कार्यकारी तहमै समावेशी नेतृत्व

संविधानले संसद्लाई त समावेशी बनायो, तर कार्यकारी तह समावेशी छैन, मुख्य काम कार्यकारी तहबाट कार्यान्वयन गर्नुपर्ने हुन्छ, सरकारमा दलितको प्रतिनिधित्वमा खासै ध्यान दिइएको छैन 

फाल्गुन ७, २०८१

सीता मिजार

Inclusive leadership at the executive level

विद्यार्थी राजनीति गर्दागर्दै सांसद भएँ । युवा उमेरमै संसद्भित्र छिर्न पाउँदा उत्साही पनि भएँ । सँगै जिम्मेवारीले थिचेजस्तो पनि भयो । तर, मनभरि सपना थिए । म हुर्केको, हिँडेको गाउँ र खासगरी आर्थिक रूपमा कमजोर, सामाजिक रूपमा अपहेलित समुदायको प्रतिनिधित्व गरेर म त्यहाँ पुगेको थिएँ ।

समुदायका दुःख र आँसु पुछ्न सक्छु कि भन्ने दृष्टिले सुरुका दिन निकै उत्साही भएँ । केही गर्ने हुटुहुटी पनि थियो । 

मनभरि सपना र आशाका किरण बोकेर संसद् छिरेको आज दुई वर्ष दुई महिना बितिसकेको छ । यसबीचमा बागमतीमा धेरै पानी बगिसक्यो । तर, जुन उद्देश्य र लक्ष्य बोकेर म संसद्भित्र छिरेको थिएँ, तिनमा अपेक्षित परिणाम भने प्राप्त गर्न नसकेको आफैंलाई अनुभव हुन्छ । प्रयास जारी छ । तर, संसद्मा छिरेर मात्र सबै कुरा पूरा नहुने रहेछ । मूलतः संसद् र सांसदको मूल दायित्व कानुन बनाउने काम हो । तर, त्यहाँ पुगेर कानुन बनाउने मात्र होइन, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा पछाडि परेका वर्ग र समुदायको न्यायका लागि लड्ने थलो पनि हो ।

त्यसका लागि बारम्बार आवाज उठाउने मूल दायित्वबाट म चुकेको छैन । थाकेको छैन । राज्यले कति सुन्छ, कति सुन्दैन भन्ने कुरा बेग्लै भयो । तर, पछाडि परेका वर्ग, समुदायको न्यायका लागि आवाज संसद्मा नउठ्ने हो भने भेदभाव र अन्यायरहित समाज निर्माण सहज देखिन्न । 

सबै खालका अन्यायबाट मुक्त समाज निर्माण गर्ने हाम्रो मूल दायित्व हो । त्यसका लागि संसद्मा मेरो कति भूमिका हुन्छ ? कति गर्न सकिन्छ ? त्यसमा म दत्तचित्त छु । राज्यलाई कतर्व्यच्युत हुनबाट रोक्न, सबै खालका अन्याय र अत्याचार बन्द गर्न खबरदारी गर्ने र राज्यले झकझकाउने काम गरेको छु । 

संविधान आफैंमा राम्रो छ । मौलिक हकले सबै वर्ग र समुदायको आर्थिक, व्यावसायिक र रोजगारीका हक ग्यारन्टी गरेको छ । संविधानमा व्यवस्था गरिएका मौलिक हकलाई कार्यान्वयनमा ल्याउन आवश्यक कानुन अझै बन्न सकेको छैन । कानुन निर्माण गर्ने, कानुनलाई कार्यान्वयन गर्ने नियमावली बनाउने काम अझै गर्न बाँकी छन् ।

त्यसका लागि बारम्बार दबाब दिने र खबरदारी गर्ने काम संसद् र आफूले प्रतिनिधित्व गर्ने कांग्रेस पार्टीभित्र पनि बारम्बार गरेको छु । अझ बनेकै कानुन कार्यान्वयनको पाटो पनि नाजुक छ । संघीय प्रणालीअन्तर्गत तीन तहमै दलित, महिला, जनजाति, मधेशी, पिछडिएका वर्ग र समुदायको विकासका लागि सांस्कृतिक संरक्षण र आर्थिक सुधारका कार्यक्रम सरकारका नीति तथा योजनामा समावेश गर्ने, बजेटमा पार्नेमा भूमिका निर्वाह गर्दै आएको छु । 

