फोहोरमा मोहर होइन, डलर

विदेशमा थुप्रै नेपाली युवाले फोहोर वर्गीकरण गरिरहेका छन्, उनीहरूको सपना स्वदेशमै फोहोर प्रशोधन उद्योग खोल्ने छ, वातावरण बनाउन सके उनीहरू फर्कन्छन्

फाल्गुन ७, २०८१

सिलसिला आचार्य

Not stamps on dirt, but dollars

एसएलसीपछि धेरैको उद्देश्य हुन्छ– साइन्स पढ्ने, चिकित्सक बन्ने । मेरो र परिवारको सपना योभन्दा बाहिर थिएन । तर मेरो बाटो एकाएक मोडियो । एमबीबीएसको तयारीभन्दा वातावरण विज्ञानमा रुचि बढ्यो । 

चिकित्सक बन्ने सपना बीचमै छाडेर म वातावरण क्षेत्रतर्फ लागें । चिकित्सक क्षेत्रमा प्रशस्त जनशक्ति छन् या आवश्यकताभन्दा पनि बढी जनशक्ति उत्पादन भइरहेको छ । भीडमा हराउनुभन्दा नयाँ क्षेत्रमा केही काम गर्ने र वातावरण संरक्षणसँगै समाजलाई केही योगदान गर्ने उद्देश्यसाथ वातावरण क्षेत्रमा सक्रिय हुन थालें । सन् २०११ मा नर्वेको युनिभर्सिटी अफ बर्गनबाट जैविक विविधता र वातावरण व्यवस्थापनमा स्नातकोत्तर सकेर नेपाल फर्किएसँगै म वातावरण व्यवस्थापन, प्लास्टिक न्यूनीकरण, फोहोरमैला प्रशोधनदेखि रोजगारी सिर्जनामा रमारहेकी छु । 

सन् २०१३ मा ‘हाम्री बहिनी सामाजिक उद्यम’ मार्फत काम सुरु भएको हो । बेचिएका चेलीबेटीदेखि पछिडिएका समुदायको पुनरुत्थानदेखि आर्थिक सशक्तीकरणमा जोड दिनु यसको उद्देश्य थियो । अहिले ‘अभ्नी भेन्चर्स प्रशोधन केन्द्र’ मार्फत फोहोरमैला प्रशोधनको काम भइरहेको छ । यस प्लास्टिक रिसाइक्लिङ सञ्जालअन्तर्गत करिब चार सय जना श्रमिकले रोजगारी पाएका छन् । हजारौं टन फोहोर पनि व्यवस्थापन भइरहेको छ । प्लास्टिक न्यूनीकरण र पर्यावरणीय उद्यममार्फत फोहोरमैला व्यवस्थापनमा अग्रसर छु । 

वातावरण र मानव स्वास्थ्यमा ह्रास ल्याउने तत्त्व हो, प्लास्टिक । सुरुवातको अभियानका रूपमा प्लास्टिक न्यूनीकरणको अभियान सञ्चालनमा ल्याउनु थियो । हामीले सोचेजस्तो सहज वातावरण थिएन । प्लास्टिकबिना कसरी किनमेल गर्ने भन्ने दुविधा धेरैमा थियो । धेरै मात्रामा प्लास्टिक खपत हुने स्थान थियो भाटभटेनी सुपरमार्केट । यसका लागि दुई नीति लिएर अगाडि बढ्यौं । एउटा, प्लास्टिकबिना किनमेल गर्ने, अर्को, दिदीबहिनीलाई झोला उत्पादनमार्फत स्वरोजगार बनाउने । त्यसका लागि हामीले १०० रुपैयाँको झोला ३० रुपैयाँमा बिक्री गर्‍यौं । यस अभियानमा थुप्रै युवा जुट्नुभयो । केही हदमा प्रभावकारी पनि बन्यो । 

अहिले भाटभटेनीलगायत सुपरमार्केटमा प्लास्टिकका झोला पाइँदैनन् । २०७२ वैशाख १ मा काठमाडौं उपत्यकामा प्लास्टिक निषेध घोषणा गर्‍यौं । तर पनि यो अझै पूर्ण न्यूनीकरण हुन सकेको छैन । कानुनको प्रभावकारी कार्यान्वयन नभएसम्म यो अवस्था कायमै 

रहने देखिन्छ । समयमै न्यूनीकरण गर्न सकिएन भने भविष्यमा यसले भयावह स्थिति ल्याउने देखिन्छ । यसका लागि सम्बद्ध निकाय र सरोकारवालाको चासो हुनु अति जरुरी छ । 

पछिल्लो समय फोहोरमैला व्यवस्थापन निकै पेचिलो बन्दै गएको छ । नेपालको संविधानले फोहोरमैला व्यवस्थापनको जिम्मा पालिकालाई दिएको छ । 

यसका कारण संघीय र प्रदेश सरकार उन्मुक्त देखिन्छन् । स्थानीय तहको जिम्मा हामीले किन हस्तक्षेप गर्ने भन्ने अवस्था छ । तर ७५३ पालिकाको फोहोरमैला व्यवस्थापनमा एकरूपता देखिँदैन । 

केही पालिकाले फोहोरमैला व्यवस्थापनलाई प्राथमिकता दिएका छन् । तर धेरैले यसलाई प्राथमिकतासाथ उठान गर्न सकेका छैनन् । बाटो र पूर्वाधार मात्रै विकास हो भन्ने परम्परावादी सोचबाट धेरैजसो पालिका माथि उठ्न सकेको अवस्था छैन । पालिकालाई संघीय र प्रदेश सरकारको खासै सहयोग छैन । पालिकाको जिम्मामा रहेको काम हामीले किन गर्ने भन्ने मानसिकता छ । 

काठमाडौं महानगरपालिकाको सन्दर्भमा थुप्रै कम्पनीले फोहोर उठाइरहेका छन् । फोहोरमैला वर्गीकरणलाई नीतिगत रूपमै अघि सारिएको छ । तर हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । प्लास्टिक बाल्नु हुँदैन भन्ने नीति छ । तर त्यो लागू भएको अवस्था छैन । यसका लागि स्थानीय तह र कम्पनीबीच सहकार्य भएर बाध्यकारी नीति बनाउन आवश्यक छ । वर्गीकरण नगरी फोहोर नउठ्ने नीति बनाएर कठाइसाथ अगाडि बढ्ने हो भने हरेक घर फोहोर वर्गीकरण गर्न बाध्य हुन्छन् । संघ, स्थानीय तह र सरोकारवालाबीचको समन्वय र सहकार्यमा मात्रै दिगो रूपमा फोहोरमैला व्यवस्थापन गर्न सकिन्छ ।

फोहोरलाई फोहोरका रूपमा हेर्‍यौं भने त्यो फोहोर नै हुन्छ । फोहोरलाई मोहर भन्ने धेरै पुरानो नारा हो । तर फोहोरबाट मोहर होइन, यसलाई प्रशोधन गरी निर्यात गर्न सक्यौं भने डलर नै कमाउन सकिन्छ । नेपालमा फोहोरबाट आम्दानी गर्न थुप्रै अवसर छन् । तर यसलाई सरकारी तवरबाट नै नीति नियममार्फत प्रोत्साहन गर्न आवश्यक छ । सरकारी स्तरबाट पर्याप्त सहयोग र प्राथमिकता नभएकाले यसलाई अवसरका रूपमा अघि बढाउन सकिएको छैन । भारतीयहरूले फोहोरमा अवसर र रोजगारी पाएका छन् । नेपालीहरू भने रोजगारीका लागि बिदेसिइरहेका छन् । फोहोरबाट नै आम्दानी गर्न सकिने चेतना विकास भइसकेको छैन । 

फोहोरको वर्गीकरण गरेर ल्याडफिल साइटमा पठाउने व्यवस्था मिलाउन सके फोहोरबाट नै देशलाई समृद्ध बनाउन सकिन्छ । यसका दुईवटा फाइदा छन् । एउटा त ल्यान्डफिल साइटलाई भार नपर्ने, धेरै फोहोर प्रशोधित भएर जाने र अर्को उद्यमशीलता विकास हुने र राजस्व पनि वृद्धि हुन्छ । फोहोरबाट उद्यमी विकास गर्न सकिने अवस्था छ । तर सरकारी तवरबाट नीति नियममार्फत प्रोत्साहन गर्न सकिएको छैन । जसले गर्दा यो क्षेत्रमा उजागर भएका अवसर पनि पहिल्याउन सकिएको छैन । 

