अमेरिका-भेनेजुएला तनावमा नेपालको प्रतिक्रिया : सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर

संवाद, कूटनीति तथा आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा विवाद समाधान गर्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

Nepal's response to US-Venezuela tensions: Respect sovereignty and territorial integrity

काठमाडौँ — अमेरिका-भेनेजुएला तनावबारे नेपालले प्रतिक्रिया दिएको छ । बुधबार राति प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भेनेजुएलामा भइरहेका घटनालाई नजिकबाट नियालिरहेको जनाएको हो । 

साथै नेपालले सबै पक्षलाई संयमित हुन पनि आग्रह गरेको छ । ' सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयमता अपनाउन र तनावलाई बढ्न नदिन नेपाल आह्वान गर्दछ,' विज्ञप्तिमा भनिएको छ । 

संयुक्त राष्ट्र संघको बडापत्रमा समावेश गरिएका राष्ट्रहरूको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्नुपर्नेमा पनि नेपालले जोड दिएको छ । संवाद, कूटनीति तथा आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा विवाद समाधान गर्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा अप्रत्याशित हमला गर्दै राष्ट्रपति निकोलस मदुरो र पत्नी सिलिया फ्लोरेसलाई कब्जामा लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ‘सुरक्षित र सही रूपमा सत्ता हस्तान्तरण नभएसम्म अमेरिकाले शासन चलाउने’ घोषणा गरेका छन् ।

अमेरिकाले काराकासमा स्थानीय समयअनुसार शनिबार राति २ बजेतिर हवाई हमला गरेको थियो । त्यति बेला ११ पटकसम्म विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि भेनेजुएला सरकारले विज्ञप्ति जारी गरेर संकटकाल घोषणा गर्‍यो । लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले मदुरो र उनकी पत्नी अमेरिकी सेनाको कब्जामा रहेको जानकारी गराएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully