काठमाडौँ — सन् २००७ मा आजकै दिन (डिसेम्बर २७) मा पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्या भएको थियो । पाकिस्तानी पिपुल्स पार्टी (पीपीपी) की अध्यक्ष भुट्टोमाथि रावलपिन्डीमा एक चुनावी सभाका क्रममा गोली प्रहार गरिएको थियो । त्यसलगत्तै आत्मघाती बम विस्फोटसमेत गराइएको थियो । आक्रमणमा भुट्टोसहित २४ जनाको मृत्यु भएको थियो । भुट्टो पाकिस्तानको एकमात्र महिला प्रधानमन्त्री हुन् । उनी १९८८ देखि १९९० र १९९३ देखि १९९६ सम्म पाकिस्तानको प्रधानमन्त्री थिइन् ।
आफूलाई लागेको भ्रष्टाचारको मुद्दाका कारण प्रधानमन्त्री पद छाडेलगत्तै भुट्टो दुबई र लन्डनमा आठ वर्ष निर्वासित जीवन बिताएकी थिइन् । पाकिस्तानमा २००८ का लागि तय भएको आमनिर्वाचनको तयारीका लागि भुट्टो २००७ को अक्टोबर १८ मा पाकिस्तान फर्केकी थिइन् । हत्या हुनुभन्दा दुई महिनाअघि पनि भुट्टोलक्षित आक्रमण गरिएको थियो । उक्त आक्रमणमा एक सयभन्दा बढीको ज्यान गएको थियो ।
१९५३ को जुन २१ मा पाकिस्तानको कराँचीमा जन्मिएकी भुट्टोले हार्वार्ड तथा अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक गरेकी थिइन् । उनका पिता जुल्फिकर अलि भुट्टो १९७१ देखि १९७३ सम्म पाकिस्तानका राष्ट्रपति र १९७३ देखि १९७७ सम्म प्रधानमन्त्री थिए ।
तत्कालीन सेना प्रमुख जर्नेल जिया–उल हकले १९७७ को जुलाईमा सैन्य ‘कु’ गर्दै जुल्फिकरलाई अपदस्थ गरेका थिए । त्यसको दुई महिनामा पक्राउ परेका जुल्फिकरमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी नवाब मुहम्मद अहमद कसुरीको हत्या आरोपमा मुद्दा लगाइएको थियो । एक विवादास्पद सुनुवाइपछि अदालतले १९७८ को मार्चमा उनीविरुद्ध मृत्युदण्डको सजाय सुनाएको थियो । जुल्फिकरलाई १९७९ अप्रिल ४ मा रावलपिन्डीमा फाँसी दिइएको थियो ।
