सन् २०११ मा आजकै दिन : यमनमा लोकतन्त्र पक्षधरको आन्दोलन 

माघ १३, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०११ मा आजकै दिन (जनवरी २७) मा लोकतन्त्रको पक्षमा बृहत् प्रदर्शन सुरु भएको थियो । लोकतन्त्र पक्षधरहरूले यमनी राष्ट्रपति अली अब्दुल्लाह सालेहविरुद्ध राजधानी सानालगायतका प्रमुख सहरमा प्रदर्शन सुरु गरेका थिए । 

ट्युनिसियामा ‘जस्मिन क्रान्ति’ चर्किएपछि राष्ट्रपति जिने अल–अबिदिने बेन अलि भागेर साउदी अरब पुगेपछि इजिप्ट, लिबिया, सिरिया, बहराइनलगायतका राष्ट्रमा आन्दोलन फैलिएको थियो । यमनसम्म उक्त आन्दोलनको लहरले राष्ट्रपति सालेहको तीन दशक लामो शासन अन्त्य गरेको थियो । 

१९४२ को मार्च २१ मा जन्मिएका सलिहले १९७८ देखि १९९० सम्म उत्तरी यमनको राष्ट्रपति थिए । १९९० मा उत्तर र दक्षिण यमनको एकीकरणपछि भएको चुनावमा सालेहको दल जेनेरल पिपुल्स कंग्रेस (जीपीसी) निर्वाचित भएको थियो । त्यसपछि उनी पुनः यमनको राष्ट्रपति बनेका थिए । तर २०११ को जनवरीदेखि करिब एक वर्षसम्म चलेको आन्दोलनपछि सालेह शासन सकिएको थियो ।

सुरुमा बेरोजगारी, आर्थिक संकट, भ्रष्टाचार र यमनको संविधान संशोधन गर्ने प्रस्तावको विरोधमा यमनका जनता आन्दोलित भएका थिए । तर पछि ती मागको बेवास्ता गरिएसँगै राष्ट्रपति सालेहको राजीनामा माग गर्दै आन्दोलन चर्काइएको हो । त्यसक्रममा जनवरी २७ मा राजधानी सानामा मात्रै १६ हजारभन्दा बढीले प्रदर्शन गरेका थिए । लगत्तै सलेहले २०१३ मा हुने निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गर्न बाध्य भएका थिए ।

तर त्यसपछिका दिनमा प्रदर्शन चर्किंदै गएको थियो । गल्फ कोअपरेस काउन्सिलले गरेका मध्यस्थताका प्रयासहरू विफल भएपछि सानालगायतका सहरमा आन्दोलनकारी र सरकार फौजबीच भिडन्त भएका थिए । जुन ३ मा राष्ट्रपतीय कार्यालय परिसरमा गराइएको बम विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै राष्ट्रपति सालेह घाइते भएका थिए । त्यसलगत्तै सालेह साउदी अरब भाग्न बाध्य भएका थिए । उनी २०१७ को डिसेम्बरमा हुथी विद्रोहीको आक्रमणमा मारिएका थिए । 

आजकै दिन

कान्तिपुर

Link copied successfully