ट ‘जुन्को’ थियो । सुटिङ लगत्तै नवीन सुब्बाको ‘गाउँ आएको बाटो’मा हामीलाई पनि इन्टर्न राख्नु भनेर पुग्यौँ । त्यो प्रोजेक्टबाट धेरै कुरा सिकियो ।

‘जुन्को’ गर्दा म लोकेसन हेर्न तनहुँ गएको थिएँ । मेरो एकजना साथी तनहुँको थियो । सिनेमाका लागि चाहिने ठूला क्यामेरा, एक्टर, उपकरण, टेक्निसियन, योचाहिँ मैले फाइनल प्रोजेक्टमा गर्न पाइरहेको थिएँ । मेरो एक्टर सरिता गिरी हुनुहुन्थ्यो । कास्टिङ निर्देशक सिर्जना सुब्बा हुनुहुन्थ्यो । उहाँले सरिता दिदीलाई अप्रोच गर भन्नुभयो । 

म एक वर्ष सिनेमा पढेर आएको व्यक्ति । त्यसबाहेक वरिपरी जति मान्छे ल्याएको छु, सबै  मभन्दा  १५–२० वर्षदेखि फिल्म क्षेत्रमा काम गरिरहनुभएकाहरू । मलाई दबाब पनि थियो । अरुलाई निराश गर्नुहुन्न भन्नेमा सचेत थिएँ । त्यहीभएर ‘जुन्को’ राम्रो सिनेमा बन्यो ।  

मैले पहिलो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको यात्रा पनि ‘जुन्को’बाटै गरेँ । मैले निर्माता र निर्देशकको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने कुरा ‘जुन्को’ बाटै सिकें । ‘जुन्को’को निर्माता म आफैं थिएँ । पछि प्रेमप्रसाद अधिकारी जोडिनुभयो । 

आफूले भनेको कुरा त तयार भइसकेपछि दर्शकसम्म पुर्‍याउनुपर्छ । निर्देशकको काम त्यो हैन जस्तो लाग्छ । निर्देशकले आफ्नै लागि फिल्म बनाउने हो । तर बनिसकेपछि अरुका लागि कसरी बनाउने भन्ने कुरा निर्माताकै काम रहेछ । प्रेम दाइले सिनेमा लिएर फेस्टिभल लाँदा लामो ग्याप थियो । ७ महिनापछि ग्रिसको एउटा फेस्टिभललले वर्ल्ड प्रिमियर भनेर लियो । वर्ल्ड प्रिमियरको एक्साइटमेन्ट फरक नै थियो ।

०००

फेस्टिभलको मुख्य महत्व हाम्रो जस्तो फिल्मलाई बजारसँग जोड्नु हो । वर्ल्ड सिनेमासम्म पुग्नु सुखद पक्ष हो । त्यसमा पनि सर्ट फिल्म र फिचर फिल्मको केस दुईवटा हुन्छ । सर्ट फिल्ममा जतिसक्दो नेटवर्किङ बढाउने हो । सर्ट फिल्म लिएर जाँदा मेकरलाई सबैभन्दा महत्वपूर्ण काम मान्छे चिन्नु हो । 

फेस्टिभलहरूमा जाँदा निर्देशकरूसँग कम्तिमा दुई तीनवटा स्क्रिप्ट हुनुपर्दो रहेछ । हामी बर्लिन जाँदा थुप्रै मान्छे भेट्यौं । हामीले बनिसकेको फिल्म मात्र लिएर गयौं । त्योभन्दा अरु काम भएको भए जो जो मान्छेसँग भेट्यौं, स्पटमै गएर प्रोडक्टिभ काम गर्न सकिन्थ्यो होला । 

