ट्रम्प भन्छन् : 'नयाँ तेल डिल'बाट पाउने पैसाले भेनेजुएलाले अमेरिकामै बनेको सामान किन्नुपर्छ

ट्रम्पले लेखेका छन्, 'मलाई जानकारी प्राप्त भएको छ कि हाम्रो नयाँ तेल सम्झौताबाट पाउने पैसाले भेनेजुएलाले अमेरिकामा बनेका सामान मात्र किन्नेछ ।'

पुस २४, २०८२

कान्तिपुर संवाददाता

Trump says Venezuela should buy American-made goods with money from 'New Oil Deal'

What you should know

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ 'तेल डिल' बाट पाउने पैसाले भेनेजुएलाले अमेरिकाबाट मात्र सामान किन्नुपर्ने बताएका छन् । सोसल मिडिया प्लाटफर्म ट्रुथ सोसलमार्फत राष्ट्रपति ट्रम्पले भेनेजुएलाले अमेरिकामा बनेका सामान मात्र किन्न पर्ने बताएका हुन् । 

यद्यपि नयाँ सम्झौताबारे वासिंटनले केही भनेको छैन । भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले पनि तेल सम्झौताका लागि तयार रहेको बताएकी थिइन् । 

ट्रम्पले लेखेका छन्, 'मलाई जानकारी प्राप्त भएको छ कि हाम्रो नयाँ तेल सम्झौताबाट पाउने पैसाले भेनेजुएलाले अमेरिकामा बनेका सामान मात्र किन्नेछ ।' ट्रम्पले भेनेजुएलालले अमेरिकी कृषि उत्पादन, औषधि, मेडिकल उपकरण, विद्युत् ग्रीड र ऊर्जा केन्द्र सुधारसम्बन्धी मेसिनहरू किन्नुपर्ने बताएका हुन् । 

ट्रम्पले अगाडि लेखेका छन्, 'भेनेजुएला अब अमेरिकालाई आफ्नो मुख्य व्यावसायिक साझेदार बनाउन प्रतिबद्ध छ । यो सुझबुझपूर्ण निर्णय भेनेजुएला र अमेरिका दुवैका लागि निकै राम्रो कुरा हो ।'

यसअघि अमेरिकाले भेनेजुएलाको तेल बिक्री 'अनिश्चितकालसम्म' आफ्नै नियन्त्रणमा हुने बताएको थियो । त्यति मात्र होइन तेल बिक्रीबाट प्राप्त हुने पैसाको प्रयोग कसरी गर्ने भन्ने पनि निर्णय गर्ने बताएको थियो । 

भेनेजुयला विश्वकै सबैभन्दा ठूलो तेल भण्डार हो । तर प्रचुर स्रोत हुँदाहुँदै पनि तेल उत्पादन निकै कम छ । यूएस इनर्जी इन्फर्मेसन एडमिनिस्ट्रेसनका अनुसार भेनेजुएलामा करिब ३ सय ३ अर्ब ब्यारल कच्चा तेलको भण्डार छ, जुन विश्वको कुल तेल भण्डारणको करिब २० प्रतिशत हिस्सा हो ।

अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा अप्रत्याशित हमला गर्दै राष्ट्रपति निकोलस मदुरो र पत्नी सिलिया फ्लोरेसलाई कब्जामा लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ‘सुरक्षित र सही रूपमा सत्ता हस्तान्तरण नभएसम्म अमेरिकाले शासन चलाउने’ घोषणा गरेका छन् ।

अमेरिकाले काराकासमा स्थानीय समयअनुसार शनिबार राति २ बजेतिर हवाई हमला गरेको थियो । त्यति बेला ११ पटकसम्म विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि भेनेजुएला सरकारले विज्ञप्ति जारी गरेर संकटकाल घोषणा गर्‍यो । लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले मदुरो र उनकी पत्नी अमेरिकी सेनाको कब्जामा रहेको जानकारी गराएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully