सन् १९६० मा आजकै दिन : राष्ट्रपति उम्मेदवारबीच टेलिभिजन बहस

आश्विन ९, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९६० मा आजकै दिन (सेप्टेम्बर २६) मा अमेरिकी राष्ट्रपतिका उम्मेदवारहरूबीच पहिलो टेलिभिजन बहस भएको थियो ।

राष्ट्रपतिका उम्मेदवारद्वय जोन एफ केनेडी र रिचार्ड निक्सनबीच अमेरिकाको सिकागोस्थित सीबीएस (कोलम्बिया ब्रोडकास्टिङ सिस्टम) को स्टुडियोमा उपस्थित भएर बहस गरेका थिए । त्यति बेला निक्सन रिपब्लिकन पार्टीका तर्फबाट उपराष्ट्रपतिको भूमिकामा थिए । डेमोक्रेटिक दलका केनेडी भने माथिल्लो सदन सिनेटका सदस्य थिए । 

टेलिभिजनमार्फत प्रसारण गरिएको बहस ८ करोड ५० लाखदेखि १२ करोड दर्शकले हेरेका बताइन्छ । १९६० को नोभेम्बर ८ मा भएको चुनावमा उपराष्ट्रपति निक्सन केनेडीसँग पराजित भएका थिए । १९६१ को जनवरी २० मा पद सम्हालेका केनेडीको १९६३ को नोभेम्बर २२ मा टेक्सास राज्यको डालसमा गोली हानी हत्या गरिएको थियो । 

दोस्रो प्रयासमा १९६८ मा अमेरिकी राष्ट्रपतिमा निर्वाचित निक्सनले १९६९ को जनवरी २० देखि पद सम्हालेका थिए । उनी १९७२ को नोभेम्बर ७ मा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । तर ‘वाटरगेट काण्ड’ का कारण महाभियोगको सामना गर्नुपर्ने अवस्था आएपछि निक्सनले कार्यकाल पूरा नहुँदै १९७४ अगस्ट ८ मा पदबाट राजीनामा दिएका थिए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully