भारत-पाकिस्तान द्वन्द्व : आईपीएल एक हप्ताका लागि स्थगित

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

India-Pakistan conflict: IPL postponed for a week

काठमाडौँ — भारत-पाकिस्तानबीचको द्वन्द्वले दुवैतर्फका क्रिकेट लिग पनि प्रभावित भएका छन् । पाकिस्तान सुपर लिग(पीएसएल) का बाँकी खेल दुबईमा सारिएको छ ।

त्यस्तै इन्डियन प्रिमियर लिग तत्कालका लागि १ हप्ता पछाडि धकेलिएको छ। भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) ले तत्काल १ हप्ताका लागि खेल स्थगित गरिएको जनाएको छ । खेलको नयाँ तालिका र स्थान पछि सार्वजनिक गरिने पनि बीसीसीआईले जनाएको छ । 

बिहीबार धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि सुरक्षाको कारण देखाउँदै स्थगित गरिएको थियो । धर्मशाला गोलीबारी चलिरहेको ठाउँ पठानकोटबाट १०० किलोमिटरभन्दा पनि कमको दूरीमा रहेको छ ।

धर्मशालामा खेल चलिरहेकै बेला सुरक्षासम्बन्धी चेतावनी आएपछि बीच ओभरमै खेल रोकिएको हो । मिडिया रिपोर्टहरूका अनुसार दुई देशबीचको तनाव चर्किँदै जाँदा आईपीएल खेलिरहेका विदेशी खेलाडी त्रसित छन् । केही खेलाडीले स्वदेश फर्कनका लागि अपिलसमेत गरेका थिए ।

अहिलेसम्म आईपीएल-२०२५ को लिग चरणका ५८ खेल सकिएका छन् । लिग चरणकै १२ खेल अझै बाँकी छन् । लिग चरणपछि प्लेअफका खेल सुरु हुनेछन् जहाँ शीर्ष ४ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully