काठमाडौँ — भारतीय विदेश मन्त्रालयले बिहीबार राति पाकिस्तानले ३/४ सय वटा ड्रोन आक्रमण गरेको जनाएको छ । शुक्रबारको प्रेस ब्रिफिङमा कर्नेल सोफिया कुरैशीले बिहीबार राति भारतका विभिन्न क्षेत्रमा पाकिस्तानले ड्रोन आक्रमण गरेको जनाएकी हुन् ।
कर्नेल कुरैशीले ब्रिफिङमा भनिन्, 'लेहदेखि सरक्रिकसम्म ३६ ठाउँमा ३००-४०० ड्रोनका माध्यमबाट घुसपैठको प्रयास भयो । भारतीय सुरक्षा बलले काइनेटिक र ननकाइनेटिक उपकरण प्रयोग गरी थुप्रै ड्रोन खसाले । ' पाकिस्तानले भने भारतको आरोप खण्डन गर्दै आएको छ ।
बिहीबार राति पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले बीबीसीसँगको कुराकानीमा ड्रोन आक्रमण नगरेको बताएका थिए । उनले भनेका थिए, 'हामीले अहिलेसम्म केही गरेका छैनौँ। जब पाकिस्तानले आक्रमण गर्नेछ सबैलाई थाहा हुनेछ ।'
कर्नेल कुरैशीका अनुसार पाकिस्तानले टर्किएमा बनेका ड्रोनबाट आक्रमण प्रयास गरेको हो । त्यस्तै उनले सीमा क्षेत्रमा पाकिस्तानले भीषण गोलाबारी गरेको पनि बताएकी छिन् । यद्यपि उनले सीमापारबाट भएको आक्रमण मानवीय क्षति भएको/नभएकोबारे केही जानकारी दिइनन् ।