विदेशमा नेपाली थुप्रै युवाले फोहोर वर्गीकरण गरिरहेका छन् । उनीहरूको सपना छ स्वदेशमा आएर फोहोर प्रशोधन उद्योग खोल्ने । नीतिगत तहबाट वातावरण बनाउन सकियो भने युवाहरू यस क्षेत्रमा उद्यमशीलताका लागि फर्कने छन् । फोहोर प्रशोधित गर्न मुख्य समस्या नै ठाउँको समस्या छ । सरकारी तवरबाट स्थानका लागि पहल भएको छैन । फोहोर वर्गीकरण गर्ने स्थान नभएर धेरै त गाडीमा नै छान्ने काम हुन्छ । कुनै फर्म वा व्यक्तिले आफैं जग्गा खोजेर लगानी गर्छु भन्दा काम गर्ने वातावरण बनाउन सकिन्न । समुदायदेखि सरकारले नै असहयोगको वातावरण सिर्जना गरिरहेको अवस्था छ । 

पढेलेखेका मानिसले फोहोरमा काम गर्नॅहुँदैन भन्ने भाष्य चिर्दै अघि बढेकी छु । फोहोर व्यवस्थापन भनेको समाजलाई धेरै योगदान दिन सकिने काम हो । र पढेलेखेका मानिसले पनि गर्ने काम हो भन्ने सन्देश दिन सफल भएकी छु । वातावरण संरक्षण र फोहोर व्यवस्थापनको क्षेत्रमा १३ वर्षदेखि सक्रिय छु । सुन्दा अचम्म लाग्ला, जति फोहोर फाल्न सहज छ, प्रशोधन गर्न त्यति सहज छैन । तर पछिल्लो समय पालिकाले तोकेको कवाडी करको प्रत्यक्ष असर व्यवसायीले भोगिरहेका छन् । ल्यान्डफिल साइटमा १० टन फोहोर फाल्न जम्मा 

४ सय रुपैयाँ लाग्छ । त्यो फोहोरलाई ल्यान्डफिलबाट बचाएर लगानी गरेर प्रशोधन गर्दा १० टन फोहोर उद्योगमा पठाउन कवाडी कर मात्र ११ हजार तीन सय रुपैयाँ तिर्नुपर्छ । फोहोरमा व्यवसायीहरू करले निरुत्साहित भएको अवस्था छ । व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने क्षेत्रमा सरकारले निरुत्साहित गरिरहेको छ । । यसले हरित अर्थतन्त्र बनाउने, फोहोरबाट नेपालले डलर कमाउने बनाउने उद्देश्य र सोचमा धक्का दिएको छ । उद्यमीहरूलाई अग्रसर बनाउन र लगानीको वातावरण सुरक्षित गर्न यस्ता कर होइन, छुट र सहुलियत दिन सक्नुपर्छ ।

यो काम गर्दा फोहोरमैला उद्यमीहरूले वरिपरिको समाजबाट समर्थनभन्दा बढी समस्या भोग्नुपर्छ । पाइला–पाइलामा चुनौतीको सामना गर्नुपर्छ । तर पनि यो समस्याको समाधान गर्नैपर्छ भन्ने भावनाले निरन्तर लागिरहेकी छु । विदेशमा थुप्रै नेपाली युवाले फोहोर वर्गीकरण गरिरहेका छन् । उनीहरूको सपना स्वदेशमै फोहोर प्रशोधन उद्योग खोल्ने छ, वातावरण बनाउन सके उनीहरू फर्कन्छन् । 

जलवायु परिवर्तन पछिल्लो समयको जल्लोबल्दो विषय हो । तर यो अहिलेको समस्या होइन, विगतको समस्या बल्झिँदै आएको हो । नेपालले अहिले अन्तर्राष्ट्रियस्तरमा न्याय र क्षतिपूर्ति माग्न थालेको छ । तर आफ्नो काम र दायित्व पनि पूरा गर्न जरुरी छ । जथाभावी उत्खननले बाढीपहिरोको समस्या बढ्दै गएको छ ।

स्थानीय तहले ल्यान्डफिल साइटमा आगो लगाउने, प्लास्टिक बाल्ने र डढाउने काम गरिरहेका छन् । त्यसकारण यस्ता काम रोक्न नीतिगत तहबाट नै पहल गर्न आवश्यक छ । अर्को महत्त्वपूर्ण पक्ष हिमालको सरसफाइ पनि हो । पछिल्लो समय धेरै पर्यटकलाई हिमाल आरोहण अनुमति दिन थालिएको छ, जसले गर्दा हिमाल सुन्दरतामा पनि ह्रास आउन थालेको छ । 

सिलसिला संस्थापक निर्देशक, अभनी भेन्चर्स

Link copied successfully