पूर्वाधार अघिअघि, पर्यटक पछिपछि

क्रिस्चियनहरूका लागि ‘भ्याटिकन’, इस्लामका लागि ‘मक्का’ र हिन्दुका लागि चारधाम मुख्य मानिन्छन्, बौद्ध धर्मावलम्बीका लागि लुम्बिनीलाई त्यस्तै धाम बनाउन सकिन्छ

फाल्गुन ७, २०८१

अक्षय गोल्यान

Infrastructure first, tourists behind

पर्यटन प्रवर्द्धनमार्फत प्रचुर लाभ लिने सम्भावना बोकेको मुलुकका रूपमा नेपाललाई चिनिन्छ । पछिल्लो समय नेपालमा पर्यटन पूर्वाधार थपिने क्रम बढिरहेको छ । पूर्वाधार थपिँदा मुलुकको पर्यटनमार्फत आर्थिक समृद्धिको सम्भावना बलियो हुन्छ । 

कोभिड महामारीपछि नेपालमा पर्यटक घटे । नेपाल भित्रने जोकोहीमा कोभिड संक्रमण भए–नभएको पत्ता लगाउन सरकारले पीसीआर परीक्षण अनिवार्य गरेको थियो । त्यसैले पनि कोभिडका बेला कम पर्यटक नेपाल भित्रिए । 

सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल भित्रिएका थिए । उक्त तथ्यांकले पर्यटकको आगमन सन् २०१९ तिर नै फर्केको देखाएको छ । सन् २०२५ मा पर्यटकको आगमन गत वर्षको तुलनामा १२ प्रतिशतसम्म वृद्धि हुने अनुमान छ । 

पर्यटकको आगमन संख्या अन्तर्राष्ट्रिय विमानस्थलमै भर पर्छ । निर्माण तथा स्तरोन्नतिका लागि भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कहिले १२ घण्टा त कहिले १० घण्टा बन्द भइरहेको छ । विमानस्थल पूर्ण रूपमा सञ्चालन नहुँदा पर्यटक आवागमन प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा वा २० घण्टा खुला हुँदा जहाजको उडान र पर्यटकको संख्या बढी हुन्छ । छिटफुट उडान भए पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा आउन सकेका छैनन् । 

नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन हवाई र सडक पूर्वाधारको अभाव छ । पूर्वाधार पर्याप्त नहुँदा पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना भए पनि नेपालले अपेक्षित लाभ लिन सकेको छैन । नेपालमा मुख्य समस्या हवाई र सडक पूर्वाधारकै हो । हवाई पूर्वाधार निर्माण भए पनि सञ्चालनमा आउन सकेका छैनन् । सडक पूर्वाधारको अवस्था उस्तै छ । निर्माणाधीन सडक अस्तव्यस्त छन् । निर्माण अवधि लम्बिँदै जाँदा घुम्न आएका पर्यटकले विभिन्न सास्ती भोग्नुपरिरहेको छ । 

नेपाल आउने पर्यटक काठमाडौंमै अवतरण गर्न बाध्य छन् । पोखरा, सगरमाथा, अन्नपूर्ण, जोमसोमलगायत क्षेत्रमा हेलिकोप्टरमार्फत जान महँगो हुन्छ । तर सडक पूर्वाधार पनि राम्रो छैन । पछिल्लो समय हवाई यातायातमा समेत ‘फ्लाइट सेफ्टी’ राम्रो छैन । पर्यटक डराइरहेका छन् । हवाई र सडक पूर्वाधार राम्रो हुने हो भने पर्यटकको आगमन बढ्ने र पर्यटन क्षेत्र राम्रो हुनेछ ।

पर्यटन क्षेत्रलाई आक्रामक रूपमा बढाउन हवाई तथा सडक पूर्वाधार निर्माण तथा स्तरोन्नतिमा सरकारले जोड दिनुपर्छ । विमानस्थल र त्यसका सेवालाई अझै चुस्त बनाउन जरुरी छ । पहिला हेरेर अहिले ‘ब्यागेज क्लेम’ मा सुधार गरेको छ । त्यसरी नै ‘इमिग्रेसन’ मा हुने लामो लाइनलाई व्यवस्थित बनाउनुपर्नेछ ।

घुम्न आएका पर्यटकले आफ्नो देश फर्केपछि नेपालमा घुमेका ठाउँ तथा देखेका कुरा सुनाउँछन् । त्यसपछि उनीहरूका समूह घुम्न आउन लालायित हुन्छन्, आउँछन् । विदेशी पर्यटकको आवागमन बढाउन सकिन्छ । तर नेपालबारे सुनाउन केही भेट्दैनन् । र, विमानस्थलदेखि नै भोगेका सास्ती सुनाउँछन् । नेपाल आउने मनस्थिति बनाएकाहरू पनि जाने कि नजाने सोच्न बाध्य हुन्छन् । त्यसकारण हामीले पूर्वाधारमा विशेष जोड दिनुपर्नेछ । 

काठमाडौं उपत्यकामा अहिले अन्तर्राष्ट्रिय ब्रान्डका होटल आइसकेका छन् । चितवनमा वन्यजन्तु पर्यटन (वाइल्ड लाइफ टुरिजम) का लागि ४/५ वटा होटल छन् । बर्दियालगायत राष्ट्रिय निकुञ्जभित्र भने होटल बन्न सकेका छैनन् । पर्यटनभित्र ‘वाइल्ड लाइफ टुरिजम’ अर्को अवसर हो । वन्यजन्तुको संख्या राम्रो भएकाले अफ्रिकामा पर्यटन प्रवाह राम्रो छ । पर्यटनका लागि बाघको संख्या भारत र नेपालमा धेरै छ ।

यसलाई अझै बढाउन सकिन्छ । भारतको कर्बेट बाघ आरक्ष र रणथम्बोर राष्ट्रिय निकुञ्जभित्र धेरै विलासी होटल तथा क्याम्प सञ्चालनमा छन् । अमेरिका, युरोपदेखि चिनियाँ मुलुकका पर्यटकको आगमन बढ्दो छ । तर नेपालमा शून्य छ । वन्यजन्तु पर्यटनबारे हामी सबैले सोच्नुपर्नेछ । यसमा हामीले योजना बनाएर काम गरिरहेका छौं । 

नेपाल धार्मिक पर्यटनका लागि प्रचुर सम्भावना बोकेको मुलुक हो । धार्मिक विविधता र संस्कृति प्रवर्द्धनमार्फत पर्यटकको आवागमन बढाउने अवसर प्रशस्त छन् । अहिले भारतमा भइरहेको कुम्भमेलाले विश्वकै रेकर्ड तोडेको छ ।

हामीसँग भगवान् शिवको आराधनाका लागि पशुपतिनाथ छ । पशुपतिनाथ मन्दिर प्राचीन धार्मिकस्थल भएकाले पूजास्थल, मठमन्दिर र मूर्ति तथा अभिलेखको खुला संग्रहालय हो । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, सौर, गाणपत, नाथ, सिखलगायत प्रमुख सम्प्रदायका भक्तजनका लागि आस्था एवं श्रद्धाको केन्द्र हो । जहाँ गए पनि पशुपतिनाथको दर्शन नगरेसम्म चारधाम पूरा हुँदैन । त्यसकारण पनि हामीले यस क्षेत्रको थप प्रचार र प्रवर्द्धन गरी विभिन्न मेला–महोत्सव आयोजना गरेर विदेशी पर्यटक भित्र्याउन सकिन्छ । 

भारतको महाकुम्भ मेलामा विश्व समुदायको नजर परिरहेको छ । त्यसरी नै पशुपति क्षेत्रलाई चलायमान बनाउन सक्नुपर्छ । शान्तिका नायक गौतम बुद्ध जन्मेको ठाउँ लुम्बिनीमा समेत पर्यटकीय आकर्षण बढाउन सकिन्छ । यहाँ हिन्दु र बौद्ध धर्मावलम्बीको आकर्षण बढाउने गरी काम गर्न सकिन्छ ।

बौद्ध शिक्षा र धर्मको महत्त्वलाई फैलाएर लुम्बिनी क्षेत्रको प्रवर्द्धन गर्न सके विभिन्न मुलुकका हिन्दु तथा बौद्ध धर्मावलम्बी नेपाल भित्रिनेछन् । भुटान र तिब्बतका नागरिक बौद्ध धर्मबारे अध्ययन गर्न लुम्बिनी आइरहेका छन् । धार्मिक पर्यटनका माध्यमबाट मुलुकले ठूलो लाभ लिन सक्नेछ । माता सीताको जन्मभूमिका रूपमा विश्वप्रसिद्ध जनकपुरधाम नेपालमै छ । भारतमा अयोध्याधाममार्फत धार्मिक पर्यटनको विकास गरिए जसरी जनकपुरधामको प्रचारप्रसार र प्रवर्द्धनमार्फत पर्यटक भित्र्याउन सकिनेछ ।

पछिल्लो समय भारतको अयोध्याधाममा धार्मिक पर्यटनको आकर्षण बढिरहेको छ । जनकपुरधाममा समेत धार्मिक पर्यटनको चहलपहल बढाउन ध्यान दिनुपर्छ । यी धार्मिकस्थललाई दृष्टिगत गरेर समयमै होटल तथा अन्य पूर्वाधारको विकास गर्न जरुरी छ । 

