ट्रम्प भन्छन् : मलाई अन्तर्राष्ट्रिय कानुन आवश्यक छैन

न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन् : मलाई लाग्दैन, चिनियाँ राष्ट्रपति सीले ताइवानमाथि कब्जा गर्छन्

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Trump says: I don't need international law

What you should know

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अन्तर्राष्ट्रिय कानुन नचाहिने बताएका छन् । न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूलाई 'नैतिकता'ले मात्र रोक्न सक्ने बताएका हुन् । 

ट्रम्पले अन्तर्वार्ताका क्रममा भनेका छन्, 'मलाई अन्तर्राष्ट्रिय कानुन आवश्यक छैन । मलाई रोक्न सक्ने भनेको मेरै आफ्नै नैतिकता हो, मेरै आफ्नै मस्तिष्क हो ।' उनले अगाडि भनेका छन्, 'म मानिसहरूलाई दु:खी बनाउन चाहन्नँ ।' 

त्यस्तै उहाँले अन्तर्राष्ट्रिय कानुन पालना गर्नु आवश्यक छ कि छैन भन्ने न्युयोर्क टाइम्सको प्रश्नमा उनले भने, 'म गर्छु ।' तर उनी त्यतिमै रोकिएनन्, 'यो तपाईँको अन्तर्राष्ट्रिय कानुनको परिभाषामा निर्भर गर्छ ।'

न्युयोर्क टाइम्सका अनुसार अन्तर्वार्ताका क्रममा ट्रम्पले ग्रीनल्यान्ड कब्जाबारे विभिन्न विकल्पहरू अध्ययन गर्दै थिए । सोही क्रममा उनले स्वामित्वको महत्त्वमा पनि जोड दिएका थिए । अन्तर्वार्ताका क्रममा उनले भने, 'स्वामित्व धेरै महत्त्वपूर्ण छ ।  मेरो विचारमा सफलता हासिल गर्न मानसिक रूपमा यसैको आवश्यकता हुन्छ । मलाई लाग्छ कि स्वामित्वले तपाईंलाई त्यस्ता कुरा दिन्छ जुन तपाईं सम्झौता वा लिजमार्फत पाउन सक्नुहुन्न । स्वामित्वले त्यस्ता वस्तु र तत्त्व दिन्छ जुन केवल कागजमा हस्ताक्षर गरेर पाउन सकिँदैन ।'

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई हटाउने आफ्नो निर्णयले ताइवानमाथि चीन र युक्रेनमाथि रुसले कब्जा जमाउने कुराको नजिर बन्न सक्ने कुरा पनि ट्रम्पले अस्वीकार गरेका छन् । त्यस्तै भेनेजुएलामाथिको आक्रमणलाई जायज भन्दै मदुरोले अमेरिकामा 'ग्याङ मेम्बर' पठाउने गरेको आरोप ट्रम्पले लगाए ।

'यो साँच्चिकै खतरा थियो । तपाईंले चीनमा मान्छेको लावालस्कर गएको देख्नु भएन । तपाईंले चीनमा लागुऔषध ओसारिएको पनि देख्नु भएन । हामीले भोगेका सबै नराम्रा त्यहाँ थिएनन् । ताइवानका जेल खुलै र मान्छेहरू चीनतर्फ पनि आएका छैनन् । कुनै अपराधीहरू रुसतिर पनि गएका छैनन्,' ट्रम्पले भनेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानमाथि कब्जा गर्नेमा आफूलाई विश्वास नभएको ट्रम्पले बताए । उनले अगाडि भने, 'यो उनीमाथि नै भर पर्ने कुरा हो, उनी के गर्छन् । तर, मैले भनेको छु कि उनले त्यसो गरे भने म खुसी हुने छैन । मलाई आशा छ, उनले त्यसो गर्ने छैनन् ।'

कान्तिपुर

Link copied successfully