रैथाने बाजा नभुलौं

नेपालमा जुन लोकसंगीत छ, संसारको कुनै पनि ठाउँमा छैन । ती देशका अरू नै विशेषता छन् । हाम्रो देशको त लोकसंगीत नै हो । हाम्रो देशमा विविधता छ । राई, लिम्बू, गुरुङ, मगर, तपाईंको समुदायले आफ्नो रैथाने बाजा नभुलुन् भन्ने हो ।

फाल्गुन ७, २०८१

रतन देवकोटा

Let's not forget Raithane Baja

कालीकोटमा हुर्केकाले सानैदेखि लोक संगीतप्रति विशेष लगाव थियो । आमा पनि गाउनु हुन्थ्यो । द्वन्द्वकाल नजिकैबाट नियाल्ने अवसर पाएँ । काठमाडौं पुगेर संगीत गर्छु भन्ने सपना थियो । पढाइ राम्रै थियो । त्यसैले डर थियो, पढाइ बिग्रिने गरी संगीतमा लागियो भने भोलि जागिर पाइँदैन कि ?

त्यसैले पढाइ पूरा गर्नुपर्छ भन्ने डर कायम रह्यो । परिवारले पनि त्यसरी नै हुर्काउनुभयो । काठमाडौं आएर पढाइमै केन्द्रित भएँ । स्नातकोत्तर सकेपछि मात्रै संगीतमा लागेको हुँ । 

कालीकोटमै जन्में, त्यसैले त्यहाँको देउडा र लोक संस्कृतिसँग बढी नजिक भएँ । आमा पनि देउडा नाच्नु हुन्थ्यो । त्यो हेर्दै हुर्किएँ । विद्यालयमा सबैले गाउन उस्काउनु हुन्थ्यो । १० कक्षा पुग्दासम्म धेरैले मलाई गायक नै बन्छ भन्नुहुन्थ्यो । तर, गायनलाई यो समाजले कसरी हेर्छ त्यो हामी सबैलाई थाहै छ । कलाको महत्त्व अहिले पनि हाम्रो समाजले राम्रोसँग बुझेको छैन । त्यसैले मलाई कुनै अर्कै क्षेत्रमा बलियो भएपछि मात्रै संगीतमा लाग्नुपर्छ भन्ने थियो । त्यसैले संगीतमा अलि ढिला आइपुगें । 

२०७० सालमा भक्तपुरको ख्वप कलेजमा गणित र सामाजशास्त्र पढें । त्यतिबेला भक्तपुरको जनसञ्चार एफएममा काम गर्ने मौका पाएँ । बोल्न मनपर्ने, त्यसैले रेडियोतिर बोल्न थालें । गणित पढ्ने भएकाले त्यही विषयमा ट्युसन पढाउँथे, बाँच्ने स्रोत त्यही बन्यो । त्यही क्रममा ‘सिरानी’ भन्ने गजल पुस्तक निकालें । म खासमा गजल लेख्ने व्यक्ति हुँ । स्नातक पढ्दै गर्दा भूकम्प आयो । अनि भूकम्पपछि ‘टिच फर नेपाल’ सँग आबद्ध भएँ । ‘टिच फर नेपाल’ ले अंग्रेजी, विज्ञान र गणितमा स्नातक गरेकालाई गाउँमा पठाउँछ ।

सन् २०१८ देखि २०१६ सम्म दक्षिण ललितपुरको सिम्ले भन्ने तामाङ बस्तीमा २ वर्ष पढाएँ । विद्यार्थीलाई सहजै गणित बुझाउन संगीतको प्रयोग पनि गर्थें । बालबालिकालाई गणित पढाउँदै गर्दा मैले लेख लेख्न थालें । शिलापत्रदेखि केही प्लेटफर्ममा मेरा लेख छापिए ।

