बहिनीसहित हसिनाले छाडिन् प्रधानमन्त्रीको सरकारी निवास 'गणभवन'
काठमाडौँ — देशभर प्रदर्शन चर्किएपछि बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिने सम्भावना बलियो रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबारदेखि बंगलादेशमा आन्दोलन पुन: चर्किएको हो । आइतबार मात्र कम्तीमा ९६ जनाको मृत्यु भएको ढाका ट्रिब्युनले जनाएको छ ।
हसिनाका वरिष्ठ सहायकलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले प्रधानमन्त्रीको राजीनामा आउने 'सम्भावना' रहेको उल्लेख गरेको छ ।
त्यस्तै सुरक्षाका लागि भन्दै प्रधानमन्त्री हसिनाले ढाका दरबार पनि छाडेकी छिन् । एएफपीका अनुसार हसिना र उनकी बहिनीले प्रधानमन्त्रीको सरकारी निवास 'गणभवन' छाडेकी छिन् ।
यसैबीच प्रधामन्त्री हसिनाका छोरा सजीव वाजेदले सुरक्षा निकायलाई देशमा 'अनिर्वाचित सरकार' आउन नदिन अनुरोध गरेका छन् । भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री हसिनाका आईटी सल्लाहकारसमेत रहेका वाजेदले सुरक्षा निकायलाई नागरिकको सुरक्षा र मुलुकको संविधानको रक्षा गर्न अपिल गरेका हुन् ।
