नेपाली फुटबललाई चलायमान बनाउन लिग नियमित हुनुपर्छ, हामीले त अब उमेर समूहको लिग पनि चलाउनुपर्ने हुन्छ, कम्तीमा यू–१६ र यू–१८ स्तरमा अहिले लिग हुन थालेको छ
नेपाली फुटबल अहिले ठ्याक्कै कहाँनिर छ त ? आजभोलि प्रायः चर्चा हुने गर्छ । केहीले भन्ने गरेका छन्, अचेल नेपाली फुटबल त्यस्तो रहेन, जस्तो पहिले थियो । साँच्चै नेपाली फुटबलको स्तर कस्तो छ त ? यसको उत्तर भने हामीसँग छैन । एक प्रकारले स्तर नाप्ने सही औजार पनि छैन ।
राष्ट्रिय पुरुष फुटबल टिमले कहिलेकाहीं बलियो प्रतिद्वन्द्वीविरुद्ध पनि राम्रो खेलिदिन्छ अनि कहिलेकाहीं कमजोर टिमविरुद्ध कमजोर नै प्रदर्शन हुने गर्छ ।
सायद केही हदसम्म लोकप्रियतामा कमी आएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । अझ भनौं, नेपाली फुटबलले पछिल्लो समय केही लय गुमाएको छ । यसमा दुविधा छैन । यसका पनि स्पष्ट कारण छन् । जति बेला नियमित फुटबल हुन छाड्छ, त्यसको सबैभन्दा पहिलो नकारात्मक प्रभाव भनेकै यसले आफ्नो लय गुमाउँछ । त्यसैले अहिले नेपाली फुटबललाई लिएर आलोचना पनि भइरहेको छ ।
सबै के तथ्यमा एकमत छन् भने नेपालमा फुटबल अझै पनि उत्तिकै मन पराइन्छ ।
मिहिनेत गर्ने हो भने यो खेललाई मज्जाले अगाडि बढाउन सकिन्छ । नेपालमा फुटबलको साँच्चै विकासका लागि अहिले तत्काल के गर्ने आवश्यकता छ त ? अब सबैको ध्यान यसमै केन्द्रित हुनुपर्छ, विशेषतः नेतृत्व तहले यसमा ध्यान दिनु नै पर्छ । अन्तर्राष्ट्रिय रूपमै फुटबलको विकास कसरी हुन्छ, त्यसको सटीक उत्तर कोहीसँग पनि छैन । तर, यसका लागि बाटो भने छन्, यसलाई पद्धति नै भन्न सकिन्छ । फुटबलमा विकासका मोडल छन् ।
यसमा सबैभन्दा पहिले आउँछ, दीर्घकालीन र अल्पकालीन योजना । हामीले अहिले कुरा गरिरहेको पुरुष फुटबलमा केन्द्रित रहेर हो । नेपाली फुटबलले पनि के बुझ्न आवश्यक छ भने हाम्रो उद्देश्य के हो, हामी कहाँसम्म पुग्नुपर्छ ? विदेशतिर पनि आफ्नो फुटबल विकासका लागि यसरी निश्चित उद्देश्य राखेर दीर्घकालीन योजना बनाउने चलन छ । नेपालले पनि त्यसलाई पछ्याउन आवश्यक छ । विकसित देशका लागि फुटबलमा विश्वकपको छनोट प्रमुख उद्देश्य हुन सक्छ ।
हाम्रा दुई छिमेकी चीन र भारतका लागि यो उद्देश्य हुन सक्छ । चीनले एकैपल्ट मात्र विश्वकप खेलेको छ भने भारतले त्यति उपलब्धि पनि हात पार्न सकेको छैन । तर उनीहरूले यस्तै योजना बुनेका छन् । चीन र भारत दुवै आर्थिक रूपमा विश्वकै शक्तिका रूपमा छन् । तर तिनीहरूले अपेक्षाअनुसार सफलता प्राप्त गर्न सकेका छैनन् । विशेषतः चीनले करोडौं डलर त्यहाँको फुटबलमा लगानी गरेको छ, तर उपलब्धि शून्यकै स्थितिमा छ ।