फिचर फिल्मको हकमा, ‘गाउँ आएको बाटो’ टोरन्टो गयो । त्यहाँ वर्ल्ड सिनेमाको एकदमै ठूलो बजार छ । हाम्रो जस्तो सिनेमाले फेस्टिभल नगई अप्रोच गरेको भए उनीहरूले हामीलाई त्यो स्पेस दिँदैन थिए । टोरेन्टो, बुसानमा हाम्रो सिनेमाका लागि ठूलै ढोका खुलेको कुरा जस्तो भयो । त्यही हिसाबले ‘गाउँ आएको बाटो’ हङकङमा रिलिज भयो । 

मेन स्ट्रिम सिनेमालाई पनि फेस्टिभल जानु गाह्रो कुरा हैन । ०२३ मा बुसान जाँदा करण जोहराको सिनेमा थियो त्यहाँ । उनीहरूले पनि बजार खोज्दै आएका हुन् । डायस्पोरा मार्केटभन्दा बाहिर पनि बजार छ भनेर खोज्दै आएका हुन् । मूलधारलाई पनि फेस्टिभलप्रति नकारात्मक धार लिनुपर्ने म देख्दिनँ । उनीहरूले आफ्नो क्वालिटी लुकाउन फेस्टिभललाई गाली गर्ने काममात्र भयो । 

०००

नेपाली फिल्मको लागि अन्तर्राष्ट्रिय बजारलाई दुई आयामबाट हेर्न सकिएला ।  एउटा फेस्टिभलसम्मको यात्रा जहाँ नेपाली फिल्म विदेशीले पनि हेरिरहेका छन् । त्यो हिसाबमा नेपाली सिनेमाले एकदमै राम्रो गरिरहेको छ । दुर्भाग्यको कुरा, नेपालमा सिनेमा सेन्ट्रलाइज्ड छ । सिनेमाभन्दा अरु आयाममा पनि त्यस्तै होलान् । 

नेपाली सिनेमाले अन्तर्राष्ट्रिय बजारमा स्पेस पाए भन्छन् । साम्बला, गाउँ आएको बाटो, रेड सुटकेसले भिजिबिलिटी पाएकै हो । त्यो पनि ठिक हो ।  नेपाली फिल्म अन्तर्राष्ट्रिय रपमा बाहिर जान थालेको ३० वर्ष भयो । यो लामो समय हैन । भिजिबिलिटीको हिसाबमा नेपाली फिल्मले अवसर पाइरहेको छ । फेस्टिभलमा जानु मात्र ठूलो कुरा हैन । फेस्टिभलले त बजारसँग कनेक्ट गराउनुपर्ने हो । फेस्टिभलपछिको बजारसँग हामी कति वटा कनेक्ट भयौँ त ? बजार सिर्जना गर्ने हिसाबले कस्तो छ त अवस्था ? बलिउड फिल्मको पनि अतर्राष्ट्रिय बजार त्यस्तै हो । बाहिर रिलिज हुँदा पनि इन्डियनले ने हेर्न आउने हो । हाम्रो त डायस्पोरा मार्केट पनि सानो छ ।

०००

फेस्टिभलमा जाने फिल्म मास अपिलिङ नहोला । फिल्मलाई पहिलेदेखि नै इन्टरटेनिङ माध्यम हो भन्ने न्यारेटिभ भयो । नेपालमा बलिउडको प्रभावले पनि दर्शक जुन सिनेमा हेरेर हुर्किँदै आए, त्यो सिनेमाको प्रभाव बोकेरै आइहेका छन् । अन्तर्राष्ट्रिय फेस्टिभलमा गएको फिल्म नेपालमा चल्दैन भन्ने बुझाइ ठीक पनि होला । सबै आर्ट फर्मले ‘कबड्डी’ र ‘जारी’जस्तो व्यापार गर्नुपर्छ भन्ने पनि छैन । आफ्नो दर्शक हुन्छन् । 

