जुनियर खेलाडीलाई राम्रो क्रिकेटर बन्नु छ भने नियमित प्रशिक्षण जारी राख्नुपर्छ, नेपाली क्रिकेटमा अवसर एकदम कम पाइन्छ तर वर्षमा एक–दुई प्रतियोगिता खेल्न पाउने भए पनि आफूलाई तयारी अवस्थामा राख्नुपर्छ
गाउँघरमा दाइहरूले क्रिकेट खेलेको देखेरै नै मैले पनि क्रिकेट खेल्न थालेको थिएँ । एसएलसीपछि प्लस टु अध्ययनका लागि कलैयाबाट हेटौंडा गएपछि क्रिकेटप्रति बढी नै लगाव भयो । निरन्तर खेल्न थालें । यू–१६ का प्रतियोगितामा मैले मकवानपुर जिल्लालाई प्रतिनिधित्व गर्दै खेलेको थिएँ । क्रिकेटमा अहिले धेरै परिवर्तनहरू भएका छन् ।
सुरुआती कुरा गर्नुपर्दा स्कुलस्तरीय क्रिकेट खेल्दा कलैयाको सिद्धेश्वर क्रिकेट मैदानको अवस्थामा जुन थियो, अहिले त्योभन्दा पनि खस्किएको छ । त्यो बेला मैदानको लेभल बराबर थियो । घाँससमेत हरियो देखिन्थ्यो । क्रिकेट खेल्न तीनवटा टर्फ विकेट थिए । अहिले एउटामात्र टर्फ विकेट छ ।
मैदानको अवस्था झन् बिग्रिँदै गएको छ । बाउन्ड्री वाल नभएकाले मैदानको बीच भागबाट मान्छेहरू हिँडडुल गर्ने गर्छन् । कलैयामा यसबाहेक अरू कुनै मैदान नहुँदा अन्य खेलका खेलाडी पनि यही खेल्न आइपुग्छन् । जसले गर्दा मैदानको व्यवस्थापनमा समस्या देखिएको छ । बिहान र साँझ युवाहरू मैदानमा फुटबल खेल्छन् । दिउँसो क्रिकेटका खेलाडी अभ्यास गर्छन् । बिदाको दिन स्कुलका विद्यार्थीको खेल्ने थलो पनि यही एउटा मैदान हो ।
खेल मैदान जोगाउन सर्वप्रथम चारैतर्फ बाउन्ड्री वाल निर्माण गर्नुपर्ने आवश्यकता छ । मैदानको व्यवस्थापन बारा क्रिकेट संघलाई दिइँदा राम्रो हुन्छ । टर्फ विकेट निर्माण, ग्राउन्डको रेखदेखका लागि कर्मचारी नियुक्त गर्न आवश्यक छ । कलैयाका अन्य ठाउँमा खेलमैदान नभएकाले बिदाको दिन स्कुले विद्यार्थी क्रिकेट र फुटबल खेल्न यही मैदानमा पुग्ने गर्छन् ।
मैदानको उचित व्यवस्थापनका लागि स्थानीय खेलाडीलाई छुट्टै खेल्ने ठाउँको व्यवस्था मिलाउन सक्नुपर्छ । जुन बेला हामीले क्रिकेट सुरु गरेका थियौं, त्यो बेला मैदानको अवस्था अहिलेभन्दा धेरै राम्रो थियो । त्यसबेला स्थानीय क्लब र जिल्लाको छनोट खेल हुँदा मात्र यहाँ खेल्न पाउँथ्यो । कलैया घर आउँदा अभ्यास गर्ने यही मैदान हो ।
राष्ट्रियस्तरको कुरा गर्ने हो भने नेपाल क्रिकेट संघ (क्यान) बाट अहिले खेलाडीहरूले राम्रै सेवासुविधा पाएका छन् । पहिला कुनै प्रतियोगिता हुँदा साता १० दिनको क्याम्प राखेर खेलाडीले गर्थे । अहिले चाहिँ कुनै ठूलो प्रतियोगिता हुँदा ४० देखि ४५ दिनसम्मको क्याम्प राखिन थालेको छ । प्रोफेसनल स्टाफहरूको समेत व्यवस्था छ । ब्याटिङ कोच, बलिङ कोच, फिल्डिङ कोच, स्ट्रेन्थ एन्ड फिजिकल कोच, फिजियोलगायतका सर्पोटिङ स्टाफको व्यवस्था गरिएको छ ।
जसले गर्दा खेलाडीले धेरै नै सुविधा पाएका छन् । विगतको तुलनामा अहिले घरेलु क्रिकेटका प्रतियोगिता धेरै हुन थालेका छन् । दुई वर्षअघिसम्म घरेलु क्रिकेट प्रतियोगिताको नाममा पीएम कपमात्र थियो । अहिले एनपीएल, जय ट्रफी, अर्जुन ट्रफी, निधि कप, वीर गणेशमान कपलगायतका प्रतियोगिताले घरेलु क्रिकेट खेलाडीलाई राम्रो अवसर दिइरहेको छ ।