त्यहाँ २ वर्ष बिताएपछि संगीत र मिडियातिर आकर्षित भएँ । सगरमाथा टेलिभिजनमा शिक्षाको कार्यक्रम चलाएँ, चित्तबुझ्दो काम गर्न सकिएन । एक वर्ष त्यहाँ काम गरेपछि दाङको तुलसीपुरमा गणितका शिक्षकलाई तालिम दिन गएँ । त्यो बीचमा मलाई लाग्यो, म त गलत ठाउँमा छु । लेख्नुपर्ने, गाउनुपर्ने मान्छे कहाँ पढाउँदै हिँडेको ? भन्ने कुराले मन पोल्न थाल्यो । भित्री मनले संगीतमार्फत अभाव, चुनौतीहरू भन्नुपर्छ भन्ने लाग्थ्यो । तर, फरक बाटोतिर हिँडिरहेको थिएँ । त्यसपछि संगीतमा काम गर्छु, तर एनजीओको जागिर खान्न भनेर प्रण गरें ।

मैले सुरुमा बजारमा ल्याएको गीत हो, ‘यो शिक्षा कस्तो हो ।’ आफ्नो पृष्ठभूमि शिक्षाकै भएका कारण गीतबाट शैक्षिक क्षेत्रमा भइरहेको बेथितिबारे संगीत गरियो । अहिलेको शिक्षा सर्टिफिकेटमुखी बन्यो, सीपमुखी बन्न सकेन भन्ने कुराको वकालत गरियो । हामीले माओ पढ्यौं, गान्धी पढ्यौं तर त्यस किसिमको शिक्षाले जीवनमा तात्त्विक भिन्नता दिँदैन । अहिलेको यो शिक्षा आवश्यक होइन, शिक्षा त जीवनसँग जोडिनुपर्छ । हाम्रो पृष्ठभूमि भुलाउने शिक्षा चाहिएको छैन, आफ्नो जरा चिनाउने शिक्षा चाहिएको छ ।

त्यसपछि ‘होमवर्क’ शीर्षकको गीत निकालें । त्यसपछि ‘ओइ सुवा’, ‘रुपस्या जोवन’, ‘चम्किदे चाँद’, ‘देश छोड्नेको लर्को’, ‘हिरुलाल’ हुँदै अहिले ‘जदौ हजुर’ सम्म आइपुगें । ‘हिरुलाल’ मेरो आमाको कथा हो । आमाले देखेको संसार, परदेशिनेको कथा अनि कर्णालीमा इन्टरनेटको प्रभावबारे देखाइएको छ । सामाजिक चित्र, प्रेमको कथा भन्न सकियोस् भनेर त्यो गीत खिच्न कर्णाली पुग्यौं । देश छोड्ने लर्कोमा युवाको निराशा देखायौं । जदौ हजुरमा कर्णालीको कथा भन्न चाहन्थें । त्यहाँको युवा र अहिलेको पुस्ताको पीडा त्यही गीतमार्फत पोखिएको छ । जदौ हजुरको अर्थ, आदरसहित आफ्ना कुराहरू राख्नु र विनम्र भएर सुनाउनु हो । कर्णालीको बाटो, महिला, औषधि र पलायनका विषयलाई राज्यका निकायमा भएकाले सुनोस् भनेर जदौ हजुरमार्फत कोसिस गर्‍यौं । 

आधुनिकताबाट हामी अपहेलित छौं । अहिलेको पुस्ता आधुनिक त बन्न खोज्छन्, तर उनीहरूले आफ्ना ‘रुट’ बिर्सेका छन् । मलाई हिजोका दिनमा सुगम संगीत निकै मनपर्थ्यो । अहिले मेरो रोजाइ बदलिएको छ । तपाईं त्यतिबेला मात्र संसारको अगाडि फरक बन्नुहुन्छ, जुन चिज तपाईंसँग छ, उनीहरुसँग हुँदैन । अरूले गरिरहेकै विषयवस्तु तपाईंले गर्नुहुन्छ भने त्यसमा नयाँ केही हुन्न । फर्केर हेरें, मेरो त्यो चिज के हो त जसले मलाई अरूभन्दा फरक बनाउँछ ? त्यो हो देउडा ।

