सेनाले भन्यो : सेनाप्रमुखको सम्बोधनसम्म शान्त रहनूस्
काठमाडौँ — प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले देशभर इन्टरनेट सेवा बन्द गरेको छ । यसअघि आंशिक रूपमा इन्टरनेट सेवा बन्द गरिए पनि पछिल्लो पटक देशभर बन्द गरिएको हो । इन्टरनेट बन्द गरिएका कारण बंगलादेशका अनलाइन सञ्चारमाध्यमहरू बन्द भएका छन् ।
बंगलादेशमा सबैभन्दा पढिने ढाका ट्रिब्युन र बांग्ला ट्रिब्युनमा पछिल्ला समाचार अपडेट भएका छैनन् । त्यस्तै द डेली बांग्ला स्टार र द डेली स्टारलगायतका अनलाइन पोर्टल पनि बन्द भएका छन् । बंगलादेशमा झन्डै १३ करोडले इन्टरनेट सेवा प्रयोग गर्छन् ।
आइतबारदेखि बंगलादेशमा पुन: आन्दोलन चर्किएको हो । केही दिन मत्थर भएको सरकारविरोधी आन्दोलन पुन: चर्किएको हो । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९६ जनाको मृत्यु भएको ढाका ट्रिब्युनले जनाएको छ । 'विभेदविरोधी विद्यार्थी आन्दोलन' को ब्यानरमा भएको प्रदर्शनका क्रममा ठाउँ-ठाउँमा सुरक्षाकर्मीसँग झडप भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।
सोमबार कम्तीमा पनि ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ढाकामा सोमबार मात्र प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ । राजधानी ढाकामा गाउँगाउँबाट समेत प्रदर्शनका लागि मानिसहरू आएको समाचारमा उल्लेख छ ।
सिराजगन्जस्थित इनायतपुर प्रहरी स्टेसनमा आक्रमण हुँदा १३ जना प्रहरीको मृत्यु भएको छ । आइतबार दिउँसो केही व्यक्तिको समूह आएर प्रहरी चौकीमा आक्रमण गरेको बताइएको छ । ड्युटीमा रहेका १३ प्रहरीलाई कुटिकुटी मारिएको ढाका ट्रिब्युनले जनाएको छ । केही ठाउँमा सत्तारुढ दल अवामी लिगका कार्यकर्ता र प्रदर्शनकारी विद्यार्थीबीच पनि झडप भएको छ ।
केही ठाउँमा अवामी लिगका कार्यकर्ता र नेताहरूको समेत मृत्यु भएको छ । बंगलादेशमा विद्यार्थीहरू सरकारी जागिरमा आरक्षणको विरोध गर्दै आन्दोलनमा उत्रिएका हुन् । पछिल्लो पटक उनीहरूको 'एकसूत्रीय' माग नै सरकारको राजीनामा रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएको छ । आन्दोलनका क्रममा मृत्यु भएकाको न्यायका लागि भन्दै विद्यार्थीहरू पुन: सडकमा उत्रिएका हुन् ।
सेना प्रमुखले सम्बोधन गर्दै
प्रदर्शनका बीच बंगालदेशका सेना प्रमुख जनरल वाकर उज जमानले स्थानीय समयअनुसार सोमबार दिउँसो ३ बजेतिर देशका नाममा सम्बोधन गर्ने ढाका ट्रिब्युनको समाचारमा उल्लेख छ । सेना प्रमुखले सम्बोधन गर्ने सूचना सेनाको सञ्चार निर्देशनालय इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स(अन्तवाहिनी जनसंयोग) ले पुष्टि गरेको हो । सेना प्रमुखको सम्बोधनसम्म आम सर्वसाधारणलाई शान्त रहनसमेत भनिएको छ ।
विपक्षीविहीन चुनावदेखि नै सरकारविरोधी जनलहर
अवामी लिगकी नेत्री शेख हसिना गत जनवरीमा भएको आम चुनाव जित्दै चौथो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएकी थिइन् । उनी बंगलादेशी स्वतन्त्रता सेनानी शेख मुजिबर रहमानकी छोरी हुन् । विवाद र प्रतिपक्ष दलको बहिष्कारबीच बंगलादेशमा भएको संसदीय चुनावमा शेख हसिना चौथो पटक लगातार विजयी भएकी हुन् ।
बंगलादेशको प्रमुख प्रतिपक्ष दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले भने चुनाव बहिष्कार गरेको थियो । बीएनपीले धाँधलीपूर्ण तरिकाले गरिएको चुनाव मान्य नहुने बताएको थियो । हसिना नेतृत्वको सरकारले चुनावअघि नै बीएनपीका हजारौं कार्यकर्ता तथा आफ्ना विरोधीलाई पक्राउ गरेको थियो ।
हसिना पहिलो पटक सन् १९९६ मा बंगलादेशको प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि सन् २००९ मा उनी पुनः प्रधानमन्त्री बनिन् । त्यसयता बंगलादेशमा लगातार उनले शासन गरिरहेकी छन् । हसिनामाथि तानाशाही शैलीमा सत्ता चलाएको आरोप लाग्दै आएको छ । सन् २०१८ मा गरिएका विरोध प्रदर्शनपछि हसिना नेतृत्वको सरकारले त्यस्तो आरक्षण प्रणाली खारेज गरेको थियो । तर गत जुनमा अदालतले त्यस्तो प्रणालीलाई पुनर्स्थापना गरेपछि विद्यार्थी पुनः आन्दोलनमा उत्रेका हुन् ।