नेपालमा नवीन सुब्बाकै पनि उदाहरण हेरौं न । नुमाफुङ युट्युवमा आइसकेपछि जुन दर्शक पाउनुभयो, अगाडि हलमा रिलिज हुँदा त निकै फरक थियो । दर्शकले सिनेमा कहाँ हेर्‍यो भन्ने फरक कुरा हो । त्यो कुरा बक्स अफिस रेकर्डमै आउनुपर्छ भन्ने कुरा म मान्दिनँ ।

०००

नेपालमा दुईथरिका मेकर छन् । एकथरि अडियन्सको टेस्ट हेरेर बनाउँछन् । अर्को आफ्नो कथा भन्नुपर्छ भनेर बनाउँछन् । आफ्नो कथा भन्छु भनेर बनाउने मेकरलाई इन्डिपेन्डेन्ट फिल्म प्रोड्युसरको अभाव छ । अहिलेसम्म यहाँ पैसा हालिदिने नै प्रोड्युसर भन्ने भाष्य छ । तर पैसा हाल्नुभन्दा पनि धेरै काम छ । हालेको पैसा मास अपिलिङ नभएको सिनेमाबाट सुरक्षित कसरी गर्ने ? द्वन्द्वचाहिँ सबैमा निर्देशक नै हाबी भइदियो । जति पनि इन्डिपेन्डेन्ट फिल्ममेकर छन्, निर्देशक नै अगाडि बढ्नुपर्ने भयो । हामी भन्दा अगाडि जति पनि इन्डिेन्डेन्ट मेकर आए, उनीहरूले संरचना बनाइदिएनन् भनेर भार थप्नुपर्ने त होइन । र यता एउटा संयन्त्रचाहिँ बन्नुपर्छ । 

जस्तो कि नवीन सुब्बाले ‘गाउँ आएको बाटो’ बनाउँदा लगानी कम्युनिटी फन्डिङबाट जुटाए । राई कम्युनिटीको आफ्नो कुरा भन्दा उनीहरूले नै अपनत्व लिनुपर्छ । अरुले लिएर भएन । उनीहरूले जब अपनत्व लिन्छन्, फिल्ममको मार्केटिङ राम्रो हुन्छ । लगानी त्यहीँबाट सुरक्षित हुन्छ भन्ने बाटोमा जानुपर्‍यो । तर सबैले त्यही बाटो अपनाउनुपर्छ भन्ने हैन । अरु इन्डिपेन्डेन्ट फिल्ममेकरले के–के बाटो सुरक्षित गर्ने त ? बजारबाटै गर्नुपर्छ भन्ने छैन ।

नत्र त इन्डिपेन्डेन्ट फिल्ममेकरले फिल्म बनाउन लगानी के छ त ? विकास बोर्डले १० लाख दिन्छ । त्यो पनि फिल्म सुटिङ गरेर आइसकेपछि बिल बुझाइसकेपछि दिन्छ । त्यो पनि कर काटेर दिन्छ ।

हरेक फिल्ममेकरले पनि आफ्नो जिम्मेवारी बुझ्नुपर्छ । मासमा जाँदा प्रोड्युसर नै चाहिन्छ । मैले देखेको प्रोड्युसरको अभाव नै हो । बक्स अफिसबाट पैसा आएँदैन, मास अपिलिङ हैन भने कहाँबाट आएँछ ? त्यो आयामा खोज्नुपर्यो  । त्यसका लागि नयाँ संयन्त्र बनाउनुपर्छ ।

(मिन्सो लिम्बू पछिल्लो पुस्ताका  अल्टरनेटिभ फिल्मका निर्देशक तथा निर्माता हुन् । उनी निर्देशित सर्ट फिल्म ‘जुन्को’ र उनको निर्माण गरेको फिल्म ‘सङ्स अफ लभ एण्ड हेट’ले अन्तर्राष्ट्रिय फेस्टिभलमा आफ्नो बलियो उपस्थिति देखाएमा थिए । उनी फिल्म ‘साम्बला’का एसोसियट प्रोड्युसर पनि हुन् ।)

मिन्सो निर्देशक

Link copied successfully