कर्णालीको लोक संगीत, त्यहाँको सांस्कृतिक पहिरन, त्यहाँको लय हो मेरो आफ्नो भन्ने । होला मेरो हजुरबुवाले गाउने लयमै त गाउन नसकुँला । तर, मैले तिनै भाव, तिनै शब्दहरू आफ्नो तरिकाले व्यक्त गर्न सक्छु भन्ने बुझाइ भयो । म त्यस्तो ठाउँको हुँ, जुन अरू कुनै पनि संसारमा छैन । नेपालको अरू कुनै पनि ठाउँमा छैन । त्यो ठाउँको कथा, त्यो गहिराइमा पुगेर संगीतमार्फत कर्णाली व्यक्त गरिरहेको छु । 

मेरा कैयौं साथीसंगी भारतको हिमाचल अनि भारतका गल्लीहरूमा काम गरिरहेका छन् । मैले तुलनात्मक रूपमा शिक्षा/अवसर पाएँ । सचेत हुन पाएँ । अलिकति चुनौती मोल्न पाएँ । आफ्नो ठाउँको कथा मैले संसारलाई किन नभन्ने ? भन्ने दायित्वबोधको हिसाबले संगीतमा लागेको हुँ । पहिलो कुरा मलाई कर्णालीको कथा भन्नु नै छ । हो, यसअघि पनि कर्णालीको कथा अरूले पनि भने होलान् । संगीतमार्फत केही सिर्जना, केही कला मिसाउँदै आम मानिसमा सुनिने/बुझिने ढंगले आउनुपर्छ भनेरै लागेको हुँ ।

त्यहाँको हुड्केलाई अघिल्लो गीतमा मिसाएँ । जदौ हजुरमा त पूरा हुड्के नै छ । जसरी गण्डकीमा गन्धर्वहरूले आफ्ना हारका कथाहरू, सुखका कुराहरू सारङ्गी रेटेर सुनाए, त्यसैगरी कर्णालीका घर–घरमा हुड्के कथा भन्नेहरू हुन् । वीरताको गाथा अभावको कथा भन्नेहरू । संगीतको माध्यमबाट प्रश्न गर्नेहरू हुन् उनीहरू । कसैको घरमा बिहे, व्रतबन्ध भयो भने रमाइलो शैलीमा कथा भन्ने गर्छन् । हुड्के आफैंमा कथावाचक हो । हुड्केको माध्यमबाट कथा भन्न सकियो भने त्यो कुरा धेरै दर्शकबीच पुग्न सक्छ भन्ने हो । त्यसैले मैले निरन्तर आफ्नो संगीतमा हुड्के प्रयोग गर्दै आइरहेको छु । 

कर्णालीमा हुड्को बजाउने मान्छे भेटिन गाह्रो छ । पहिलो त बाजा नै भेटिँदैन, त्यसलाई बजाउनेहरू पनि भेटिँदैनन् । हुड्को कसले बजाउँथ्यो दलितहरूले । जो यो समाजका वैज्ञानिकहरू हुन् । उनीहरूका उम्दा कला, संगीत र हुड्को बजाउने कलाले बजार पाएन । पहुँचमा उनीहरू परेनन्, ओझेलिँदै गए । त्यो कलाले उनीहरूको पेट भरेन । नयाँ पुस्ता त्यो हुड्को बजाउन चाहँदैन । कर्णालीमा सनाह, दमाह बजाउनेहरूको अभाव छ । हाम्रा यस्ता स्थानीय बाजालाई विद्यालयस्तरबाटै पढाइन थाल्नुपर्छ ।

पाठ्यक्रममा हामीले यी बाजाहरू राखेनौं भने नयाँ पुस्ताले यी सांस्कृतिक बाजाहरू भुल्दै जानेछन् । तामाङ समुदायको डम्फुलाई संग्रहालयमा हेर्न जाने होइन, विद्यालयबाटै विद्यार्थीलाई यो बाजाको इतिहास, अभ्यास र योसँग जोडिएको दर्शनबारे पढाइनुपर्छ । विद्यालय हुँदै हाम्रा बालबालिकाले यस्ता रैथाने बाजाहरूलाई छोउन्, सिकुन् भन्ने पक्षमा राज्यले ध्यान दिनुपर्छ । दोस्रो कुरा, जसले ती बाजा बजाउँछन् र बनाउँछन्, उनीहरूको सीपको सम्मान हुनुपर्छ । त्यो क्षेत्रमा उनीहरूको योगदानको कदर हुनुपर्छ, त्यस्ता प्रतिभाहरूलाई आर्थिक हिसाबले बलियो हुने माध्यमहरू राज्यले नै पहिल्याइदिनुपर्छ । उसले नयाँ पुस्तामा त्यो सीप हस्तान्तरण गर्छ होला । 