यो अवधिको अनुभवले के देखायो भने बाहिरबाट जस्तो गर्छु भनेर संसद् आएको थिएँ, त्यही भावनाका साथ गर्न नसकिने रहेछ । सोचेको जस्तो एजेन्डा, मुद्दा राख्न सकिने अवस्था छैन । तर प्रयास जारी छ । त्यसमा पनि हामीलाई हेर्ने दृष्टिकोण धेरै फरक छ । कार्यगत रूपमा संसद्भित्र पनि सामूहिकताको भावना एकदमै कम छ । संविधानले संसद्लाई त समावेशी बनायो । तर, कार्यकारी तहमा समावेशी छैन । मुख्य काम कार्यकारी तहबाट कार्यान्वयन गर्नुपर्ने हुन्छ । त्यसमा दलित आफैं पुगेर कार्यान्वयन गर्ने कुरामा अझै कमजोरी छन् ।

कार्यकारी अर्थात् सरकारमा दलितको प्रतिनिधित्वमा खासै ध्यान पुग्दैन । भई हाले पनि नाम मात्रैको प्रतिनिधित्व हुने गर्छ । त्यसैले कार्यकारीलाई बारम्बार दबाब पुर्‍याउनुपर्ने हुन्छ । तर, संसद्मा एउटा समुदायले उठाएको मुद्दा अर्को समुदायले खासै मतलब नराख्ने, दलिको मुद्दा दलितले मात्रै, आदिवासी जनजाति, मधेशी, थारू, अल्पसंख्यकका मुद्दा त्यही समुदायले मात्रै उठाउने जस्तो छ । अरू समुदायका माननीयले प्राथमिकता नदिने अर्थात् त्यसमा ऐक्यबद्धता नजाउने व्यवहार छ । पार्टीभित्र पनि विचार र दृष्टिकोणमा एकरूपता छ । मुद्दामा र ऐक्यबद्धतामा कमी छ । यसलाई चिर्नु आवश्यक छ । 

समावेशिता आफैंमा राम्रो पक्ष हो । समावेशिताकै कारण बहुजाति, बहुभाषी, बहुधार्मिक समुदायको अनुहार आज संसद् भित्र देखिन्छ । यो सुन्दर पक्ष हो । यसले तल्लो समुदायका व्यक्तिको क्षमता विकासमा सहयोग पुर्‍याएको छ । तर, शासकीय पहुँच र राज्यको संरचनाको पहुँच बढाउन अझै बाँकी छ । संसद्मा सबैको प्रतिनिधित्व हुँदा संसद्बाट बन्ने कानुनहरूको अपनत्व ग्रहण गर्ने काम हुन्छ । अर्कोतर्फ राज्यले न्याय गरे वा नगरेको विषयलाई नजिकबाट निकाल्ने काम हुन्छ । तर, समावेशिता जुन लक्ष्य र वर्ग समुदायको प्राथमिकतामा पर्नुपर्ने हो यदाकदा त्यसो हुन सकेको छैन ।

समुदायभित्रै पनि पछाडि परेका व्यक्तिलाई माथि ल्याउने काम यसको मुख्य लक्ष्य हो तर त्यहाँभित्र पनि टाठाबाठाले बढी अवसर पाएका छन् । यसको व्यवस्थापन सही ढंगले गर्न सकिएन भने द्वन्द्व र मनमुटाब सिर्जना हुने अवस्था आउन सक्छ । त्यसैले तल्लो वर्ग र समुदायको सशक्तीकरणका लागि, उनीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक हक स्थापित गर्नका लागि समावेशिता चाहिन्छ । तर, संसद्मा प्रतिनिधित्व अनुहारले मात्रै सम्पूर्ण काम गर्न सक्दैन ।

संसद्भन्दा माथि सरकार छ । सरकारमा अझै पनि दलितको प्रतिनिधित्व देखाउनेका निम्ति मात्रै छ । कहिलेकाहीं त शून्य नै हुन्छ । यसले दलितका आवाज, मुद्दा र सरोकारका विषयमाथि राज्यले प्राथमिकता दिने र आवश्यक नीति, योजना र कार्यक्रम अघि बढाउने दिशामा सोचेजस्तो काम भएको छैन । संसद्सँगै कार्यकारी र राज्यका अरू महत्त्वपूर्ण निकायमा समेत प्रतिनिधित्व आवश्यक छ । 

राजनीतिक अधिकार प्राप्ति त भयो र अधिकार उपयोग गर्न अझै पनि थुप्रै कानुन बन्न बाँकी छन् । खासगरी मौलिक हक कार्यान्वयनको दिशामा आवश्यक कानुन आउन सकेको छैन । त्यसका लागि सरकारलाई सशक्त दबाब दिनु आवश्यक छ । 