यसले पनि देखाउँछ, यो कति गाह्रो काम हो भनेर । फुटबलको सिद्धान्त नै हो, पैसाले सफलता किन्न सकिन्न, यो त केवल साधन मात्रै हो । हाम्रा लागि विश्वकप छनोट नै उद्देश्य हुनुपर्छ भन्ने छैन । हामीले योभन्दा केही तल्लो उद्देश्य बनाउन सक्छौं र त्यसका लागि दीर्घकालीन योजना बनाउन सक्छौं । नेपाली पुरुष फुटबल टिमले अहिलेसम्म दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप पनि जित्न सकेको छैन ।
हाम्रो सबैभन्दा ठूलो सफलता भनेकै फाइनलसम्म पुग्नु हो । साफ च्याम्पियनसिप प्रत्येक दुई वर्षमा एकपल्ट आयोजना हुन्छ । यसअघिको तुलनामा यो उपाधि जित्नु अझ कठिन हुने गरेको छ । यस्तो हामीले निश्चित समयमा साफ च्याम्पियनसिप जित्ने ठोस योजना बनाउन सक्छौं । यहाँनिर हामीले के बुझ्नु आवश्यक छ भने अन्य क्षेत्रमा जस्तै फुटबलमा पनि रातारात केही दिनको मिहिनेतले केही पनि सफलता प्राप्त गर्न सकिन्न, केहीले प्राप्त गर्छ भने त्यो क्षणिक मात्र हुन्छ ।
साफ च्याम्पियनसिपकै उपाधि जित्न हामीले १० वर्ष वा त्योभन्दा बढी समयको योजना बनाउनुपर्ने हुन्छ । यस्तै हामीले एसिया कपमा छनोटको पनि उद्देश्य बनाउन सक्छौं । एसिया कप एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । अहिले यो प्रतियोगिता पनि विस्तार हुने क्रममा छ, त्यो भनेको यसमा सहभागी टिमको संख्या बढाएर २४ पुर्याइएको छ । एसियाली फुटबल महासंघ (एएफपी) सँग ४७ यस्ता देश छन्, जसले अहिले छनोट खेल्न सक्छ ।
त्यसको सिधासिधा हिसाब के हो भने हामीले आफ्नो फुटबल स्तर एसियाको मध्यबिन्दुसम्म पुर्याउन सक्छौं भने हाम्रा लागि एसिया कपको बाटो सम्भव देखिन्छ । साफ च्याम्पियनसिप जित्नुभन्दा एसिया कपमा छनोट गाह्रो हुन सक्छ, वा समान दुवै हुन सक्छ । यी दुवै उद्देश्यलाई समान रूपमा अगाडि बढाउन सकिन्छ । यसका लागि फुटबलको तल्लो स्तरबाटै विकास आवश्यक हुन्छ, त्यो भनेको ‘ग्रास रुट’ स्तरको फुटबल ।
नेपाली फुटबलले पछिल्लो समय एउटा काम गर्नै सकेको छैन । त्यो भनेको खेलाडीको व्यवस्थित उत्पादन हो । अथवा भनौं, यो काम रोकिएको छ । जति पनि खेलाडी अहिले अगाडि आइरहेका छन्, ती आफ्नै मिहिनेतले अगाडि आएका छन्, यसका लागि व्यवस्थित काम भएको छैन । खेलाडी उत्पादनका लागि एकेडेमी नै आवश्यक पर्न सक्छ । उमेर समूहको फुटबल भन्नु नै कुनै पनि देशमा यो खेलको आधार हुने गर्छ । उमेर समूहको फुटबलको मद्दतमा एकपछि अर्को पुस्ताका खेलाडीलाई अगाडि बढाउन सकिन्छ ।
