आजकै दिन : अमेरिकी राष्ट्रपतिद्वारा जापानी प्रधानमन्त्रीको काखमा बान्ता

पुस २३, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९९२ मा आजकै दिन (जनवरी ८) मा अमेरिकी राष्ट्रपतिले जापानी प्रधानमन्त्रीको काखमा बान्ता गरिदिएका थिए । अमेरिकी राष्ट्रपति जर्ज हर्बर्ट वाल्कर बुसले एक रात्रिभोजका क्रममा जापानी प्रधानमन्त्री किची मियाजावाको काखमा बान्ता गरेका हुन् ।

जापान भ्रमणमा रहेका राष्ट्रपति बुसको सम्मानमा जापानी प्रधानमन्त्रीले रात्रिभोज आयोजना गरेका थिए । भ्रमणका बेला ६७ वर्षका रहेका राष्ट्रपति बुसको स्वास्थ्य अवस्था राम्रो थियो । त्यस दिन बिहान बुसले जापानी सम्राट र उनका छोरासँग टेनिस खेलेका थिए । तर भोजको समयमा राष्ट्रपति बुस अकस्मात् बिरामी परे । उनी बसेको स्थानबाट अकस्मात् अगाडितिर ढले र बान्ता गरे । जुन जापानी प्रधानमन्त्रीको काखमा पर्‍यो ।

त्यसलगत्तै बेहोस भएका बुसलाई उनकी पत्नी बार्बारा, सहयोगीहरू र सेक्रेट सर्भिसका सदस्यहरूले सम्हालेका थिए । केही समयपछि सामान्य अवस्थामा फर्किएका बुसले घटनाप्रति माफी माग्दै हिँडेरै भोजबाट बाहिरिएका थिए । चिकित्सकहरूले ग्यास्ट्रोएन्टेराइटिसका कारण राष्ट्रपति बुसमा अकस्मात् स्वास्थ्य समस्या आएको बताएका थिए ।

१९२४ जुन १२ मा जन्मिएका बुस अमेरिकाका ४१ औं राष्ट्रपति थिए । उनी १९८९ को जनवरी २० देखि १९९३ को जनवरी २० सम्म अमेरिकाको राष्ट्रपति थिए । त्यसअघि बुसले १९८१ देखि आठ वर्ष रोनाल्ड रेगनको उपराष्ट्रपतिका रूपमा काम गरेका थिए । उनको २०१८ नोभेम्बर ३० मा निधन भएको थियो ।

आजकै दिन

कान्तिपुर

Link copied successfully