काठमाडौँ — सन् २००१ मा आजकै दिन (सेप्टेम्बर २०) मा अमेरिकाले आतंकवादविरुद्धको युद्ध घोषणा गरेको थियो । अमेरिकाको न्युयोर्क र रक्षा मन्त्रालयमा आक्रमण गरिएपछि राष्ट्रपति जर्ज डब्लू बुसले ‘आतंकवादविरुद्धको युद्ध’ घोषणा गरेका थिए ।
२००१ को सेप्टेम्बर ११ मा न्युयोर्कस्थित ट्वीन टावर र अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा गरिएको आतंकवादी आक्रमणमा करिब तीन हजार मानिसले ज्यान गुमाएका थिए । आक्रमणकारीले चारवटा विमान अपहरण गरी दुईवटा वर्ल्ड ट्रेड सेन्टरका टावर र अर्को एक अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा ठोक्काएका थिए । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसलाई लक्षित गरिएको चौथो विमान भने पेन्सलभेनियास्थित जंगलमा दुर्घटना भएको थियो ।
अमेरिकाले उक्त आक्रमण अल कायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेन र उनको संगठनले गराएको बताउँदै आएको छ । उक्त घोषणापछि अमेरिकाले लादेन र अल कायदाविरुद्ध आक्रमण सुरु गरेको थियो । पाकिस्तानको एबोट्टाबादस्थित एक घरमा लुकेर बसेका बेला आक्रमण गरी अमेरिकाले २०११ मेमा लादेनको हत्या गरेको थियो ।