यस्तोमा नेपाली फुटबलले भन्न सक्नुपर्छ, हामीले अबको यति यति वर्षमा यस्तो यस्तो गर्ने उद्देश्य बनाएका छौं अनि यसका लागि हामीसँग यो यो कार्यक्रम छ । यो दीर्घकालीन योजना सफल बनाउन अल्पकालीन योजना पनि उत्तिकै आवश्यक छ । अझ यसलाई त्यसको आधार भन्दा हुन्छ । अल्पकालीन योजना भन्नु नै एक प्रकारले प्रतियोगिताको नियमित आयोजना हो । अहिले देखिएको सबैभन्दा ठूलो समस्या भनेकै नियमित प्रतियोगिता नहुनु हो ।
अझ भन्दा नेपाली फुटबल चलायमान नै हुन सकेको छैन । हामी हाम्रा फुटबल खेलाडी विदेश पलायन भएको धेरै चर्चा त गर्छौं, तर यसको कारण खोज्न बिर्सन्छौं । नियमित फुटबल हुने हो भने नेपालमा अझै पनि खेलाडीका लागि आर्थिक रूपमा समस्या छैन । फुटबल खेलेर आफ्नो करियर बनाउने आधार अझै पनि नेपालमा छ । यसमा दुविधा नराखे हुन्छ । जति बेला प्रतियोगिता नै हुँदैन, यस्ता आधार खोसिने र हराउने सम्भावना त हुन्छ नै ।
सबैभन्दा पहिले लिग नियमित हुनुपर्छ । नेपाली घरेलु फुटबलको सबैभन्दा सर्वोच्च स्वरूप भनेकै सहिद स्मारक लिग हो । यसका चार तह छन्, ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ को छनोट । लिग फुटबल पिरामिडको स्वरूपमा चल्छ । तर दुर्भाग्य के भन्दा नेपालमा माथिल्लो ‘ए’ डिभिजनको फुटबल नभएको पनि लामै समय भइसकेको छ, लगभग दुई वर्ष छुने क्रममा छ । अहिले खेलाडीको नदेखिनु, देखिए पनि माथिल्लो स्तरको नहुनुको कारण यही लिग नहुनु नै हो ।
त्यसैले नेपाली फुटबललाई चलायमान बनाउन लिग नियमित हुनुपर्छ । हामीले त अब उमेर समूहको लिग पनि चलाउनुपर्ने हुन्छ । कम्तीमा यू–१६ र यू–१८ स्तरमा अहिले लिग हुन थालेको छ । यो निकै सकारात्मक पक्ष हो । ती लिगलाई गम्भीरतापूर्वक हेर्नुपर्छ । प्रस्ट देखिन्छ, नेपालमा प्रतिभाशाली खेलाडीको कुनै कमी छैन । ती खेलाडीले नियमित र माथिल्लो दर्जाको प्रशिक्षण र खेल अनुभव बटुल्न पाउने हो भने नतिजा ढिलोचाँडो आउने नै छ ।
सहिद स्मारक लिगको स्वरूपसँगै हामीसँग फ्रेन्चाइज फुटबलको अस्तित्व छ । नेपाल सुपर लिग (एनएसएल) को नाममा फरक खाले लिग हुने गर्छ । अहिलेसम्म यसको सकारात्मक प्रभाव देखिएको छ । हामीले एकै सिजन सहिद स्मारक लिग र आईएसएललाई अगाडि बढाउन सक्ने हो भने पूरा वर्ष फुटबल नियमित हुनेछ । त्यसमाथि मोफसलका ठूला नकआउट गोल्डकप फुटबललाई पनि व्यवस्थित गर्ने हो भने खेलाडीले खेल्न पाएनौं भनेर गुनासो नै गर्ने ठाउँ हुन्न ।
