काठमाडौँ — सन् २०१० मा आजकै दिन (जनवरी ४) मा विश्वकै अग्लो भवन बुर्ज खालिफा सर्वसाधारणका लागि खुला गरिएको थियो । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा निर्मित भवन ८२८ मिटर अग्लो छ । व्यापारिक प्रयोजनका लागि बनाइएको बुर्ज खालिफाको निर्माण सक्न करिब पाँच वर्ष लागेको थियो ।
२००४ जनवरी १२ मा सुरु गरिएको भवन निर्माणको काम २००९ अक्टोबर १ मा सकिएको थियो । बुर्ज खालिफामा १६३ तला छन् । दुबई सहरको पश्चिमी भागमा निर्मित बुर्ज खालिफा दुबईस्थित ‘डाउनटाउन दुबई डेभलपमेन्ट’ को एक हिस्सा हो । २०१० मा उट्घाटन हुनुअघि यसको नाम बुर्ज दुबई थियो । उद्घाटनपछि भवनको नामकरण यूएईका तत्कालीन राष्ट्रपति खालिफा बिन जायद अल नहयानको नामबाट गरिएको हो ।
बुर्ज खालिफा निर्माणको आर्किटेक्चर र इन्जिनियरिङको काम अमेरिकाको सिकागोस्थित स्किडमोर, ओविङ्स र मेरिल कम्पनीले गरेको हो । यसका प्रमुख आर्किटेक एड्रियन स्मिथ र प्रमुख स्ट्रकचरल इन्जिनियर बिल बेकर हुन् । बुर्ज खालिफा निर्माण हुनुअघि ताइवानस्थित ‘ताइपेई १०१’ विश्वको सबैभन्दा अग्लो मानव निर्मित संरचना थियो ।
