समय आएको छ- युवा उठ्न र नेतृत्व गर्न 

मेरो अनुहार जलाएर मलाई तर्साउने सोच राख्नेलाई भन्न चाहन्छु– म आगोमा बलें तर खरानी भइना, संसद्सम्म आइपुगें, मलाई लाग्छ, मजस्तै हजारौं युवाले आफूलाई अब्बल बनाउने मौका पाउनुपर्छ

फाल्गुन ७, २०८१

विन्दवासिनी कंसकार

The time has come for the youth to rise up and lead

म एक सांसद मात्र होइन, तेजाब आक्रमणपीडित पनि हुँ । जीवनभर मेरो अनुहारमा लागेको घाउजस्तै समाजमा रहेको असमानता, अन्याय र अवसरको खाडल मैले नजिकबाट देखेकी छु । मलाई लागेको चोट व्यक्तिगत मात्र थिएन, त्यो हजारौं नेपाली युवाको प्रतिनिधित्व गर्ने एउटा पीडा थियो— जहाँ महिला असुरक्षित छन्, जहाँ युवाले आफूलाई अब्बल प्रमाणित गर्न अनगिन्ती संघर्ष गरिरहनुपर्छ ।

संसद्मा प्रवेश गर्दा थाहा पाएँ कि युवाको मुद्दा केवल भाषणमा मात्र होइन, नीतिमा रूपान्तरण हुनुपर्छ । केवल ऐन कानुन बनाउने सांसद भएर मात्र आएको होइन कि परिवर्तनको संवाहक भएर आएको मैले अनुभव गरेको छु । मलाई थाहा छ, म जस्तै संघर्ष हजारौं युवाले गरिरहेका छन् । रोजगारी अभाव, सीपमूलक शिक्षाको कमी, राजनीतिक अवसरबाट वञ्चित हुनुपर्ने अवस्था भोगिरहेका छन् । सबैभन्दा ठूलो चुनौती हो, समाजले युवा वर्गलाई बुझ्न नसक्नु ।

नेपालको जनसंख्याको झन्डै ४० प्रतिशत युवा छन् । यति ठूलो जनसंख्या हुनु आफैंमा अवसर हो । तर, ती युवाले उचित ठाउँ पाइरहेका छैनन् । हाम्रो शिक्षा प्रणाली अझै परम्परागत छ, जसले व्यावहारिक सीप दिन सक्दैन । सरकारी नीति युवाका लागि बनाइए पनि कार्यान्वयन पक्ष कमजोर छ । हजारौं युवा सीप नहुँदा बेरोजगार छन् र विदेशिन बाध्य छन् ।

सामाजिक संरचनाले पनि युवालाई दबाउने काम गर्छ । विशेष गरी महिला र कमजोर समुदायका युवालाई निर्णय प्रक्रियाबाट बाहिर राखिन्छ । संसद्मा आएपछि मैले महसुस गरेको अर्को कुरा हो— पुरानो सोच राख्ने धेरैले युवा नेतृत्वलाई सहज रूपमा स्वीकार गर्न सकेका छैनन् ।

नेपालमा शिक्षित युवाको संख्या ठूलो छ । तर, उनीहरू रोजगारी पाउन असमर्थ छन् । शिक्षाले व्यावहारिक सीप दिन सक्दैन भने त्यो निरर्थक बन्छ । देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न तथा बाहिर जाने युवाले पनि राम्रो काम पाउन रोजगारमूलक शिक्षा आजको आवश्यकता हो । विश्वविद्यालय शिक्षालाई उद्योगसँग जोडेर व्यावहारिक बनाउनुपर्छ । सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ । स्टार्टअप तथा उद्यमशीलतालाई प्रवर्द्धन गर्न अनुदान र सहुलियत ऋण दिनुपर्छ ।