यसरी हामीले दीर्घकालीन र अल्पकालीन योजना समानान्तर रूपमा अगाडि बढाउन सक्छौं । हामीले यहाँनिर के पनि बुझ्न आवश्यक छ भने नेपाली फुटबलका लागि अन्य प्राविधिक पक्षको जनशक्तिको उत्पादन र प्रवर्द्धनको पनि उत्तिकै जरुरी छ । यी जनशक्ति सबैभन्दा पहिले प्रशिक्षक हुन सक्छन्, त्यसपछि निर्णायक । निर्णायक भनेको रेफ्रीदेखि म्याच कमिस्नरसम्म । त्यतिमात्र होइन, हामीलाई उच्च दर्जाका खेल चिकित्सक र फिजियोथेरापिस्ट पनि आवश्यक हुन्छ ।
भौतिक पूर्वाधारलाई पनि हामीले उत्तिकै महत्त्व दिनुपर्छ । नेपाली फुटबल पछाडि पर्नुको कारण भौतिक पूर्वाधारको कमी पनि हो । हामीसँग त्यस्ता भौतिक पूर्वाधारको पूरै कमी छ, जसमा खेलाडीलाई चाहिने सबै प्रकारका सुविधा हुनुपर्छ । त्यसको अर्थ के होइन भन्दा हामीलाई एक–एक लाखदेखि ५०–५० हजार दर्शक अटाउने रंगशाला चाहिन्छ भन्ने होइन । केही हदसम्म यस्ता ठूल्ठूला निर्माण परियोजना हाम्रा लागि बोझ हुन सक्छ ।
बरु हामीलाई चाहिएको भनेका उच्च सुविधासम्पन्न मैदान हो । प्रत्येक प्रदेशमा यस्ता सुविधासम्पन्न मैदान हुने हो भने यसले नेपाली फुटबल विकासमा धेरै योगदान पुर्याउने निश्चित छ । यस्तो मैदानको निर्माणका लगि धेरै ठूलो आर्थिक स्रोत पनि नचाहिने हुन सक्छ । यस्ता मैदान प्रत्येक प्रदेशमा मात्र नभएर सहर सहरमै हुन सक्छ । कम्तीमा ठूला सहरले यसको प्रयास गर्नुपर्ने हुन्छ । दीर्घकालीन योजना र खेलाडी उत्पादनमा यस्ता मैदान निर्णायक हुन्छन् ।
पछिल्लो समय नेपाली फुटबलमा दर्शकको कमी हुन थालेको तथ्य छ । केही खास सहरमा बाहेक नेपाली फुटबलमा दर्शकको अभाव छ भन्न पनि सकिन्न । अझै पनि फुटबल मात्र हुनुपर्छ, नेपाली फुटबललाई दर्शकको कुनै अभाव हुन्न, तर बरु धेरै दर्शक आएर समस्या हुने गर्छ । यहाँनिर एउटा तथ्य के स्वीकार गर्न सकिन्छ भने नेपाली फुटबललाई अहिले स्टार खेलाडीको कमी छ । जति माथिल्लोस्तरका खेलाडी छन्, तिनले आफ्नो स्टारडम बनाउन र कायम राख्न सकेका छैनन् ।
कुनै समय त्यस्तो पनि थियो, जति बेला राष्ट्रिय टिममा स्टार खेलाडीको बाक्लो उपस्थिति हुने गर्थ्यो । एउटा ठूलै क्लबमा समेत एकभन्दा बढी स्टार खेलाडी हुने गर्थे । यस्ता खेलाडीको खेल हेर्न दर्शक लोभिने हुँदोरहेछ । अहिले राष्ट्रिय टिममा पर्ने खेलाडीलाई समेत धेरैले नचिन्ने समस्या हुने गर्छ । यस्तोमा दर्शकलाई फुटबलको मैदानसम्म तान्न समस्या हुने रहेछ । त्यसैले नेपाली फुटबलले स्टार खेलाडीलाई जन्माउन सक्नुपर्छ ।