क्रिस्चियनहरूका लागि ‘भ्याटिकन’, इस्लामका लागि ‘मक्का’ र हिन्दुका लागि चारधाम मुख्य मानिन्छन् । बौद्ध धर्मावलम्बीका लागि लुम्बिनीलाई त्यस्तै धाम बनाउन सकिन्छ । त्यसका लागि हामीले लुम्बिनीमा ‘ह्यात रिजेन्सी’ बनाइरहेका छौं । झन्डै ७ बिघा जग्गामा १७५ कोठाको लक्जरी रिसोर्ट बनाइरहेका छौं । रिजेन्सीको डिजाइन सकेर निर्माणको काम अर्को महिनादेखि सुरु हुनेछ । रिसोर्ट सञ्चालनमा आउन केही वर्ष लाग्छ । लुम्बिनीभित्र बौद्ध धर्मावलम्बीलाई लक्ष्य गरी होटल र पूर्वाधार निर्माणको काम गर्न निजी क्षेत्रले चासो दिइरहेको छ । यसमा सरकारले सहजीकरण गर्नुपर्छ ।

पर्यटनमा नेपाल ट्रेकिङ गन्तव्यका रूपमा मात्रै परिचित छ । पर्यटनका अन्य आयामको त्यति प्रवर्द्धन हुन सकेको छैन । वन्यजन्तु पर्यटन, साहसिक पर्यटन, धार्मिक पर्यटकीय क्षेत्रलगायत विभिन्न आयाममार्फत पर्यटन प्रवर्द्धन हुन सकेको छैन । ट्रेकिङका आफ्नै चुनौती र अवसर छन् । यसमा पूर्वाधार र लजिस्टिकका चुनौती समाधान भए पर्यटक अझै बढ्छन् । ट्रेकिङका लागि मात्र नभई वाइल्ड लाइफ र धार्मिक पर्यटनको गन्तव्यका रूपमा समेत नेपाललाई प्रवर्द्धन गर्नुपर्छ । जुनसुकै मुलुकका नागरिक नेपालमा आएपछि कहाँ–कहाँ जान सकिन्छ ? के–के अनुभव गर्न सकिन्छ ? यस्ता खालको बजारीकरण सरकार र निजी क्षेत्रबाट हुन सकेको छैन । 

मलेसिया, थाइल्यान्डलगायत मुलुकको पर्यटकीय गन्तव्यबारे जानकारी लिन गुगलमा हेर्ने हो भने सरकारी तथा निजी क्षेत्रबाटै सातै दिन वा १५ दिनमा कहाँ–कहाँ जान सकिन्छ ? मुख्य गन्तव्य के हो ? छुटाउनै नहुने के हो ? सबै समेटेर ‘आइटिनरी’ बनाएको हुन्छ । अहिले सबै अनलाइनमार्फत पाइन्छ । त्यस्तो प्लाटफर्म सरकारले बनाउनुपर्नेछ । ‘गुगल’ मा नेपालको पर्यटकीय गन्तव्य खोज्दा ट्रेकिङ मात्र नभई वन्यजन्तु, धार्मिक, सांस्कृतिक, इतिहासलगायत क्षेत्र ‘हाइलाइट’ गर्न जरुरी छ । यसमा निजी क्षेत्र पनि जोडिन इच्छुक छ । 

भूपरिवेष्टित देश भएकाले नेपालमा ऊर्जा र पर्यटनको अवसर छ । ऊर्जामा राम्रो काम भइरहेको छ । नेपालको पर्यटन क्षेत्र काठमाडौं, सगरमाथा र पोखरामा मात्र सीमित हुनुहुँदैन । देशभर पर्यटन क्षेत्रको विकास र सञ्चालनमा ल्याउन जरुरी छ । सरकारले पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । अहिले स्थानीय पर्यटकको गन्तव्य पोखरा र चितवन बनेको छ । पोखरा र चितवनपछि अर्को गन्तव्य लुम्बिनी बनाउने हाम्रो प्रयास हो । यसमा सरकारले पनि आफ्नो भूमिका खेल्नुपर्छ । 

अहिले हामीले लुम्बिनीमा एउटा रिसोर्ट मात्रै बनाउन लागेका छौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आयो भने होटल तथा रिसोर्टको अभाव हुनेछ । त्यसकारण लुम्बिनीमा होटल पर्यटनको ठूलो सम्भावना छ । सरकारले निजी क्षेत्रलाई साथमा लिएर लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकासको काम गर्नु अहिलेको आवश्यकता हो ।

अक्षय प्रबन्ध निर्देशक, गोल्यान ग्रुप

Link copied successfully