अहिले त बजारमा ‘अल्गोरिदम’ ले काम गर्छ । बजारमा सुन्न लायकका गीत छैनन् भन्न सकिन्न । तर, ती गीतहरूको आयु सामान्य छ । दुई सातापछि नै ती गीतहरूको स्वाद हराउँछ, बिर्सिइन्छ । संगीत कत्तिको सशक्त छ ? सांस्कृतिक रूपले हामी कति गम्भीर छौं ? भन्ने बुझ्न हामीले सुनिरहेका संगीततर्फ ध्यान दिएमात्र पुग्छ । तपाईं कस्तो संगीत सुन्नुहुन्छ भन्ने कुराले तपाईंको व्यक्तित्व झल्कन्छ ।

सर्जकका हिसाबले तपाईं कस्तो सिर्जना बजारमा प्रस्तुत गर्दै हुनुहुन्छ भन्ने कुराले कस्तो पुस्ता बनाइरहनुभएको छ भन्ने अर्थ राख्छ । ती कक्षा ६, ७ र ८ मा पढ्दै गरेका बालबालिकाले संगीत सुनिसकेपछि उसको दिमागमा महिलाको चित्र कस्तो बन्छ ? उसले जातिलाई कसरी हेर्छ ? आफ्नो गरिबीलाई कसरी बुझ्छ ? जीवनको भोगाइ नभएका ती बालबालिकाको दिमागमा हामी सर्जकले के भरिरहेका छौं त ? छिटो चर्चा कमाउनु छ सबैलाई । भाइरल संगीतकै पछि दौडिरहका छौं । भाइरल हुने चक्करमा उनीहरूले संगीतको मर्म मारिरहेका छन् जस्तो लाग्छ । तर, म विज्ञ भएर यसो भनेको होइन । 

तर, तपाईं एक पटक सोच्नुस् त ? तपाईं साँच्चिकै कलाको काम गर्दै हुनुहुन्छ कि हल्लाको पछि लाग्दै हुनुहुन्छ । तपाईं कला क्षेत्रमा गम्भीर भएर काम गर्दै हुनुहुन्छ भने १० वर्षपछि पनि तपाईंको कामको अर्थ हुन्छ । तपाईंको मिलियन भ्युज त्यतिबेला गन्तीमा आउँदैन । तर, तपाईंको संगीत त फर्केर १० वर्षपछि हेर्दा पनि गर्व गर्न लायक होस् । वर्षौं वर्षपछि पनि ती संगीतको वजन होस् । होला कतिले बाँच्नका लागि भाइरल संगीतको पछाडि लाग्छन् होला । तर, हामी अलिकति सचेत भइदिनुपर्छ कि ? मलाई पनि मेरा अहिलेका गीतहरू चलोस्, नचलोस् भन्नेतर्फ ध्यान हुन्न ।

मलाई थाहा छ, म यहाँ दीर्घकालीन काम गर्ने उद्देश्यले आएको हुँ । जदौ हजुर नवौं गीत हो । हेर्दाहेर्दै यति धेरै संगीत गरिसकेछु । आफ्नो समुदायको बोल्न नसकेका, भन्न नसकेका पीडा र कथाहरू अत्यधिक दर्शकसामु संगीतमार्फत पुर्‍याउँ भन्ने नै मेरो उद्देश्य हो । कानले मात्रै सुन्ने, मनले नसुन्ने गीत बनाइरहेका छन् कतिले । सर्जकका हिसाबले तपाईं जिम्मेवार हुनुपर्छ । कलाले त समाजलाई दिशानिर्देश गर्छ । त्यो पक्षमा हामी कति गम्भीर छौं/छैनौं भन्ने हो । हो, अहिले आधुनिक र रैथाने स्वादका संगीतबीच फ्युजन भइरहेको छ, त्यो गजबकै अभ्यास हो । त्यत्ति हो, संसार पनि हेरौं तर आफ्नो कुरा नछाडौं ।  

संगीत भनेको सिर्जना हो । त्यसमा सधैं सम्भावना रहन्छ । त्यो सम्भावना रहन तपाईंको पहिचान के हो भन्ने बुझ्नुपर्छ । कर्णाली आफैंमा खस सभ्यता हो । कर्णालीको आफ्नै संगीत छ, संस्कृति छ । त्यो यति भरिपूर्ण छ कि विश्वलाई भन्नुपर्नेछ । त्यो भन्ने कसले ? तपाईं हामीजस्ता युवा, जो लेख्नुहुन्छ, बोल्नुहुन्छ । म त्यही क्षेत्रको भएको हुनाले मलाई कर्णालीकै बाजा, कला र सामाजिक कथावस्तु भन्न चाहन्छु । भलै, अहिले ती कथाहरू भाइरल नहोलान्, भ्युज मिलियन पुगुन् या नपुगुन् । निरन्तर अगाडि बढिरहनुभयो भने नतिजा साँच्चै राम्रो हुनेछ । त्यसैले म जसरी यो क्षेत्रमा लागेका युवालाई भन्न चाहन्छु, हामी थाक्न हुँदैन ।

गीत चलेन भनेर थाक्न हुँदैन । गीत नचल्न पनि सक्छ । तपाईंले संगीत चर्चा कमाउनकै लागि गर्ने होइन । संगीत निर्माण गरिरहँदा त्यसमा रमाउन सिक्नुपर्‍यो । जब त्यो कलाले तपाईंलाई आनन्द दिन्छ, त्यसपछि त्यसले अरूलाई पनि आनन्द दिन्छ । अरूका लागि संगीत निर्माण गर्नुभयो भने त्यसमा त सन्तुष्टि हुँदैन । लोक संगीतमा प्रचुर सम्भावना छ । नेपालमा जुन लोकसंगीत छ, संसारको कुनै पनि ठाउँमा छैन । ती देशका अरू नै विशेषता छन् । हाम्रो देशको त लोकसंगीत नै हो ।

हाम्रो देशमा विविधता छ । राई, लिम्बू, गुरुङ, मगर, तपाईंको आफ्नो समुदायले आफ्नो रैथाने बाजा नभुलुन् भन्ने हो । विदेशी मानिस आएर हाम्रो डम्फुमा पीएचडी गर्ने अनि हामीलाई उसले त्यसको ज्ञान सिकाउने ? हामी त डम्फु बजाउँदै हुर्केका हौं, त्यसकै तालमा जन्मेका हौं नि । हाम्रा बाजा सिकाउन कोही अन्तर्राष्ट्रिय विज्ञ बनाउने होइन, यहीं विज्ञ जन्माउनुपर्‍यो । हुड्को सिकाउन अब विदेशी मान्छे ल्याउने होइन । हुड्को त हाम्रो जिनमै छ । त्यसैले संगीतमा धेरै काम गर्न बाँकी छ नेपालमा ।

धेरै काम नभएकाले नै होला, संगीतमा धेरै सम्भावना देख्छु । गीत चर्चित भयो/भएन भन्ने दोस्रो कुरा हो । मनैदेखि तपाईं निरन्तर काम गरिरहनुभएको छ कि छैन । तपाईंको नियत ठीक छ कि छैन ? त्यसैले निराश हुनेभन्दा पनि धेरै आशा र सम्भावना देख्छु । त्यसका लागि हाम्रो संगीत संसारले बुझ्ने तरिकाले भन्नुपर्छ जस्तो लाग्छ । 

रतन देवकोटा गायक तथा गीतकार

Link copied successfully