अर्को प्रसंग, युवा हिंसाको सिकार पनि भइरहेका छन् । म आफैं तेजाब आक्रमणको सिकार भएकी छु । मेरो अनुहारमा तेजाब फालेर मलाई कमजोर बनाउने चेष्टा गरियो । तर, त्यो घटनाले मलाई अझै बलियो बनायो । म मात्रै होइन, हजारौं नेपाली महिला हिंसाको सिकार भइरहेका छन् । त्यसतर्फ सरकार र समाजको ध्यान जान जरुरी छ । तेजाब आक्रमणविरुद्ध कडा कानुन ल्याउन र बनेको कानुन कार्यान्वयन गर्न जरुरी छ । पीडितलाई कानुनी सहायता, मनोवैज्ञानिक सहयोग र आर्थिक पुनःस्थापना प्रदान गरिनुपर्छ । हिंसाविरुद्ध शून्य सहनशीलता नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।

युवालाई नेतृत्व र निर्णय प्रक्रियामा पहुँच दिनुपर्छ । युवा स्वयं आफूले भोगिरहेका समस्या समाधान गर्न अग्रसरता लिन सक्छ । नेपालमा युवा राजनीतिज्ञको संख्या बढ्दो छ । तर, उनीहरूलाई अझै निर्णय प्रक्रियामा ल्याइँदैन । नेतृत्व गर्न सक्छ भनेर विश्वास गरिँदैन । युवालाई कसरी नेतृत्वदायी भूमिकामा पुर्‍याउने यस सन्दर्भमा नीति निर्माताले ध्यान दिन आवश्यक छ । 

संसद् होस् वा पालिका सबैतिर युवा आरक्षण नीति लागू गरिनुपर्छ । स्थानीय तहदेखि संघीय सरकारसम्म युवाको प्रतिनिधित्व बढाउनुपर्छ । राजनीतिलाई पारदर्शी र समावेशी बनाउँदै युवा सहभागितालाई प्रोत्साहन गर्नुपर्छ । राजनीतिक दलको कार्यकारिणी तहदेखि राज्य सञ्चालनका कार्यकारी निकायमा युवाको प्रतिनिधित्व बढाइने निर्णायक कदम चाल्न जरुरी छ । सबैतिर युवा जमातको हस्तक्षेप आवश्यक छ । 

समाजमा बढ्दो प्रतिस्पर्धा, बेरोजगारी र असुरक्षाका कारण युवाले मानसिक तनावसमेत भोग्नुपरेको छ । आजको समयमा मानसिक स्वास्थ्यको विषयलाई पनि राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ । त्यसका लागि देशव्यापी अभियान चलाइनुपर्छ । शैक्षिक संस्थाहरूमा परामर्श केन्द्र स्थापना गर्नुपर्छ । 

चुनौतीसँगै युवाका लागि ठूलो सम्भावना पनि छ । नेपालमा डिजिटल क्षेत्रको विकास तीव्र रूपमा भइरहेको छ । सही नीति ल्याइयो भने, डिजिटल उद्यमशीलता बढ्न सक्छ । त्यसले रोजगारी तथा आम्दानीको अवसर सिर्जना गर्ने प्रशस्तै सम्भावना छन् । 

नेपालको जलवायु परिवर्तन नीतिमा युवाको सहभागिता आवश्यक छ । हरित ऊर्जा, जैविक कृषि र दिगो पर्यटनजस्ता क्षेत्रमा युवा नेतृत्व हुनुपर्छ । युवाका लागि विदेशमा अध्ययन र काम गर्ने थुप्रै अवसर छन् । सरकारले सही नीति ल्याएर ती अवसर उपयोग गर्ने वातावरण बनाउनुपर्छ ।

संसद् प्रवेश गरेपछि कानुन, नीति निर्माण प्रक्रिया र कार्यान्वयन पक्षको वास्तविकता नजिकबाट बुझ्न पाएकी छु । जब गैरसरकारी मानव शरीर जलन नियन्त्रण तथा सजाय विधेयक (जलन विधयक) ल्याउने विषयमा काम गरें तब थाहा भयो हाम्रो कानुनी संरचना बलियो भए पनि कार्यान्वयन पक्ष निकै कमजोर छ ।

म आफैं जलनपीडित भएकाले यो विधेयक मेरा लागि व्यक्तिगत लडाइँजस्तै हो । संसद्मा यो विषय उठाउँदा धेरैले यसलाई गम्भीर रूपमा लिएनन् । किनभने, पीडितको पीडा महसुस गर्नेहरू थोरै मात्र छन् । तर, म पछि हटिनँ र विधेयक नै बनाएर दर्ता गराएँ । सकेसम्म विधेयक टेबल गर्न कोसिस गरिरहेको छु । १४ जना माननीयले संयुक्त रूपमा गत साउन ३१ मा मानव शरीर जलन नियन्त्रण तथा सजायसम्बन्धी व्यवस्था गर्न बनेको गैरसरकारी विधेयक दर्ता गराएका हौं । एउटा सांसदको काम सरकारले ल्याएको विधेयकमा मात्रै छलफल गर्नु हुँदैन । देश र समाजलाई आवश्यक देखिएको कानुन निर्माणका लागि आफूले पनि विधेयक ल्याउन सक्छ । त्यसैअनुसार जलनसम्बन्धी कानुन नभएकाले त्यसको आवश्यकता महसुस गरेर विधेयक दर्ता गराएका हौं । 

मानव शरीर जलनसम्बन्धी घटनाबाट पीडित नागरिकको उद्धार, उपचार र राहतसम्बन्धी विषयमा विद्यमान ऐनमा कुनै पनि प्रभावकारी व्यवस्था छैन । विशेष कानुन नभएकैले मानव शरीर जलन नियन्त्रण सम्बन्धमा कानुनी व्यवस्था गर्न विधेयक दर्ता गराएका हौं । जलनपीडितलाई राहत पुर्‍याउन, जलनका घटना गराउनेलाई कारबाही गर्न, हानि नोक्सानीप्रति जवाफदेही बनाउन एवं उत्तरदायी बनाउने लक्ष्य विधेयकले राखेको छ । क्षतिपूर्ति भराउन र पीडकलाई कडा सजाय गराई यस्तो घटना निरुत्साहित गर्न उक्त कानुनको आवश्यकता छ । यो अत्यावश्यक कानुन हो । यसलाई प्राथमिकतामा राखेर अगाडि बढाउन सदन र सरकारले ध्यान दिनुपर्छ । सरकारले यस्ता विषयलाई ध्यानमा राखेर प्रोत्साहन दिनुपर्छ, राजनीतिक हिसाबले हेरेर पन्छाउने काम मात्रै गरिनुहुन्न । 

मेरो अनुहार जलाएर मलाई तर्साउने सोच राख्नेलाई म भन्न चाहन्छु– म आगोमा बलें तर खरानी भइनँ, संसद्सम्म आइपुगें । मलाई लाग्छ, मजस्तै हजारौं युवाले आफूलाई अब्बल बनाउने मौका पाउनुपर्छ ।

सरकारले युवाकेन्द्रित नीति ल्याउनु जरुरी छ र यसका लागि निरन्तर लडिरहनेछु । युवा पुस्ता जबसम्म संगठित भएर अगाडि आउँदैन, तबसम्म परिवर्तनको यात्रा अपूरो नै रहन्छ । त्यसैले, अब समय आएको छ– युवा उठ्न, नेतृत्व गर्न र देशलाई नयाँ दिशा दिन । यदि म सक्छु भने, तपाईं पनि सक्नुहुन्छ । युवाको आवाज सडकदेखि सदनसम्म उठ्नु जरुरी छ । म चाहन्छु कि भुइँमान्छेको संघर्ष केवल व्यक्तिगत लडाइँमा सीमित नरहोस् । यो हाम्रै पुस्ताको संघर्ष हो– न्यायका लागि, अवसरका लागि र असल भविष्यका लागि ।

विन्दवासिनी प्रतिनिधिसभा सदस्य, रास्वपा, तेजाब आक्रमणपीडित एवं युवा अधिकारकर्मी

Link copied successfully