सम्पूर्ण किसिमका भेदभावलाई सामाजिक अपराधका रूपमा संविधान र कानुनमा व्यवस्था गरिएको युगौं भइसक्यो, तर आज पनि दलितमाथि भेदभेव कायमै छ । हालै मात्र नेहा र सत्यन्त्रको अन्तरजातीय विवाह बदर गराउन भइरहेको दबाब र उनीहरूको सुरक्षालाई लिएर राष्ट्रिय मुद्दा नै बन्न पुग्यो । रुकुम पश्चिम घटनामा मारिएका जाजरकोटका नवराज विश्वकर्माको नियति यो समाजमा फेरि अरू कसैले भोग्न नपरोस् भन्न संसद् र सडक संघर्ष गर्नुपर्ने अवस्था छ । समाजमा घटेका विभिन्न घटनाले दलितका नाममा हुने भेदभावपूर्ण व्यवहार र घटनाबारे अनुसन्धान गर्न प्रहरीमा एउटा विशेष अनुसन्धान युनिट नै हुनुपर्छ भन्ने पछिल्लो नेहा र सत्यन्त्रको घटनाले उजागार गरेको छ । 

एउटा सांसदमाथि समाजको ठूलो अपेक्षा हुन्छ । खासगरी पछाडि परेका दलित समुदायबाट त आर्थिक सुरक्षा र जीवनयापनको समस्या हल गरिदिए हुन्थ्यो भन्ने अपेक्षा रहन्छ । सांसदले गर्न सक्ने सीमितताका बारेमा उनीहरूमा राम्रो ज्ञान हुँदैन । आर्थिक र कानुनी रूपमा कसरी सुरक्षित गर्ने ? सामाजिक र सांस्कृतिक न्याय कसरी गर्ने ? आयआर्जन, व्यवसायमा कसरी आबद्धता गराउने ? त्यसको स्रोतको व्यवस्थापन कसरी गर्ने ? अहिलेको मुख्य चुनौती छन् ।

आर्थिक जीवनस्तर नउठाईकन आत्मसम्मानका साथ बाँच्न पाउने अधिकारसमेत दिलाउन मुस्किल हुन्छ । त्यसैले सबैभन्दा ठूलो पछाडि परेका समुदायका आर्थिक सुरक्षा नै मुख्य चुनौती मैले अनुभव गरेको छु । सरकारको नीति र कार्यक्रम यस दिशामा केन्द्रित हुन जरुरी छ । नीति तथा कार्यक्रम र बजेट पार्न एउटा सांसदले गर्ने भनेको राज्यलाई झकझकाउने र दबाब दिने मात्र हो । सरकारको नीति नभएको पनि होइन, छ । तर, वास्तविक र लक्षित समुदायसम्म त्यस्तो कार्यक्रम पुग्न सकिरहेको छैन । एउटा समस्या के पनि छ भने संघले प्रदेशलाई देखाउने, प्रदेशले स्थानीयलाई देखाउने र स्थानीयमा कहीं कतै पनि कार्यक्रम नभेटिने अवस्था पनि विद्यमान छ । 

राज्यले गर्नुपर्ने मूल दायित्व भनेको दलितको उत्थानका लागि परम्परागत रैथाने सीपको संरक्षण गर्ने र उनीहरूको वृत्ति विकासका लागि कार्यक्रम लैजानुपर्छ । रैथाने पेसा र व्यवसायको संरक्षणको नाममा जाने बजेट पनि लक्षित समुदायले नपाइरहेको अवस्था छ । यस्ता कार्यक्रम लक्षित समुदायमा पुगेको छ कि छैन, नगएको भए पुर्‍याउने, अन्यत्र गएको रहेछ भने सच्याउने जस्ता कामका लागि निगरानी बढाउनुपर्ने देखिन्छ । 

अहिले संसद्मा तीन पुस्ताको प्रतिनिधित्व देखिन्छ । हजुबादेखि नाति पुस्तासम्मको प्रतिनिधित्व संसद्भित्र छ । तर, हामीजस्ता युवाको संसद्मा केही संख्यामा प्रतिनिधित्व भए पनि उनीहरूको निर्णायक भूमिका छैन । कार्यकारीमा प्रतिनिधित्व कम छ ।

पुरानो पुस्ताका नेता जसले राज्यको सम्पूर्ण राजकाज चलाइरहनुभएको छ, उहाँहरूले युवाहरूको भावना बुझेर अघि बढ्दा राम्रो हुन्थ्यो । तर, हामीहरूको सोचाइ र स्प्रिड एकातिर र राजकाज चलाउन पुराना पुस्ताका नेताहरूको भावना अर्कोतिर गएको जस्तो लाग्छ । भावना बुझ्नु हुन्छ । मुद्दा बुझ्नु हुन्छ । तर, कार्यान्वयनमा जाने बेलामा कहीं न कहीं चुकेको जस्तो लाग्छ । सांसदहरूबीचमा पनि मुद्दा विशेषमा एकताभन्दा पनि प्रतिस्पर्धा बढी देखिन्छ । त्यसैले संसद् अहिले मेरा लागि सिक्ने र अझ बुझ्ने काम भइरहेको छ । 

सीता प्रतिनिधिसभा सदस्य, कांग्रेस

Link copied successfully