बंगलादेश आन्दोलनको प्रभाव : १० दिनदेखि नेपालसहित तीन देशको व्यापार ठप्प

श्रावण ८, २०८१

पर्वत पोर्तेल

Impact of Bangladesh movement: Business of three countries including Nepal has been stopped for 10 days

विराटनगर — छिमेकी मुलुक बंगलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपालसहित भारत र भुटानको व्यापारमा पनि परेको छ ।

नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापार नाका फूलबारी–बंगलाबन्ध विगत १० दिनदेखि ठप्प छ । सधैं गुल्जार देखिने यो अन्तर्राष्ट्रिय नाका बंगलादेशमा चर्किएको आन्दोलनका कारण सुनसान बनेको हो । नेपाल–बंगलादेश व्यापारको सहजीकरण गर्ने निकाय नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड काँकडभिट्टाका प्रमुख सुवास पाण्डेले आन्दोलनका कारण नाका ठप्प रहेको बताए ।

‘बंगलादेशबाट आउने कतिपय सामान अहिले नाकामै रोकिएका छन्,’ उनले भने, ‘निर्यातका लागि पठाइएका केही कन्टेनर पनि फूलबारी नाकाको सुख्खा बन्दरगाह क्षेत्रमा रोकिएका छन् । भारत र भुटानले यो नाकाबाट ढुंगा निर्यात गर्दै आएका छन् ।’

उनका अनुसार आन्दोलन मत्थर नभएसम्म यहाँबाट व्यापार सुचारु हुने सम्भावना छैन । पारवहानका अनुसार खुदो, दाल, जडीबुटी, दाना, चुत्थोलगायतका आधा दर्जन नेपाली वस्तु बंगलादेश निर्यात हुन्छ । उताबाट ब्याट्री, औषधी, सोयाबिन, आलु, जुटलगायतका २० भन्दा बढी वस्तु आयात हुन्छ । 

चालु आर्थिक वर्षमा २९ हजार २८ लाख बढीको सामान नेपालबाट बंगलादेश निर्यात भएको छ भने ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको सामान नेपाल आयात भएको छ ।

स्थानीय आयातकर्ता मित्रलाल संग्रौलाका अनुसार बंगलादेशसँगको आयात/निर्यात नै ठप्प हुँदा यसको प्रत्यक्ष असर भन्सार एजेन्टका साथै ढुवानी श्रमिकहरूले पनि भोगिरहेका छन् । मेची भन्सार प्रमुख रामप्रसाद रेग्मीले आन्दोलनका कारण नेपाल–बंगलादेश व्यापार ठप्प भएको बताए । ‘तर, मेची भन्सारको राजस्व संकलनमै भने यसले असर पारिहालेको अवस्था छैन,’ उनले भने, ‘बंगलादेशसँग व्यापार छैन, तर पनि समग्र राजस्व संकलनमै भने यसले असर पारेको छैन ।’

बंगलादेशसँगको व्यापारका लागि यो एकमात्रै छोटो रुट हो । काँकडभिट्टादेखि वागडोग्रा–घोषपोखर–फूलबारीसम्मको करिव ५४ किलोमिटरको दूरी पार गर्दा बंगलाबन्ध व्यापारिक रुट भेट्न सकिन्छ । एसियन हाइवेको निर्माणपछि त झनै यो रुट १६ किलोमिटर छोट्टिएको छ । पूर्वी नाकाबाट ३८ किलोमिटरको दूरी तय गर्दा बंगलादेश सीमा पुग्न सकिन्छ ।

भन्सार एजेन्ट दिलीप तिम्सिनाका अनुसार घट्दो अवस्थामा रहेको नेपाल–बंगलादेश व्यापारमा आन्दोलनले थप क्षति गर्ने काम गरेको छ । ‘बंगलादेशसँगको नेपाली व्यापार बर्सेनि गिर्दो छ,’ उनले भने, ‘आन्दोलनका कारण व्यापारमा थप गिरावट आउने सम्भावना पनि बढेको छ ।’ 

बंगलादेश आन्दोलन

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully