सिलिगुडीमा गुन्जिए रञ्जित

आश्विन ३, २०८०

कान्तिपुर संवाददाता

सिलिगुडी — ‘मादल, खुकुरी र गोर्खा जाति पर्याय जस्तै हो,’ नेपाली संगीतका महारथी रञ्जित गजमेरको भनाइ हो यो । सिलिगुडी नजिकैको सालबारीमा शनिबार बुकएन्ट प्रकाशन गृहले उनको सम्मानमा आयोजना गरेको ‘रञ्जित गजमेर साँझ’ मा उनले भने, ‘नेपाली (गोर्खा) ले खुकुरी चलाउन र मादल बजाउन गर्भबाटै सिकेर आएको हुन्छ ।’

लामो समयपछि जन्मथलो दार्जिलिङ आएका उनी प्रशंसकको चौघेरामा परे । पुराना साथीसंगी सम्झिएर भावुक भए । ‘धेरैपछि घर आउँदा ज्यादै खुसी लागेको छ,’ मुम्बईलाई कर्मथलो बनाएर बस्दै आएका उनले थपे, ‘तर, आज श्रीमती (कुसुम गजमेर) सँगै नहुँदा चैं धेरै नै दुःखी छु ।’ उनले आफूलाई यो स्थानसम्म पुर्‍याउन श्रीमतीको ठूलो देन रहेको जनाए । 

प्रशंसकको भरपूर मायाले आल्हादित भएका यी मादल उस्तादले सांगीतिक जीवनका उकाली ओरालीबारे मात्रै बेलिविस्तार लाएनन् । दार्जिलिङ–काठमाडौं अनि काठमाडौं–बम्बई संगीत यात्रा रोचक किस्साहरू पनि सुनाउन भ्याए । ‘संगीतमा मानवलाई संवेदनशील बनाइराख्ने ताकत छ,’ खचाखच प्रेक्षालयमा मादलबाजेले थपे, ‘त्यही ताकतकै कारण आज म तपाईंसामु उभिएको छु ।’ एक अर्को प्रसंगमा उनले पछिल्लो समय नेपाली संगीत क्षेत्रको भविष्य उज्यालिँदै गएको दाबी गर्दै उनले थपे, ‘कडा मिहिनेत र परिश्रमबाट मात्रै नेपाली संगीत वैभवशाली बन्न सक्नेछ ।’ 

उमेरले असी नाघेका दिग्गज संगीतज्ञ गजमेर करिब ६ दशक बढी समयदेखि मादलसँग लुकामारी गर्दै आएका छन् । गजमेरको ‘पंचम दा’ अर्थात् आरडी वर्मनसँग लामो संगत थियो । आरडी वर्मनले नै उनलाई बलिउडमा ‘ब्रेक’ दिएका हुन् । बलिउडमा उनी ‘कान्छा’ उपनामले बढी चिनिन्छन् । काठमाडौंको कथालयले हालै उनको जीवनी ‘मोहनी मादलको’ प्रकाशित गरेको थियो । पत्रकार शेखर खरेलद्वारा लिखित पुस्तकको शनिबार भारत लोकार्पणसमेत गरिएको थियो । 

बलिउडका संगीत हस्ति गजमेरको जीवनी प्रकाशन गर्ने कथालयका प्रकाशक राजीव धरले पुस्तकले गजमेरका जीवनका अधुरा र ओझेल परेको पाटाहरू पनि खोलिदिएको जनाए । उनले पछिल्लो समय नेपालमा जीवनी पुस्तकहरूको बजार सन्तोषजनक रहेको र भारतमा पनि यस पुस्तकले अपेक्षित बजार पाउने आशा गरेको व्यक्त गरे । ‘हामीले नै हाम्रो स्रष्टाको मूल्यांकन नगरे अरू कसले गर्छ,’ जीवनीकार खरेलले भने, ‘यही सोचले मलाई गजमेरको जीवनी लेख्ने साहस जुट्यो ।’ 

लोकप्रिय गायक सुरेश कुमारले गजमेरको सम्मानमा दुईवटा गीत सुनाएर कार्यक्रमलाई थप रोचक बनाए । उनले धेरै सुनिएको प्रिय तिम्रो सम्झना र केही भूल भए माफी देऊ गाएका थिए । त्यसअघि बाल गायिका निवृत्ति शर्माले गजमेरले नै संगीत गरेको दक्षिण चलचित्रको ‘सपना भई आँखामा आउने...’ गाएर मन्त्रमुग्ध पारेकी थिइन् । सिलिगुडीका कलाकार अजोय कुमार सरकारले नङले बनाएको पोट्रेट उपहार दिए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully