कामले पहिचान बनेपछि सजिलो 

यो क्षेत्रमा एक मात्र काम गरेर पनि बच्न सक्ने अवस्था छैन । त्यसैले रुचिका दुवै विषय सँगै गरेको छु ।  लेखन र चलचित्र निर्देशनको औपचारिक शिक्षापछि मलाई थप सजिलो भएको छ ।

फाल्गुन ७, २०८१

सुमन गजमेर

It's easy when you become recognized by work

कथा सुनाउनु र लेख्न मन लागिरहन्थ्यो । बाल्यकालदेखि नै म कथाहरू लेख्न, सुनाउन र पढ्न रमाउँथें । म आफ्नै कथाहरू लेखेर होस् वा भिडियो बनाएर साथीहरूलाई सुनाउने र देखाउने गर्थें । चितवनमा जन्मिएको मैले यहाँ नै एउटा लघु चलचित्रमा बुझ्ने गरेर काम गर्ने अवसर पाएँ ।

कक्षा १२ सकिएर फुर्सदमा बसेको मैले ओस्कार इन्टरनेसनल कलेजबाट कलेज प्रोजेक्टका लागि आएका विद्यार्थीहरूसँग भेट्ने मौका पाएँ । उहाँहरूले नै मलाई पहिलो पटक सहायक निर्देशक भएर ‘सोफोमो’ मा काम गर्ने अवसर दिनुभयो । त्यसपछि मलाई फिल्मतर्फ थप रुचि बढ्न थाल्यो । 

प्लास २ को रिजल्टपछि फिल्म पढ्नलाई ओस्कार इन्टरनेसनल कलेजमा पुगें । मलाई त्यो बेला नै अनुभव भएको थियो काठमाडौँ फिल्मको विश्वविद्यालय हो । यहाँ धेरै अवसरहरू छन् ।  कलेज पढ्दै गर्दा कठपुतली, बाबरीमा सहायक निर्देशक भएर काम गरें । ब्याचलरपछि महापुरुषमा पनि सहायक निर्देशकको भूमिका निर्वाह गरें । अहिले मैले लेखेको चलचित्र ‘रंगी’ देशभरिका हलहरूमा चलिरहेको छ । यो फिल्ममा मेरो आफ्नै कथा, पटकथा र संवाद रहेको छ । मुख्य सहायक निर्देशकका रूपमा यो चलचित्रबाट मैले काम गरें । 

यसअघि बत्तीको पुतली लघु चलचित्रले बेलायत र भारतका विभिन्न सहरमा सम्पन्न विश्व फिल्म फेस्टिभलमा सहभागिता जनाएको थियो । प्रदर्शनको क्रममा रहेको नेपाली चलचित्र बलिदानमा समेत सहायक निर्देशकका रूपमा काम गरेको छु । औपचारिक शिक्षा वा प्रशिक्षणबिना नै यो क्षेत्रमा मैले सुरुवात गरें । आफ्नै समुदाय र क्षेत्रमा आँखाले देखेको अनि कानले सुनेका कुराहरूलाई कथामा ढाल्ने प्रयास गरें । पछि, जब मैले लेखनलाई गम्भीरतापूर्वक लिन थालें, मैले यसलाई अझ व्यवस्थित ढंगमा सिक्ने निर्णय गरें । मलाई आफूले लेखेको स्क्रिप्टमा आफैँले निर्देशन गर्न सकियो भने बुझाउन सजिलो हुन्छ भन्ने लाग्छ । 

यो क्षेत्रमा एक मात्र काम गरेर पनि बाँच्न सक्ने अवस्था छैन । त्यसैले रुचिका दुवै विषय सँगै गरेको छु ।  लेखन र चलचित्र निर्देशनको औपचारिक शिक्षापछि मलाई थप सजिलो भएको छ । यसले मलाई आफ्नो कला र सीपलाई निखार्न मद्दत गरिरहेको छ । यो क्षेत्रमा आउनु मेरा लागि केवल करियरको चयन मात्र होइन, समाजका कथा र  भावनाहरूलाई अभिव्यक्त गर्ने मेरो लक्ष्य हो ।  

नेपाली चलचित्र उद्योगमा अहिले पनि मौलिकता र गुणस्तरको कमी भएको आरोप लाग्छ । धेरै चलचित्रहरू बाहिरी चलचित्रहरूको नक्कल गरेर बनाइन्छन् । नेपालमा नै लेखिएका कथामा पनि सबै क्षेत्र र समुदाय समेट्न खोजिन्छ । चलचित्र त एक विषय केन्द्रित हुँदा राम्रो हुने हुन्छ ।

लगानीकर्ताहरू सबै क्षेत्र समेट्न पाएँ सबैले चलचित्रमा आफ्नो फिल गर्थे र हलसम्म आउँथे भन्ने सोचबाट प्रेरित छन् । जुन गलत हो भन्ने मलाई लाग्छ ।  स्क्रिप्टमा धेरै मिहिनेत गर्नुको सट्टा अन्य कुरालाई प्राथमिकतामा राख्दा नेपाली चलचित्रहरूको आफ्नो पहिचान कम भएको तितो सत्य हो । यो क्षेत्र ग्ल्यामरस र आकर्षक देखिँदा धेरै युवाहरू आकर्षित हुनु स्वाभाविक हो । यहाँको रंगीन दुनियाँमा मोहित भएर आफ्नो स्किल र योग्यतामा कम ध्यान पनि हुन सक्छ ।  मलाई लाग्छ कि यो क्षेत्रमा टिक्न र सफल हुन आफ्नो स्किलमा ध्यान दिनु जरुरी छ ।  

राज्यले पनि यो क्षेत्रलाई सहयोग गर्नुपर्छ । नेपाली चलचित्र उद्योगलाई अझ मजबुत बनाउन सरकारले नीतिगत सहयोग गर्नुपर्छ । नेपाली चलचित्रले अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउन सक्छ । सुरुमा आफ्नो क्षमता र योग्यता प्रमाणित नगरेसम्म यो क्षेत्रमा धेरै गाह्रो हुन्छ । तर एकचोटि आफ्नो कामले पहिचान बनाउन सकेपछि चिजहरू सजिलो हुन्छन् । यहाँ काम पाउनु नै एउटा ठूलो चुनौती हो । 

अहिलेको समयमा, प्रविधि र वर्ल्ड सिनेमाको एक्सपोजरले गर्दा फिल्म बनाउने प्रक्रिया र दर्शकहरूको अपेक्षामा एक नयाँ स्तरको चुनौती आएको छ । दर्शकहरूले विश्वभरका सिनेमाको स्वाद चाखेका कारण, उनीहरूको अपेक्षाहरू पनि फरक भएका छन् । त्यसैले, फिल्म बनाउने बेला कथाहरू र इमोसनको गहिराइमा केही कमी देखिन्छ । यदि नेपालको फिल्म उद्योगको गुणस्तरलाई बढाउनु छ भने, हामीले आफ्नो कथा र संस्कृति आधारित फिल्महरू बनाएर दर्शकहरूसँग इमोसनल कनेक्सन बनाउनुपर्छ ।

नेपालमा बिग–बजेट फिल्महरूको कमी छ, त्यसैले फिल्महरूले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने बेला अलि कठिनाइ पर्छ । तर, तपाईंको काम नेपालका फिल्म फेस्टिभलहरूमा मात्र सीमित नभई, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमार्फत पनि  देखाउन सकिन्छ । यस्ता प्लेटफर्महरूले हाम्रो कथा, संस्कृति र क्रिएटिबिटीको प्रचार गर्ने मौका दिन्छ । त्यसैले, यहाँका फिल्ममेकरहरूले आफ्नो फिल्महरूको गुणस्तर र प्रस्तुतिको महत्त्व बुझ्नुपर्छ र अन्तर्राष्ट्रियस्तरमा आफ्नो कामको प्रचार गर्नुपर्छ । फिल्म फेस्टिभलहरूले यहाँका फिल्ममेकरहरूलाई नयाँ देशहरूमा आफ्नो काम देखाउने र विश्वभरका दर्शकहरूसँग जडान गर्ने मौका दिन्छ । यस्ता प्लेटफर्मले आफ्नो कथालाई विश्वभरबाट मान्यता प्रदान गर्ने गर्छ, जुन नेपालको फिल्म उद्योगको विस्तारका लागि धेरै महत्त्वपूर्ण छ ।

नेपाली चलचित्र क्षेत्रलाई एउटा उद्योगका रूपमा स्थापित हुनु आवश्यक छ भन्ने मेरो धारणा हो । चलचित्र निर्माण, वितरण, प्रदर्शन र दर्शकसमेत सबैको सहकार्य र सहयोगले मात्र यो क्षेत्र उन्नत हुन सक्छ । अहिले नेपालमा धेरै चलचित्रहरू स्क्रिप्टको कमजोरीले असफल हुँदै आएका छन् । स्क्रिप्टलाई प्राथमिकता नदिईकन निर्माताहरूले अन्य पक्षमा ध्यानकेन्द्रित गरेको देखिन्छ । यदि कुनै लेखकले आफ्नो मिहिनेत र समय दिएर राम्रो स्क्रिप्ट लेख्छ भने, उसलाई उचित पारिश्रमिक र समय दिइयो भने, निश्चित रूपमा राम्रो स्क्रिप्ट आउनेछ । स्क्रिप्ट चलचित्रको आधार हो । यसलाई बेवास्ता गर्नु भनेको भवनको निर्माणबिना नै छत राख्नु जस्तै हो । निर्माता, निर्देशक, लेखक, कलाकार र दर्शक सबैको सहकार्यले मात्र नेपाली चलचित्र क्षेत्र उचाइमा पुग्न सक्छ । 

कमजोर स्क्रिप्ट भएको चलचित्रले दर्शकलाई आकर्षित गर्न सक्दैन । कथा अव्यवस्थित हुन्छ, संवादहरू अप्राकृतिक लाग्छन् र पात्रहरूको विकास हुँदैन । यसले गर्दा दर्शकहरू चलचित्रसँग जोडिएर महसुस गर्न सक्दैनन् । जसले गर्दा चलचित्र बक्स अफिसमा असफल हुन सक्छ । खराब स्क्रिप्ट भएको चलचित्रले नेपाली चलचित्र उद्योगको प्रतिष्ठामा पनि असर पार्छ । यसले गर्दा अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रहरूको मूल्यांकन न्यून हुन सक्छ र नेपाली चलचित्र उद्योगले विश्व बजारमा आफ्नो स्थान बनाउन गाह्रो हुन सक्छ । त्यसैले, नेपाली चलचित्र उद्योगले स्क्रिप्टको महत्त्वलाई बुझेर उच्च गुणस्तरको स्क्रिप्ट निर्माणमा ध्यानकेन्द्रित गर्नुपर्छ । 

सीप र प्रतिभा मात्र नभई अनुभव पनि उत्तिकै महत्त्वपूर्ण छ । सिकाइ र अनुभवको संयोजनले मात्र कुनै पनि व्यक्तिले आफ्नो क्षेत्रमा उत्कृष्टता हासिल गर्न सक्छ । यसैले मैले आफ्नो सीपमा धेरै मिहिनेत गर्ने र अनुभव संकलन गर्ने प्रयास गर्छु । मेरो लक्ष्य आफ्नो क्षेत्रमा एकदम निपुण हुनु हो । यसका लागि म आफैंलाई निरन्तर चुनौती दिन्छु र नयाँ नयाँ कुरा सिक्न खोज्छु ।

सुमन गजमेर लेखक

Link copied successfully