सन् २०१८ मा पहिलो पटक म राष्ट्रिय टिममा प्रवेश गर्दा र अहिलेको तुलनामा खेलाडीले धेरै नै अवसर र सेवासुविधा पाएका छन् । त्यसबेला सपोर्ट स्टाफ एक जना मात्र हुन्थ्यो । एक प्रशिक्षक र एक म्यानेजर मात्र हुन्थ्यो । त्यसबेला न क्याम्प धेरै दिनको हुन्थ्यो न त छनोट प्रतियोगिता नै धेरै हुन्थे । राष्ट्रियस्तरको प्रतियोगिता गराएर अहिले खेलाडी छनोट गर्न थालिएको छ । विगतमा सिधै क्याम्पमा बोलाएर अधिकांश खेलाडी छनोट गरिन्थ्यो । खेलाडीले अहिले आफ्नो क्षमता प्रदर्शन गर्ने भरपूर मौका पाएका छन् ।
पहिला त खेलाडीले तलब पनि पाउँदैनथे । अहिले त खेलाडीले वर्गीकरणअनुसार नियमित तलब पाउने व्यवस्था छ । क्यानकै आयोजनामा तीन महिनाअगाडि सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) ले खेलाडीलाई व्यावसायिक बन्न अझ धेरै प्रेरित गरेको छ । खेलाडीले अन्तर्राष्ट्रिय खेलाडीसँगै अभ्यास गर्ने मौका पाएका छन् । ड्रेसिङ रुम सेयर गरेका छन् । अन्तर्राष्ट्रिय एक्सपोजर पाएका छन् । यी सब कुराले नेपाली खेलाडीको मनोबल बढेको छ । एनपीएल जस्ता ‘फ्रेन्चाइज’ लिगले नेपाली खेलाडीलाई आत्मनिर्भर बन्न सजिलो पारेको छ ।
क्यानले अहिले प्रत्येक प्रदेशमा प्रशिक्षक नियुक्त गरेको छ । हरेक जिल्लामा एउटा प्रशिक्षक राखेर नियमित अभ्यास गराउन सकियो भने अझ धेरै राम्रा खेलाडी उत्पादन हुन्छन् । ग्रासरुटमा अझ राम्रो संरचना बनिसकेको छैन । घरेलु क्रिकेटलाई बलियो बनाउन क्लबस्तरीय क्रिकेट प्रतियोगिता सञ्चालनमा ल्याउन आवश्यक छ । क्लबस्तरीय क्रिकेटमा स्थानीय खेलाडीले प्रदर्शन गर्ने अवसर पाउँछन् ।
विगतमा कलैयामा क्रिकेट प्रतियोगिता खेल्न मुम्बई र कोलकाताबाट क्लबहरू आउने गर्दथ्यो । भैरहवा, विराटनगर र काठमाडौंका टिमसमेत प्रतियोगिता खेल्न कलैया क्रिकेट मैदानमा पुग्थ्यो । तर, अहिले त्यो स्थिति छैन । अहिले कुनै पनि क्लब क्रिकेट प्रतियोगिता आयोजना हुन सकेको छैन । जसले गर्दा खेलाडीले धेरै खेल्ने अवसर पाएका छैनन् । स्थानीय खेलाडीमा क्रिकेटप्रति त्यति उत्साह देखिँदैन । मिहिनेत मात्र गरेका छन् । तर, समयमा प्रतियोगिता खेल्ने अवसर पाउँदैनन् । त्यसले गर्दा उनीहरू निरुत्साहित हुन्छन् ।
वर्षमा एकचोटि यू–१६, यू–१९ र पीएम कपको छनोट प्रतियोगिता भएमात्र खेलाडीले खेल्न पाउने हुन्छ । स्थानीयस्तरमा अरू प्रतियोगिताहरू पनि हुनुपर्छ । पहिला स्कुल र कलेजस्तरीय प्रतियोगिता धेरै हुन्थे, तर, अहिले ती प्रतियोगिताहरू पनि हराएर गएका छन् । यी प्रतियोगिताहरू सञ्चालन भएमा सानै उमेरदेखि खेलप्रति उत्साह हुन्थ्यो । उनीहरूले खेल प्रदर्शनको एउटा प्लेटफर्म पाउँथे । सानो उमेरदेखि खेल्ने त्यही खेलाडी पछि सिनियर टिमबाट खेल्थे ।
आजकल ती प्रतियोगिताहरू भएका छैनन् । पहिला स्थानीयस्तरमा समेत क्लबहरूबीच प्रतियोगिता हुन्थे । अहिले ती क्लबहरूसमेत लोप भएका छन् । बारामै गन्जभवानीपुर, प्रसौनी, भलुहीतिर प्रतियोगिता हुन्थ्यो । खेलाडीले प्रतियोगिताहरू खेल्न पाएन भने प्रशिक्षण गरेर मात्र केही फाइदा नै हुँदैन । आफ्नो खेल प्रदर्शन गर्न कुनै प्लेटफर्म त हुनुपर्छ नै । प्रतियोगिता हुँदै हुँदैन, खेलाडीले सिधै छनोट खेल खेल्ने बाध्यता छ ।
वर्षमा एकचोटि छनोट खेलमात्र हुने र अरू प्रतियोगिता नहुने हो भने त परिवारबाट पनि खेलाडीले साथ र सहयोग पाउन गाह्रो हुन्छ । प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि परिवारले थाहा पाउँछ अनि ‘प्राउड’ फिल गर्छन् । आफ्नो बच्चालाई खेल्न परिवारले पनि प्रोत्साहन दिन्छ ।
मेरो गाउँ पतौरामा समेत त्यतिबेला टेनिस बलको क्रिकेट खेल्ने दुई टिम हुन्थे । तर, अहिले एउटा टिमका लागि समेत खेलाडी अपुग हुन्छ । गाउँमा पहिला जस्तो क्रिकेट खेलिँदैन अहिले । क्रिकेट मात्र हैन, अन्य खेलकुद गतिविधि पनि शिथिल अवस्थामा पाउँछु । क्रिकेट मात्र हैन पहिला फुटबल, भलिबल जस्ता खेल पनि गाउँमा युवाले अत्यधिक रुचाउँथे । यसबारे जिल्ला खेलकुद विकास समितिले गम्भीर भएर विचार गर्नुपर्ने अवस्था आइसकेको छ ।
खेलकुदप्रति नयाँ पुस्ता किन आकर्षित नभएका हुन् भन्ने विषयमा गहन विचारविमर्श गर्नुपर्छ । यस क्षेत्रमा खेलकुद पूर्वाधार निर्माण नहुँदा पनि खेलकुदप्रति आकर्षण नभएको हो जस्तो लाग्छ । कलैयामात्र नभई यहाँबाट १२ किलोमिटरको दूरीमा रहेको आर्थिक तथा व्यापारिक नगरी वीरगन्जमा समेत खेलकुद पूर्वाधार निर्माण हुन सकेको छैन । झन्डै एक दशकदेखिको जग्गाको मुआब्जा विवाद समाधान नहँॅदा नारायणी क्रिकेट मैदानको स्तरोन्नति हुन सकेको छैन । छेउमै रहेको नारायणी फुटबल मैदान पनि लामो समयदेखि जीर्ण छ । पुनर्निर्माणका लागि सरकारले बजेट उपलब्ध नगराउँदा निर्माण कार्यले गति लिन सकेको छैन ।
नेपाली क्रिकेटमा अहिले पनि अवसरहरू कम नै छन् । जुनियर खेलाडीलाई राम्रो क्रिकेटर बन्नु छ भने नियमित प्रशिक्षण जारी राख्नुपर्छ । नेपाली क्रिकेटमा अवसर एकदम कम पाइन्छ । वर्षमा एक दुइटा प्रतियोगिता भए पनि त्यसका लागि आफूलाई तयार राख्नुपर्छ । त्यसका लागि कति अभ्यास गर्नुपर्छ, कति मिहिनेत गर्नुपर्छ, आफूलाई कसरी फिट राख्नुपर्छ भन्ने विषयमा सिनियरले जुनियरलाई सिकाउन आवश्यक हुन्छ । जिल्लामा प्रशिक्षक नियुक्त गरिएका छैनन् । छनोट खेलका लागि मात्र प्रशिक्षक नियुक्त गरिन्छ ।
त्यही भएर जिल्लामा सिनियर खेलाडीले नै जुनियरको रेखदेख र बढावा गर्नुपर्छ । अन्तर्राष्ट्रियस्तरमा नेपाली क्रिकेट अगाडि बढिरहेको छ । तर, ग्रासरुटमा घरेलु क्रिकेटको संरचना अझ कमजोर छ । त्यसका लागि खेलाडीहरू आफैंले नियमित अभ्यास गरेर प्रतियोगिताका लागि तयार राख्न सक्नुपर्छ । जुन बेला मौका आउँछ, त्यतिबेला खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्न सक्नुपर्छ ।
